मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

सुवेदीको उम्मेदवारी विवादास्पद

सुवेदीको उम्मेदवारी विवादास्पद


हिमालयखबर संबाददाता
न्यूयोर्क (अमेरिका) – गत वर्षको अन्तिम दिन । अर्थात डिसेम्बर ३१ तारिक सोमबार साँझ ८ बजेको समय । एनआरएनए अमेरिकाको आकस्मिक बैठकमा सदस्यताको आन्तरिक छानबीन समिति गठन गर्ने प्रस्ताव अघि बढ्यो । 
 
यो समितिमा बस्नका लागि आउँदो निर्वाचनमा उम्मेदवार नहुने व्यक्ति हुनुपर्ने प्रस्ताव अध्यक्ष डा. केशव पौडेलले आफ्नो संक्षिप्त मन्तव्यका क्रममा राखे । उम्मेदवार हुन इच्छा राख्ने व्यक्ति छानबीन समितिमा बस्दा अनावश्यक प्रभाव पर्ने भएकोले उम्मेदवार हुन अनिच्छुक व्यक्ति हुनुपर्ने प्रस्ताव डा. पौडेलको थियो । 
 
अध्यक्षको संक्षिप्त मन्तव्य र प्रस्ताव पछि यो समितिमा रहने व्यक्तिको नाम मागियो । पूर्ब क्षेत्रीय उपाध्यक्ष रामकुमार सुवेदी, सहकोषाध्यक्ष पवन योञ्जन र मिडिया संयोजक बाल जोशीले आफुहरु बस्न इच्छुक रहेको आशय व्यक्त गरे । तर योञ्जनले भने आफु  एनआरएनको आइसिसीमा युथ को–अर्डिनेटरमा जान चाहेकोले त्यसमा जान अवरोध हुन नहुने माग गरे ।
 
काठमाडौंमा हुने आइसिसीको निर्वाचनमा जान कुनै समस्या नहुने कुरामा योञ्जन आश्वस्त भएपछि सुवेदीको संयोजकत्वमा आन्तरिक भेरिफिकेसन समिति गठन भयो । सुवेदीले आफु पनि कुनै पदमा उम्मेदवार नहुनेमात्र भनेनन् काठमाडौंमा हुने आइसिसीमा समेत उम्मेदवार नहुने बताए । उनले विश्वस्त बनाएपछि मात्र सुवेदीको संयोजकत्वमा आन्तरिक भेरिफिकेसन समिति गठन भयो । 
 
डिसेम्बर ३१ को यो निर्णयलाई जनवरी १२ तारिक न्यूयोर्कमै भएको एनआरएनएको फिजिकल बैठकले समेत अनुमोदन गर्यो । फिजिकल बैठकमा समेत योञ्जनले पहिलेजस्तै आफ्नो कुरा राखे । तर उनलाई यहाँ एनआरएन अमेरिकाका सदस्यले भोट हाल्न नमिल्ने र नपाउने जुनसुकै चुनावमा उम्मेदवार हुन कुनै रोक नभएको आश्वस्तता दिलाइयो । निर्णय सर्वसम्मत रुपमा पारित भयो । 
 
त्यही निर्णयका आधारमा एनआरएन अमेरिकाको सदस्यताको आवेदन दिएका हजारौंको व्यक्तिगत डाटामा सुवेदी, योञ्जन र जोशीले पहुँच पाए । नाम, ठेगानामात्र नभएर अमेरिकामा सबैभन्दा संवेदनशील मानिने जन्म मिति (डेथ अफ वर्थ) समेत उनीहरुले केलाउने अवसर प्राप्त गरे । यतिखेर उल्लेखित तीनजनालाई एनआरएन अमेरिकाका हरेक सदस्यको ‘पर्सनल डाटा’मा पहुँच छ । हरेकका फोन नम्बर, इमेल आइडी उनीहरुको कव्जामा छ । 
 
आफुले उम्मेदवारी नदिनेमा सहमति जनाएका तीनजनामध्य दुई जना अहिले पनि त्यही वचनमा प्रतिवद्ध छन् । तर उपाध्यक्ष सुवेदीले भने एनआरएन अमेरिकाको चुनावमा एकाएक उम्मेदवारी दिएपछि उनको नैतिकतामा सबैतिरबाट प्रश्न उठेको छ । एनआरएन अमेरिकाका ९ हजार २ सय एक सदस्यको सबै विवरण मुठ्ठीमा लिएर उम्मेदवारी दिएकोमा वर्तमान कार्यसमितिकै प्रायः सबै सुवेदीप्रति असन्तुष्ट छन् । 
 
‘त्यतिखेर पवन योञ्जनले चाँही काठमाडौमा हुने एनआरएनको विश्व सम्मेलनमा उम्मेदवार हुन नपाए आफु समितिमा बस्दिन भनेकै हो । तर सुवेदीले चाँही केही नभनी आन्तरिक भेरिफिकेसनको संयोजक पद स्विकार गरेकै हो । अहिले आएर उम्मेदवारी दिनु उहाँको नैतिकता गिरेको प्रमाणित हुन्छ,’ एनआरएन अमेरिकाका एक पदाधिकारीले भने–‘सुवेदीले सदस्यता सूचि समेत दुरुपयोग गरिरहेको प्रमाण फेला परेको छ ।’
 
सुवेदीले आन्तरिक भेरिफिकेसनको काम इमान्दारीता पूर्बक दिनरात नभनी गरेकोमा प्रशंसा पनि भएको थियो । तर त्यतिखेर माइन्युटमा लेखिइसकेको विषयलाई समेत कुल्चेर एनआरएन अमेरिकाका सदस्यले भोट दिने आइसिसी मेम्बरमा उम्मेदवार हुनुले उनको पदको लोलुपता बढेर गएको देखिन्छ । ‘त्यही समितिमा बसेका हामीले उम्मेदवारी दिनु नपर्ने, सुवेदीले मात्र उम्मेदवारी दिनुले संस्थागत मर्यादा, सदाचार भन्ने कुरामा उहाँ चुक्नुभएको प्रष्ट भयो,’ समितिका एक सदस्यले भने । 
 
सुवेदीका विषयमा निर्वाचन समिति र एनआरएनको क्षेत्रीय समितिमा समेत उजुरी गर्ने तयारी भएको छ । 
 
तीन महिना पनि आफ्नो अडान र नैतिकतामा रहन नसक्ने व्यक्ति भएकाले जनसम्पर्क समितिका केही पदाधिकारीहरुले सुवेदीलाई कुनै पनि मूल्यमा जिताउन नहुने भन्दै भोट नदिन गोप्य सहमति गरेका छन् ।
 
यो विषयमा सुवेदीसँग हिमालय खबरले प्रतिकृया लिन पटक पटक फोन गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । उनले सामाजीक सञ्जालमै 'अाफ्ना कुराहरू राख्नेछु' भन्ने पोष्ट गरेका छन् ।