मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

चारदिनसम्म नेजामय थियो ड्यालस

चारदिनसम्म नेजामय थियो ड्यालस


डालसस्थित डिएफडब्लु एअरपोर्टमा उत्रिएर उबर कुर्ने प्लेटफर्ममा उभिँदा मौसम दशैंताकाको काठमाडौ जस्तो थियो । सररर हावा चलेको न गर्मी त अत्याधिक जाडो । टेक्सास अमेरिकाको गर्मी ठाउँमध्येको एक हो । विमानस्थलबाट झण्डै आठ मिनेटको उबर चढाइमै नेजाको कार्यक्रम स्थल हिल्टन गार्डेन इन पुगियो ।

कार्यक्रमस्थल छिर्ने हलवेमा लस्करै राखिएका टेबलमा स्वयमसेवी महिलाहरु थिए । एक ११ वर्षीया आर्या घिमिरे हातमा नोटप्याड र कलम लिएर बसेकी थिइन् आगन्तुकको नाम दर्ता गर्न गराउन । सञ्जय घिमिरे र तारा रावलकी छोरी दोस्रो पुस्ताकी आर्या बाबुआमा पुस्ताको कार्यक्रम सफल बनाउन स्वयंसेवामा तल्लिन थिइन् ।

स्थानीय पत्रकारहरु विकासराज न्यौपाने, सुरज भण्डारी, रामचन्द्र भट्ट, सूर्य थापा लगायत स्थानीय साथीहरूलाइ तल माथि यताउता गर्न भ्याइनभ्याइ थियो । नेजा उपाध्यक्ष समेत रहेका न्यौपाने खल्तीभरी होटलका कोठाका कार्डजस्तो इलेक्ट्रोनिक चाबी अटाई नअटाई बोकेका थिए । रुम चाहिने आगन्तुकलाई दर्ता गरेपछि उक्त कि कार्ड दिन उनी व्यस्त थिए । स्तरीय बसोबासका लागि कुनै कञ्जुस्याई थिएन । साथीहरुले कोठा लिन झण्झट नहोस् भनेर होटल व्यबस्थापनसँग चाबी पहिलेनै लिइएको थियो ।

उनीहरुको व्यस्तता हेर्दा यस्तो लाग्थ्यो उनीहरु बिहेघरका दाइभाइ हुन् । एकै सेकेण्डअघि सँगै भएको व्यक्ति छिनभरमै अलप हुने । धन्न मोबाइलको फ्रिक्वेन्सीले हाम्रा कानहरु जोड्ने गरेको थियो आवश्यक परेका बेला ।

नेजा अध्यक्ष सुदिप पन्त नेतृत्वको कार्यसमितीका सदस्यहरु दुइदिने वार्षिक साधारणसभा सफल पार्न युद्धस्तरमा खटिएका थिए । हिल्टनको पहिलो तल्लाको हलवेमा थुप्रै परिचित अनुहार र अनि त्यतिनै अपरिचित अनुहारहरु र्यान्डम गतिमा मानिसहरुसँग भलाकुसारी गर्र्दै छुट्टिदै थिए । टाइम ल्याप्समा त्यो दृष्यलाई हेर्ने हो भने तरल पदार्थमा सुक्ष्म कणहरुको लयविहिन गति अर्थात ब्राउनियन मोसन जस्तो देखिन्थ्यो होला ।

तिनै भीडमा आर्थिक पत्रकार विजय घिमिरे, अग्रज राजेश मिश्र, किशोर नेपाल, गिरिश पोखरेल, तारा बराल, सञ्जय घिमिरे, शैलेश आचार्य, शैलेश श्रेष्ठ, रामप्रसाद खनाल, होम लम्साल आदि थुप्रै थिए । वर्षौपछि भगवान खड्का र केशव खनाललाई पनि भेटेको थिएँ । त्यस्तै एउटै कार्यसमितिका अध्यक्ष सुदीप पन्त लगायत पदाधिकारीहरु किरण मरहट्ठा, सुरज भण्डारी, मच्छेदेवी गुरुंग, गोकुल प्रसाद ढकाल र प्रतिमा बास्कोटासँग त्यो पहिलो भेट थियो ।

नेपालमा एक लट सक्रिय पत्रकारिता गरेर अमेरिकी सपना देख्दै अमेरिका आप्रवासका लागि आएका व्यक्तिहरुको भेला थियो त्यो । धेरथोर पत्रकारिता कर्मलाई निरन्तरता दिइरहेका र अहिले चटक्कै लेख्न छोडेका वा कुनैबेलाका कलमधारीहरुको जमघट थियो त्यो ।

