(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने यो स्तम्भ प्रारम्भ गरेका हौ – सम्पादक )
सोलुखुम्बुको गार्मा गाउँमा सन् १९५९ मा जन्मिएको एउटा ठिटो १४ वर्ष पुगेको मात्र थियो , उसभित्र पन्पिरहेको स्वाभिमान र स्वतन्त्रताको हुटहुटीले घर छोडेर काठमाण्डु हानियो । आफ्नै बलबुतामा केही गर्छु भन्ने आत्मविश्वास उभित्र थियो । संभ्रान्त परिवारको छोरो तर उसलाई त्यस्को चमकले शायद छोएन । काठमाण्डुकि एउटी साहुनीकोमा काम गर्न थाल्यो । त्यो ठूलो शहरमा चिनेको कोही थिएनन् , तर त्यो ठिटोभित्र लुकेको उर्बर शक्तिले उसलाई संघर्ष गर्न उत्प्रेरित गर्यो ।
उसले कहिल्यै हार्न जानेन । उसले आफ्नो संघर्षपूर्ण यात्रालाई निरन्तरता दिरह्यो । १४ वर्षकै कलिलो उमेरमा घर छोडेर हिडेको त्यो ठिटो अहिले अमेरिकाको सहकारी आन्दोलनसंग जोडिएर उपल्लो तहमा व्यवस्थापन गर्न सक्षम भएकोछ । त्यतिमै सीमित छैन उसको कर्म , मानवीय समवेदना र सामाजिक दायित्वप्रति उसको निरन्तर यात्रा जारी छ । यो कुनै फिल्मी कथा हैन , एउटा जिवन्त नेपालीको जीवन यात्रा हो । यहाँसम्म आइपुग्न उसले अनेकौं मोडहरू पार गर्यो , तीतामीठा पलहरुसंग मितेरी लगायो । यतिबेला उ आफ्नो स्वाभिमान बोकेर बाँचेको छ । निर्धक्क बोल्छ , उसलाई कुरा चपाउनेहरु मन पर्दैन ।
त्यो स्वाभिमानी नेपाली छेवाङ्ग शेर्पा लामासंग यो पंक्तिकारले लामो अन्तरङ्ग गफ गर्यो । उनको जीवन यात्राका आरोह अवरोहलाई नजिकबाट बुझ्ने प्रयास गर्यो । त्यसैको सेरोफेरोमा उनको जीवन यात्राको केही सन्दर्भलाई पस्किने एउटा जमर्को हो यो आलेख ।
सोलुदेखि लण्डनसम्म
बुबा आङबाबु लामा र आमा आङफुर्वा लामाका कान्छो छोरा छेवाङ स्यानैदेखि चकचके मात्र हैन जोदाहा स्वभावका थिए । स्वतन्त्र जीवन रुचाउँथे । त्यही स्वभावले उनलाई घर छोडेर एक्लै काठमाण्डु पुर्यायो । पढ्न उनलाई निक्कै चाख लाग्थ्यो । उनले जुध्दोदय हाइस्कुलमा दश कक्षासम्म पढे । तर एसएलसी भने साथीहरुको लहलहैमा लागेर दिक्तेलबाट दिए । जेहेन्दार थिए छेवाङ, एसएलसी प्रथम श्रेणीमा पास गरे । बुवा गाउँको हर्ताकर्ता ,पंचायतकालमा २१ वर्ष प्रधानपंच र दुई कार्यकाल सोलुखुम्बु जिल्ला सभापति भएकोले अर्कै रवाफ थियो । उहाँको मान प्रतिष्ठालाई सबैले सम्मान गर्थे । परिवार सम्भ्रान्त हुनाले पढाइ लेखाईमा प्रोत्साहन हुन्थ्यो । छेवाङलाई हवाइजहाज उडाउने इच्छा हुंदाहुंदै बुवाको चाहना अनुसार शिक्षक बन्न उनले बीएड गरे त्रिविबाट ।
उनी पढ्नमा अब्बल थिए । बीएड सकेर एकवर्ष किर्तिपुरमा अध्यापन गरे । त्यहीबेला छेवाङलाई भाग्यले इङल्याण्ड पुर्यायो । एउटा होटलमा काम गर्न उनी त्यहाँ पुगेका थिए । त्यतिबेला नेपालमा डण्डिवियो खुबै खेलिन्थ्यो । त्यही खेलको प्रशिक्षकको रुपमा उनले इङ्ल्याण्डको स्थायी बासिन्दा हुने सौभाग्य पाए । उनको अझै अघाडि पढ्ने चाहनालाई त्यसले ठूलो टेवा दियो । इङल्याण्डको University of Manchester, UK मा MBA गर्न भर्ना भए । होस्टलमा, संयोगले त्यतिबेला नेपाल पुलिसका आइजी खड्गजीत बरालका नातेदार रुम पार्टनर थिए । उनै रुम पार्टनरको माध्यमबाट आइजी बरालसंग उनको सम्बन्ध बाक्लियो ।
MBA सकिएपछि उनी नेपाल फर्किए । शेर्पा युवक छेवाङको खरो र इमान्दार स्वभाव देखेका आइजी बरालले उनलाई पुलिस इन्स्पेक्टर पदमा नियुक्ति दिए । तर त्यो नियुक्तिले उनलाई आकर्षित गर्न सकेन । छेवाङ फेरि फर्किए इङल्याण्ड ।
त्यसपछि अमेरिका ….
