मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

जसले फेसबुकमार्फत अक्षयकोषमा एक करोड जम्मा गरे

जसले फेसबुकमार्फत अक्षयकोषमा एक करोड जम्मा गरे


विसं २०१९ साल जेठ १५ गते नुवाकोटको तिगाउँमा जन्मिएका मुरलीप्रसाद गजुरेलको पहिचान नै समाजसेवा बनिसकेको छ । चितवनको खैरहनी नगरपालिका–८ पर्साबजारमा स्थायी निवासी ५६ वर्षीय गजुरेल असल नियत र लगाव हुने हो भने लक्ष्य हासिल गर्न असम्भव हुँदोरहेनछ भन्ने दृष्टान्त एक हुन् ।
 
आर्थिक अवस्थाका कारण आफूले उच्च शिक्षा हासिल गर्न नपाएका र जीवनको उर्वर समय साउदी अरबमा श्रम गरेर फर्किएका उनले आफ्नोजस्तो पीडा अरूले भोग्नु नपरोस् भन्दै खैरहनी माविमा उच्च शिक्षा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमार्फत् पढाउन सक्रिय छन् । उनको नित्यकर्म भनेकै बिहान उठ्नासाथ सामाजिक सञ्जाल फेसबुकमा जन्मदिन परेकाको खोजी गर्ने, शुभकामना दिने र अक्षयकोषमा रकम संकलन गर्न अपिल गर्ने बनेको छ । 
 
०६७ पुसमा आफैँले एकहजार रुपैयाँ रकम जम्मा गरी थालेको अभियान आठ वर्ष पूरा भइसकेको छ । यस अवधिमा करिब एक करोड रुपैयाँ जम्मा भइसकेको छ । हाल छोराबुहारी भेट्न अष्ट्रेलिया पुगेका गजुरेलले आफ्नो अभियान जारी राखेका छन् । अष्ट्रेलियामा रहेका ३६६ जना नेपालीबाट १० लाख रुपैयाँ जुटाइसकेका गजुरेल यही वैशाख महिनाभित्रै एक करोड रुपैयाँ पु¥याएर नेपाल फर्किने योजनामा छन् । प्रस्तुत छ, यिनै मूर्धन्य समाजसेवी एवम् अभियन्ता गजुरेलसँग हिमालय खबरले गरेको कुराकानी–
 
१) अक्षयकोष अभियान सुरूवात गर्ने सोच कसरी आयो ? 
 
–म आफूले गरिबीको कारण उच्च शिक्षा पढ्न पाइनँ । कलेज जाने रहर हुँदाहुादै पनि केही समयपछि साउदी अरबमा रोजगारीको लागि भौँतारिनुप¥यो । त्यहाँ शिक्षाविनाको अत्यधिक श्रम शोषण झेल्नुप¥यो । आफूले पढ्न नपाए पनि समाजमा आर्थिक अभावका कारणबाट शिक्षाको स्वर्णिम अवसरबाट वञ्चित हुन पुगेका बालबालिकाहरुको लागि शिक्षाको ज्योति दिनको लागि यो अभियान थालेको हुँ । आफूले अध्ययन गरेकै विद्यालय खैरहनी माविमा कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो अभियानको थालनी गरेको हुँ । 
 
२) कोषमा रकम कसरी संकलन गर्नुहुन्छ ? 
 
–समाजमा तडकभडकमा हुने अनुत्पादक खर्च घटाएर जन्मदिन, विवाह, विवाह वर्षगाँठ, पुण्यस्मृति, नयाँवर्षलगायत विभिन्न शीर्षकमा अभियानबारे जानकारी गराएर उहाँहरुलाई प्रत्येक्ष भेटेर वा भेट्न सम्भव नभएकाहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् अनुरोध गरेर स्वेच्छाले एक हजारभन्दा माथि रकम सहयोग गर्न आग्रह गरी रकम संकलन गर्दै आएको छु । 
 
४) संकलित रकम कसरी र कहाँ जम्मा गर्ने गर्नुभएको छ ? 
 
