मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मौसममा बदलीका कारण तीन दिन हुरीबताससहित वर्षा हुने

मौसममा बदलीका कारण तीन दिन हुरीबताससहित वर्षा हुने


काठमाडौँ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ ।
 
भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए । 
 
पूर्व र मध्य क्षेत्रको तुलनामा पश्चिमको मौसममा कम बदली देखिएको छ । साथै पोखरा आसपास क्षेत्रमा स्थानीय मौसम प्रणाली उत्पन्न भई मेघगर्जनसहित हावाहुरीको सम्भावना  देखिएको उनले बताइन् । 
 
नेपालको मौसममा मार्च, अप्रिल र मे महिनाभर प्रि–मनसुनको अवधि रहन्छ । 
 
सोमबार रातिदेखि मंगलबार र बुधबार पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले प्रक्षेपण गरेको छ । 
 
पछिल्लो २४ घन्टाको मौसमी विवरणअनुसार काठमाडौँको अधिकतम् तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।