विचार / ब्लग

डेटिङ्ग– स्पट बेल्टलाइन

963 पटक पढिएको

– रामचन्द्र भट्ट

कथा | 28th Apr 2019, Sunday | २०७६ बैशाख १५, आईतवार ०९:११
साँझपखको हिँडाई सकेर तेजप्रसाद लिजिङ अफिस अघिल्तिरको बेञ्चमा सुस्ताएका छन् । मार्च महिनाको बेलुकीपख ड्यालसको मौसम हिँडडुल गर्नका लागि अति उत्तम छ । आज उनले बेल्टलाइनमा आफ्नो अपार्टमेन्टदेखि अर्भिङमलसम्म र त्यहाँबाट फेरि फर्किएर हाइवे–१६१ नजिकको रेसट्रयाक ग्याँस स्टेशनसम्म हिँडे । यति हिँड्दा झण्डै ६ माइल यात्रा तय भयो । दिनको ३÷४ माइल हिड्ने समय मिलेन भने तेजप्रसादको जिउलाई के नपुगेजस्तो, केही नभएजस्तो हुन्छ । डाक्टरले पनि दिनमा कम्तिमा एकघण्टा चाँही मज्जाले हात हल्लाउँदै हिड्नु भनेका छन् उनलाई ।
 
बुढेशकालमा एकातिर डायबिटिज, अर्कोतिर प्रेसर, कोलेस्ट्रोल सबैले च्यापेको छ । रोगलाई नियन्त्रणमा राख्नकै लागि भएपनि उनी कहिले बिहान त कहिले साँझ दुई घण्टा मज्जाले हिँड्छन् । हिँडाई प्रायः नर्थलेक कलेज तिर हुनेगर्छ । कहिलेकाँही बेल्टलाइनै बेल्टलाइन हिँड्छन् । कलेजतिर जाँदा आधुनिक युवतीहरु हेरेर आँखालाई सेकाउने अवसर उनलाई मिल्छ । बुढेशकालले छोइसके पनि नातिनी उमेरका युवती देख्दा उनको शरिरमा छुट्टै तरङ्गका सिर्का छरिन्छ । ३५ वर्ष अघि त्रिचन्द्र कलेजमा पढ्दाताकाको दिनमा पुग्छन् उनी । ती दिनहरुलाई याद गर्नकै लागि भएपनि हप्तामा कम्तिमा चारपटक चाँही नर्थलेक कलेज अघिल्तिरको बाटो हुँदै खुट्टा तन्काउछन् ।
 
आज भने उनले बेल्टलाइनमा अलि लामै हिँडाइ गरे । ५५ को हाराहारीमा उमेर पुगिसकेकाले अलिकति थाकेको महसुस पनि भयो उनलाई । त्यही मेसोमा एकैछिन अपार्टमेन्टको लिजिङ अफिस अघिल्तिर बेञ्चमा आराम गर्न बसे ।
 
अलि टाढाबाट ५/६ वर्ष जतिको बच्चालाई डोहोर्याउँदै एउटी महिला उनी भएतिरै आउँदै छिन् । कुर्ता सुरुवाल लगाएकीले नेपाली हुन् कि भारतीय, पाकिस्तानी हुन् कि बंगाली हुन् भन्नेमा तेजप्रसाद कन्फ्युजमा परे । अर्भिङ सिटी, त्यसमाथि बेल्टलाइन जस्तो गुल्जार (व्यस्त) ठाउँको अपार्टमेन्ट भएकोले धेरै नेपालीको प्राथमिकतामा परेको छ यो ठाउँ । सार्वजनिक बस समेत चल्ने भएकोले गाडी नहुनेका निम्ति पनि सजिलो छ । नजिकै लाइट-रेल स्टेशन हुनाले पनि डालस डाउनटाउन, फोर्टवर्थसम्म पुग्न सजिलो छ । बेल्टलाइनकै सेरोफेरोमा झण्डै दुईसय परिवार नेपालीहरु डेरा लिएर बसेका छन् । यो ठाउँकै बैगुन भनेको एउटै हो–अति होहल्लायुक्त ।
 
‘मलाई नसता न बाबु, मसँग पैसा छैन क्या । कार्ड पनि तेरै ममीसँगै छ । पैसा नभै कसरी चकलेट किन्नु ?‘ नजिक आउँदै गर्दा महिलाले बोलेको प्रष्टै सुने तेजप्रसादले । अब चाँही उनी ती महिला नेपाली हुन् भन्नेमा ढुक्क भए । नातीले दुःख दिएको हुनुपर्छ भन्ने लख काटे ।
 
‘के भन्छन् हिजोआजका उम्रिदै तीन पात भएका यी बच्चाहरु ?‘ बोल्ने वातावरण मिलाउँदै तेजप्रसादले सोधे । उनी उसै पनि फरासिलो स्वभावका छन् । नचिनेका मानिसहरुसँग बोलीचाली, चिनजान गर्न उनी पटक्कै लजाउँदैनन् ।
 
‘ए बा पनि नेपालीनै पो हुनुहुँदो रहेछ । हेर्नुस् न यो नातीलाई जेली कि जुली हो के जाति चकलेट चाहियो रे । आफूसँग यताको पैसा पनि भएन । बुहारीले कार्ड बोकेकी हुन्थी । उ पनि घरमा छैन । यसले दिनु दुःख दियो नि।‘ महिलाले भनिन् । 
 
तेजप्रसादले मनमनै चाँही ती महिलाले ‘बा’ नभने पनि हुन्थ्यो नि भन्ने लाग्यो । उमेरले चाँही म भन्दा त्यस्तै ८/१० वर्ष त कान्छी होलिन् यी । बा भनेर संबोधन गर्छिन् अचम्म । कसैले ‘बा’ भनिदिँदा उनको मुटुमै पाषाणले प्रहार गरेजस्तो हुन्छ उनलाई । अझै विशेषगरि महिलाले ‘बा’ भनिदिँदा त उनको मन अमिलो हुन्छ ।
 