–संकलित रकम सहयोगी दाताहरुकै नामबाट ‘खैरहनी मावि जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष’को खाता रहेको गरिमा विकास बैँक र हिमालय बैँकमा प्रत्यक्ष जम्मा हुनेगरी रकम संकलन गरी भौचर सम्बन्धित दातालाई नै बुझाउने व्यवस्था गरिएको छ । 
 
५) यो अभियानमा लाग्ने खर्चको व्यवस्थापन कसरी मिलाउनुभएको छ ? 
 
–यो अभियान सुरूवात भएदेखि हालसम्म भएका कुनै पनि खर्च जस्तैः रिचार्ज कार्ड, पेट्रोल, इन्टरनेट, खाजा आदिमा खर्च हुने रकमको आफैँले प्रबन्ध गर्दै आएको छु । र, अष्टे«लिया आएको चार महिनाको अवधिमा विभिन्न देशमा रहनुभएका ३६६ जना नेपाली दाजुभाइ तथा दिदीबिहिनीहरुबाट १० लाख रुपैयाँ संकलन भइसकेको छ । यो अभियानका लागि भेटघाट गर्न जाँदा पनि आफ्नै खर्चमा रकम जुटाउने गरेको छु । 
 
६) अक्षयकोषमा हालसम्म कति रकम संकलन गर्नुभयो ? 
 
–नयाँ वर्ष २०७६ को वैशाख महिनाभित्रै लक्ष्यअनुसार एक करोड रुपैयाँ पु¥याउने जुन लक्ष्य मैले बोकेको थिएँ, त्यो लक्ष्यनजिक पुगेको छु । हालसम्म ९६ लाख रुपैयाँ संकलन भइसकेको छ । केही दाताहरुले सहयोग गर्ने वचनबद्धता जनाइसक्नु भएको छ । यही महिनाभित्रै एक करोड रुपैयाँ पु¥याउने र नेपाल फर्किएर घोषणा गर्ने कार्यक्रम छ । 
 
७) छात्रवृत्ति कसरी प्रदान गर्दै आउनुभएको छ ? 
 
–विद्यालयमा छात्रवृत्ति समितिले विपन्न तथा गरिब विद्यार्थीको तथ्यांक निकाल्ने गर्छ । ०७५÷७६ मा १४४ जनालाई ६ लाख ७४ हजार १०० रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिसकेका छौँ । समितिले सिफारिस गरेअनुसार अक्षयकोषमा संकलित बचत रकमको व्याजबाट प्राप्त रकमले छात्रवृत्ति प्रदान गर्दै आएका छौँ । 
 
८) हालसम्म यो अभियानबाट कति विद्यार्थी लाभान्वित भएका छन् ?
 
–विसं २०६७ साल पुसबाट सुरु भएको अक्षयकोषबाट ०६९/७० मा ७२ जनालाई ९० हजार,  ०७०/७१ मा ५६ जनालाई एक लाख, ०७१/७२ मा ५३ जनालाई १ लाख ४८ हजार,  ०७२/७३ मा ७१ जनालाई २ लाख ४८ हजार,  ०७३/७४ मा ९९ जनालाई ३ लाख २७ हजार ५००, ०७४/७५ मा १३५ जनालाई ४ लाख ६४ हजार ४०० र  ०७५/७६ मा १४४ जनालाई ६ लाख ७४ हजार १०० छात्रवृत्ति प्रदान गरिसकिएको छ । हालसम्म ६३० जना गरिब तथा विपन्न विद्यार्थी लाभान्वित भएका छन् । जसका लागि कुल १९ लाख १८ हजार ८०० रुपैयाँ प्रदान गरिएको छ । 
 
९) तपाईंले थालेको अभियानले सफलता हासिल गरिसकेको छ । कोषमा लक्ष्यअनुसार एक करोड रुपैयाँ पनि पुग्यो । आगामी अभियानचाहिँ के छ ? 
 