त्यसो त मे ५ को एनआरएन प्रेसिडेन्सियल डिबेटका लागि निम्त्याइएका एनआरएनका प्रतिनिधि तथा पदाकांक्षीहरु पनि प्रसस्तै थिए । आयोजकहरुका अनुसार अमेरिकाका विभिन्न राज्यबाट ५० को हाराहारीमा नेपाली सञ्चारकर्मीहरुको सहभागिता थियो ।

सप्ताहन्तको कार्यक्रम केही ढिला शुरु भएपनि पट्यारलाग्दो कत्तिपनि थिएन । मालाखादाको काइते सँस्कृति र मञ्चमा बस्नैपर्ने तथाकथित आकांक्षीहरुलाई कति पनि भाउ दिइएको थिएन । संयोगवश डेमोक्रेटिक पार्टीबाट मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सका सदस्य राजनीतिज्ञ ह्यारी भण्डारी पनि विजय दाइ, म, सम्झना पोखरेल लगायत अन्य साथीहरु बसेको टेबलमै बसे । भण्डारीलाई अगाडिको रो मा बस्न आउने पटकपटकको आग्रह भएपनि उनी दर्शकदीर्घामा हामी बसेकै टेवलमै बस्न रुचाए । एचबी भण्डारीको सरलता र सक्रिय व्यक्तित्वबाट हामी प्रभावित भयौं ।

फ्ल्यासब्याकमा भर्जिनिया

तपाई एकदम खुसी हुनुस्, जुन माहोलमा र जसरी पुरस्कृत तपाईंको नाम लिइरहिएको छ । यहाँ, दुइवर्ष अगाडि भर्जिनियाँमा हामीले त्यस्तो पाएनौँ । ठ्याक्कै यही भने मैंले यसवर्षको नेजा सामुदायीक पत्रकारिता पुरस्कारका विजेता शिव शर्मालाई । र, बधाइ पनि दिएँ ।

दुई वर्ष अघि नेजाको साधारण सभा भर्जिनियामा भएको थियो । त्यतिखेर नेपाली समूदायमा बिमा ठगीका समाचार धाराबाहिक रुपमा आएका समाचारले पीडितलाई न्यायको ढोका ढकढकाउनका लागि प्रेरित गरेको थियो । शिवप्रकाश दाइ, म(दिनेश कार्की) र मनोज अधिकारी तीनजनाको बाइलाइनमा प्रकाशित समाचारलाई पुरस्कार दिन कार्यक्रममा मतभेद थिएन, तर मञ्चमा समाचारको प्रभावको बारेमा होस वा पुरस्कारको बारेमा थप प्रकास पार्न होस् हदैसम्मको मतभेद देखाइएको थियो । यसको मुख्य कारण थियो इन्स्योरेन्स ठगीको गढ भर्जिनियामा एजेन्टहरुको जगजगी ।

आफन्तले आफन्त र साथीले साथी ठगेको त्यो ठाउँमा इन्स्योरेन्स ठगीमा संलग्नताका आरोपीहरु यत्रतत्र घुमिरहेका थिए । तत्कालिन कार्यसमितिमा पनि यसबारे अन्तरविरोध थियो होला । त्यतिहुँदा हुँदै पनि राजेश मिश्र, सञ्जय घिमिरे र कमला थापाको पुरस्कार छनौट समितिको निर्णयलाई अक्षरसः पालना गराउने निवर्तमान अध्यक्ष भोला आचार्य धन्यवादका पात्र छन् । पुरस्कार लिन हामी तीनजना र बाह्रखरीका अमेरिका संयोजक सन्तोष रिमाल बोष्टनदेखी रोडट्रिप गर्दै त्यहाँ पुगेका थियौं । पुरस्कारमा पाएको रकम चितवनको सानो घरलाई दिने घोषणा गरेर आयौं ।