अझै कसैले पत्याइदिने हो भने त एउटा अमेरिकी नागरिक थप्ने आँटमा छन् उनी । ५० कटेपछि जीवनसाथीको महत्व झनै पर्ने रहेछ भन्ने कुरालाई उनले अहिले आएर आत्मसात गरेका छन् ।
 
परिस्थितीलाई सहज बनाउँदै उनले भने–‘हिजोआजका केटाकेटीहरु यस्तै हुन् । झन यहाँ अमेरिकामा जन्मे हुर्केका त छोइसाध्यै छैनन् ।’
 
महिलाले पनि हो मा हो मिलाइन् ।
 
‘दुःखै दिएको छ भने मसँग छ नि त नगद । ल लिनुस्’ तेजप्रसादले खल्तीबाट ५ डलरको नोट निकाल्दै महिलातिर हात अघि बढाए–‘यो पनि मेरो नाती सरहै हो ।’
 
‘भो भो, बानी बिगार्नु हुँदैन । आज यसरी किनेपछि यसले भोली पनि यस्तै गरि किनिदिनु भन्न थाल्छ । बानी नबिगारौँ,’ उनले नोट लिन अप्ठेरो मान्दै भनिन् । तेजप्रसादले हातमा निकालीसकेको नोटलाई खल्तीमा राख्नु अघि भने–‘अप्ठेरो नमान्नुस न बहिनी । नेपालीले नेपालीलाई अप्ठेरो परेको बेलामा त हो नि सहयोग गर्ने भनेको ।’
 
उनले नोट समात्न मानिनन् ।
 
तेजप्रसादले मौका छोपेर महिलाको नाम सोधे ।
 
‘हजुर, दुर्गादेवी ।’
 
‘मेरो चाँही तेजप्रसाद । नेपालमा छँदा गाउँमा, अफिसमा काम गर्दा तेजु पनि भन्थे । यहाँ त गोराहरुले ‘टेज’ भनेर बोलाउँछन् ।’ उनले बेलीविस्तार लगाउन भ्याइहाले ।
 
उनीहरु बीच परिचय साटासाट भयो । दुर्गादेवी पनि त्यही अपार्टमेन्टमा बस्ने रहिछन् । तर ‘बी’ ब्लकमा । छोराबुहारीले बोलाएर अमेरिका आएकी थिइन् उनी । चार महिना अघि आएकी हुन् ।
 
तेजप्रसाद चाँही पाँच महिना अघिमात्र बोस्टनबाट ड्यालस सरेका । बोस्टनको तीन वर्षे बसाई पछि हिउँ र आन्ध्र महासागरीय सिरेटो सहन नसकेर गत दशैं लगत्तै सपरिवार ड्यालस सरेका हुन् ।
 
‘बाउ आमाले अतिनै पुल्पुलाएर पालेका छन् । यसलाई थेग्न मलाई असाध्यै गाह्रो भैसक्यो भन्या,’ दुर्गादेवीले नातीको बारेमा गुनासो गरिन् । ‘हेर्नुस् न, यहाँ त थप्पड दिन पनि मिल्दैन अरे । यसको बाउलाई मैले थप्पड लगाई लगाई तह लगाएको थिएँ,’उनले भनिन् ।
 
‘हो नि यहाँ त बच्चालाई कुट्नै नहुने रहेछ । मेरी नातिनी पनि यति चकचके र भनेको नमान्ने छे कि के बयान गर्नु । कुटेर तह लगाउँ भनेपनि पुलिसले समातेर जेल हाल्ने रहेछन् । दुई वर्ष अघि यही टेक्ससमा एकजना नेपालीले बच्चा कुटेको भएर जेल परेका थिए रे । समाचारमा पेढेको थिएँ मैले ।’
 
‘त्यही त अमेरिकामा यी बच्चा हुर्काउन साह्रै गाह्रो रहेछ । आऽ हाम्रा पालामा सजिलो थियो,’दुर्गादेवीले पनि खुलेरै कुराकानी गरिन् ।
 
‘हो नि, हजुर । हाम्रा समय त बडो सजिलो थियो नि । मेरो यही छोरालाई पनि मैले बिहान–बेलुकी होमवर्क नगर्दा कम्ति ठटाउँथे ? त्यही अनुशासनमा राखेकै हुँदा अहिले पढेर राम्रो भएको छ । यहाँको त खै पढाई पनि के हो ? होमवर्कनै दिने रहेनछ स्कुलले ’ तेजप्रसादले भने ।
 
कुराकानी गरुन्जेलसम्म पनि ५ डलरको नोट तेजप्रसादको हातैमा थियो । उनी त्यही नोटलाई घरि बेर्दै, घरि फुकाउँदै कुराकानी गर्दैछन् ।
 
‘अनि कहाँ पुगेर आउनुभएको त हजुर चाँही,’ दुर्गादेवीले सोधिन् ।  
 
‘यसो जिउँ तन्काएर आएको नि । जीउ त फुर्तिलो राख्नुपर्यो नि । नत्र रोगले गुँड लगाइहाल्छ शरिरमा । फेरि अमेरिकामा उपचार त साह्रै महंगो नि । त्यही भएर म त यो बेल्टलाइनको माथिसम्म दिनहुँ हिँडेर आउने गर्छु, ’ उनले भने ।
 
दुर्गादेवीले पनि आफू बिहान नातीलाई स्कुल पुर्याएपछि अपार्टमेन्टको वरिपरि हिँड्ने गरेको सुनाइन् । ‘हामी पनि २/३ जना बुढीहरु जम्मा हुन्छौँ । सँगै मिलेर हिँड्छौँ । तर गाह्रो हुने रहेछ, ’उनले भनिन् ।  
 