लण्डनमा हुँदा छेवाङ शेर्पाको भेट सर अल्ट्रेड ग्रेगरीसंग भयो । ग्रेगरी नेसनल जोग्राफिक च्यानलका अफिसियल फोटोग्राफर थिए , जस्ले तेन्जिङ शेर्पा र हिलारीले सगरमाथा आरोहरण गरेको तस्वीरहरु खिचेका थिए । उनीहरुको मित्रता कसिदै थियो , ग्रेगरीले छेवाङलाई अमेरिका जाने सल्लाह दिए । शुरुमा त निक्कै आनाकानी गरे छेवाङले । तर उनको पाइलट बन्ने उत्कट इच्छाले अमेरिका जानै पर्ने बनायो । सर अल्ट्रेड कै खर्च र सहयोगमा छेवाङ सन् १९८२ मइ २८ मा न्युयोर्क शहर उत्रिए । त्यहाँ उनका मामा बस्थे । मामासंगै लागेर पाइलट ट्रेनिङतिर बरालिए । तर छेवाङको जीवनमा पाइलट बन्ने भाग्य थिएन , उनको जीवनको मोड अरुतिरै लाग्यो ।
एकदिन Washington Times पढ्दै गर्दा उनको आँखा एउटा विज्ञापनमा पुगेछ । अमेरिकाको एउटा Anthropology Research Group लाई नेपालको राजनीतिक ,भौगोलिक र सांस्कृतिक अध्ययन गर्नकोलागि एमए गरेको नेपाली चाहिएको रहेछ । शेर्पा ,नेपाली र अङ्रेजी बोल्न र लेख्न सक्ने उम्मेद्वार मागेको थियो , सबै योग्यतामा छेवाङ खरो उत्रिए । एकवर्षको करारमा उनले त्यो काम राम्ररी भ्याए । त्यहीबेला उनले ग्रीनकार्डकोलागि आवेदन गरे , सन् १९८२ डिसेम्बरमा उनको हातमा स्थायी बसोबासको हरियो कार्ड आइपुग्यो ।
अब छेवाङको स्थायी अमेरिकी यात्रा शुरु भएको थियो । त्यो यात्रामा उनी अहिलेसम्म अविचलित लागेका छन् । सन् १९८२ देखि १९९१ सम्म न्युयोर्कको सोहोस्थित होल फुड मार्केटमा स्टोर म्यानेजर भएर काम गरे । उनको लगन र इमान्दारीले छेवाङलाई त्यसपछि पाँच वर्ष Healthy Pleasures Market ,University place , NY मा Director of Operation बनायो ।
उनको यात्रा यतिमै कहाँ थामिन्थ्यो ! सन् २०१४ देखि छेवाङ कोलोराडो पुगेका छन् । त्यहाँ उनले एकवर्ष फोर्ट कोलिन्स फुड कोअपरेटिभमा जेनरल म्यानेजर भएर काम गरे । त्यस्तै कोलोराडोको डुराङ्गो स्थित डुराङ्गो नेसनल फुड कोअपरेटिभमा उनले जनरल म्यानेजरको पद सम्हाले । अहिले उनी यही सहकारीमा सल्लाहकारको हैसियतमा सक्रिय छन् ।
छेवाङले जहाँजहाँ काम गरे त्यहाँको घाटा व्यापारलाई नाफामा पुर्याए । सहकारी बजार सम्बन्धी ज्ञान र अनुभवले उनलाई अमेरिकी सहकारी क्षेत्रमा स्थापित गराएको छ । उनले FLC ,USA बाट Master’s In Co-operative Management गरेका छन् ।
अहिले शेर्पा दम्पति कोलोराडोको विन्डसरमा शान्त जीवन विताइरहेका छन् । आफ्ना पिता आङबाबु लामाको ससम्मान हेरचाह गर्छन् । अर्ग्यानिक फुडका पारखी छेवाङको जीवनशैली पनि अर्ग्यानिक नै छ ।
त्यो आँखाले लठ्ठै पार्यो
तपाँई अहिले पनि रोमान्टिक देखिनु हुन्छ । गीतसंगीतको पारखी हुनुहुन्छ, विवाह त पक्कै प्रेमविवाह होला नि ? -मेरो यस्तो प्रश्नमा छेवाङ शेर्पा लामाको रमाइलो जवाफ आयो ।
