विचार / ब्लग

ग्रीनकार्डवाली

1569 पटक पढिएको

- रामचन्द्र भट्ट | 12th May 2019, Sunday | २०७६ बैशाख २९, आईतवार १०:१२
निद्रामा झकाउनै लाग्दा फेसबुकको मेसेन्जरमा सन्देश आएको टोन बज्यो । राति साढे १ हुनै लागेको छ । भरखरै कामबाट आएर निदाउनै लागेकी दृष्टिलाई मेसेजको टोनले डिस्टर्ब गर्छ ।
 
‘कस्ले गर्छ रात बिरात मेसेज पनि ?’ मनमनै यस्तै तर्कना खेलाउँदै उनी मोबाइल हातमा लिन्छिन् । मेसेज खोल्नै नपाई होमस्क्रिनमा पठाउनेको नाम देखिहालिन् उनले । उही कविजीले मेसेज गरेका रहेछन् । कविजी दृष्टिलाई हातपाउ छाडेर अचम्मसँग पछ्याउँदै छन् । दिउँसो मात्र होइन मध्यरात कटिसकेपछि पनि मेसेज गरेर दृष्टिलाई दिक्क बनाइसकेका छन् । युनिभर्सिटीको विद्यार्थी युवक भएपनि दृष्टिले उनलाई कविजी भनेर संबोधन गर्छिन ।
 
मेसेज खोलेर हेर्छिन उनी । खासै आपत्तिजनक कुरा त केही थिएन । ‘यो शनिबार कुनै साहित्यीक जमघट भएको तिमीलाई जानकारी छ त ?‘ मेसेजमा यति लेखिएको थियो । शाव्दिक रुपमा आपत्ति जनाउनुपर्ने कुनै कुरा नभएपनि कविको नियत असल नभएको संकेत त्यतिखेर मेसेज गर्नुले पनि प्रष्ट भइसकेको छ ।
 
रात बिरात अनावश्यक मेसेज नगर्नुहोला भनेर उनले युवक कविलाई कति पटक अनुरोध गरिसकेकी छिन् । तर उनले जतिखेर मन लाग्यो उतिखेर मेसेज गर्ने बानीलाई छाडेका छैनन् । अमेरिकी भूमिमा बसेका युवकले किन यहाँको कानुनको ख्याल गरेका छैनन् बुझिनसक्नु छ ।
 
के उपाय निकाल्ने होला त ? उनको दिमागमा झट्ट उनै जानकी दिदीको नाम आयो । भोली जानकी दिदीसँग बेलीबिस्तार सबै कहने कुरा दिमागमा खेलाउँदा खेलाउँदै उनी भुसुक्क निद्रामा पुगिन् ।
 
भोलीपल्ट काममा ब्रेकमा उनले जानकी दिदीलाई कविजीले अति पछ्याएकोदेखि लिएर रात बिरात मेसेज गरेर दिक्क लगाएको गुनासो सुनाउँछिन् । जानकी अमेरिका आएको झण्डै १२ वर्ष भैसक्यो । त्यसैले उनीसँग यस्ता समस्याहरु आउँदा के गर्नुपर्छ भन्ने बारेमा अनुभव छ र जानकारी पनि ।
 
‘त्यसलाई फेसबुकको साथीबाटै हटाइदेउ,’ जानकीले सुझाउँछिन् । ‘फोन नम्बर त दिएकी छैनौ नि‘ उनले सोधिन् ।
 
‘छैन दिदी । नम्बर त दिएकी छैन मैले ।’
 
पढेर ठूलो सपना पुरा गरिदेला भन्ने पर्खाइमा नेपालमा रहेका त्यो केटाका बाउआमालाई किन पीडा दिनु भन्ने सोचले उनी तत्कालै कडा बाटो नलिने विचार लिइन् । यो उमेरमा केटाहरु यस्तै हुन् भन्ने उनलाई अनुभव पनि छ । त्यसैले कडा डिग्री नअपाइ समाधान निकाल्ने सोचमा उनी छिन् ।
 
‘तिम्रो हतियार देखेर पछि लागेको होला नि मोरो,‘ जानकीले यतिमात्र भनिन् । जानकीले भनेको हतियारको कुराले उनको अनुहार रातो भयो । उनले अनुमान लगाइन्–जानकी दिदीले भनेको हतियार मेरो रुप र जवानी होला । त्यसैले उनले हतियारका बारेमा जिज्ञासा राख्न सकिनन् ।
 
एउटा साहित्यीक कार्यक्रममा दृष्टिले त्यो युवकलाई भेटेकी थिइन् । दृष्टि साहित्यमा रुची राख्थिन् । कविता, मुक्तक उनका प्रिय विधा हुन् । एउटा संस्थाले ड्यालसमा आयोजना गरेको साहित्यीक कार्यक्रममै युवकसँग देखादेख भएको थियो । देवकोटा जयन्तीका अवसरमा आयोजना भएको त्यो कार्यक्रममा युवक पनि आफ्नो रचना पाठ गर्न आएको थियो । उनीहरुबीच त्यहाँ परिचय आदान प्रदान त भएन । तर राति फेसबुकमा युवकले दृष्टिलाई फ्रेण्ड रिक्वेष्ट पठायो ।
 
