मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्पाइनल इन्जुरी केन्द्र बनाउन जसले गरे तीन करोड दान

स्पाइनल इन्जुरी केन्द्र बनाउन जसले गरे तीन करोड दान


समाजमा लाभ उठाउने मान्छेमात्रै छैनन् । केही यस्ता दानवीर पनि छन्, जसले आफ्नो जीवनमा कमाएको हिस्सा अस्पताल, विद्यालय र सामाजिक काममा लगाउने गरेका छन् । 
 
चितवनको नारायणगढका पुराना रैथाने व्यापारी हुन्, ९० वर्षीय उदयकुमार पिया । जो तनहुँको बन्दीपुरमा जन्मिएर विसं २००५ सालमा चितवन झरेका थिए । पुख्र्यौली व्यवसायलाई निरन्तरता दिँदै नारायणगढमा चितवनमै पहिलो राइस मिल सञ्चालन गर्ने व्यत्तिः उनै हुन् । सूर्योदय राइस मिलका नामले चर्चित उनले आफ्नो जीवनकालमा कपडा पसल, किराना, तेल मिललगायत धेरैथरि व्यवसायमा सक्रिय रहे । 
 
व्यापारिक जीवनका दौरान आफू सामान्य साक्षर भए पनि दुई छोरा र छ वटी छोरीलाई राम्रो शिक्षादीक्षा दिलाए । उनका जेठा छोरा मदन पिया क्यान्सर उपचारका नाम चलेका डाक्टर हुन् भने कान्छा छोरा सुनिल इन्जिनियर ।
 
२० वर्षअघि व्यापार व्यवसायबाट विश्राम लिएका उनलाई १८ वर्षअघि उनकी श्रीमतीले जीवनबाटै विश्राम लिइन् । उनले उनैको स्मृतिमा बेलचोकमा चमेलीदेवी पिया स्मृति विद्यालय स्थापना गरे । 
 
स्पाइनल इन्जुरीको समस्याबाट पीडित भएकाहरुको सहजताको लागि चितवन रोटरी क्लबले ६ वर्षअघिदेखि भरतपुर अस्पतालभित्र स्पाइनल इन्जुरी युनिट सुरु गरेको थियो । व्यवस्थित उपचार केन्द्र बनाउने योजनामा जुटेको रोटरीलाई महानगरले एक बिघा जग्गा उपलब्ध गराएपछि क्लबका पूर्वअध्यक्ष चन्द्रमान श्रेष्ठको पहलमा पियाले तीन करोड दान गर्ने घोषणा गरेका हुन् ।
 
सबैभन्दा ठूलो आर्थिक सहयोग गरेकोले उक्त केन्द्रको नाम नै ‘उदयकुमार चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र’ रहने चितवन रोटरी क्लबका अध्यक्ष कपिलबाबु खनालले जानकारी दिए । 
 
दानवीर पियाको सहयोगले हिजो सपनाजस्तै लाग्ने काम अब साकार हुन लागेको अध्यक्ष खनालले बताए ।
 
चितवन रोटरी क्लबको अगुवाइमा रोटरी क्लब अफ रत्ननगर, रोटर क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ जावलाखेल, ललितपुर र स्पाइनल इन्जुरी संघ, नेपालसँगको सहकार्यमा उक्त केन्द्र स्थापना गर्न लागिएको हो । 
 
भरतपुर ३ नगरवनमा दुई वर्षभित्र निर्माणसम्पन्न हुने २५ शøया क्षमताको उक्त केन्द्रको चन्दादाता पियाले शिलान्यास गर्दै धेरै वर्ष पहिलेदेखिको सपना पूरा हुने चरणमा पुगेको बताए । उनले भने, ‘मेरो परिवारको धेरै वर्ष पहिलेदेखि सामाजिक क्षेत्रमा सहयोग गर्ने चाहना थियो । त्यो सपना पूरा हुने चरणमा आइपुगेको छ ।’
 
अस्पताल सञ्चालनको लागि करिब १५ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणको लागि पाँचदेखि सात करोड रूपैयाँ खर्च लाग्ने अनुमान छ । चन्दादाता पियाले उपलब्ध गराएको रकमले मात्रै भवन निर्माणको खर्च नपुग्ने हुँदा बाँकी रकम स्थानीयस्तरबाटै संकलन गर्ने लक्ष्य लिइएको छ ।
 
अस्पतालमा चाहिने आवश्यकीय मेसिन तथा उपकरणहरु रोटरी इन्टरनेसनलको ग्राण्डबाट उपलब्ध हुने अध्यक्ष खनालले बताए ।