" एकतर्फी प्रेम । अमेरिकाबाट छुट्टीमा सोलुखुम्बु पुगेँ । एकदिन फोटो एल्बम हेर्दै गर्दा एउटी १६ वर्षे तरुनीको फोटोमा मेरो आँखा अडियो । उनको आँखा हेरिरहें । म त लठ्ठ परेछु । घर पुगेर बुवा आमालाई भने । उहाँहरुले चिनेको रैछ । राम्रो परिवार छानिछस् , विवाह गर भन्नु भयो ।"
फोटो हेरेपछि ती लोभ्याउने आँखा नहेरी मन मानेन । खोज्दै सोलु पुगेँ । १५ मिनेट उनलाई हेरेपछि अन्तरमनमा सहनाई बज्न थाल्यो । त्यसपछि घर पुगेर आमाबुवालाई बिन्ती बिसाएको हुँ । -छेवाङले एकतर्फी प्रेमको बेलिबिस्तार सुनाए ।
सन् १९८६ मा त्यही लोभ्याउने आँखावाली सुन्दरी आङफुर्वासंग छेवाङको लगन गाँठो बाँधियो ।
शेर्पा दम्पतिका दुई छोरा र एक छोरी छन् । तीनैजना हुर्कीसके । ठूलो छोरा डाक्टर तेन्जिङ शेर्पा लामा सेन्ट जर्ज मेडिकल कलेजमा कार्यरत छन् । छोरी सलिना माया शेर्पा लामा बिङह्याम्टन विश्वविध्यालयमा अध्ययन गर्दैछिन् । अर्को छोरा साङ्गे शेर्पा लामा बरुख कलेजमा एकाउन्टिङ सकेर अहिले कानुनको डिग्री समातेका छन् ।
छेवाङलाई आफ्नी श्रीमति आङफुर्वा लामा संसारकै सबैभन्दा सुन्दरी लाग्छ । असाध्यै माया गर्छन् फुर्वालाई । उनका फेसबुक स्टाटस प्राय श्रीमति फुर्वाकै सेरोफेरोमा लेखिएका हुन्छन् ।
छेवाङ भन्छन् – अहिले पनि उनको आँखाले मलाई लोभ्याउँछ , अरुतिर आँखै जादैन ।
सामाजिक अभियन्ता
छेवाङ शेर्पा लामाको मन निक्कै कमलो छ । असहाय ,गरीब र अशक्तप्रति उनमा दयाभाव मात्र हैन सहयोगी व्यवहार पनि उत्तिकै छ । अहिले पनि नेपाालका ११ जना गरीब विध्यार्थी छेवाङको सहयोगमा शिक्षा हासिल गर्दैछन् । आफ्नो गाउँको गुम्बाका एकजना भिक्षुलाई आर्थिक सहयोग गर्दैछन् उनी । भाग्यले ठगिएका र समाजले लत्याएका असहाय र अपाङ्गहरुको सेवा आफ्नो सामाजिक दायित्व ठान्ने छेवाङ Sherpa Lama Family Charity मार्फत सामाजिक कार्यमा सक्रिय छन् ।
अमेरिकामा जन्मिएका नेपाली संस्थाप्रति माया गर्छन् तर त्यहाँभित्र हुने विवाद र छिनाझप्टी देख्दा छेवाङलाई विरक्त लाग्छ ।
न्युयोर्कमा जनसंपर्क समितिको अफिसकालागि उनले सहयोग गरे । एनआरएन अभियानमा उनको सक्रिय सहभागिता र सहयोग रह्यो । एशोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) -मा छेवाङ सदैब सहयोगी बने । एक कार्यकाल त्यसको अध्यक्ष भएर काम गरे । अमेरिकामा रहेको शेर्पा एशोसिएसन अफ नेपालको उनी ट्रस्टी हुन् । यी बाहेक अरु धेरै गैर नाफामुलक संस्थासंग उनी आवध्द छन् ।
छेवाङको गुनासो छ – अमेरिकामा खुलेका धेरै नेपाली संस्थाहरु प्रोडक्टिभ छैनन् ।
असल मानिस र संस्थालाई सहयोग गर्न म जहिले पनि तयार छु – उनले यसो भन्दै गर्दा छेवाङ भित्रको सामाजिक भाव प्रष्ट झल्किन्थ्यो ।
