विचार / ब्लग

नेजाको यात्रा लामो छ, टिकट लिनुभयो ?

640 पटक पढिएको

-सहभागीको दृष्टिमा नेजाको ड्यालस साधारण सभा-

- राजेश मिश्र | 10th May 2019, Friday | २०७६ बैशाख २७, शुक्रबार ०८:३३

नेजाको  १३ औँ बार्षिक साधारण सभामा सहभागी हुनु मेरो लागि एउटा नयाँ, रोचक र घोचक अनुभव रह्यो। नयाँ यस अर्थमा कि, मैले सन् २००७ यता पहिलो पटक १२ बर्षपछि पुराना साथीहसँग कबड्डी खेल्ने माैका पाएँ । रोचक यसकारण कि सदर्न क्यालिफोर्नियाको एकात्मक जीवनशैलीबाट उम्किएर मैले टेक्ससको ताजा हाजाको वासना फेर्ने माैका पाएँ । सन् २००६ को गर्मीमा मैले बिताएको जस्तो ड्यालसको रंग यसपटक खैरो र पहेँलो थिएन । टेक्सस साँच्चै हरियो थियो ।

तर यो भ्रमण घोचक पनि थियो । शारिरीक कारणले होइन, यहाँका साथीहरूले अातिथ्यताका लागि जे जस्तो व्यवस्था गरे, यसमा खोट लगाउने हो भने, अमेरिकी शव्दमा हामीले आफूलाई 'अनग्रेटफूल' भन्नुपर्छ । तर केही भाईहरूले मेरो सहभागितालाई मुदा बनाएर जे जस्ता टिप्पणी गरे, त्यो पनि सामाजीक सञ्जालमा, त्यो मेरा लागि घोच्ने खालको थियो ।

यसपटक ड्यालस पुग्नु मेरा निम्ति न सहज थयो, न त असहज नै । अमेरिकामा बस्ने हामी नेपाली पत्रकारहरू एक आपसमा "घण्टा हान्ने" भन्दै एक अर्काको घुँडा खुस्काउन खप्पिस छाै। हाम्रो राष्ट्रिय चरित्र यसैबाट छताछुल्ल हुन्छ । नेपालमा हामीले नेपाली भाषामा काम गरेका हाै । "घण्टा हानेर" पनि हामी अमेरिकामा आफ्नो जीवनको केही बहुमुल्य समय खुकुत्रेमा हाल्छाैँ। नेपालीमा लेख्छाै। नेपालमा बालेको दियो हामीले यता पनि निभ्न दिएका छैनाैँ । घरको मानो खाएर नै सही, हामी आफ्नो काम गर्छाँ, स्वयमसेवा हो यो ।

साथीभाईहले एक अर्कालाई आहत गर्न प्रयोग गर्ने "घण्टा हान्ने" जीवनशैलीको असुविधाबाट म मुक्त छु। पाईजामा लगाएर घरबाटै काम गर्छु । तैपनि तीन दिनको समय छुयाउन मैले तीन दिन अघिनै भाँती पुर्याएर काम गर्नुपर्यो । ड्यालसमा बितेका तीन दिन मेरा लागि खेर नजाने खालकै भएर बित्यो ।

नेजाको अवधारणाः

नेजाको सस्थापक सभापति गिरिश पोखरेल म भन्दा पाँच वर्षअघिनै अमेरिका अायो । सन् २००१ मा नेपालीपोष्टको सुरूवात गरेर उसले अमेरिकीभूमिमा नेपाली पत्रकारको इतिहास बनायो । बिस्तारै नेपालमा पत्रकारिता गरेकाहरूको संख्या यता पनि बढ्न थाल्यो । पछि हाम्रो भलाकुसारीमा उसले नेजा स्थापनाको पहल गर्ने अाफ्नो चाहना बतायो । मैले भनेको पहिलो वाक्य थियो–"नगराै यार, यो भ्यागुताको धार्नी हुन्छ । यसले जुटाउने होईन, फुटाउने काम गर्नेछ ।" गिरिश यो कुरामा असहमत नै त थिएन, तर उसको चाहनाको उडानले उचाई लिईसकेको थियो। उसले फेरि भयो, "होईन, यसमा राजनीति छिर्न नदिए त के फरक पर्ला र ?" मलाई लायो– कुरा त ठिकै हो।

