विचार / ब्लग

अमेरिकाले चुँडाएको नाता

1025 पटक पढिएको

- शिव शर्मा

हिमालयखबर संबाददाता | 15th Apr 2019, Monday | २०७६ बैशाख २, सोमबार ११:५८
धेरै पछ्यायो उसले मलाई ।  हरेक कुरा ख्याल गर्थ्यो उसले मेरो ।  मैन झै पग्लिएँ उसको प्रेममा । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमामा स्नातकोत्तर गरेपछि मैले काठमाण्डाैको भोटाहिटीमा प्राइभेट कलेज पढाउन थालेकी थिएँ ।
 
ठ्याक्कै भन्दा उसको र मेरो भेट त्यही कलेजमा भएको हो । उ अर्थात निमेश शर्मा । ऊ पनि त्यही कलेजमा पढाउँथ्यो ।  ख्याल ठट्टैमा बस्यो पिरती ।  ऊ सुदुरपश्चिमको रैथाने थियो । म काठमान्डौ खाल्टोमा हुर्की बढेकी केटी । लाडप्यारले हुर्किएकी एक्ली छोरी ।
 
आखिर सम्बन्ध जोडिन भुगोलले छेकबार गर्ने कुरा पनि थिएन । हाम्रो सम्बन्ध यति गाढा भइसकेको थियो कि उ मेरो घरमा आउने जाने भइसकेको थियो । सनिसा मेरो नाम  भए पनि ऊ मलाई सानी भनेर बोलाउथ्यो ।  मेरो मैले केवल साथीको रुपमा उसलाई घरपरिवारमा परिचय गराएको थिए । तर झुठ धेरै टिक्न सकेन । घरमा गाइगुइँ चल्न थाल्यो । मैले घरपरिवारमा सबै कुरा खोलीदिएँ। तर बुबाआमालाई साथी भन्दा माथी प्रेमी प्रेमिका भएको फिटिक्कै मन परेन । साथी भन्दा माथि नउठन परिवारको दबाब आयो ।  
 
घरपरिवार राम्रोसँग नबुझेको र अन्जान व्यक्तिसँगको सम्बन्ध परिवारलाई स्वीकार्य भएन । आखिर सम्बन्ध प्रेम भन्ने कुरा अन्जान व्यक्तिसँग चिनजान हुदै न बस्ने हो । प्रेम स्वीकार नगरेको परिवारलाई विवाह गर्ने कुरा त झन धेरै परको कुरा थियो । घरपरिवारमा  थाहा भएपछि उसको आउने जाने क्रम पातलो भयो । तर पनि हामी बाहिर पार्क, रेष्टुँरा र फिल्महलमा भेटन थाल्यौ । झनै हाम्रो सम्बन्ध प्रगाढ बन्दै गयो । एक अर्कालाई राम्रोसँग बुझेका थियाैँ ।
 
मैले उसलाई एउटा कुरा लुकाएको थिए डिभी लोटरी परेको । अन्तवार्ता सकिएर भिसा लागेपछि बल्ल उसलाई भनेकी थिए । भिसा लागेको कुरा सुनेपछि ऊ जंगीयो । पहिला किन नभनेको भन्दै आक्रोस पोख्न थाल्यो । भिसा लागेको थाहा पाएपछि उसले विवाह गर्न दबाब दियो । सँगै अमेरिका जाने प्रकृयाका लागी दबाब दियो । कि मछुृ कि मार्छु भन्दै मलाई धम्काउन थाल्यो । अमेरिका जाने तय भइसकेको मिति सार्न भन्यो । अमेरिकी राजदुताबास गएर मिति सारे बल्लतल्ल । धेरैल झमेलाले कागजपत्र मिल्यो घरपरिवारको सर्पोट नहुँदा नहुँदै पनि विहे गरेर कागजात मिलाएर उ सँगै अमेरिका उडेँ । कता कता मनमा न्यास्रो भने लागीरह्यो । जन्मदिने बाबाआमालाई बेबास्ता गरेर आफै निर्णय गरे । जिन्दगीमा साथीको आवश्यक त थियो । सधै एक्लै बाँच्न संभव पनि थिएन ।  
 
अमेरिका आएपछि  सपनाका मालाहरु बुनियो । विशाल महासागर जस्तै अमेरिकामा थोपा झै हराइयो । पहाड जस्तै चुनौतीहरु सुरुमा खडा भए । पन्छाउदै दुबै जना हातेमालो गदै अघि बढ्यौ । एक अर्काको माया र साथले सबै दुखहरु बिर्सायो । एउटालाई चोट पर्दा अर्कालाई दुखेको महसुस गर्थ्याैँ ।
 
दुवै मिलेर दिनरात नभई हाड घोटेर काम गरियो । केही वर्षमा राम्रोसँग धन पनि जम्मा गरियो । घर किनियो अमेरिकाको टेक्ससमा । नयाँ गाडी किनियो । सँधै अरुको काम गर्नु भनेर एउटा ग्रोसरी स्टोर किनियो । दुबैको मिहिनेतले कामदारबाट व्यवसायीको बाटोमा लम्कियौ । लामो संघर्षपछि आत्मसन्तुष्टि पनि दिएको आभास दिलायो ।
 
स्टोरबाट व्यापार राम्रो हुँदै गयो । आम्दानी पनि सोचे भन्दा राम्रो भयो । यसले थप व्यवसाय बिस्तार गर्ने महत्वकांक्षा बढायो । सैलुन व्यवसायको बढ्दो प्रभावले मलाई पनि त्यतातिर आकर्षित गरायो । उसले स्टोरको व्यापार हेर्यो । मैले थ्रेडिङ लगायत हेयर स्टाइलको कोर्स पुरा गरेर हेयर सैलुन सुरु गरे । ऊ स्टोरतिर व्यस्त रह्यो । त्यताको बिजनेस उसले समाल्यो । मैले सैलुनको बिजनेस समाल्नेतिर लागे । सैलुन पनि बिस्तार राम्रै चल्न थाल्यो ।
 