–०–
 
सरकारी सेवामा उपसचिवबाट पेन्सनप्राप्त हुन् तेजप्रसादले । थुप्रै जिल्लामा सिडिओ भएर पनि काम गरे उनले । खरिदारमा ८ वर्ष काम गरेपछि लोकसेवा आयोगको परिक्षामा शाखा अधिकृत पास गरेका हुन् । २२ वर्ष सरकारी सेवामा बिताए । अवकास लिँदा उपसचिव भएको चार वर्षमात्र पुगेको थियो । सहसचिव हुने संभावना नदेखेपछि उनले राजिनामा हानेर अमेरिका छिरेका हुन् ।
 
६ वर्ष अघि पत्नीको निधन भएपछि उनी बिछिप्त भए । जागिर छाड्नुको कारण यो पनि थियो । दुई सन्तानमध्य एउटा छोरा अमेरिकामा र छोरी बेलायतमा थिइन् ।
 
पत्नीको निधन भएको दुई वर्षसम्म काठमाडौंमै बसेर उनले जागिरलाई निरन्तरता दिए । आफ्नो घर भए पनि त्यहाँ नबसेर उनी बहिनीको घरमा बसेर जागिरलाई धाने । तर छोरीको सल्लाह अनुसार उनी राजिनामा लिएर छोरासँग बस्नका लागि अमेरिका आए  ।
 
पत्नी जीवीत छउन्जेल घाम छँदै कहिल्यै तेजप्रसाद घर छिरेनन् । अफिस छुटेपछि सहसचिव, उपसचिवहरु मिलेर कहिले कुन रेष्टुरेन्ट त कहिले कुन भट्टीमा छिर्थे । आकाश–पाताल जोड्ने गफ जोत्दै ठेकेदारको सोमरसले पेट सिंचन गरेपछि उनी घर पुग्थे । उनी त के पुग्नु ? ड्राइभरले पुर्याइदिन्थ्यो । सोमरसको करामतले कतिपटक त उनी घरको मुलढोकामै पछारिएका छन् । पत्नीले उठाएर डोहोर्याउँदै बेडमा पुर्याएर सुताउँथिन् ।
 
पत्नी बितेपछि केही महिना उनले सोमरसको सेवन छाडे । मन बहलाउन सहयोग गर्छ भन्दै सहकर्मीहरुले उक्साए । त्यही लहैलहैमा लागेर फेरि पिउन थाले । पिएर घर पुग्दा पहिले जस्तै गेटमै पछारिन्थे । कैयौँ पटक यसरी पछारिँदा भोलीपल्ट बिहानसम्मै उनी त्यही लडिरहेका हुन्थे । सम्हालेर लैजाने कोही हुन्थेन ।
 
बहिनीले घटना थाहा पाएर आफ्नै घरमा लगेर एउटा कोठा दिएर राख्न थालेकी थिइन् । बहिनीकहाँ पस्दा समेत पत्नी पीडा भुल्न नसकेपछि छोरीको सल्लाह अनुसार उनी जागिरलाई राजिनामा दिएर अमेरिका हानिएका हुन् ।
 
उनको छोराले अमेरिकी नागरिकता लिइसकेका कारणले अमेरिकामा स्थायी बसोबास पाउनका लागि कठिनाई पनि भएन ।
 
उनका छोरा बैंकमा रिलेसनशीप मेनेजर छन् । बुहारी चाँही नर्स । स्टुडेण्ट भिसामा अमेरिका आएका दुबैबीच यहीँ भेट भएर आठ वर्ष पहिले बिहे भएको हो । केही वर्ष लिभिङ टुगेदर बसेका उनीहरुले बिहे भने नेपालमै गएर गरेका थिए । उनीहरु दुबैको कमाई राम्रै छ । तरपनि बोस्टन जस्तो महंगो ठाउँमा भाडामै उनीहरुले धेरै तिर्नु परेपछि उनीहरु दीर्घकालिन रुपमा स्थायी बसोबासका लागि उपयुक्त ठाउँको खोजीमा ड्यालस झरेका हुन् ।
 
सर्ने सोच बनाउनुको अर्को कारण चाहि नेपालीहरुको उपस्थिती बाक्लो भएको ठाउँमा जाँदा बच्चाले पनि राम्रो सङ्गत पाउँछ कि भन्ने उनीहरुको सोचाई थियो । सबै भन्दा मुख्य कुरा चाँही तेजप्रसादको शरिरले अमेरिकाको उत्तर–पूर्बी राज्यहरुमा हिउँदका समयमा हुने भारी हिमपातलाई सहेन । चिसो उनको शरिरका लागि निकै वाधक बन्यो ।
 
बोस्टनमा छँदा तेजप्रसादले समय बिताउन भनेर एउटा स्मोक–शपमा दिनको ५ घण्टा जति काम गर्थे । एउटा भारतीयको थियो त्यो स्मोकशप । त्यहाँ काम गर्दा दिन बितेको पनि पत्तो नहुने र मानिसहरुसँग बोल्ने बानी पनि विकास हुने भएकाले उनले काम गरेका थिए । छोराबुहारीले पर्दैन भनेर घरमै बसे आराम गर्न आग्रह गरे पनि उनले मानेनन् । मन लागेको बेलामा खर्च गर्न केही डलर पनि हुने र शरिरलाई पनि चलायमान बनाइरहन मिल्ने भएकोले उनले काम गरे ।
 
तीन वर्ष बोस्टन बसाई पछि उनी पनि छोराबुहारी र एउटा नाती सहित ड्यालसको अर्भिङ सिटी सरेका हुन् । छोराको जागिर सरुवा भएपनि बुहारीले भने ड्यालसमा आएर अर्को हस्पिटलमा एप्लाई गरिन् । नर्सिङमै ५ वर्षभन्दा लामो अनुभवले गर्दा उनले एक हप्ता पनि खाली हात बस्नु परेन ।
 