दृष्टिले दायाँबायाँ केही नसोचि साहित्यकार त हो भनेर फ्रेण्ड रिक्वेस्टलाई स्विकारिन् ।
 
‘तपाईको कविताले त मेरो दिलै चोर्यो नि,‘ युवकले तुरुन्तै मेसेन्जरमा मेसेज पठायो ।
 
‘धन्यवाद । हजुरको मूल्याङ्कन प्रति ऋणी छु,‘ उनले छोटो जवाफ फर्काइन् ।
 
‘तपाई कुन युनिभर्सिटी जानुहुन्छ ?‘
 
उसले एकै पटक युनिभर्सिटीको कुरा किन सोध्यो कुन्नी । शायद ड्यालसको सेरोफेरोमा दृष्टिका सम–उमेरवाला जति सबै कलेज/युनिभर्सिटी जाने देखेर होला ।
 
‘म युनिभर्सिटी जाने गरेको छैन । नेपालबाट आएको त भरखरै ६ महिना भयो,‘ उनले छोटो जवाफ दिइनन् ।
 
‘ए, डिभीमा हो ?‘
 
‘हजुर, त्यसै भन्नुपर्यो । तर डिभी भन्नु मात्रै रहेछ । नेपालमा छँदा जे सोचेर आइयो, त्यसको एक छेउ पनि सन्तुष्ट हुन सकेकी छैन,‘ दृष्टिले जवाफ दिइन् ।
 
‘ए, बाबा–आमा पनि सँगै हुनुहुन्छ होला । तपाईलाई त कति आनन्द है ?’ केटाले फेरि सोध्यो ।
 
उनले छोटो जवाफ दिइन्–‘होइन, म एक्लै छु । डिभी परेको मलाई मात्र हो ।’
 
युवकले कहाँ बस्नेदेखि लिएर नेपालमा कहाँ हो भन्नेदेखि यहाँ कोसँग बस्ने सम्मका कुराहरु युवकले सोध्न थाल्यो । रात छिप्पीसकेकोले दृष्टिले सबै जवाफ दिइनन् । उनलाई थाहा थियो–जवाफ दिँदैमा प्रश्नहरु टुंगिदैनन् । बरु थपिँदै जान्छन् । प्रश्नले प्रश्न जन्माउँदै लैजानेछन् । छिप्पिँदो रातमा जवाफ दिनु भनेको बोटविरुवालाई गोडमेल गर्नु, बनमारा झारलाई मलजल गर्नु सरह हो । उनले पछिल्ला कुनै जिज्ञासाको जवाफ दिइनन् ।
 
युवकको मेसेज लगातार आउन थाल्यो । दिनमा आउने मेसेजहरुमध्य एकाधको जवाफ दिन्थिन् । धेरै प्रश्न गरेपछि केहीको जवाफ दिन्थिन दृष्टिले । युवक युएनटी डेन्टनमा अध्ययनरत रहेछ । फाइनान्सको विद्यार्थी थियो । तर पनि साहित्यीक कार्यक्रममा उसको रुची थियो ।
 
सबै प्रश्नका जवाफ नपाएपछि युवकले साहित्यिक कार्यक्रमहरु कहाँ कहाँ हुँदैछन् ? भनेर सोध्थ्यो । अर्थात बोल्ने, कुराकानी गर्ने अनेक वहाना चाहिएको थियो उसलाई । केही नपाए आजको मौसम कति राम्रो छ भन्नेदेखि लिएर कहाँ गाडी एक्सिडेन्ट भएर नेपालीलाई के भयो भन्ने जस्ता खबर सुनाउँथ्यो उ ।
 
उनले थाहा भएजति कार्यक्रमका बारेमा लेखेर जानकारी दिन्थिन् । दुई दिनको जिन्दगानीमा कोहीसँग ठूलो पल्टिएर हुनेवाला केही छैन भन्ने लाग्थ्यो दृष्टिलाई ।
 
ग्रीनकार्ड होल्डर भन्ने थाहा पाएपछि त युवक अझै नजिकिने प्रयास गरिरहेको छ । केही न केही सोध्ने बहानामा मेसेज गरिरहन्छ ।
 
 ‘कस्तो स्त्री–लम्पट रहेछ, केटीले बाल नदिएपछि त बाटो लाग्नु नि’ कहिलेकाँही उनी मनमनै सोच्छिन् । अब उनलाई युवकका बारेमा अलिकति जान्न मन लाग्यो । कस्तो पारिवारिक पृष्ठभूमिको रहेछ भनेर चासो लाग्यो ।
 
बाग्लुङको रहेछ युवक । पढ्नका लागि आएको तीन वर्ष पुरा भैसकेको थियो । सातौ सेमेष्टरमा अध्ययनरत थियो । अब केही महिनामात्र बाँकी थियो युनिभर्सिटीबाट ग्राजुएट हुन ।
 
दृष्टिका हरेक जिज्ञासाको जवाफ उसले बालक जस्तै भएर दिन्थ्यो । तर दृष्टिलाई उसको बारेमा थाहा पाउनुमात्र चासो थियो ।
 
