मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समृद्धिका लागि साहस र धैर्य चाहिन्छ : प्रधानमन्त्री

समृद्धिका लागि साहस र धैर्य चाहिन्छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यको खाँचो रहेको बताएका छन् । 
 
प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै ओलीले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए । 
 
उनले भने, ‘हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यसँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सक्छौँ ।”
 
“हामीले पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन । असम्भवलाई सम्भव बनाउन सक्दछौँ, देशलाई विकसित गर्न सक्छौँ”, उनल थपे । 
 
ओलीले पासाङल्हामु नेपाली महिलाको लागि प्रेरणा र साहसको प्रतीक हो भन्दै नेपाली महिला पनि कम छैनन्, सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टान्त पहिलोपल्ट नेपाली महिलाको तर्फबाट पासाङल्हामुले पुष्टि गरेको उल्लेख गरे । 
 
नेपालको पर्वतारोहणको गौरवपूर्ण इतिहास रहेको र यसपटक सगरमाथाको पुनः उचाइ मापनको काम अघि बढाइएकाले यसको वास्तविक उचाइ पत्ता लाग्ने उनको भनाइ थियो । 
 
ओलीले पासाङल्हामु सबैको प्रेरणा र आदरणीय व्यक्तित्व भएकाले उनको स्मरणलाई अर्थपूर्ण र सम्मानजनक ढङ्गले स्थापित गर्न पासाङल्हामु स्मारक निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्मारकका लागि उपयुक्तस्थलको खोजी गर्न प्रतिष्ठानलाई आग्रह गरे । 
 
ओलीले प्रतिष्ठानकै परिवारका महत्वपूर्ण सदस्य पर्यटन व्यवसायी स्व आङछिरिङ शेर्पा, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीसहित पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिको निधनप्रति दुःख व्यक्त गर्दै उनीहरुको परिवारजनप्रति सरकार र प्रतिष्ठानले गर्नसक्ने काम गर्ने प्रतिबद्धता जनाए । 
 
राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी पर्वतारोहण इतिहासमा प्रथम नेपाली महिलाको कीर्तिमान कायम गर्न सफल भएकी थिइन् । उनले विसं २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी पासाङल्हामुको आरोहण सकेर फर्कने क्रममा मृत्यु भएको थियो । 
 
सगरमाथाको सफल आरोहण सन् १९५३ मे २९ मा नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले गरेका थिए ।