घर किन्नका लागि प्लानो र फ्रिस्को एरिया प्राथमिकतामा राखेर हेरे । प्लानो, फ्रिस्को नयाँ वस्ती भएको र ठूला आइटी, बैंकिङ कम्पनीहरुको हब बन्दै गएकोले त्यतातिर उनीहरुले आँखा लगाएका छन् । घर नमिलेसम्मका लागि भनेर उनीहरु ६ महिनाका लागि बेल्ट लाइनको यो अपार्टमेन्टसँग सम्झौता गरेर बसेका हुन् । यहाँ बसेको पनि ५ महिना भैसक्यो । तेजप्रसादको छोराले गत महिनामात्र फ्रिस्कोमा नयाँघरको अर्डर दिएका छन् । त्यो तयार हुन अझै ५ महिना लाग्छ । त्यतिन्जेलसम्मका लागि उनीहरु यही अपार्टमेन्ट बस्ने निधो गरेर सम्झौताको म्याद थपिसकेका छन् ।
 
अर्भिङ्ग सरेको एक महिनासम्म त तेजप्रसादले काम गरेनन् । तर उनलाई यत्तिकै बस्न मन लागेन । बिहान ४ बजे नै उनी ब्युझिँन्छन् । बुढेशकालले गर्दा हो या पत्नी शोकले हो उनी चाँडैनै ब्युझि हाल्छन् । त्यसपछि उनलाई छटपटी हुन्छ । शरिरले न्यायो स्पर्श खोज्ने बेलामा पत्नीस्नेहबाट विमुख हुनु परेको पीडा उनमा निकै गहिरो छ ।
 
एउटा विवाहको भोजमा उनलाई कसैले सुनायो एअरपोर्टमा त बाह्रै महिना हायरिङ हुन्छ । त्यति राम्रो पारिश्रमिक नभएपनि काम सजिलो र मन लागेको समयमा जान मिल्छ । गुगलमा सर्च गरेर भोलीपल्टै तेजप्रसाद एअरपोर्टका लागि हायरिङ गर्ने अफिसमा पुगे । एकसाताको ट्रेनिङ भयो । व्याच आउन अर्को एकसाता लाग्यो ।
 
बिहान ६ बजे उनी एअरपोर्टको काममा पुग्छन् । पुग नपुग तीन माइल छ अर्भिङदेखि डिएफडब्लु एअरपोर्ट पुग्न । एउटा पुरानो गाडी किनिदिएका छन् छोराबुहारीले । त्यही गाडी आफैँ हाँक्दै उनी काममा पुग्छन् । कहिले १२ त कहिले २ बजेसम्म काम गर्छन उनी । हप्तामा कहिले ५ दिन त कहिले ६ दिन काम गर्छन उनी ।
 
कामबाट छुटेर डेरामा आएपछि उनको काम स्कुलको बसस्टपबाट नातीलाई घरसम्म ल्याउनु हो । बुहारी ड्युटीबाट आइसकेपछि उनी आफ्नो इभिनिङ्ग वाकमा निस्कन्छन् । गर्मी समयमा हाफपाइन्ट, टीशर्ट र स्पोर्टसुज अनि जाडोमा ज्याकेट, ट्राउजर लगाएर उनी हिँड्छन् । अमेरिकामा जतिखेर अनुकुल मिल्यो त्यतिनै बेला हिँड्छन् मानिसहरु । नेपालमा जस्तो एकाबिहानै हिड्नुपर्छ भन्ने धारणा कसैको पनि देखिँदैन । जतिखेर अनुकुल भयो त्यतिखेरै मर्निङवाक ।
 
–०–
 
आज पनि इभिनिङ वाक सकेर हिजो जस्तै अपार्टमेन्टको त्यही बेञ्चमा टुसुक्क बसेका छन् तेजप्रसाद । उनका आँखाले केही खोजेजस्तो गरिरहेका छन् । बेल्ट लाइनको दक्षिणतर्फ पर शेल ग्याँस स्टेशनसम्मै उनका नजर दौडिएका छन् । उत्तरतर्फ बेल्टलाइन र वालनटहिलको कर्नरमा रहेको सिभिएससम्मै आँखा तन्काएर हेरिरहेका छन् ।
 
‘कहाँ गइछन् आज चाँही ?’ उनी मनमनै आफैँलाई सोध्छन् ।  झण्डै आधा घण्टासम्म उनले त्यही ठाउँमा कुरे । दुर्गादेवीसँग लामो चिनजान पनि होइन । नत लामो कुराकानीनै भएको छ । हिजो १० मिनेट कुराकानीले उनलाई आज पनि भेटौँ भेटौँ लागिरहेको छ । आफ्नै मान्छे जस्तो लाग्न थालिसकेको छ ।
 
‘कस्तो हुस्सु भएछु भने अपार्टमेन्ट नम्बर सोध्न पनि त भुलेछु,’उनको मनमा कुरा खेलिरहेका छन् । आधा घण्टासम्म कुर्दा पनि दुर्गादेवीको अत्तोपत्तो नभएपछि उनी लागे आफ्नै अपार्टमेन्टतिर ।
 
तेजप्रसादको इभिनिङवाकको समय सधैँ एउटै छ । साँझ ४ देखि ६ बजेसम्म । कहिलेकाँही आधा घण्टा अघिपछि पनि हुन्छ । मौसममा भर पर्छ । राम्रो मौसम भएको समयमा उनी कहिलेकाँही साढे ३ मै पनि हिँड्न निस्कन्छन् ।
 
