मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नर्थ क्यारोलाइनाको वेक काउन्टीमा

नर्थ क्यारोलाइनाको वेक काउन्टीमा


मोरिसभिल( नर्थ क्यारोलाइना )– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा गत शनिवार तेस्रो नेपाल दिवस कार्यक्रम सम्पन्न भएको छ। 
 
स्थानीय नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा क्रियाशील नेपाली मूलका संघसंस्थाहरूको सक्रिय सहभागितामा रहेको थियो। नेपालको सांस्कृतिक विविधता झल्किने गरी विभिन्न भेषभुषामा सजिएका करिब एक हजार जति नेपाली मूलका र अन्य समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
 
कार्यक्रमको पहिलो चरणमा स्थानीय सिडरफोर्क सामुदायिक भवनदेखि चर्चस्ट्रिट पार्कसम्म सांस्कृतिक झाँकी सहित परेड प्रस्तुत गरिएको थियो। 
 
अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्की र मोरिस्भिल सहरका मेयर टिजे कलिले संयुक्त रुपमा रिबन काटेर परेडको थालनी गरेका थिए। स्वस्ति वाचनसँगै पन्चकन्यालाई अगाडि लगाएर परेड चर्चस्ट्रिट पार्क तर्फ बढेको थियो। 
 
झाँकीमा नेपालको विविध सांस्कृतिक परिचय झल्कने गरी गौतम बुद्ध, कुमारी, मञ्जुश्री, आदिकवि भानुभक्त आदिको स्वरुपमा सजिएका कलाकारहरूले दर्शकको ध्यान तानेका थिए भने अन्य सहभागीहरूले पनि नेपालको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मको विभिन्न परम्परागत जातजातिको प्रतिनिधित्व हुने पोशाकमा सजिएर विविधतामा एकताको संदेश प्रबाह गरेका थिए। 
 
परेड चर्चस्ट्रिट पार्कमा पुगेपछि नेपाल दिवस २०१९ तथा नेपाली नयाँ वर्ष २०७६ समारोहमा परिणत भएको थियो। राजदुत कार्कीले पानसमा दीप प्रज्वलन गरेर समारोहको उद्घाटन गरेका थिए । लगत्तै नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाद्वारा संचालित नेपाली पाठशालाका विद्यार्थीहरूद्वारा शान्ति मन्त्र पाठ, नेपाली र अमेरिकी राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र अमेरिकी सरकारका विभिन्न तहका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।
 
एनसीएनसीका बोर्ड अफ ट्रष्टी अध्यक्ष तथा नेपाल दिवस कार्यक्रमका सहसंयोजक डा ठाकुरबाबु कार्कीले मोरिस्भिलमा यस बर्ष लगातार तेस्रो नेपाल दिवस मनाउन लागिएको उल्लेख गर्दै नेपाल दिवसलाई मोरिस्भिल टाउनबाट विधिवत घोषणा गरी स्थापित गराउनको लागि भएका ऐतिहासिक प्रयासहरू स्मरण गराउँदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । 
मोरिसभिल टाउनका मेयर टि जे कलीले आफ्नो संदेश प्रस्तुत गर्दै नर्थ क्यारोलाइनालाई आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा धनि बनाउन नेपाली मूलका समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । साथै आफु यस ऐतिहासिक कार्यमा सामेल हुन पाउदा भाग्यमानी महसुस भएको उल्लेख गरे । 
 
कार्यक्रममा नर्थ क्यारोलाइनाका राज्यकी सेक्रेटरी अफ स्टेट एलेन मार्शलले नर्थ क्यारोलाइनामा नेपाली समुदायको पहिचान उच्च रहेको र आफ्नो सांस्कृतिक पहिचान जोगाइराख्न नेपाल दिवस जस्ता कार्यक्रम फलदायी हुने बताए। कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले बिदेशमा बसेर आ-आफ्नो कर्म गर्दै व्यस्त रहेर पनि नेपाली संस्कृतिको प्रवर्धन गर्नको लागि सामुहिक स्तरमा भएका प्रयासको प्रशंसा गर्दै आयोजक संस्था एनसीएनसीलाई धन्यवाद दिएका थिए । 
 
कार्यक्रममा दक्षिण पूर्वी अमेरिकामा छरिएर रहेका नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिकाले समाजका विभिन्न क्षेत्रमा काम गर्दै नेपाली समुदायलाई योगदान पुर्याउदै आउनु भएका चार जना महिलाहरुलाई सम्मानित गरेको थियो।
 
सम्मानित हुनेहरुमा नर्थ क्यारोलाइनाबाट सुजाता ढुंगेल र डा. सुषमा प्रधान छन् भने फ्लोरिडाबाट भारती गौतम तथा जोर्जियाबाट सुजाता डंगोल थिए। नासियाका अध्यक्ष माधव ढकाल र महिला तथा बालबालिका समितिकी संयोजक रमा घिमिरेले संयुक्त रुपमा सम्मानितहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।  
 
त्यसै गरि कार्यक्रममा लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर कलम चलाउदै आएकी स्रष्टा नीलम कार्की निहारिकाको पछिल्लो प्रकाशित उपन्यास योगमायाले २०७४ सालको मदन पुरस्कार प्राप्त गर्न सफल भएकोमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाले संयुक्त रुपमा साहित्यकार निहारिकाको अभिनन्दन गरेको थियो। एनसीएनसीका अध्यक्ष डा. बटु शर्मा, साहित्य समाजका अध्यक्ष लेखनाथ दुलाल र प्रमुख अतिथि राजदुत डा कार्कीले अभिनन्दन पत्र प्रदान गरेका थिए ।  
 
उक्त कार्यक्रममा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना र सुजन एण्ड परिता एजुकेशन फाउन्डेशनका बीच  एकजार पाँचसय डलर राशिको सुजन एण्ड परिता एजुकेशन फाउन्डेशन स्कोलरशिप सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। 
 
कार्यक्रमको अन्त्यमा अध्यक्ष डा बटु शर्माले नेपाल दिवस सम्पन्न गर्न विविध तरहले सहयोग गर्ने संघसंस्था र व्यक्तिहरूलाई धन्यवाद दिंदै मोरिस्भिल टाउन तथा वेक काउन्टीबाट नेपाल दिवसको घोषणा हुनु यहा नेपालीको पहिचान स्थापित हुनु हो, यसमा हामी गौरवान्वित रहेको बताए ।