मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानसम्पादक श्रेष्ठको निधनमा देउवाद्वारा दुःख व्यक्त

प्रधानसम्पादक श्रेष्ठको निधनमा देउवाद्वारा दुःख व्यक्त


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 
 
कामना प्रकाशन समूहका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार बिहान काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 
 
सभापति देउवाले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पत्रकारिताको क्षेत्रमा संलग्न श्रेष्ठको निधनले सिंगो सञ्चार जगतमा अपूरणीय क्षति पुगेको जनाएका छन् । 
 
“नेपाल समाचारपत्रका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनको समाचारले मलाई स्तब्ध र दुखित बनाएको छ । स्वर्गीय श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा सक्रिय योगदान पुर्‍याउनु भएको थियो”, विज्ञप्तिमा भनिएको छ । 
 
विज्ञप्तिमा प्रधानसम्पादक श्रेष्ठको निधनबाट सञ्चार क्षेत्रले एक कुशल व्यक्तित्वलाई गुमाएको तथा र यस क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाइएको छ । 
 
यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नयाँ सडकस्थित भूगोलपार्क पुगेर प्रधानसम्पादक श्रेष्ठको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
 
६० वर्षीय श्रेष्ठको उपचारको क्रममा नर्भिक अस्पतालमा बिहान ११ बजेर ४९ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 
 
पाँच महिनाअघि मृगौलाको पत्थरीको शल्यक्रिया गर्दा पनि निको नभएपछि उनको अस्पतालमा उपचार भइरहेको थियो । श्रेष्ठको पार्थिव शरीर दिउँसो ३ बजेसम्म भूगोलपार्कमा श्रद्धाञ्जली अर्पणगगरी पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । श्रेष्ठका श्रीमती र ३ छोरा छन् ।