उनले भने आफ्नो घर, परिवारका बारेमा सकेसम्म गोप्य राख्ने प्रयास गरिन् । किनकी उनी हत्तु भैसकेकी छिन् उसका ताई न तुईका कुराले । त्यही भएर सँगै काम गर्ने जानकीसँग यही विषयमा पनि कुराकानी पनि गरेकी थिइन् । जानकीलाई आफ्नै दिदीजस्तो ठानेकी छिन् दृष्टिले । धेरै कुराहरु शेयर गर्छिन् ।
 
सँगै काम गर्ने मात्र नभएर जानकीले सहोदर बहिनी जस्तो व्यबहार गर्छिन दृष्टिलाई । कुनै समस्या पर्दा सुझाव दिनेदेखि लिएर केही अभाव हुँदा टारिदिने काम पनि गर्छिन । अपार्टमेन्टमा कुनै अप्ठेरो भए आफ्नै घरमा आएर बस्न पनि बेलाबेलामा भन्ने गर्छिन ।
 
तर दृष्टिले किन हो कुन्नि जानकीको घरमा गएर बस्न भने मन गरेकी छैनन् ।
 
–०–
 
दृष्टि आर्लिङगटन सिटीमा साथीहरुसँग मिलेर बसेकी छिन् एउटा डबल बेडरुमको अपार्टमेन्टमा । अरु दुईटी छन् रुममेट । दुबै विद्यार्थी । युटिएमा व्याचलर लेबलमा पढ्दैछन् । दृष्टि एउटा बेडरुममा र अरु दुईटी केटीहरु अर्को बेडरुममा सुत्छन् ।
 
एउटा कम्पनीमा काम गर्छिन् साँझको सिफ्टमा । राति कामबाट अपार्टमेन्टमा फर्किदा कहिले १२ त कहिले १ बजिसकेको हुन्छ । उनी आउँदासम्म रुममेटहरु सुतेका हुँदैनन् । अधिकांश रातमा हो–हल्ला भैरहेको हुन्छ । रुममेटहरुसँग केटाहरु झुत्तिईरहेका हुन्छन् । निहुँ चाँहि कहिले असाइनमेन्टको त कहिले प्रोजेक्टवर्कको हुन्छ । प्रायः चाहि पार्टी चलिरहेको हुन्छ ।
 
२/३ जना केटाहरुको बासै छ अपार्टमेन्टमा । साँझ ६/७ बजेतिर केटाहरु अपार्टमेन्टमा आउँछन् र १२/१ बजे फर्किन्छन् । उनीहरुकै बेडरुममा चर्को हाँसो, छिल्लिएको आवाज आइरहेको हुन्छ ।
 
शनिबार र आइतबार त अपार्टमेन्ट मदिरामय हुन्छ । भट्टीभन्दा कम्ति हुँदैन । उनीहरुको आग्रहमा दृष्टि पनि दुई पेगसम्म रेडवाइन त पिउँछिन् । तर त्यसभन्दा माथि उनी जान्नन् । रुममेटका सहपाठी केटाहरुसँग उनी त्यति बोल्दिनन् । गएको शुक्रबार उनी कामबाट आइपुग्दा अपार्टमेन्टमा १०/१२ जना नेपाली केटाकेटीहरु जम्मा भएका रहेछन् । रुममेटको एउटा साथीको वर्थडे रहेछ । उनी पनि वाध्य भएर सहभागी भइन् । त्यतिखेरै एउटा केटाले दृष्टिको प्रशंसा गर्यो। जो नियमित जस्तो आइरहने तीनजना मध्य थियो । 
 
‘तपाई त कति सिम्पल हुनुहुन्छ है,’ उसले कुराको सुरुवात ग¥यो । केटाको हाउभाउ हेर्दा त्यति पिएको जस्तो त थिएन ।
 
दृष्टिले धन्यवाद मात्र भनिन् ।
 
उसले दया माया गरेजस्तो देखायो । ‘यी साथीहरुले पनि तपाईको मर्कालाई कहिल्यै बुझेनन् । तपाई कामबाट थाकेर आउनुहुन्छ । यिनीहरु भने सधैंभरि अपार्टमेन्टमा होहल्ला गरेर तपाईलाई सुत्न पनि दिँदैनन्,’ उसले दयाको भाव प्रस्तुत ग¥यो ।
 
‘ठीकै छ नि । मलाई पनि रमाइलै लागेको छ,’ दृष्टिले जवाफ दिइन् । मनमनै भने दिनरात रक्सीको गन्ध, होहल्लाले दिक्क लागिरहेको छ उनलाई ।
 
त्यो युवक पेट्रोलियम इन्जिनियरिङको विद्यार्थी थियो । दुई वर्ष अघिमात्र अमेरिका आएको उ दृष्टिसँग नजिकिने दाउमा छ ।
 
‘तपाईसँग त ग्रीनकार्ड छ, युनिभर्सिटी जानुभए हुन्छ नि,’ उसले नमागिएको सुझाव दिन्छ ।
 
‘जान त मन छ । तर दुई वर्ष जति काम गरेर केही हजार डलर जम्मा गर्छु अनिमात्र, दृष्टिले आफ्नो योजना संक्षिप्तमा सुनाइन् ।
 
‘तपाईले त फाप्सा, स्टुडेन्ट लोन पनि पाइहाल्नुहुन्छ नि । किन डलर जम्मा गर्नुपर्यो र ? ’ उसले भन्यो ।
 