त्यसपछि सन् २००७ मा भर्जिनियामा पहिलो पटक हाम्रो अधिवेशन गर्ने टुंगो लाग्यो । अधिवेशनस्थलमा पत्रकारहरूभन्दा हामी सबैको पारिवारिक उपस्थिती थियो । पत्रकारहरू मुस्किलले १०/१२ जना थिए । मैले गिरिशलाइ भनेको सम्झिन्छु-'तिमीले भनेको कुरा यस्तै हुने हो भने संस्था टिक्छ । यो हाम्रो वार्षिक भेटघाटको अवसरका रूपमा अघि बढाउँ । एउटा फ्याटर्निटी जस्तो । हामी भेला होअाैँ, परिवार नाचैाँ, गाअाै, पिकनिक मनाअैँा । एक अापसमा सुखदुख साटासाट गराैँ । सकेको सहयोग गराैँ । तर राजनीतिक अाधारमा गुटलाइ जन्मिन रोकाैँ ।

तर सोचेको जस्तो कहाँ हुन्छ र ? हामी नेपालीहरू जहाँ पुगेपनि अाफ्नो संस्कारको साँचो घाँटीमा झुण्डाएरै पुग्छाैँ । हाम्रो मनसाय त सबै जना एकजुट भएर नेपालीपोष्टलाइ नेपालीहरूको बलियो वेवसाइटका रूपमा विकास गर्ने पनि थियो । तर पछि समयक्रमसँगै हरेक अागन्तुक नेपाली पत्रकारहरूको हरेक अपार्टमेन्टबाट नयाँ वेवसाइटहरू खुल्न थाले । राजनीतिक विचारका अाधारमा समुदाय विभाजित हुन थाल्यो । साथीहरूबीचको व्यक्तिगत सम्बन्ध र नेपालमा गरेको दाउ र भोगेको पेचका कारण नयाँ मुलुकमा वैमनस्यताले नयाँ रूप लिन थाल्यो ।

कुण्ठा, अाक्रोश, पीडाहरू कोठैपिच्छे सञ्चालिन अनलाइन संस्करणहरूमा मुखारित हुनथाले । कांग्रेस र कम्युनिष्ठ खेमाका नाममा पानी बाराबार हुन थाल्यो । कस्को कुन कार्यसमितिले के गर्यो, यो सम्बन्धमा नजाउँ । सन्दर्भ लामो हुन्छ ।

तर खुलेको १२ वर्षपछि नेजा फुटिछाड्यो । अघिल्लो वर्षको सियाटल अधिवशेन लगत्तै नेजा कार्यसमितिका तत्कालिन एक पदाधिकारीकै अगुवाइमा बिखण्डन अायो । नेपालमा उनी कम्युनिष्ट पृष्ठभूमिका पत्रकारका रूपमा सानोतिनो परिचय बनाउने व्यक्ति थिए ।

अमेरिकामा उनले समुदायिक हितमा कलम चलाएको खासै देखिएको पनि छैन । तर एउटा कुरा के सत्य हो भने, जसको कलम चल्दैन, उसको मुख बढी चल्छ । पेशागत ल्याकत नभएकाहरूनै 'एक्टिभिजम'मा बढी सकृय हुन्छन् । नेपालमा पनि यो देखिएकै कुरा हो। अमेरिकामा देखिदैछ । यस्तो अर्बुद रोगको एउटै उपचार छ। संस्थालाई रासजनीतक संक्रमणबाट मुक्त गर्ने ।

फुट्ने मनसायबाटै फ़ुटेकाहरूलाई चाकरीको भरमा जुटाउन सम्भव हुँदैन। तर नेजा भित्रै रहेर व्यक्तिगत मनोमालिन्यका आधारमा समाजमा भ्रम छर्न खोज्नेहरूको कुनै अोखती हुँदैन । अहिलेको नेजाको चुनाैति पनि यही हो ।

फर्किएको बाह्र वर्षः

नेजा भित्रको अनाहकको कलहले मलाई आफैले उत्साहका साथ शुरू गरेको यो संस्थाप्रति वितृष्णा उत्पन्न भएको थियो। यसबीच नेजालाई अमेरिकाका लागि नेपाली राजदुतको प्रत्यक्ष संलग्नतामा फुटाइयो । हरेक दुइ वर्षमा हुने एनअारएन अमेरिकाको चुनावसँगै पहिले यो चुनावका उम्मेदवारहरूले द्वन्द्वको विगुल फुक्छन् ।

 त्यो ध्वनीको पृष्ठभूमिमा पत्रकारहरू अाफ्नो लक्ष्मणरेखा खिच्छन् । लेन र देनको चलखेलमा नेपाली समुदाय थप विभाजित हुन्छन् । एनअारएन चुनावको छेकमा नेजाको वार्षिक साधारण सभा हुनुलाइ पनि कारक मान्न सकिन्छ ।

