मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन निकुञ्जमा १९ गैँडाको हाडखोरमात्रै भेटियो

चितवन निकुञ्जमा १९ गैँडाको हाडखोरमात्रै भेटियो


चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन ।
 
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचानसमेत हुन नसकेका कतिपय गैँडाको हाडखोर मात्र भेटिएका छन् । तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा भेटिएका थिए ।
 
घिमिरेको भनाइमा लिङ्गसमेत पहिचान गर्न नसकिएका अधिकांश गैँडा विगतका वर्षहरुमा मरेका गैँडा हुन । उहाँले भन्नुभयो “एक वर्षमा २२/२५ को हाराहारी गैँडा प्राकृतिक कारणले मरेको पाइएको छ ।” यस वर्ष मृत सङ्ख्यामा वृद्धि देखिएको भए पनि पहिले मरेका गैँडाका कारण सङ्ख्या बढि भएको उहाँले बताउनुभयो ।
 
घिमिरेका अनुसार निकुञ्जले चालू आर्थिक वर्षमा पटकपटक पूरै निकुञ्जको खानतलासी (स्विप अपरेसन) गरेका कारण पहिले मरेका धेरै गैँडा फेला परेका हुन् । विगतका वर्षहरुमा भन्दा बढी गैँडा प्राकृतिक कारणले नमर्ने उहाँको भनाइ छ ।
 
प्राकृतिक कारणले मरेको अवस्थामा भेटिएका अधिकांश गैँडा अमलटारी र कसरा क्षेत्रका रहेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार हालसम्म मृत भेटिएका गैँडामध्ये २० वटा अमलटारी र १४ वटा कसरा क्षेत्रका रहेका छन् । अन्य गैँडा बगई, सौराहा, राष्ट्रिय वन क्षेत्र, ध्वर्से खोला क्षेत्रमा मृत भेटिएका हुन् । धेरै गैँडा भेटिएका क्षेत्र निकुञ्जको पश्चिमी क्षेत्र पर्दछ ।
 
दुई वर्ष अघि राप्ती नदीमा आएको बाढीले धेरै गैँडा बगाएका थिए । ती गैँडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए । बाढीको प्रभावका कारण मरेका गैँडासमेत निकुञ्जको खानतलासीका क्रममा भेटिएको अनुमानसमेत गरिएको छ । बाढीले तितरवितर पार्दा अलमलमा परेर पनि गैँडा मरेको बताइएको छ ।
 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्का यस वर्ष धेरै गैँडा प्राकृतिक कारणले मरेको नभएर अघिल्ला वर्षहरूमासमेत मरेको भेटिएको बताउनुहुन्छ । धेरै गैँडा कङ्काल अवस्थामा भेटिएको भन्दै उहाँले विगतका वर्षहरुमा मरेका गैँडाहरुसमेत अहिले भेटिएको बताउनुभयो ।
 
प्राकृतिक कारणले मरेका गैंडाहरु निकुञ्जको अपरेसनका क्रममा क्रमशः भेटिँदै गएको खड्काको भनाइ छ । यद्यपि गैँडाको मृत्युका कारण पहिचान गर्न निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा प्राविधिकहरुको टोली गठन भई काम भइरहेको पनि उहाँले बताउनुभयो । एकै वर्ष धेरै गैँडा प्राकृतिक कारणले मरेको भन्ने हल्ला चलेको भए पनि तथ्याङ्क हेर्दा विगत वर्षहरुमा मरेको र पहिचान हुन नसकेका गैँडा धेरै भेटिएका खड्काले बताउनुभयो । यस वर्ष निकुञ्जको पूरै क्षेत्र समेट्ने गरी अपरेसन गरिएको उहाँको भनाइ छ ।
 
सशस्त्र द्वन्द्वको समयमा विसं २०५८ मा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि दुई वर्ष यता शिकारीले गैँडा मार्न सकेका छैनन् । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बूढो भएर कालगतिबाट मर्ने गरेका छन् ।
 
गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि बजेट अभावका कारण आउँदो आर्थिक वर्ष गणना गरिने भएको छ । रासस