‘अँ, त्यो त मलाई पनि थाहा छ । तर म लोन लिन चाहन्न,’ उनले यतिमात्र भनिन् ।
 
युवक उनलाई सुझाव दिने हिसाबले कुरा गर्छ । तर दृष्टिलाई युवकको नमागिएको सल्लाहले दिक्क लगाइसकेको छ । एकातिर कामबाट थाकेर आएको, अर्कोतिर साथीहरुको चर्को म्युजिक र मदिराको तालले उनलाई तनाव बढाएको छ । आफ्नो कोठामा गएर पल्टिन चाहन्छिन् । उनी युवकको कुरामा ध्यानै नदिई कोठामा पसिन् ।
 
दृष्टिको बाटुलो र गोरो अनुहार, चम्किला आँखा, पुष्ठ शरिरले गर्दा जो कोही पनि पहिलो नजरमै मनमनै वाह...वाह....गर्छन् । सिंहको जस्तो चाल छ उनको । क्रश भएर कतै जाँदा उनलाई एकटकले नहेर्ने शायद कोही छैनन् ।
 
दृष्टि ग्रीनकार्ड भएकी केटी भएकीले उनी प्रति विद्यार्थीको अर्को आकर्षण छ । अमेरिकामा पढाई सकिएपछि पहिले जस्तो सजिलै स्टाटस चेन्ज हुने, ग्रीनकार्ड पाउन सजिलो छैन अहिले । ग्रीनकार्डवालीलाई जालमा पार्न सकियो भने त भोली सँगै जीवन बिताइएला नबिताइएला अमेरिकामा स्थायी रुपमा बस्ने आधार बनाउन सकिन्छ भन्नेहरुको कमि छैन । जसरी पनि चाहिएको छ हरियो पत्ता अर्थात ग्रीनकार्ड ।
 
दृष्टिलाई अपार्टमेन्टमा आइरहेको युवकको नाम जान्ने रहर पनि जागेन । किनकी उनलाई त्यो विद्यार्थीहरुको माहौलले उकुसमुकुस बनाइसकेको छ । जन्मेदेखि दाम्लोमा बाँधिएर भरखरै चराउन छोडिएका बाच्छाबाच्छीका जस्तो व्यबहार थियो उनीहरुको । दृष्टिले कतिपटक त ट्रासब्यागमा कण्डमका खोलहरु पनि भेटिसकेकी छिन् । एकपटक त प्रिगनेन्सी टेस्ट गर्ने मेसिनको बाहिरको खोल पनि भेटेकी थिइन् । कस्लाई के भन्नु र ? अमेरिकाको स्वतन्त्रताको हावाले सबैभन्दा बढी उनकै रुममेटलाई छोएको छ ।  
 
अमेरिकामा नजिकको भन्नु पनि अरु कोही छैन । गाउँकी दिदीको घर छ केलरमा । अमेरिका आएपछि केही महिना तिनै दिदीको घरमा पाहुना लागेर बसेकी थिइन् उनी ।
 
दिदीको घरमा उनले मामाको छोरा पनि बस्थ्यो । दिदीको मामाको छोरा युनिभर्सिटीको जान्थ्यो । क्लास नहुँदा ग्याँस स्टेशनमा काम पनि गथ्र्यो ।
 
त्यहाँ रहँदा बस्दा केटाले अलि बढीनै लहसिन खोजेको बुझेपछि उनी टाढा हुन प्रयास गरिन् । केटाले घरि मल जाउँ त, घरि मुभी थिएटर जाउँ भनेर प्रस्ताव राख्थ्यो । दिदीले पनि नियतवशःनै नजिकिन दिएको बुझेपछि उनी टाढिएकी थिइन् ।
 
एक साँझ घरमा कोही नभएको समयमा त्यो केटाले दृष्टिसँग प्रेम प्रस्तावनै राख्यो । उसले आपूm सम्हालिनै नसक्ने अवस्थामा पुगेको बतायो । उसले आफूले ग्रीनकार्ड भएकी केटी खोजिरहेको समेत बताउन भ्यायो । दृष्टिले बुझिन् केटाले ग्रीनकार्डवाला केटी खोजिरहेको रहेछ । त्यसैले उसको प्रस्तावलाई ठाडै अस्विकार गरिन् । हुनतः मायाँ प्रेममा उमेरले तगारो त लगाउँदैन । तरपनि केटो भरखरै २२ वर्षको थियो भने दृष्टि २४ वर्षकी । उनले उमेर नमिल्ने भन्ने बहाना बनाइन् ।
 
केटो रिसले चुर भयो । तर उसले केही गर्न सकेन । किनकी यो अमेरिकी भूमि हो । कसैको इच्छा बेगर तलमाथि केही हुनासाथ जीवनभर जेलमा सड्नुपर्ने अवस्था आउँछ ।
 
उनी अब त्यहाँबाट सर्ने बहाना खोज्न थालिन् । सँगै काम गर्ने अर्की एकजना दिदीको समन्वयमा केटी साथीहरुसँग बस्दा सजिलो हुन्छ भनेर त्यो अपार्टमेन्टमा सरेकी हुन् । कामबाट नजिकैमात्र नभएर शपिङमल पनि हिँडेर पुग्नसक्ने दूरीमा छ ।
 