यसपटक नेजा भित्रकै केहीले साधारण सभामा उपस्थित हुनु, सहभागिता जनाउनुभन्दा सामाजीक सञ्जालमा अाफ्नो अाङ्ग कन्याएर छारो उडाउन उचित ठाने । अाफ्नो युद्ध अाफैँ लड्नु बीरताको प्रतीक हो । अरूको काँधमा बन्दुक तेर्स्याएर लड्ने काँतर हो । फेसबुकका भैरबहरूले अागामी दिनमा यस्तो कलाविहिन नृत्य नदेखाएकै बेस। १२ वर्षपछि नेजामा मेरो पुनरागमन फुटाउन होईन, जुटाउन थियो। नेजा सग्लो हुँदो हो त, एनआरएन उमेदवारहका लडाकुहले पत्रकारलाई एकोहोरो आक्रमण नगरेका भए, म यो सम्मेलनमा सहभागी हुन लालायत हुनपर्ने कारण नहुन पनि सक्थ्यो। सही बेलामा सही निर्णय लिन सक्नु जीवनको सार्थकता हो। यहाँ अड्नेहरूनै टाकुरामा पुग्छन् । लड्नेहरू सबै भासिन्छन् ।

नेजाको ड्यालस बैठकक मेरा निम्ति व्यक्तिगत रूपमा उपलव्धिमुलक रह्यो । झण्डै २० वर्षपछि मेरो किशोर नेपाल (दाई) सँग सामना भयो। पछिल्लो पटक अमेरिका आउँदा उहाँले नेपाली भाषामा लेख्ने अमेरिकी पत्रकारहरू माथि जे जस्तो कटाक्ष गर्नुभयो, त्यसले मेरो मगज पनि रन्थनिएको थियो । दाई मेरा गुरू हुन। तर मैले मर्यादा नाघेर उहाँ विरूद्ध लेख्ने अाँट गरेँ । फेसबुकमा लामो समयसम्म गाँड कोराकोरनै भयो । अन्त्यमा उहाँले मलाइ फेसबुकबाटै ब्लक गरिदिनुभयो ।

यसपटक भेट हुँदा नमस्कार गर्नु अघि मैले सोधेँ–‘यु स्टील म्याड एट मी दाइ ?‘ उहाँको जवाफ थियो–‘अब मेरो यो संसारमा तँ सँग रिसाएर मात्र बस्ने काम बाँकी भयो ?‘ हामी अँगालोमा बाँधियाै । फोटो खिच्न कसैलाइ उहाँले बोलाएर भन्नुभयो–‘राजेश र मैले हात मिलाएको फोटो खिच्नुपर्यो एउटा ।‘ बन्द भएको फेसबुक पनि खुल्यो ।

किशोर दाईको हृदयमा फेरि पलेँटी कसेर बस्न पाउनु मेरा लागि एउटा सुखद अवसर थियो । ३० वर्षपछि शैलेश अाचार्यसँग बसेर उहाँको ‘सार्काजम‘ को मज्जा लिनुको अानन्द बेग्लै थियो । नेजालाई छोडेर यो संस्थालाई अगाडी, पछाडी, दायाँ अनि बायाँ सबैतिरबाट ठोकेर नथाक्ने मेरो पुरानो साथी शैलेश श्रेष्ठ म जस्तै फेरि संस्थामा फर्किनुको रमाइलो अाफ्नै ठाउँमा जे थियो गज्जब थियो ।

तारा बराल दाईसँग एक दशक पछि 'चीयर्स' गर्न पाउनुको क्षणले मलाइ फेरि तरूनो तुल्याएको थियो । मैले फेसबुकमा चिनेका भाइ र बहिनीहरू, मेरा लेखका कारण प्रशंसकहरूसँगको घुलमिलले मलाइ दिएको प्रेरणा मैले पैसा तिरेर किन्ने किताबभन्दा महंगो छ । धेरै नाम म सम्झिन सक्दिन, तर त्यो सामुहिकताको अानन्द बिर्सन पनि गाह्रो छ ।

गिरिश र मैले नेजाका बारेमा कुनै बेला देखेको सपना यस्तै थियो । मेरा निम्ति त्यो सपना यसपटक साकार भयो । केही साथीहरूले सपना देख्न बाँकी छ । सुन्दर सपना देख्न मनको मैलो फ्याँक्नुपर्छ होला ।

हामी मिल्छाैँ, लड्छाै, फेरि मिल्छाैँ र अघि बढ्छाैँ । १९ वर्षको नेजाको यात्रा लामो छ । अाफ्नो टिकट सुरक्षित गराैँ।

(लेखक, अमेरिकाबाट प्रकाशित हुने अनलाइन पलस्ट्रिट जर्नलका सम्पादक हुन् ।)