अब हरेक साँझ हिडेर फर्किएपछि केही समय अपार्टमेन्टको बेञ्चमा बस्नु उनको नियमितता बनिसकेको छ । आरामको लागि भन्दा पनि कसैको लागि कुराईमा त्यो भइरहेको छ ।
 
झण्डै एकसातासम्म उनको आँखाले उनै दुर्गादेबीलाई खोजिरह्यो । एक छिन भेटघाट भएको मान्छेलाई पनि किन यति नजिकको रुपमा आफ्नो मनले स्विकार गरिसक्यो, उनलाई नदेख्दा के हराएजस्तो, गुमाएजस्तो किन भैरहेको छ उनले केही पत्तो पाउन सकेनन् ।
 
एक साँझ इभिनिङ वाकका लागि अपार्टमेन्टबाट निस्कनै लाग्दा तल मानिसहरु बोलेको कल्याङमल्याङ आवाज सुनियो । त्यो आवाजहरु मध्य एउटा उनले सुनेजस्तो लाग्यो । तेजप्रसाद हस्याङफस्याङ गर्दै खुट्टामा जुत्ता लगाएर बाहिर निस्किए । त्यहाँ दुर्गादेबी नातीसँग थिइन् । नाती साइकल चलाउँदै थियो ।
 
‘ओहो नमस्कार है । धेरै दिन भयो त हराउनु भयो,’ उनले कुराको सुरुवात गरिहाले ।
 
‘हजुर, यसको स्कुल थिएन । एक हप्ताको छुट्टी थियो । त्यही भएर हो । अब भोलीदेखि त मेरो काम चालु भैहाल्छ नि’, नातीतिर देखाउँदै उनले भनिन् । स्कुल छुट्टी भएकोले नाती लिन जानु नपरेकोले उनी त्यहाँ नदेखिएकी हुन् भन्नेमा उनी ढुक्क भए ।
 
तेजप्रसादले उनको अपार्टमेन्ट नम्बर सोध्न भ्याइहाले । पल्लो बिल्डिङको ३४९८ नम्बरमा बस्ने रहिछन् दुर्गादेवी ।
 
‘मेरो चाँही यही माथिको हो,’ औँलाले माथ्लो तल्लातिर देखाउँदै तेजप्रसादले भने ।
 
निलो कुर्ता सुरुवालमा थिइन् दुर्गादेबी आज । साइकलसँगै दौडिनुपर्दा उनलाई हाराबारा खेलाएको थियो नातीले । त्यसैले अनुहार लाललाल भएको थियो । नाकका चारैतिर पसिनाका बुँदहरु निस्किएका थिए ।
 
‘म गएँ है त । हिजो यसको बाउले साइकल ल्याइदिएको । मलाई पो एक्सरसाइज भैराखेको छ । एकैछिन बस्दैन घरमा,’ यति भन्दै दुर्गादेबी नाती र साइकलको पछि दाैडिइन् । तेजप्रसाद पनि अपार्टमेन्टबाट बाहिर निस्किए हिँड्नका लागि । आज भने उनको शरिरमा अलग्गै स्फुर्ति छ ।
 
अबदेखि हरेक दिन साँझ तेजप्रसाद र दुर्गादेबीको मिटिङ प्वाइन्ट हुन थाल्यो लिजिङ अफिस अघिल्तिरको बेञ्च । नातीको स्कुल छुट्नु भन्दा पहिलेनै उनी त्यहाँ पुग्थिन् । अनि तेजप्रसादसँग केहीबेर गफिन्थिन् ।
 
‘दुःखीया कर्म हजुर, लोग्नेलाई चाँडै टोकेर खाइयो । छोराहरु त असल छन् । छोरी चाँही एसएलसी दिएकै साल कुजातसँग पोइला गई । हामी जस्ता विधवालाई गाउँमा बस्दा पनि अनेक बात लगाउनेहरु छन् । गाह्रो हुने रहेछ हजुर बाँच्न,’ दुर्गादेबीले एक दिन भनिन् । उनी बिधवा हुन् भन्ने त तेजप्रसादले पहिल्यै अनुमान गरिसकेका थिए ।
 
एउटा छोरो अमेरिका, अर्को चाँही अष्ट्रेलियामा छन् उनका । छोरीले आफूखुशी बिहे गरेर गएपछि आवतजावत नै छैन । पानी नचल्ने जातसँग गएपछि छोरी भारतको हैदरावादतिर रहेको कुरा कसैले सुनाएको थियो उनलाई । उनलाई छोरीको अनुहार हेर्न पनि मन छैन ।
 
‘छोराहरु बाहिर छन् । बुढेशकालमा कसरी बिताउने होला भनेर अत्याश पो लाग्छ त,’ उनले सुनाइन् । उनलाई छोराहरुले पालैपालो अमेरिका र अष्ट्रेलियामा राख्ने कुरा त गरेका छन् । तर उनलाई पटक्कै मन पर्दैन । छोराहरु असल भएपनि बुहारीहरुको व्यबहारले दुर्गादेबी दुःखीत छिन् ।
 
सासुको अघिल्तिर तिघ्राको माथिल्लो भागसम्मै देखिनेगरि बुहारीहरुले हाफ पाइन्ट लगाउने गरेको उनलाई फिटिक्कै मन पर्दैन । ‘हाम्रा पालामा फरिया लगाउँदा नलीखुट्टामात्र देखियो भने पनि गाउँले कुरा काट्थे, सासुले सोमत नभएकी भन्दै गाली गर्नुहुन्थ्यो । के गर्नु कलीयुग भनेको यही रहेछ हजुर । अाफू नत पुरानो जमानाकै रहन सकियो, नत आधुनिक जमानाकै हुन सकियो,’ उनले भनिन् ।
 
