मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाको साधारण सभा ड्यालसमा सुरु

नेजाको साधारण सभा ड्यालसमा सुरु


ड्यालस (टेक्सस) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं बार्षिक साधारण सभा शनिबारदेखि ड्यालसमा सुरु भएको छ ।
 
साधारण सभाको भव्य समारोहबीच पञ्चकन्याले उद्घाटन गरेका थिए । त्यस अवसरमा अतिथि लगायत नेपाली समुदायका अग्रजहरुले पत्रकारिताले समुदायको हितका लागि हुनुपर्नेमा जोड दिएका थिए । 
 
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्ब सभापति किशोर नेपालले पत्रकारिता अरुले अपेक्षा गरे अनुसार निष्पक्ष हुनै नसक्ने उल्लेख गर्दै यसले जनताको पक्षमा निरन्तर पहरेदारी गर्ने बताए । ‘तपाइहरु सञ्चारकर्मी जहाँ रहेपनि पत्रकारिताको धर्म र संस्कृतिको ख्याल गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु,’ विशिष्ट अतिथि नेपालले भने । 
 
पाँच दशकदेखि निरन्तर पत्रकारितामा संलग्न नेपालले पत्रकार महासंघको वर्तमान नेतृत्वप्रति पनि गुनासो गरेका थिए । ‘पत्रकार महासंघ र प्रेस काउन्सिल एउटै जस्तो देखिन थालेको छ, सबै मिलेर महासंघलाई घचघचाउन जरुरी भैसकेको छ,’ उनले भने ।
 
पछिल्लो समयमा नेपालमा स्वतन्त्रतामाथि अंकुश लाग्ने संकेत देखिएको उल्लेख गर्दै नेपालले अमेरिकी स्वतन्त्रताको भूमिमा बसेर स्वतन्त्रताको लागि सहयोग गर्न समेत आग्रह गरे । 
 
सोही अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले अमेरिकाको नेपाली समुदायलाई चेतना जगाउने, सुसूचित गर्ने काममा सञ्चारकर्मीहरुले सहयोग गर्दै आएको उल्लेख गरे । सोही कार्यलाई प्रोत्साहन गर्नका लागि आपूmले पनि सहयोग गर्दै आएको जोशीले बताए । 
 
कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले अमेरिकामा आएका हरेक व्यक्तिका आफ्नै आफ्नै कथाहरु रहेको उल्लेख गर्दै सबैले यो अवसरको भूमिको उपयोग गरेर अघि बढ्न आग्रह गरे । ‘१४ वर्ष अघि ग्याँस स्टेशनमा काम गर्दै गर्दा मैले यो अवस्थामा आइपुगौँला भनेर शायदै सोचेको थिएँ, तर यो भूमिले मलाई अवसर दियो । म जस्तै आँट गर्ने सबैलाई समान अवसर दिन्छ,’ उनले भने ।
 
उनले नेजालाई आपूmले कसरी सहयोग गर्न सक्छु भन्ने बारेमा सोचिरहेको समेत बताए ।
 
नेजाका उपाध्यक्ष विकासराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एनआरएनका सल्लाहकार हरिबोल भण्डारी, शैलेशराज आचार्य, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष मनोज सिग्देल, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रष्टीका विनय अर्याल, नेजाका सल्लाहकार तारा बराल लगायतले शूभकामना व्यक्त गरेका थिए । 
 
नेजा अध्यक्ष सुदीप पन्तको सभापतित्वमा भएको कार्यक्रममा सचिव सुरज भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । 
 
ड्यालसको नेपाली समुदायको इतिहासमै नेजाको साधारण सभाको उद्घाटन भव्य र सभ्य रुपमा भएको प्रतिकृया नेपाली समुदायले व्यक्त गरेका थिए । साधारण सभामा अमेरिकाको पूर्बमा बोस्टन, न्यूयोर्कदेखि लिएर पश्चिमको लसएन्जलल, सानफ्रान्सिस्कोसम्मबाट सहभागिता छ । 
 
साधारण सभाकै क्रममा आइतबार दिउँसो नेपाली मन्दिरमा एनआरएनको प्रेसिडेन्सिल डिबेट हुनेछ । साँझ पत्रकारहरुका लागि मिडिया सेसन आयोजना हुँदैछ ।
शर्मा सम्मानितः
साधारण सभाका अवसरमा पत्रकार शिव शर्मा सम्मानित भएका छन्। शर्मालाइ अमेरिकामा बन्दुक अातंकले पारेको असरका बारेमा गरेको रिपोर्टिङलाइ पुरस्कृत गरिएको हो ।
शर्मालाइ एकहजार एकसय एक डलर राशीको पुरस्कार पुरस्कार प्रदान गरिएको हो । 
सोही अवसरमा पुरस्कारका प्रायोजक एनअारएनका रिजनल कोअर्डिनेटर गाैरीराज जोशीलाइ समेत सम्मान गरिएको थियो ।