तर विद्यार्थी केटीहरुको व्यबहारले उनलाई अपार्टमेन्ट छिर्न नपरेपनि हुन्थ्यो जस्तो महसुस हुन थालिसकेको छ ।
 
अपार्टमेन्ट एक हिसाबले भट्टी र कोठी जस्तो हुँदै गएको देखेर उनी त्यहाँबाट सर्ने विचार गर्दैछिन् । किनकी उनलाई यो मार्गबाट गन्तव्यमा पुगिँदैन भन्ने आत्मवोध भैसकेको छ ।
 
–०–
 
बा, आमाले बिहे गरेर ज्वाईलाई लिएर मात्र अमेरिका जा भनेर सुझाव दिएका थिए । ज्वाई नपाउने चिन्ता भन्दा पनि केटा मान्छेको साथ हुँदा जीवन सहज र अरुले गलत गिद्धे नजर लगाउने बाटो पाउँदैनन् भनेर बा–आमाले त्यो सुझाव दिएका थिए । तर दृष्टिले पहिले अमेरिकामा करिअर बनाउने अनिमात्र बिहे गर्ने भन्दै बिहे गर्न सिधै अस्विकार गरिन् ।
 
डिभी परेको थाहा पाएपछि सम्पन्न परिवारदेखि लिएर राम्रो पढाई भएका केटाहरुको परिवारबाट कुरा कति आए कति । तर उनले ती सबैलार्ई झेलेर दुईटा सुटकेश बोकेर अमेरिका उत्रिएकी थिइन् ।
 
अमेरिका आएपछि बिहेको दवावले छुट्कारा मिल्छ भन्ने उनको आशा थियो । तर यहाँ त झन् पाइला पाइलामा पासो थापिदो रहेछ । शिकारीहरु घरघरै, अपार्टमेन्टमै धाउँदा रहेछन । सिधै भन्न नसकेपनि अनेक माध्यमबाट टर्चर पो हुनेरहेछ भन्ने बुझ्न थालेकी छिन् उनी ।
 
‘दृष्टि तिमीसँग एउटा सल्लाह गर्नुथियो । भोली बिहान मेरो घरमा आउन है, ’ एउटा कार्यक्रममा भेटेर परिचय भएकी दिदीले फोनमा भनिन् । नेपालमा एउटै जिल्लाको भएको हुँदा त्यो कार्यक्रमपछि निकै राम्रो सम्बन्ध बनेको थियो दृष्टि र ती दिदीका बीच ।
 
युलेसमा घर थियो दिदीको । झण्डै १५ वर्ष अघि अमेरिका आएकी दिदीका छोराछोरी दुबै कलेज जान्छन् । एक हिसाबले व्यबस्थित जीवन छ दिदीको ।
 
भोलीपल्ट बिहान १० बजे दृष्टि ती दिदीको घरमा पुगिन् । दिदीले मसला अम्लेट र चिया बनाएर ख्वाइन ।
 
‘साथीहरुसँग बस्दा सजिलै त होला ? ’ दिदीले कुराको लागि भूमिका बाँधिन् ।  
 
‘दिदी के भन्नु र, मलाई त बस्न पटक्कै मन छैन । विजोग छ । के विधि छाडा भएका हुन् यहाँ पढ्न आएका केटाकेटीहरु ? ’ उनले जे अनुभव गरेकी थिइन् त्यसैलाई सहज रुपमा जवाफ दिइन् ।
 
‘गाह्रो छ बहिनी । दुईजना हुने हो भने धेरैनै सजिलो हुन्थ्यो । एक्लै हुँदा अलि अप्ठेरो छ अमेरिका ।’
 
‘हो रहेछ दिदी । बा–आमाले बिहे गरेर मात्र अमेरिका जाउ त भन्नुभएको थियो । तर मैले करिअर बनाउने धोकोले त्यो कुरालाई लत्याएँ ।’ उनले आफ्नो विगतको कुरालाई खोलि हालिन् ।
 
‘बा–आमाले ठीकै त भन्नुभएको रहेछ’ दिदीले भनिन् ।
 
‘तर, म करिअर नबनाई बिहे गर्दिन दिदी, ’दृष्टिले पुरानै अाफ्नो अडान राखिन् ।
 
‘त्यसो होइन । बरु दुईजना हुँदा करिअर बनाउन सजिलो हुन्छ । एकजनाले पढे पनि एकजनाको कमाईले घर चलाउन सकिन्छ । बिहे गर । मसँग एकदम राम्रो केटा छ ।’
 
दृष्टि मौन रहिन् । मनमनै दिदीले पनि केटाकै कुरा गर्न बोलाएकी रहिछन् भन्नेमा उनी कन्फर्म भइन् ।
 
‘यहीँ ओक्लाहोमाको युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङ गरेर अहिले काम गर्दै गरेको मेरो दिदीको छोरा छ । मेरो सहोदर दिदीको छोरा हो । उसको परिवार पनि भलादमी छन् । नारायणघाट हो घर चाँही,‘ दिदीले कुरा चुहाइन् ।
 
‘खै दिदी, मलाई बिहे गर्न हतार लागेको छैन । अझै ४/५ वर्ष सोच्दिन दिदी ।’
 
