मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सौराहाका अधिकांश होटल सन्तोषजनक, सुधार गर्न निर्देशन

सौराहाका अधिकांश होटल सन्तोषजनक, सुधार गर्न निर्देशन


पर्यटकीय क्षेत्र सौराहामा सञ्चालित होटल एवं रेस्टुरेन्टहरुमा खाद्य स्वच्छतामा सुधार गर्नुपर्ने देखिएको छ । खाद्य स्वच्छताका आधारमा होटलहरुलाई स्तरीकरण गर्ने क्रममा अधिकांश होटलहरु सन्तोषजनक अवस्थामा रहेको भेटिए पनि थुप्रै सुधार गर्नुपर्ने पक्षहरु बाँकी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनले जनाएको छ । 
 
भान्साका पूर्वाधारमा सुधार, खाद्य पदार्थको भण्डारण, कामदारको व्यक्तिगत सरसफाइ एवं तालिम र पकाउने तरिकालगायतमा सुधार गर्नुपर्ने देखिएको कार्यालयका खाद्य निरीक्षक प्रदीप काफ्लेले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनले दुई चरणमा गरेर सौराहाका ३४ वटा होटलहरुमा स्तरीकरण गरेको छ । कार्यालयले पहिलो चरणमा गएको फागुन २७ गते १८ वटा र वैशाख ६ गते १६ वटा होटलहरुको स्तरीकरण गरेको हो । 
 
स्तरीकरण गरिएका होटलहरुमध्ये खाद्य स्वच्छतामा ५० अंक नल्याउने १५ वटा होटलहरुले स्तरीकरणको स्टिकर पाएनन् । स्तरीकरणको स्टिकर पाएका १९ होटलमध्ये एउटा होटलले उत्तम, १३ वटा होटलले सन्तोषजनक र पाँचवटा होटलले सामान्यको स्टिकर पाएका खाद्य निरीक्षक काफ्लेले बताए । सौराहाको केसीज रेस्टुरेन्ट एण्ड बारले मात्रै उत्तमस्तरको स्टिकर प्राप्त गरेको छ ।
 
खाद्य स्वच्छताका ५० वटा सूचकहरु रहेका छन् । भान्साको भौतिक पूर्वाधार, कामदारको सरसफाइ र स्वास्थ्य, अभिलेख, व्यवसाय दर्ता एवम् नवीकरण र खाद्य स्वच्छतासँग सम्बन्धित विभिन्न बुँदाहरु गरी ५० वटा सूचक रहेका छन् । एउटा सूचकमा न्यूनतम मापदण्ड पनि नपुगे शून्य, औसतलाई एक र अधिकतमलाई दुई नम्बर दिइने काफ्लेले बताए । 
 
खाद्य स्वच्छतामा ६४ अंक पाउनेलाई पहेँलो रङको सामान्य, ६५ देखि ७९ सम्म अंक पाउनेलाई हरियो रङमा एक तारा भएको सन्तोषजनक, ८० देखि ८९ सम्म पाउनेलाई हरियोमा दुई तारा भएको उत्तम र ९० देखि १०० अंकसम्म पाउनेलाई हरियोमा तीन तारा भएको अति उत्तमको स्टिकर दिइने उनको भनाइ छ । यस आवमा कम्तीमा ५० वटा होटलहरुको स्तरीकरण गर्ने योजना रहेको उनले बताए । 
 
क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष सुमन घिमिरेले होटल एवं रेस्टुरेन्टका कर्मचारीहरुको हेलचेक्र्याइँका कारण केही होटलहरुमा समस्या देखिएको भन्दै तत्कालै खाद्य स्वच्छतासम्बन्धी अभिमुखीकरण कार्यक्रम र कामदारहरुलाई तालिमको व्यवस्था गरिने बताए । उनका अनुसार सौराहामा ११० वटा होटल र ५० वटा रेस्टुरेन्ट सञ्चालित छन् ।