मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार भ्रष्टाचारको दलदलमा फस्यो : नेपाली कांग्रेस

सरकार भ्रष्टाचारको दलदलमा फस्यो : नेपाली कांग्रेस


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले अनुकूल वातावरण हुँदा हुँदै पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको टिप्पणी गरेको छ । 
 
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारका सामु अघिल्ला सरकारका झैँ गम्भीर राजनीतिक चुनौती नभए पनि तीव्र ढंगले काम गर्न नसकेको बताए । 
 
प्रवक्ता शर्माले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसामु झैँ ज्वालामुखीको वातावरणमा शान्ति प्रक्रियाको नेतृत्व गर्नुपर्ने, सुशील कोइरालाले झैँ प्रतिकूलता चिरेर संविधान जारी गर्नुपर्ने या अनेक जटिलता हल गरेर शेरबहादुर देउवाले झैँ तीन तहको निर्वाचन गर्नुपर्ने स्थिति वर्तमान सरकारका सामु नभएको स्पष्ट पारे । 
 
उनले दुई तिहाइ बहुमतको सरकार, सबै प्रदेश सरकारको साथ र बहुमत स्थानीय तहको समर्थन प्राप्त भए पनि वर्तमान सरकारले जनअपेक्षाअनुसार कार्य सम्पादन गर्न नसकेको बताए । 
 
कार्यक्रममा प्रवक्ता शर्माले सरकारले प्रभावकारीरुपमा संघीयता कार्यान्वयन गर्न नसकेको र उल्टै प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अङ्गलाई केन्द्रिकृत गरी शक्ति केन्द्रीकरणको अभ्यास गरेको उल्लेख गरे । 
 
कांग्रेसले वर्तमान सरकारको कार्यशैलीका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको तथा मुलुकको शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको जनाएको छ । 
 
प्रवक्ता शर्माले वर्तमान सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि व्यवहारमा त्यस्तो नदेखिएको उल्लेख गर्दै प्रश्न गरे, ‘आफ्नै लगानीमा निर्माण गर्ने भनेर संकल्प गरिएको बूढीगण्डकी परियोजना बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनु, वाइडबडी विमान छानबिनमा अख्तियारप्राप्त संवैधानिक संस्थालाई सहयोग नगरेर छुट्टै आयोग बनाउनुको रहस्य सरकारको घोटाला ढाकछोपको नियत प्रष्ट भएको छ ।’ कांग्रेसले सरकार भ्रष्टाचारको दलदलमा फसिसकेको टिप्पणी गरेको छ । 
 
साथै कांग्रेसले आवश्यकताभन्दा दोब्बर जग्गाको रुख काट्ने प्रस्तावसँगै निजगढ विमानस्थल निर्माण प्रक्रियामा गतिरोध आउनु, ९० प्रतिशत काम सकिएको मेलम्ची परियोजना कमिसनको खेलकै कारण निर्माण कम्पनीले काम छोडेर जानु, बालुवाटारको सरकारी जग्गा प्रकरणमा नेकपाकै सहासचिवसमेत जोडिनुले यावत घटना भ्रष्टाचारकै नियतको परिणाम भएको कांग्रेसले ठहर गरेको छ । 
 
कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले सरकारले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी नेताको अनुपस्थितिमा निर्णय गराएर प्रमुख प्रतिपक्षी दललाई ‘बाइपास’ गर्न खोजेको बताए । 
 
उपसभापति निधिले संवैधानिक निकायमा कांग्रेसले भागबण्डा मागेको भनी पार्टीलाई बदनाम गर्न खोजेकोप्रति पनि आपत्ति जनाए । 
 
उनले यही वैशाख ११ गतेदेखि पार्टी संगठन सुदृढीकरणका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने गरी कार्यक्रमको तयारी भइरहेको पनि सो अवसरमा जानकारी गराए ।