मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश

सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश


काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गरिने भएको छ । नेपालको आरोहण इतिहासमै पहिलोपटक नेपाल, भारत र चीनका तीन महिला आरोहीले भ्रमण वर्षको सन्देशसहित सगरमाथा आरोहण गर्न लागेका हुन् ।
 
नेपालकी कान्छिमाया तामाङ, भारतकी कल्पना दास र चीनका लियामु मालगायतको आरोही समूहले वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न लागेको भ्रमण वर्ष सचिवालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
 
भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले सगरमाथाबाट भ्रमण वर्षको सन्देशलाई विश्वभर फैलाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले भ्रमण वर्षको झण्डासहित आरोहण हुन लागेको बताए ।
 
आरोहण इतिहासमै पर्यटकीय महत्वका छिमेकी मुलुक भारत र चीनसहित संयुक्त आरोहणले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह हुने उनले उल्लेख गरे । महिला सशक्तीकरण, विश्व शान्ति र सद्भाव अभिवृद्धि गर्न आरोहण उपयोगी हुनेछ ।
 
संयुक्त महिला आरोहणको संयोजन सगरमाथाको १८ पटक आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले गर्नेछन् । शेर्पा ‘नेपाल टुरिजम इयर २०११’ को सद्भावना दूत पनि हुन् । 
 
आरोही तामाङ्ले सन् २०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गरेका छन् । उनी प्रथम तामाङ महिला सगरमाथा आरोही पनि हुन् । विभिन्न सामाजिक गतिविधिमा संलग्न तामाङ सन् २०१७ देखि युएन वोमनको सद्भावना दूत छिन् । त्यस्तै, भारतीय र चिनीया आरोहीले पनि विश्वका विभिन्न अग्ला हिमाल आरोहण गरेको बताइन्छ । 
 
दासले नेपाल, भारत, युरोप, साउथ अमेरिका र अष्ट्रेलियाको हिमाल आरोहणको अनुभव छ । उनले सन् २००८ मा  सगरमाथा आरोहण गरेकी थिइन् । चिनियाँ आरोही माले सगरमाथा, मनास्लु, लुबुचेलगायत हिमाल आरोहण गरेकी थिइन् । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित भ्रमण वर्षको लोगोसहितको झण्डा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आरोही समूहलाई हस्तान्तरण गरे । यो आरोहणबाट साहसिक पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्य हो र त्यसका लागि नारी सक्षम छन् भन्ने सन्देश दिने विश्वास लिइएको छ । 
 
सो अवसरमा सचिव सापकोटाले भ्रमण वर्षको सन्देशसहितको आरोहणले नेपालको पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भ्रमण वर्षलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने र भ्रमण वर्ष सचिवालयलाई थप सक्रिय बनाइने उल्लेख गरे ।
 
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बढी पर्यटक आगमन हुने मुलुक भारत र चीनलाई जोडेर हुने सगरमाथा आरोहणले नेपालको पर्यटन प्रवद्र्धन गर्न प्रभावकारी सन्देश जाने बताए ।
 
आरोहीमध्ये भारतीय र चिनियाँ आफ्नै खर्चमा जानेछन् भने नेपाली आरोही तामाङका लागि भ्रमण वर्ष सचिवालयको रु २० लाख र केही रकम नेपाल पर्यटन बोर्डले दिनेछ । बाँकी आरोही स्वयंले जोहो गर्ने बताइएको छ । आरोहण समूहमा चार जना चिनियाँ तथा नेपाली शेर्पाहरु रहनेछन् ।
 
आरोहण टोलीका संयोजक पेम्बा दोर्जे शेर्पाले विश्वलाई भ्रमण वर्षको सकारात्मक सन्देश दिन पहिलोपटक भारत र चीनलाई जोडेर आरोहण गर्न लागिएको बताए ।
 
आरोही दासले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई सुमधुर बनाउने लक्ष्यका साथ यो पटकको सगरमाथाको आरोहणमा नेपाली साडी लगाएर आरोहणमा जाने बताए । चिनियाँ आरोही माले संयुक्त आरोहणमा जान पाउँदा निकै गर्वको महशुस भएको र यसले विश्वलाई महत्वपूर्ण सन्देश दिने बताए । 
 
भ्रमण वर्ष कार्यान्वयन निकै चुनौतीपूर्ण भए पनि यसलाई सफल बनाउने आम नेपालीको जिम्मेवारी भएको कार्यक्रम संयोजक वैद्यले बताए । उनले मुलुकको आर्थिक समृद्धिलाई सार्थक बनाउन पनि अभियान सहयोगसिद्ध हुने विश्वास व्यक्त गरे ।
 
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहीबमोजिम बजेट तथा कार्यक्रमका साथ अभियान सुरु गरिएको छ ।
 
भ्रमण वर्षको चैत २० गते पोखराबाट पूर्व शुरुआत गरिएको छ । आवश्यक तयारीपछि छिट्टै भ्रमण वर्षको औपचारिक रुपमा शुभारम्भ गर्ने जनाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हालै भएको भ्रमण वर्ष २०२० मूल आयोजक समितिको बैठकले अभियानलाई उत्साहका साथ प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरिसकेको छ । 
 
उक्त बैठकले भ्रमण वर्ष मनाउन आर्थिक वर्ष २०७५/७६ को बजेट तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गर्दै प्रचारप्रसारका लागि सबै संयन्त्रलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको थियो । भ्रमण वर्षका लागि सरकारले यो वर्ष रु १० करोड बजेट विनियोजन गरेको छ ।
 
केशर महलमा भ्रमण वर्षको सचिवालय
 
राणाकालीन दरबार केशरमहलमा नेपाल भ्रमण वर्षको सचिवालय स्थापना गरिएको छ । गोरखा भूकम्पबाट सामान्य क्षति पुगेको उक्त भवनको मर्मत गरी सचिवालय बनाइएको हो । भ्रमण वर्षका कार्यक्रम संयोजक सुरज वैद्यले एक साताभित्रै सचिवालय प्रभावकारी रुपमा सञ्चालन हुने जानकारी दिए ।
 
उनका अनुसार अभियानअन्तर्गत यो वर्ष २० हजार २०० विरुवा रोपिने छ । ‘नेपाल टुरिजम एक्ससिलेन्स अवार्ड’, सम्पदा दिवस मनाउने र २० देखि ३० हजार स्वदेशी र विदेशी पर्यटकलाई सम्पदा भ्रमण गराउने, सातवटै प्रदेशमा पर्यटन प्रवद्धनका लागि लगानी भित्र्याउन आगामी अक्टोबर महीनामा पर्यटन लगानी सम्मेलन आयोजना गरिनेछ ।
 
नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् । रासस