‘त्यसो भनेर हुँदैन हेर बा । तिमीसँग ग्रीनकार्ड छ, उसँग राम्रो डिग्री । ग्रीनकार्ड भयो भने उसले नि बर्षको एकलाख डलरभन्दा बढीको जागिर पाउँछ । तिम्रो भविष्य पनि बन्छ’ दिदीको कुराले दृष्टिको कन्पारा तात्छ । ‘ग्रीनकार्डका लागि पो रहेछ यतिको मरिहत्ते त’ दृष्टिले मनमनै सोचिन् । तत्काल केही जवाफ दिइनन् । बा–आमासँग सल्लाह गरेर जवाफ दिने भन्दै उनी त्यहाँबाट बाहिरिइन् ।
 
ग्रीनकार्डको पावर त अचम्मको पो रहेछ उनले अब बुझ्न थालिन् । अमेरिका आएपछिका केही महिना ग्याँस स्टेशनमा काम गरेको, त्यसपछि मलको कार्टमा काम गर्दा लागेको दिक्दारीले उनलाई बेकारमा अमेरिका आइएछ भन्ने लागेको थियो । उनलाई नेपाल फर्किने सोच कतिपटक दिमागमा नउठेको पनि होइन । बल्ल यो ग्रीनकार्डको महत्व उनी बुझ्दैछिन् । सँगै अपार्टमेन्टमा बस्नेका साथीहरुदेखि लिएर साहित्यीक कार्यक्रममा भेटेका कवी भरमा मरिहत्ते किन गरेका रहेछन् भन्ने बारेमा उनले बुझ्न थालिन् । उनको दिमागले बल्ल ग्रीनकार्डको मूल्य र महत्वको भेउ पायो ।
 
ग्रीनकार्डवालासँग जस्ले बिहे गर्छ उसले पनि सहजै ग्रीनकार्ड पाउँछ । अहिले धेरै कम्पनीहरुले यात अमेरिकी नागरिक, यात ग्रीनकार्ड होल्डरलाई मात्र सजिलोसँग काम दिएका छन् । जसले गर्दा अमेरिकाबाट पढाई सकाएका धेरै विद्यार्थीहरुले काम नपाएर यात माथिल्लो तहको पढाई सुरु गर्न वाध्य भएका छन्, यात स्टाटस गुमाएर बसेका छन्, या नेपाल फर्किने सुरसारमा ।
 
ती दिदीले निरन्तर पछ्याउन थालिन् । एक महिनासम्म त बा–आमाले केही भन्नुभएको छैन भनेर वहाना बनाइरहेकी थिइन् । तर अति भएपछि दिदीको फोननै नआउने गरि ब्लक गरिदिइन् । ‘आ.. न रहे बाँस, न रहे बाँसुरी । दिदीसँग लेना न देना’ यही सोच्दै उनले दिदीको फोन नम्बर ब्लक गरिन् ।  
 
–०–
 
जानकी दिदीले कुन बाटो अपनाइन् कुन्नि दृष्टिलाई पत्तो भएन । तर त्यसपछि उनलाई कविजीले मेसेज गर्न चटक्कै छाडे ।
 
जीवनमा हस्तक्षेप गर्न खोज्ने र तनाव दिने एउटा पात्र हटेकोमा उनलाई राहत मिलेको छ । मानिस स्वतन्त्रपूर्वक जीउन खोज्ने प्राणी हो । अर्काको जीवनमा हस्तक्षेप गरेको र खलल पु¥याएको मानिसले सहनै सक्दैन । त्यसैले दृष्टिको जीवनमा कविजी प्रतिको छाप नकारात्मकनै गढेर बसेको छ । अमेरिकामा नयाँ भएर, फेरि मुद्धा मामिला र लफडामा पर्न ठीक नलागेर मात्र उनी धीर भएर बसेकी हुन् । जानकी दिदीले ९११ मा कल गरिदिने डर देखाएपछिमात्र विद्यार्थी भिसामा रहेका कविजी साइजमा आएका रहेछन् । नत्र रात छिप्पिदै गएपछि कविजीको मेसेजको मात्रा पनि बढ्दै जान्थ्यो ।
 
जानकी दिदीको सहयोगले दृष्टिलाई मेसेज गरेर हैरान गर्ने युवक पाखा लाग्यो । दिदी प्रति उनी निकैनै अनुगृहित भइन् । यो घटनाले दृष्टिको जीवनमा जानकीले निकै राम्रो छाप पार्न सफल पनि भइन् । अब उनीहरु घनिष्ठ साथीका रुपमा मात्र नभएर साँच्चिकै दिदीबहिनी जस्तै हुन पुगेका छन् ।
 
हरेक सप्ताहन्तमा जानकीले घरमा बोलाउने, सँगै बस्ने, खाने पिउने गर्न थालिन् । त्यतिमात्र होइन, उनको परिवारलाई कहिँकतै पार्टीबाट निमन्त्रणा आउँदा पनि बहिनी हुन् भनेर सँगै लैजान्थिन् । कैयौँ दिन त दृष्टि कामबाट अपार्टमेन्टमा नआई जानकीकै घरमा सुत्थिन् । उनलाई पनि अपार्टमेन्टका साथीहरुको हर्कतबाट दिक्क तुल्याएको अवस्थामा जानकीको साथ, सल्लाहले निकै आत्मिय तुल्याएको छ ।
 