दुर्गादेवीले पनि १० कक्षासम्म त पढेकी छिन् । एसएलसीमा भने अंग्रेजी र गणितमा फेल भएपछि उनको माथिल्लो तहको शिक्षा रोकिएको रहेछ । एसएलसी परिक्षा माघमा भयो, उनको फागुनमा बिहे । विवाह भएर घर गएपछि उनले व्याक लागेको गणित र अंग्रेजीको परिक्षा दिने मौका पाइनन् ।
 
बेञ्चमा बसेर दुर्गादेबीले तेजप्रसादसँग धेरै कुराहरु साटिन् । तेजप्रसाद आफूले चाँही सभ्य र सुशिक्षित बुहारी पाएकोमा निकै गर्व गरे ।
 
‘मैले त छोरी जस्ती बुहारी पाएको छु । कहिल्यै नराम्रो वचन पनि सुनेको छैन बुहारीको मुखबाट । छोराबुहारी उनीको बेडरुममा कस्तो कपडा लगाउँछन् त्यो त मेरो चासोको कुरा पनि भएन । जब बाहिर निस्किछिन् प्रायः कुर्ता सुरुवाल र ट्राउजरमै हुन्छिन् । मलाई त काम नगर्नुस ड्याडी भनेर हैरान पो गर्छिन त बुहारीले,’ तेजप्रसादले बुहारीको वखान गरे ।
 
काममा जानु अघि चिया खाजा बनाइदिने देखि लिएर लञ्च तयार गरिदिने काम समेत बुहारीले गरिदिएकोमा तेजप्रसादले बुहारीलाई ‘साक्षात देवी’ का रुपमा वर्णन गरे । तर दुर्गादेवीको ठीक उल्टो थियो । उनकी बुहारी पार्लरमा काम गर्थिन् । बिहान नातीलाई खाजा ख्वाएर स्कुलबस आउने ठाउँसम्म पुर्याउनु, खाना बनाउनु उनको नियमित काम थियो । बुहारी बिहान साढे ७ बजे उठेर सासुले बनाएको चिया पिउँथिन् । अनि १० बजेतिर काममा जाने गर्छिन् ।
 
‘कान्छो छोराले बोलाएर अष्ट्रेलिया गएको त्यहाँ पनि यहाँको भन्दा विजोग,’उनले बताइन् । शनिबार र आइतबार पनि छोराबुहारी छुट्टीमा नबस्ने । त्यो दिन काम गरेको बढी पैसा आउने भन्दै उनीहरु घरमै नबस्ने । दुबै जना राति मध्यरात कटेपछि आउने र भोलीपल्ट बिहान ८ बजेनै निस्किन्थे । उनी अष्ट्रेलिया तीन महिना पनि बस्न नसकेको कुरा सुनाइन् ।
 
तेजप्रसाद र दुर्गादेबीका साँझका केही समय अब अपार्टमेन्टको पार्कमा बित्न थाले । पार्कको बेञ्चमा बसेर उनीहरु कहिले आधा घण्टा त कहिले एकघण्टा गफ गर्थे । शनिबार र आइतबार छोराबुहारी भोजमा जाने हुँदा अझै बढी समय ढुक्कले गफ हुन्थ्यो ।
 
छोराबुहारीले भोजमा जान आमालाई आग्रह त गर्थे । तर उनी जान मन गर्थिनन् । २/३ पटक पार्टीमा त गएकी थिइन् सुरुसुरुमा । तर बुहारीले वाइन पिएपछि गर्ने व्यबहारले उनलाई लज्जित बनाएको छ । कतिपटक त छोराले बुहारीलाई सम्हाल्दै गाडीमा ल्याएर राखेको छ । पिएपछि पुरै वाइल्ड पाराले पिउने उनको स्वभावले गर्दा दुर्गादेबीलाई बुहारीको बेइज्जत देख्न किन पार्टीमा जानु भन्ने लाग्न थालेको छ ।
 
छोराबुहारीले नातीलाई समेत लिएर पार्टीमा जाने भएकाले दुर्गादेबीलाई बाहिरफेर निस्केर गफ गर्न सजिलै भएको छ । दुर्गादेबी निदाईसकेपछि कतिखेर उनीहरु आउँथे पत्तो समेत हुँदैनथ्यो ।
 
‘अमेरिकाको जीवन रमाइलै छ है ? ’ एक साँझ तेजप्रसादले सोधे ।
 
‘खै केलाइ रमाइलो भन्ने ? मन नरमाएपछि केही रमाइलो नहुने रहेछ । रामाइलो हुन त पहिला मनमा शान्ति हुनुपर्ने रहेछ । मलाइ त कतिखेर नेपाल जाउँ जस्तो भैसक्यो’ लामो सुस्केरा हाल्दै निराश स्वरमा उनले जवाफ फर्काइन् ।
 
एक्लो जीवन जिउन सजिलो नभएको आफ्नो भोगाई उनले सुनाइन् । ‘उहाँ छउन्जेल त यस्तो अनुभव कहिल्यै भएन । छोराछोरी आफुसँगै हुँदा पनि यस्तो अनुभव भएन । तर अहिले त यही र एक्लो तालले जीवन गाह्रो हुने देखिसकेँ मैले’ दुर्गादेबीले भनिन् ।  
 
उनले नेपाल फर्किएर कुनै आश्रममा जाने विचार सुनाइन् ।
 
‘निराश हुनु हुँदैन । तपाई जस्तै एकल महिलाहरु पनि त छन् नि । यी मलाई नै हेर्नुस् । म पनि त एक्लै छु’ तेजप्रसादले भने । उनले जीवनसँग हार नखान र आफुले सहयोग गर्ने बताए ।
 