बिजनेस पछि हाम्रो जिन्दगी  सहज रुपमा चल्दै थियो । एक अर्कामा विश्वासको कुनै कमी थिएन ।
 
हाम्रो चिनोको रुपमा छोरा पनि जन्मिएको थियो । उज्यालो दिन आएको महसुस गरेकी थिए । मनभरी खुशी भरिएर पोखिन आँटेको थियो । घरपरिवारलाई समेत बेबास्ता गरेर ऊसको मायालाई सबै ठानेर अमेरिका आएकी मात्र थिइन उसलाई सँगै ल्याउन कम्ति पापड बेल्नु परेको  थिएन । यही भएर त उसको हुन पाएकी थिए ।  
 
आखिर जिन्दगी सँधै एकैनास नहुदो रहेछ । आकाशमा कालो बादल मडारिन थाल्यो । सबै धुमिल देखिए जस्तै हुन लाथ्यो । जुनतारा त्यही कालो बादलले डाक्दै गयो । यही सिलसिला हाम्रो जिन्दगीमा पनि अनायासै त्यही परिस्थिति आइपुग्यो । कालो बादल मात्र फाटेन चटयाङनै परे जस्तो भो हाम्रो जीवनमा ।
 
सानोतिनो कुरालाई लिएर ऊ झगडा गर्न तम्सिन थाल्यो । उसको व्यवहारमा आएको एकाएकको परिवर्तनले आकाश खसेर आफैँलाई थिचे जस्तो भयो । एउटै घरमा लोग्ने स्वास्नी  बिपरीत दिशातिर मोडियौ । पराइ जस्तै भईयो । हाम्रो सुत्ने बिस्तारा नै फरक भयो ।  खै किन हो उ आफै टाढिए जस्तो अनुभव गरे । श्रीमतीले श्रीमानबाट पाउने माया घट्दै गयो । हामीबीच ठुलै दरार उत्पन्न भयो । मत रतिभर पनि उसलाई घृणा गर्न चाहिन । माया गरिरहे । उसको माया पाउन धेरै प्रयासहरु गरिरहे । उ सँग नजिक हुन हर प्रयत्नहरु गरे । तर अह ऊ फेरिन । झनै कठोर बन्दै गयो ।
 
जिन्दगीमा यो परिस्थिति सृजित होला भनेर कहिल्यै सोचिन । मिलेर बस्न उ सँग कैयौ बिलौना गरे । रोएँ कराएँ । झुक्ने प्रयासहरु धेरै गरे । तर अह उसले कुनै प्रतिकृया जनाएन । उसको व्यवहारले म किंकर्तव्यविमुढ बने । उ मा अनायसै आएको परिवर्तन देखेर आफै छक्क परे । उ केवल छुटिने कुरा मात्रै गर्न थाल्यो । स्वतन्त्र बस्ने चाहना भयो रे उसलाई । उसको कुराले मनमा ठेस लाग्यो । आखिर उसले आफनो हठ छाडेन । छोरा र मलाई छाडे उ  घर छाडेर हिड्यो । कति खोजे उसलाई  भेटिन ।  हरप्रयास गरे उससँग झुक्न । कता गयो अत्तापत्तो भएन । घर छाडेर हिडेपछि उ सम्पर्कबिहीन भयो ।
 
फेसबुकबाट समेत मलाई ब्लक गरेछ । । झन्डै दुई वर्ष भइसक्यो उ मदेखि छुटिएर गएको । अदालतमा छुटिएर बस्न पाउँ भन्दै मुद्धा दर्ता गराएको छ भन्ने सुनेकी थिए । हो रहेछ पछि थाहा पाए । स्वतन्त्र उसको जीवनमा अब बाधक बन्ने प्रयास गरिन । चाहेको त सँगै बस्ने थियो तर उसले लत्याएर गयो । स्वतन्त्र बस्ने भन्दै हिडेको ऊ अरु कोही महिला सँग लिभ इन रिलेसनसिपमा  बसेको रहेछ । सुनेर आफैलाई धिक्कार्न मन लाग्यो । बस यही उसले छाडेको चिनो छोरोको अनुहार हेरेर अमेरिकाको व्यस्त दैनिकमा आफुलाई समाहित गराउने प्रयासमा लागी रहेकी छु । सँधै रोएर पनि जिन्दगी नचल्ने रहेछ । ‘कहाँको मान्छेलाई विश्वास गरेर हेर, भोली धोका दिँदा थाहा पाउली, आमाले त्यो बेला भनेको बाक्य अहिले झलझली सम्झेकी छु । आखिर यो सब  मेरो कर्म र भाग्यकै  खेल हो भन्ने ठानेकी छु । दोष अरुलाई दिएर पनि केही फाईदा छैन । जे छ त्यसैमा चित्त बुझाउने प्रयास गरेकी छु ।  
 
सनिसाको यो कथाले मलाई पनि छोयो । नागिराफल्स घुम्न गएको बेला साथी मनिषले मलाई उसको कथा सुनाएको थियो । आज त्यसलाई हुबहु शब्दमा  उतारेर  सकाए । बाँकी उनीहरुको कथा  फेरी लेख्न तयारीमा  छु । राती एघार बजे सुरु गरेको कथा झन्डै दुई घन्टामा सकाएर कथा सँगै हराउदै निद्रामा बिलय भए ।