जानकीलाई हरेक बिहान नेपालबाट फोन आउँथ्यो । उनका बा–आमाले फोन गर्थे । ७० को उमेर कटिसकेका थिए बा–आमा दुबै । उनका दुई भाईहरु मध्य एउटा दुबईमा थियो । कान्छो चाँही घरमै बा–आमाको हेरचाह गरेर बस्थ्यो । उनलाई त्यही कान्छो भाईको ज्यादा पिरलो छ ।
 
एसएलसी पनि मुस्किलले पास गरेको छ जानकीको कान्छो भाईले । आइए कटाउन सकेन । अमेरिकाबाट बा–आमाका लागि भनेर दिदीले पठाएको र दुबईबाट दाइले पठाएको पैसामा उसले मोजमस्ती गर्दै आएको छ । साँझ परेपछि गाउँको भट्टीमा अड्डा जमाउँछ उसले । काम भन्नु वरको सिन्को पर पनि सार्दैन । गाउँका चेलीबेटीहरुलाई जिस्काउनु उसको दिनचर्या बनेको छ । धन्न भाउजु घरमा भएका कारण बृद्ध बा–आमाका लागि धेरै चिन्ता लिनुपरेको छैन जानकीले ।
 
‘जानकी, यो कान्छोलाई पनि त्यता लैजान मिल्दैन ? त्यहाँ पुग्न पायो भने यो तह लाग्थ्यो कि ?’ एकपटक आमाले फोनमा भन्नुभएको कुराले जानकीको दिमागमा सधैँ हिट गरिरहेको छ । तर कसरी ? भाईले डिभी भर्न कुनै वर्ष छुटाएको त छैन, तर कहिल्यै परेको होइन । उनी भाईलाई अमेरिका ल्याउने उपायको खोजीमा छिन् । यही उपायलाई कार्यान्वयनका लागि लगानी दृष्टिमाथि लगानी गर्दैछिन् । दृष्टिलाई मायाँ, ममता, सहयोग गरे जस्तो गरेर भाई–बुहारी बनाउने रणनीति उनी बुन्दैछिन् । उनलाई थाहा छ, यो प्रकृयाको बाटो अलिकता लामो त छ । तर सबैभन्दा दिगो र भरपर्दो यही मात्र बाँकी छ ।
 
जानकीले आफ्नो भाईका बारेमा दृष्टिसँग सबै कुरा खोल्न पनि सकेकी छैनन् । उनी एउटा दाई र एउटा भाई भएको कुरा त गर्थिन । तर भाईको पृष्ठभूमिका बारेमा कहिल्यै बताइनन् ।
 
एकपटक दृष्टिलाई फेसबुकमा फ्रेण्ड रिक्वेष्ट आउँछ । हुनत दिनहुँ दर्जनका हाराहारीमा फ्रेण्ड रिक्वेष्ट आउँछन् उनलाई । उनी सबै हेर्छिन । एसेप्ट गर्ने उनका तीनवटा मापदण्ड छन् । पहिलो दोहोरो चिनजान भएका, दोस्रो बौद्धिक व्यक्तित्वहरु, तेस्रो चाँही नचिनेको भएपनि सामाजीक सञ्जालमा सूचनामुलक तथा सकारात्मक विषय लेख्नेहरु ।
 
आज आएको रिक्वेष्टको अनुहारलाई उनले नियालिन् । कतै चिनेचिने जस्तो लाग्यो । स्मृतिमा कतै देखेदेखे जस्तो लाग्यो । नाम थियो–बिराज विस्मृत । फेसबुकमा रहेका त्यो केटाको अनुहारलाई उनले निकै हेरिन् । भएभरका उसका फोटाहरु हेर्दा लाग्यो–कतै भेट भएको थियो । तर कहाँ हो दृष्टिले एकीन गर्न सकिनन् । म्युचुअल फ्रेण्डहरु हेरिन् उनले । धेरै जसो स्कुलकै साथीहरु छन् । स्मृति, सदिक्षा, समिक्षा, बिना, मिना, साम्भवी लगायत धेरै स्कुले साथीहरु म्युचुअल फ्रेण्ड थिए । तर उनको स्मरणले खुट्टाउनै सकेन को यो बिराज भनेर ।
 
भोलीपल्ट बिहानै उनले साम्भवीलाई फोन गरेर सोधिन् । ‘उही क्या त ८ कक्षामा हामी पढ्दा सधैँभरि हाम्रो बेञ्च पछाडी बसेर हामीलाई कागजको पुच्छर हालिदिने बिराज । थर चाँही चालिसे हो क्यार । तर फेसबुकमा चाँही थर लुकाएर ‘विस्मृत’ लेख्या छ । मलाई पनि एक महिना पहिले फ्रेण्ड रिक्वेष्ट आएको थियो’ साम्भवीले भनिन् ।
 
साम्भवीको त्यति वर्णनले ८ कक्षा पढ्दा सबैभन्दा हुल्याहा, छुकछुके, अनुशासनहित, हरेक शिक्षकको कुटाईमा पर्ने, कहिल्यै होमवर्क नगर्ने, गतिछाडा बिराजमा उनी पुगिन् ।
 