तेजप्रसादलाई मनमनै दुर्गादेबी अतिनै मन परिसकेको छ । यत्तिकी महिला भए बुढेशकालका लागि जीवन खुशी बनाउन र सुखदुःखकी साथी पनि हुने लोभ जाग्यो । दुर्गादेबीको विचार सुन्दा उनी पनि अर्को विवाह गर्नेतिर त्यति सकारात्मक हुन् कि जस्तो लागेको छ ।
 
महिला हुन् । उनीहरुको मन कमलो हुन्छ । दुई जनाको कुरा मिल्यो भने बाँकी जीवन सँगै बिताउन के गाह्रो र भन्ने सोच्दै अकस्मात आँट बढ्यो तेजप्रसादलाई ।
 
हुनतः आमा बितेपछि असरल्ल जीवन देखेर छोराहरुले तेजप्रसाददाई अर्को बिहे गर्ने सुझाएका थिए । ‘हामीले जतिसुकै हेरविचार गर्ने भनेपनि आमाले गरेजस्तो स्याँहार दिन सक्दैनौँ । हजुरको नजरमा कोही बसेको छ भने निर्धक्क भन्नुहोला’ उनी काठमाडौंमै छँदा एक साँझ छोराले भनेको थियो ।
 
तर उनी लजाए । पत्नी बितेको तीन महिना नहुँदै अर्की ल्याउनु भनेको समाजको दृष्टिमा पनि त्यति राम्रो सन्देश जाने कुरा थिएन । त्यसैले उनी हच्किए ।  
 
तर वर्ष बित्दै गएपछि उनले ठाने जीवनसाथी त चाहिनेनै रहेछ । हुँदा त्यति चासो र मतलब हुने रहेनछ । तर नभएपछिनै त्यसको महत्व र मूल्यको अवगत हुने रहेछ । तेजप्रसादलाई पनि भयो त्यही ।
 
अपार्टमेन्ट अघिल्तिरको बेञ्च उनीहरुको डेटिङ–स्पट भएको छ । हरेक साँझ उनीहरुबीच त्यही भेटघाट बाक्लिन थाल्यो । एक अर्काका अनुभवहरु साटासाट त्यही हुन थाले । मर्निङवाकमा निस्कँदाको अनुभव दुर्गादेबी सुनाउँथिन् भने बेलुकी हिँड्दा देखिएका विषयमा तेजप्रसादले वर्णन गर्थे । तीन वर्षको अमेरिका बसाईको अनुभवले तेजप्रसादले धेरै कुराहरु जानिसकेका छन् । अमेरिकाको जीवनमा जान्नुपर्ने कुराहरु उनले सिकेका छन् । जसले गर्दा दुर्गादेबीका अघिल्तिर जान्ने हुँ भनेर प्रस्तुत हुन उनलाई सजिलो भएको थियो ।
 
तेजप्रसाद फेसबुकमा पनि सकृय छन् । फेसबुकबाटै नेपालको गतिविधिका बारेमा अपडेट हुने गर्छन । उनैले दुर्गादेबीको फेसबुक आइडी खोलिदिए । अपार्टमन्टको बेञ्चमा बसेर दुर्गादेबीकै मोबाइलमा फोटो खिचिदिए । त्यही फोटोलाई प्रोफाइल पिक्चर बनाएर उनले फेसबुक आइडी खोलिदिए ।
 
अब उनीहरुबीच फेसबुकमा च्याट हुन थाल्यो । दुर्गादेबी रोमनमा लेखेर जवाफ दिन्थिन । तेजप्रसादको हिजोआज मोबाइलमा च्याटिङमा बिजी हुन थाले ।
 
‘आज छोराबुहारी, नाती घरमा छैनन्, अस्टिन गएका छन् दुइ दिनका लागि । म पनि तपाइसँगै बेलुकी हिँड्छु आज’ तेजप्रसादको मोबाइलमा दुर्गादेबीले मेसेज गरिन् । उनलाई के चाहियो र झन् ।
 
त्यस साँझ उनीहरु झण्डै दुईघण्टासम्म हिँडे । ‘यी यो नेपाली रेष्टुराँ हो । यहाँ चिया, मम, समोसा पनि पाइन्छ’ बेल्टलाइनमै रहेको क्याफेमाण्डुलाई देखाउँदै उनले भने । ‘नेपाली रेष्टुराँ पनि छ यहाँ ?’ दुर्गादेबीले अचम्म मानिन् ।  
 
बेल्ट लाइनमा मात्र चारवटा नेपाली रेष्टुँरा छन् । कोही फास्टफुड खालका त कोही फूल डाइनिङका । सबै नेपाली रेष्टुराहरु राम्रोसँग चलेको र विकेण्डमा त अति बिजी हुने गर्छन । तेजप्रसादबाट यो जानकारी पाएर दुर्गादेबी खुशी भइन् ।
 
अर्को साँझ पनि उनीहरुसँगै हिँडे ।
 
‘आज नेपाली रेष्टुराँमा गएर चिया पिउँ है त’ तेजप्रसादले प्रस्ताव राखे ।
 
‘जाने र ?’
 
