मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अस्पतालको लापरबाहीबाट बच्चाको मृत्यु भएको भन्दै सीएमसीमा तोडफोड

अस्पतालको लापरबाहीबाट बच्चाको मृत्यु भएको भन्दै सीएमसीमा तोडफोड


चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका १५ का रुपेश घिमिरेका नौ महिनाका छोरा रुप्सन घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तनाव उत्पन्न भएको छ । चैत ३० गते सामान्य रुघाखोकी लागेर उपचारका लागि अस्पताल ल्याइएका बालकको शुक्रबार अपरान्ह ४ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
 
सामान्य अवस्थामा अस्पताल ल्याइएका शिशुलाई अस्पतालको लापरबाहीबाट मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालको गेटको सिसा फुटेको छ । तोडफोडपश्चात् स्थिति तनावग्रस्त बनेपछि अस्पतालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । 
 
‘सुरूमा इमर्जेन्सीमा भर्ना गरिएको बालकको वार्डमा भर्ना गरेपछि २ गते साँझ साढे ५ बजे इन्जेक्सन लगाइयो’, मृतक बालकका बुबा रुपेशले भने, ‘सुरूमा एउटा नर्सले इन्जेक्सनका लागि तयार गरेको ठाउँमा ४५ मिनेटमा अर्की नर्स आएर औषधि राखेर इन्जेक्सन लगाएपछि छोरा अचेत भयो ।’ 
 
अस्पतालले बालकको ३ गते डिस्चार्ज गर्ने जानकारी दिएको थियो । २ गतेदेखि अचेत भएको छोराको १० गतेसम्म बाँच्छ भनेर अस्पतालले आश्वासन दिएको उनले बताए । १० गतेपछि भने अस्पतालले बालक बाँच्ने÷नबाँच्ने भगवान् भरोसा भन्ने प्रतिक्रिया दिएको गुनासो पोखे । 
 
उनले भने, ‘१३ गते रातको साढे १० बजे छोराको मृत शरीर बुझ्नु प¥यो, हस्ताक्षर गर्न आउनुस् भनेर अस्पतालबाट फोन आयो, मैले बिहानसम्म अस्पतालमै छोराको शव राख्न आग्रह गरेको थिए । तर, बिहान आउँदा छोराको शव थिएन । रातारात गायब गराइयो ।’ 
 
उनले अस्पतालले आफ्नो अनुमतिविना रातारात छोराको शव गायब गराएको आरोप लगाए । बालकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।
 
अस्पतालले १० गते बच्चाको मृत्यु नहुँदै उपचारको खर्च अस्पतालले व्यहोछौँ भनेर उपचारमा संलग्न डा सन्तोष पाठकले आश्वासन दिएको रुपेशले बताए । उनले अस्पतालसँग छोराको शव मागेको र उपचारमा लापर्बाही गर्नेमाथि कारबाहीको माग राखेको बताए । बालकको उपचार डा सन्तोष र डा शान्ति रेग्मीको टिमले गरेको थियो ।
 
बिहीबार र शुक्रबार अस्पताल प्रशासन र मृतक बालकका आफन्तबीच पटक–पटक वार्ता भएको थियो । प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको वार्ता पनि सफल हुन सकेन । वार्तामा विभिन्न दलनिकट मजदुर संगठनका प्रतिनिधिहरु पनि सहभागी थिए । 
 
चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालले ज्वरो र छातीको संक्रमणका कारण बालकको निमोनियाका कारण निधन भएको दाबी गरे । अस्पताल प्रशासनले मृतक बालकका आफन्तले १२ लाख रुपैयाँ माग गरेपछि वार्ता निष्कर्षविहीन भएको जनाएको छ । अस्पतालले उपचार खर्च व्यहोर्ने तर अन्य क्षतिपूर्ति नदिने अडान लिएको छ । 
 
यसैबीच, सीएमसीले एक विज्ञप्ति जारी गर्दै बाल रोग विशेषज्ञको टोलीले अथक प्रयास गर्दा पनि बच्चाको असामयिक निधन हुन गएकोमा समवेदन प्रकट गरेको छ । उपचारका क्रममा बच्चाका बाबु तथा अन्य आफन्तलाई बारम्बार विशेषज्ञ टोलीबाट जानकारी र परामर्श गरिएकोमा सक्दो प्रयास गर्दागर्दै बालकलाई बचाउन नसकिएको जनाएको छ । 
 
बालकको मृत्युपश्चात् कुनै गुनासो भए सत्यतथ्य छानबिन गरी कानुनी उपचार गर्न छलफल भए पनि अनुचित माग राखी उत्तेजित भीडबाट अस्पताल तोडफोड भएकोप्रति खेद प्रकट गरेको छ ।