अमेरिकी नेपाली समुदायकालागि छेवाङले गरेको योगदानको कदर धेरैतिरबाट भएको छ । नागरिक एवम् सांस्कृतिक उत्थानमा सहयोग पुर्याए वापत उनी सम्मानित भएका छन् । अमेरिकामा रहेका विभिन्न समुदायको सांस्कॢतिक एवम् नागरिक उत्थानकोलागि महत्वपुर्ण योगदान गरेवापत AAC,USA ले सन् २००९ मा उनलाई Hall of Fame Award पुरष्कॢत गरेको थियो । त्यसैगरी सन् २००३ मा छेवाङ New York City Comptroller द्वारा Distinguished leadership in Nepalese American Community सम्मान प्राप्त गरेका थिए ।
गीत बेचेर कोठाभाडा तिर्ने गीतकार
छेवाङलाई गीत संगीतमा स्यानैदेखि लगाव थियो । काठमाण्डु बस्न थालेपछि कवि गोष्ठीहरुमा भाग लिन थाले । राम्रा कविता र गीतहरु लेख्न थाले । त्यतिबेला औंलामा गन्न सकिने थिए कविहरु । नाम चलेका कतिपय गीतकार कविहरुलाई छेवाङले आफ्नो रचना बेचेका छन् । डेराभाडा तिर्ने पैसा हुदैनथ्यो , गीत बेचेर त्यो गर्जो टार्थे ।
मैले जान्न चाहेँ छेवाङका रचना किन्ने नाम चलेका गीतकार । तर उनले बताउन चाहेनन् ।
छेवाङ गीतमात्र लेख्दैनन् नाटक पनि खेल्छन् । सन् १९७६ मा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाटक प्रतियोगितामा उनले उत्कॢष्ट अभिनयको पुरस्कर पाएका थिए । त्यसमा नायिका चर्चित कलाकार सुशीला रायमाझी थिइन् ।
उनको गीति यात्रा अझै जारी छ । अहिलेसम्म छेवाङका सात गीति एल्बम निस्किसकेका छन् । शम्भुजीत बाँस्कोटा , न्यू बज्राचार्य र शक्तिबल्लभ जस्ता सांगितिक हस्तीहरुको संगीतमा रामकॢष्ण ढकाल , आनी छोयङ र सुकमीत गुरुङ लगायत गायक गायिकाले स्वर दिएका छन् ।
यी एल्बमको बिक्रीबाट उठेको पैसा नेपालमा अपाङ्ग बालबालिकाको शिक्षामा खर्च गर्छन् छेवाङ । संगीतको माध्यमबाट मानवता प्रवर्ध्दन गरेकोमा सन् २०१२ मा बौध्द धर्मगुरु दलाई लामाले छेवाङको हार्दिक प्रशंसा गरेका थिए ।
घमण्डी तर स्वाभिमानी
धेरैले मलाई घमण्डी भन्छन् । तर म स्वाभिमानी चैं हुँ । गलत कुराको म खुलेरै विरोध गर्छु । मलाई लोलोपोतो गर्न आउँदैन । शायद त्यसैले केही मानिसको सोचाइमा म घमण्डी लाग्दो हो – छेवाङले आफ्नो कुरा यसरी स्पष्ट पारे ।
उनी बौध्द धर्मका अनुयायी हुन् । तर उनमा धार्मिक कट्टरता देखिदैन । सबै धर्मको सम्मान गर्छन् छेवाङ । मानवता नै धर्मको मूल आधार मान्छन् उनी । यस अर्थमा छेवाङ व्यवहारवादी धार्मिक हुन् ।
उनको नेपाल प्रेम उनका गीतहरुमा झल्किन्छ , कविताहरुले मानवता बोल्छ । भविष्य अनिश्चित ठान्छन् छेवाङ । त्यसैले भविष्यमा नेपालनै बसेर केही गर्नुपर्ला भन्ने दिशाबोध पाएका छैनन् । तर उनको भित्री चाहना भने नेपालका असहाय र गरीबहरुलाई सहयोग र सेवा दिनेछ ।
छेवाङ आफूलाई राजनीतिमा अराजकतावादी भन्छन् । आफ्नो अधिकार र स्वतन्त्रताको भरपूर उपयोग गर्दै आफ्नै बलबुतामा स्वउत्थान गर्ने उनको सोच हो । सरकारमा भरोसा नगर्ने , आश्रित नहुने उनको विचार आफैंमा स्वाभिमानी मान्नुपर्छ ।
नेपालकोलागि सहकारी आन्दोलन प्रमुख आवश्यक्ता ठान्छन् उनी । छेवाङ भन्छन् – नेपालको कर्मचारीतन्त्र र राजनीतिक नेताहरुको कमजोरी नै विकासको वाधक हुन् ।
प्रतिक्रिया