‘जाउँ न त । चिया पिउँ ।’
 
दुबै जना टेम्टेसनमा गएर चिया पिउँछन् । उनीहरु त्यहाँ अाधा घण्टा जति बिताउँछन् ।
 
दुर्गादेबीसँगको निकटताले गर्दा तेजप्रसादलाई समय बितेको पत्तै हुन छाड्यो । फेसबुकको च्याट, साँझ अपार्टमेन्ट अघिल्तिरको बेञ्चमा भेटघाटले उनलाई निकै उत्साह बढेको छ । दुर्गादेबी पनि खुशी छिन् । अमेरिका जस्तो ठाउँमा आउँदा तेजप्रसादले धेरैनै सिकाएका छन् ।
 
‘मलाई त यो जीवन अत्याश लाग्न थाल्यो’ एक साँझ तेजप्रसादले भने । दुर्गादेबीले केही जवाफ दिइनन् । पुरुषलाई खुल्न जति सजिलो छ, महिलालाई अप्ठेरै हुन्छ । तर उनको मनको कुनामा पनि तेजप्रसादले ठाउँ जमाइसकेका छन् । तेजप्रसाद प्रति उनीमा माया जाग्न थालिसकेको छ ।  
 
‘खै मलाई त अब बाँकी जीवन धार्मिकस्थलको कुनै आश्रममा बसेर बिताउनुपर्ला जस्तो लाग्दैछ । यसरी त बुढेशकालमा जीवन भारी पो हुनेभयो’ दुर्गादेबीले आफ्नो योजना सुनाइन् । उनले जीवनमा सहाराको जरुरी भएपनि समाजले गर्दा कतिपयि चाहनालाई दवाउन हिन्दु महिलाहरु विवश भएको सुनाइन् ।
 
‘बरु तपाईको के छ योजना ? बाँकी जीवन अमेरिकामै बिताउने त होला नि ?’ उनले सोधिन् ।
 
तेजप्रसाद केही बेर मौन भए । ‘मलाई त नेपालको कुनै एकान्त ठाउँ खप्तड होस् या मुक्तिनाथ, वराह धाम हुन्छ कि रिडी कुनै ठाउँमा गएर बाँकी जीवन बिताउने इच्छा छ । एक्लोले कसरी बस्नु त्यहाँ फेरि’ उनले भने ।
 
दुबै जना मौन भए । दुर्गादेबीको मनले सँगै बसौँ भनेर प्रस्ताव गर्न त स्विकृती दियो । तर उनले तत्कालै समर्थन जनाउन संकोच मानिन् ।
 
राति निद्रादेबीको काखमा पुग्नै लाग्दा दुर्गादेबीको मेसेन्जरमा टिङरिङ्ग मेसेज बज्यो । मेसेज तेजप्रसादको थियो । उनले लेखेका थिए–‘जे पर्ला पर्ला, तपाईमा पनि सन्तान यतै छन् । मेरा पनि यतै । हामी सँगै नेपाल फर्केर कतै एकान्तमा बिताउँ । हामी पनि नयाँ जीवन सुरु गरौँ । ढुंगाको भर माटो भन्छन् । हाम्रा पनि मन हुन्छन्, मनलाई कति मार्नु । बरु छोराछोरीलाई खबरै नदिउँ ।’
 
दुर्गादेबीका दिमागले पनि तत्कालै निर्णय लियो–जे पर्छ, टर्छ । कसका लागि मन मार्नु अब । छोराछोरी आफ्नै मस्तीमा छन् । उनीहरु आफ्नो खुट्टामा उभिएकै छन् ।
 
‘हुन्छ नि त । दुई वर्ष जति चाँही हामीले यो कुरा कसैलाई नभनौँ है त’ उनले प्रस्ताव राखिन् ।
 
‘हुन्छ । तिमी जे भन्छ्यौ ।’ दिउँसोसम्म तपाइको संबोधन गर्ने तेजप्रसाद अब तिमीमा झरे । शायद निकटताले होला । 
 
महिनाको झण्डै २४ हजार रुपैयाँ पेन्सन आउँछ तेजप्रसादको । तीन वर्ष यता त्यो पैसा उनको खातामा थुप्रिएर बसेको छ । २४ हजार रुपैयाँले कुनै एउटा धार्मिकस्थल नजिक दुईवटा कोठा लिएर बस्न छेलोखेलो पुग्छ । उनले अमेरिकामा तीन वर्षसम्म कमाएर बचाएको झण्डै ४२ हजार डलरमध्य आधा जति थाहै नपाउनेगरि बुहारीको खातामा ट्रान्सफर गरिदिए । बाँकी रकम एक महिनाको अवधिमा आफ्नै नाममा नेपाल पठाए । जुन रकम उनी नेपाल फर्किएपछि निकाल्ने योजना छ ।
 
अर्को महिना दुर्गादेबी अमेरिका आएको ६ महिना हुँदै थियो । त्यसको १५ दिन अघि उनी नेपाल फर्किइन् । अमेरिका आउँदा खुशी र उत्साह बोकेर आएकी दुर्गादेबी त्यो भन्दा ज्यादा उत्साह लिएर फर्किइन् ।
 
त्यसको दुई साता पछि तेजप्रसाद पनि सञ्चयकोषको हिसाब किताब मिलाउने वहानामा नेपाल फर्किए ।
 
काठमाडौंको एअरपोर्ट उत्रिएपछि तेजप्रसाद बुहारीको सेलफोनमा मेसेज पठाए–‘म राम्रोसँग आइपुगेँ । केही समय म तीर्थयात्रामा जान्छु । आवश्यक पर्दा म आफैँ कल गर्छु । तिमीहरु राम्रोसँग बस्नु ।’
 
त्यसपछि उनको सेलफोन स्विचअफ छ । उनको कसैसँग सम्पर्क छैन । नत नेपालमा भएकी बहिनी, नत अमेरिकामा रहेका छोराबुहारीसँग उनको सम्पर्क छ । अमेरिकाबाट फर्किएकी दुर्गादेवी गाउँमा एकपटक टुप्लुक्क देखेर कहाँ हराइन् गाउँलेनै आश्चर्यमा छन् । धेरैले सोचे उनी अष्ट्रेलिया गइन् । केहीले फेरि अमेरिका गएको अनुमान गरेपनि उनी समाजबाट हराइन् । बुढेशकालको प्रेमालाई रसमय बनाउन उनीहरु आफन्त, परिवारबाट टाढिए ।
 
(यो कथाका पात्र र घटनाक्रम सबै काल्पनिक हु्न् । कसैको जीवनमा मेल खाएमा महासंयोग हुनेछ ।)