इन्स्योरेन्सबारेको अमेरिकी नेपाली समूदायमा जनचेतना जगाउन अमेरिकाभरीका नेपाली सञ्चारकर्मीहरुले साथ दिए । भर्जिनियाबाटै कलाकार तथा सञ्चारकर्मी रामप्रसाद खनालले यूट्यूव मार्फत र न्यूयोर्कबाट शैलेश श्रेष्ठले ले पनि टेलिभिजनबाट बहश कार्यक्रम सञ्चालन गरेका थिए । बोष्टनमा ठगीएका सबै दुइ दर्जनभन्दा बढि उजूरीकर्ताले आफ्नो तिरेको रकम फिर्ता पाएका छन् । त्यस्तै भर्जिनियामा भने यस्तो ठगी चाइनिज, भियतनामी र अफ्रिकी समूदायमा पनि व्यापक भएको हुनाले छानबीनमा समय लागेको जानकारी प्राप्त भएको छ । 

प्रवासी समाजका कतिपय पात्रहरु विरोधाभाषात्मक छन् । त्यसकारण सहीलाई सही र गलतलाई गलत भन्न सक्दैनन् । यो लज्जाको प्रसंग कोट्याउन मन त थिएन । ठगीमा उजुरी गरेर क्षतिपूर्ती पाउनेहरु नैं ठगीमा संलग्नहरुलाई चोख्याउने अभियानमा लागिपरेका छन् ।  यही प्रसंगमा मलाई महाभारतमा कतै कृष्णले भनेको प्रसंग याद आउँछ, यो संसारमा दूर्जनको दुष्कर्मले भन्दा असल मानिसको मौनताले क्षति पुगेको छ ।   

नशा कि पेशा ?

नेजाको अघिल्लो एजिएमपछि बोष्टन फर्किएर साथी सन्तोष रिमालले बाह्रखरीमा एउटा फिचर लेखे प्रवासमा पत्रकारिता नशा कि पेशा ? धेरैले पेशा होइन नशा हो भने । मैंले नशा होइन प्यासन हो भनें । किनभने नशा त नकारात्मक कुरा हो त्यसको तुलनामा प्यासन चाहिँ तुलनात्मक रुपले सकारात्मक कुरा हो । यो दुइ वर्षमा परिस्थिति खासै बदलिने कुरा थिएन ।

प्रवासको पत्रकारितालाई धङधङी भनियो यसपटकको पत्रकारिताको प्रभावबारे गरिएको वुद्धिविलासमा पनि । वरिष्ठ पत्रकार किशोर नेपालले आफ्नो कुराकानीको शुरुवातमा अहिलेसम्म प्रवासको पत्रकारिताको प्रभाव नेपाली पत्रकारितामा पटक्कै नभएको बताएपनि प्रवासको पत्रकारिताबाट धेरैकुराको अपेक्षा गरे । तपाईंहरु हामीलाई पराल पठाइदिनुस, आगो हामी लगाउँछौं, किशोर नेपालले अमेरिकाबाट विभिन्न नविनतम प्रयोग र आविश्कारका समाचार पठाउन सुझाए ।

नेजाका सँस्थापक अध्यक्ष गिरिश पोखरेलको शब्दमा प्रवासको पत्रकारिता अझै धङधङी हो । उनले दोस्रो पुस्ताका नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्नुपर्ने बताए । नेपाली भाषाको पहिलो अनलाइन नेपालीपोष्ट डटकम गिरिश पोखरेलले शुरु गरेका हुन् अमेरिकाबाट । तर यसको विस्तार सन्तोषजनक रुपले हुन सकेन । विजय घिमिरेले प्रश्न गरे पोखरेललाई, तपाईंले यसको विकास र विस्तार किन गर्न सक्नुभएन । नेपालका दैनिक पत्रिकाहरुका आर्थिक ब्यूरो प्रमुख हुँदै आर्थिक पत्रिकाको सम्पादक र हाल हिमालयखबर डटकमका प्रधानसम्पादक घिमिरे अमेरिकामा आएर पहिचानको लागि पत्रकारिता गरेको र यसलाई जारी राख्ने बताए ।

प्रवासमा गुणस्तरिय नेपाली पत्रकारिताका सम्भावना रहेको घिमिरेको जिकिर थियो । त्यस्तै पर्लस्ट्रिट जर्नलका सम्पादक राजेश मिश्रले प्रवासमा नेपालीहरुको लागि आवश्यक पर्ने विषयवस्तु र यहँका रैथानेहरुको आगन्तुकबारेको धारणामा पनि समाचार बनाउनुपर्ने बताए ।

उनले पत्रकारिताको आचारसंहीताको बारेमा भने–‘जुन दिन नपाई मैंले यो समाचार लेखें भने के हुन्छ भनेर यसको परिणामको वा नाफा वा घाटाको बारेमा सोचेर लेख्नुहुन्छ, त्यो दिन तपाईंको कलम काम्न थाल्छ ।’

