मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा हिन्दू चाडपर्वका विवाद समाधान (भिडियो सहित)

अमेरिकामा हिन्दू चाडपर्वका विवाद समाधान (भिडियो सहित)


हिमालयखबर संबाददादा –
टेक्सस (अमेरिका)। नेपाली नयाँवर्षसँगै हिन्दु धर्म संस्कृतिका कतिपय चाडपर्वहरु नेपालमा भन्दा पहिलेनै अमेरिकामा मनाइयो भने अब अचम्म नमाने हुन्छ ।
 
नयाँवर्षको सुरुवातसँगै तिथिका आधारमा मनाइने केही पर्वहरु नेपालमा भन्दा पनि पहिलेनै यता मनाउनुपर्ने भएका छन् । लामो समयदेखि विवादमा रहँदै आएको यो विषय आइतबारदेखि किनारा लागेको छ । 
 
आइतबार टेक्ससको ड्यालसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजित एक विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय पञ्जाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. माधबप्रसाद भट्टराईले तिथिका आधारमा मनाइने चाडपर्वहरु पहिले अमेरिका, युरोप हुँदै नेपालमा पुग्नेगरि मनाउनेगरि पञ्चाङ्गमा शुद्धता ल्याउन लागिएको बताए ।
 
‘तिथिमा अमेरिका लगायत पश्चिमा मुलुकहरु पहिला र मितिका आधारमा मनाइने चाडपर्वहरु नेपाल लगायत पूर्बी एसियाली देशहरुमा पहिले मनाउने कुरामा अब द्विविधा नलिउँ,’ उनले भने । डा. भट्टराईले पञ्चाङ्गमा शुद्धिकरण गरेर लैजानुपर्ने अवस्था रहेकोले यसलाई कसैले पनि अन्यथा रुपमा लिन नहुने बताए ।
 
डा. भट्टराईले अमेरिकाको लागि हिन्दु धर्म संस्कृति अनुसारको पञ्चाङ्ग (पात्रो) बनाएर पठाई दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । त्यसका लागि आवश्यक पर्ने खर्च नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले व्यहोर्ने अध्यक्ष सुरेशचन्द्र पोखरेलले बताए ।
 
नेपालको भन्दा १० देखि १२ घण्टासम्म समय फरक पर्ने भएकाले अमेरिकाको सेन्ट्रल टाइम (टेक्सस) अनुसारको पात्रो बनाएर, त्यसैका आधारमा चाडपर्व, तिथिहरु मिलान गरेर २०७६ सालको नयाँ पात्रो प्रकाशित गर्ने विषयमा समेत सहमति भएको छ । 
 
अमेरिकामा रहेका नेपाली ज्योतिषहरुबीच यो विषयमा समेत विवाद हुँदै आएको थियो । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष समेत रहेका डा. भट्टराईको समेत यो विषयमा सहमति जनाएपछि अब अमेरिकाको पात्रो अलग्गै बन्ने र केही चाडपर्वहरु नेपालमा भन्दा पहिले अमेरिकामा पर्नेछन् । 
 
‘ग्रहहरु पश्चिमबाट पुर्बतिर जाने भएकोले पहिले त्यसैका आधारमा अमेरिका लगायत पश्चिमका देशहरुले पहिले तिथि पाउने रहेछन, समय चाँही नेपाल लगायत पूर्बी देशहरुले पहिले पाउने रहेछन्,’ नेपाली मन्दिरका मुल पूजारी डा. शेखर पण्डितले भने । 
 
मन्दिरका अर्का पूजारी तथा ज्योतिष मेघराज निरौलाले तिथिहरु अमेरिकाका जुन समयमा सुरु हुन्छ नेपालमा पनि त्यही बेला सुरु हुने बताए । 
 
नयाँ पञ्चाङ्गले गर्दा अब चाडहरु नेपालमा मनाइसके पछि मात्र अमेरिकामा सुरु हुने चलन हट्नेछ । केही चाडपर्वहरु नेपालमा भन्दा पहिलेनै हुनेछन् भने केही पछि पनि हुनेछन् । 
 
भारतीय समुदायले लामो समयदेखि अमेरिकाको भूगोल (अक्षांश, देशान्तर), समय अनुसारको पञ्चाङ्ग बनाएर प्रचलनमा ल्याइरहेका छन् । नेपालको पञ्चाङ्ग अनुसार अमेरिकामा चाडपर्व मनाएको देख्दा उनीहरुले आश्चर्य मान्दै आएका छन् । 
 
नयाँ पञ्चाङ्ग अनुसार अब जनैपूर्णिमा नेपालमा भन्दा एक दिन अघिनै अमेरिकामा पर्ने भएको छ । नेपालमा साउन ३० गते बिहीबार पर्ने जनैपूर्णिमा अमेरिकामा भने साउन २९ गते (अगष्ट १४ तारिक) बुधबारनै मनाउनुपर्नेछ ।  
तीजको ब्रत र ऋषिपञ्चमी भने नेपाल र अमेरिकामा एउटै मितिमा परेको छ । 
 
दशैंको टीका नेपालमा भन्दा एक दिन अघिनै अमेरिकामा परेको छ । नेपालमा असोज २१ गते मंगलबार पर्ने टीकाको साइत अमेरिकामा भने असोज २० गते (अक्टोबर ७ तारिक) सोमबारनै मनाउनुपर्नेछ । 
 
तिहारको लक्ष्मीपूजा, भाइटीकाको मिति भने नेपाल र अमेरिकामा एकै दिन परेको छ । 
 
आइतबार आयोजना गरिएको अन्तरकृया कार्यक्रममा विदुषी तथा पूर्ब मन्त्री कान्ता भट्टराई, ज्योतिष शान्तिराम कोइराला, छबी चापागाई, सुरेशचन्द्र पोखरेल, देवीप्रसाद पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
वक्ताहरुले नयाँ पञ्चाङ्गले केही अप्ठेरो जस्तो बनाएपनि कालान्तरमा सही तिथिमा पर्वहरु मनाउने, श्राद्धहरु हुने, नवजात शिशुको सही नामाकरण हुने भएकोले कसैले पनि द्विविधा लिन नहुने धारणा राखेका थिए ।
 
नयाँ क्यालेण्डर विमोचितः
यसैबीच सोही कार्यक्रममा पृथ्बीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानले प्रकाशित गरेको नयाँ वर्ष २०७६ को क्यालेण्डर विमोचन गरियो । 
 
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधबप्रसाद भट्टराईले नयाँ भित्ते क्यालेण्डरको विमोचन गरेका थिए । अमेरिकाको समय र तिथि अनुसारका पर्वहरु सो क्यालेण्डरमा समावेश गरिएका छन् ।
 
प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद पाण्डेले आफ्नी आमाको श्राद्ध गर्दा समेत गलत तिथिमा गर्न वाध्य भएका कारण सबैलाई सुविधा पुग्ने हिसाबले क्यालेण्डर प्रकाशित गरेको बताए ।