बिजनेस

कुलमानको कमाल : बिजुलीमा एक वर्षमै तीन अर्ब नाफा

91 पटक पढिएको

12th Apr 2019, Friday | २०७५ चैत्र २९, शुक्रबार ०८:१३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष ०७४/७५ मा करीब रु तीन अर्ब खुद नाफा गर्न सफल भएको छ ।  विद्युत् चुहावट नियन्त्रण तथा तथा संस्थागत सुधारमा ध्यान दिइएका कारण प्राधिकरणको नाफा बढेको हो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो । 
 
महालेखापरीक्षक कार्यालयले आज सार्वजनिक गरेको छपन्नौँ वार्षिक प्रतिवेदनानुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष रु २३ अर्ब ५९ करोड ७९ लाख ऋणात्मक छ । आव २०७२÷७३ मा जगेडा तथा सञ्चित कोष रु २६ अर्ब ३३ करोड ४८ लाख ऋणात्मक थियो । 
 
गत वर्षको तुलनामा विद्युत् बिक्रीमा खुद नाफा र चालू सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कूल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको पाइएको छ । विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ । 
 
कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आव ०७४/७५ मा रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो । 
 
विसं २०७३ भदौ मसान्तमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट विद्युत्भार कटौती अन्त्य मात्रै नगरी घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन् । 
 
घिसिङको नेतृत्वमा विद्युत् चुहावट नियन्त्रण तथा प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आव २०७३÷७४ मा प्राधिकरणले रु एक अर्ब ४६ करोड ७३ लाख खुद नाफा कमाएको थियो । आव २०७४÷७५ मा नाफा बढेर झण्डै रु तीन अर्ब पुगेको छ । 
 
विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरीद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत्भार कटौती अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो । 
 
प्राधिकरणको शेयर पूँजी रु एक खर्ब दुई अर्ब ४४ करोड, दीर्घकालीन दायित्व करीब रु एक  खर्ब २० अर्ब ९५ करोड  र चालू दायित्व करीब रु ८४ अर्ब ७८ करोड समेत कूल पूँजी तथा दायित्व रु दुई खर्ब ८४ अर्ब ५७ करोड २१ लाख छ ।