‘ओहो, त्यो त ८ कक्षामा फेल भएर अर्कै स्कुलमा पो गएको थियो होइन र ? ’ दृष्टिले सोधिन् ।
 
‘हो नि । चाबहिलको हामी पढेको स्कुलबाट उसका बाउ–आमाले निकालेर अर्कै स्कुलमा बोडर्स गरिदिएका थिए क्यार । एसएलसी चाँही दुई पटकमा बल्लतल्ल पास गर्यो रे भन्ने सुनेको थिएँ । त्यसपछि पढाईको बारेमा थाहा भएन’ साम्भवीले उसका बारेमा त्यति बताइन् ।
 
उसका बारेमा थप जान्नका लागि सदिक्षालाई पनि फोन लगाइन् । उनले जे जवाफ दिइन् त्यसबाट दृष्टि असाध्यै चिन्तित बनिन् । आइए पनि पास गर्न नसकेर गाउँमा फर्किएको, रक्सी पिएर बबाल गर्ने, गाउँका चेलीबेटीलाई जिस्काउने जस्ता गलत काममा लागेको, बाउ आमा समेत पीडामा रहेको कुरा सदिक्षाले सुनाइन् ।
 
‘अँ सुन् त, दुई हप्ता अघि मेसेन्जरमा त्यसैले कल गरेको थियो । बिजनेस गर्दैछु भन्थ्यो । तर कस्तो बिजनेस हो भनेर सोध्दा जवाफ दिएन । बरु उसकी दिदी पनि अमेरिकामै छिन् पो भन्दैथियो त’ सदिक्षाले सुनाई ।
 
‘ए होला । अमेरिका पनि ठूलो छ । कुन ठाउँमा हो कुन्नि’ दृष्टिले हल्का रुपमा लिँदै जवाफ फर्काइन् ।
 
उनले बिराजका म्युचुअल फ्रेण्डहरु हेर्न थालिन् । उनका आँखा एकजनालाई देखेर टक्क अडियो । ‘जानकी दिदी पनि म्युचुअल फ्रेण्ड ?’ दृष्टि घोर–आश्चर्यमा परिन् ।
 
उनले तत्कालै जानकी दिदीलाई फोन लगाइन् । ‘मेरो सहोदर भाई हो नि बिराज । माइतीको थर चालिसे भनेर तिमीलाई पहिल्यै भनेको थिएँ होइन र ?’ जानकीको जवाफले दृष्टि झनै अचम्ममा परिन् । कहाँको त्यो अराजक बिराज, कहाँकी यस्ती देवी जस्ती जानकी दिदी ? उनी सहोदर दिदी–भाईको तुलना गर्न थाल्छिन् । पुच्छर हाल्दा विज्ञान पढाउने रेग्मी सरले ढुटो हुनेगरि बिराजलाई कुटेको दृश्य उनको स्मृतिमा आउँछ । कागजको प्लेन बनाएर कक्षाको पछाडीबाट हानेको घटना अघिल्तिर आउँछ । नेपाली बाहेक सबै विषयमा उसको नम्बर ३२ भन्दा माथि उक्लेको रेकर्डनै थिएन । 
 
‘दृष्टि, तिमीलाई मैले अस्तिनै देखि भन्न खोजेको थिएँ । तर चान्स मिलेको थिएन । तिमीले सही समयमा बिराजको कुरा निकाल्यौ’ जानकीले फोनमा भन्दैगइन्–‘तिमीलाई म एक्लो भाईबुहारी बनाउन चाहन्छु । बिराज मेरो एक्लो भाई हो । नाताले भाईबुहारी बनाएपनि व्यहारले म तिमीलाई बहिनी सरह बनाउने मेरो इच्छा छ । तिमी के भन्छ्यौ ? ’
 
जानकीको मुखबाट एक्कासी यस्तो प्रस्ताव आउँदा दृष्टिलाई चट्याङ परेजस्तो भयो । एकातिर बिराजको त्यो विगत, अहिले झनै वदनाम, अनि अर्कातिर दिदी सरह मानेको जानकीको यस्तो प्रस्तावले उनी बोल्नै नसक्ने अवस्थामा छिन् ।
 
दृष्टिले मौनता तोड्दै भनिन्–‘बिराज तपाईको भाई भन्ने त थाहै थिएन त दिदी ।’ उनको चाहना विषयलाई अन्यत्र मोड्ने थियो । उनले फोन काटिदिइन् र लगत्तै स्विचअफ पनि ।
 
उनको दिमागमा सदिक्षाले वर्णन गरे अनुसारको आइए पनि पास गर्न नसकेको, गाउँको चोकमा बसेर चेलीबेटी जिस्काउने, बेलुकी भट्टीमा पसेर रक्सी धोक्ने बिराजनै आइरहन्छ । उनको मनमा जिज्ञासा जागिरहेको छ–दुनियाको आकर्षण म प्रति हो कि मेरो ग्रीनकार्डप्रति ? मायाँ मलाई हो कि मसँग रहेको मेरो ग्रीनकार्डलाई ? जवाफ उही ग्रीनकार्डमै ठोकिन्थ्यो ।