सहजकर्ता सञ्जय घिमिरेले प्रवासबाट कुनै समाचार लेख्दा नेपाली सम्पादकको अपेक्षा पुरा गर्न लेख्ने कि यता(अमेरिका)का पाठकको जिज्ञासा मेट्न लेख्ने भन्ने चुनौति रहेको उल्लेख गरे । पेनलिष्टहरुले प्रवासमा पत्रकारिताको प्रभावमा विषयान्तर भइरहँदा नागरिक दैनिकमा आर्थिक पत्रकारिता गर्नुभएको पूर्व सहकर्मी रामचन्द्र भट्टले भने इन्स्योरेन्स ठगी काण्ड, बिभिन्न घटनाहरुमा पर्दा अमेरिकाको सरकारले दिने सुविधा, राहतमा सञ्चारकर्मीहरुले लेखेको समाचारको उदाहरण दिएका थिए । उनले भने, यो विषयमा दिनेश कार्की, शिवप्रकाश र मनोज अधिकारीले लेखेका ती समाचारका सिरिजले यताको नेपाली समाजमा व्यापक जनचेतना ल्याएको थियो ।

समग्रमा यसपटकको नेजाको वार्षिक साधारणसभा एउटा छुट्टै आत्मिय माहोलकाबीच सम्पन्न भयो । एकातिर त्यहाँ छुटानाम भएका गुरु शिष्य(किशोर–राजेश)को मिलनको भावुक क्षण थियो भने अर्कोतिर नेजा स्थापनाकालदेखि संलग्न तर टाढिएका केही अग्रजहरुलाई सँगै जुटाउने अध्यक्ष सुदीप पन्तको प्रयास सफल भएको थियो ।

आयोजक समितिले कार्यक्रमको व्यवस्थापन यस्तरी गरिदिएको थियो कि त्यहाँ आमन्त्रित सबैलाई व्यस्त बनाइदिए अघिल्लो दिनदेखी नैँ । आयोजकहरुले कार्यक्रमलाई रोचक बनाउन बाघका बिभिन्न प्रजाति देखाउन ओक्लोहामाको चिडियाघरसम्म लगिएको थियो । उद्घोषकको जिम्मेवारी पाएका महासचिव किरण मरहट्ठा र सूर्य थापाको प्रस्तुती बेजोडको थियो । दुइ उद्घोषकले प्रसिडेन्सियल बहसको सहजीकरण यत्नपूर्वक गरेका थिए ।

यसपटकको नेजा साधारण सभाको व्यबस्थापनलाई खोट जस्ले लगाउँछ त्यो यात सामाजीक प्राणीनै होइन । यात त्यसको दिमागमा नेगेटिभिज्मको मुहानमात्र छ । हुनत म गत वर्ष सियाटलमा भएको अधिवेशनमा व्यबहारिक कारणले सहभागी हुन सकिन । त्यहाँ गएका साथीहरु अहिलेपनि भन्दैछन्–‘सहभागीहरुले मोटलको कोठा लिन पनि कम्ति सास्ती भोग्नु परेको थिएन ।’

यसपटकको साधारण सभाले अमेरिकामा नेपाली सञ्चारकर्मीको संस्था भनेको नेजानै हो रहेछ भन्नेमा कसैको विमती देखिएन । शुक्रबारदेखि सोमबारसम्म ड्यालस बास्तबमा नेजामय भएको थियो । अर्भिङदेखि युलेस, फोर्टवर्थसम्मका नेपाली रेष्टुँराहरु भरिभराउ थिए । सबैको मुखमा नेजानै झुण्डिएको थियो ।

र अन्तमा हामीलाई साधारण सभाको दुई दिने कार्यक्रमको अन्तिम साँझ बासुपुष्पा अधिकारी र पवन लामिछानेले गजलबाट पत्रकारको राम्रा पत्रकारको प्रशंसा र खराबप्रति व्यङ्ग्य गर्न छुटाएनन् ।

कसैले छुरा बोक्छन् कसैले मल्हम बोक्छन्

अनि कसैले पिरतिका झुठा कसम बोक्छन् ।

 

सबै योद्धाहरुले बन्दुक बोक्छन् भन्नु पनि त छैन

कोही योद्धा पत्रकार हुन्छन् हातमा कलम बोक्छन् ।