–मैले असल मानिसको खोजी गरिरहेको छु । मनदेखि नै पवित्र भावना भएका निस्वार्थ मानिस पाएँ भने देशव्यापीरुपमा शिक्षाको पहुँच नपुगेका विकट ठाउँहरुमा सामाजिक संस्था गठन गरी छात्रवृत्ति वितरण गर्ने सोच रहेको छ । एक करोड रुपैयाँ खैरहनी माविका लागि छुट्याएर देशव्यापीरुपमा सामाजिक अभियान सञ्चालन गर्ने सोच छ । कम्तीमा १५ करोड रुपैयाँ संकलन गर्ने र देशका विपन्न र गरिब विद्यार्थीलाई पढाउने सोच छ । मलाई देशव्यापीरुपमा काम गर्न ऊर्जा मिलेको छ । तर, एक्लैले गरेर सम्भव हुँदैन । म निस्वार्थ भावनाले काम गर्ने असल मानिसहरुको खोजीमा छु ।
 
१०) समाजसेवीका रुपमा परिचय बनाइसक्नुभयो । तपाईंको जीवनमा कुनै धोको बाँकी छ कि ? 
 
–मैले परिवारको लागि भनेर हालसम्म १७ लाख रुपैयाँभन्दा बढी कमाएको छैन । जीवनमा त्यति ठूलो महŒवाकांक्षा पनि केही छैन । पारिवारिक भूमिका र जिम्मेवारीबाट पनि म मुक्त भइसकेको छु । बस्नका लागि राम्रो घर छ, त्यसको घरबहालबाट खान पुगिहाल्छ । एकदिन मरेरै जाने जीवनमा लोभ, मोह बाँकी पनि छैन । मैरे घरबाट एकहजार रुपैयाँ संकलन गरी थालेको अभियानबाट एक करोड रुपैयाँ संकलन भई गरिब विद्यार्थीले पढ्न पाएका छन्, त्यो नै मेरो लागि ठूलो आत्मसन्तुष्टि हो । मेरो एकमात्र लक्ष्य र उद्देश्य भन्नु नै समाजसेवा र समाज परिवर्तनका लागि भूमिका खेल्नु हो । म बाँकी जीवन पनि यस्तै रचनात्मक अभियान सञ्चालन गरेरै बिताउन चाहन्छु । 
 
११) सामाजिक काम गर्नेहरुलाई के सन्देश दिन चाहनुहुन्छ ? 
 
–सामाजिक सेवाबाट संकलित रकमको दुरूपयोग नगरी काम गरौँ । अहिले समाजसेवाका नाममा देखाउने दाँत एउटा र लुकाउने दाँत अर्को छ । आफू र आफ्नो परिवारभन्दा माथि उठेर लोभलाचबाट परै रहेर समाजसेवामा लाग्न सन्देश दिन चाहन्छु । अहिले मानिसहरु समाजसेवाको नाममा गाडी चढेर हिँड्छन् । समाजसेवालाई मागीखाने भाँडो बनाएका छन् । समाजसेवा गर्नु नै छ भने स्वच्छ र व्यक्तिगत स्वार्थविना गर्नुपर्छ । म यही सन्देश दिन चाहन्छु । 
 
१२) अन्त्यमा अभियानलाई सहयोग गर्ने दाताहरुलाई के भन्न चाहनुहुन्छ ? 
 
–देशविदेशमा रहेर पनि यो सामाजिक अभियानलाई सार्थक बनाउन सहयोग प्रदान गर्नुहुने सहयोगी दाताहरुलाई विद्यालय तथा अक्षयकोष परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस अभियान सफल पार्न थुप्रै मिडिया र पत्रकारहरुको साथ र सहयोग मिलेको छ । आर्थिक तथा भावनात्मकरुपमा सहयोग गर्ने यस्ता सहृदयी मन भएका हजारौँ दाताहरुलाई नयाँ वर्ष २०७६ को पावन अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । तपाईंहरु विश्वको भूगोलमा जहाँ रहे पनि जसरी दुःख गरेर आफ्नो देशका भाइबहिनीहरुलाई पढ्ने अवसर जुटाइदिनुभयो । त्यसका लाति कृतज्ञता प्रकट गर्न चाहन्छु । तपाईंहरुलाई सधैँ भगवान्को साथ रहिरहोस्, सहयोगी भावना छाइरहोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।