मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

उद्योगीलाई प्रधानमन्त्रीले भने– ‘विद्युतीय गाडीको कारखाना खोल्नुस्’

उद्योगीलाई प्रधानमन्त्रीले भने– ‘विद्युतीय गाडीको कारखाना खोल्नुस्’


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । 
 
नेपाल उद्योग वाणिज्य महासंघको ५३ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस–२०७५ समारोहलाई सम्बोधन गर्दै उनले नयाँ तरिकाले नयाँनयाँ सोचसहित उद्योग व्यवसायका क्षेत्रमा उद्योगी व्यवसायी लाग्नुपर्नेमा जोड दिए । 
 
उनले भने, “केही मान्छेलाई नेपालमा विद्युतीय सवारीसाधनको कारखाना खोल्ने कुरा नपच्न सक्छ । उद्योगी व्यवसायी मित्रहरु नेपालमै विद्युतीय सवारी साधनको कारखाना खोल्नुस् । नयाँ तरिकाले काम गर्नुस्, उद्योग विस्तार गर्नुस् । सरकार सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार छ ।”
 
कृषि, पर्यटन, ऊर्जा र  भौतिक पूर्वाधारका क्षेत्रमा ठूलो लगानीको जरुरत छ भन्दै प्रधानमन्त्रीले स्वदेशी तथा विदेशी लगानीले मात्रै समृद्धिको सपना पूरा हुने उल्लेख गरे ।  
 
हालै सम्पन्न लगानी सम्मेलनले लगानीका विविध आयामका बारेमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई जानकारी गराएको स्पष्ट पार्दै प्रधानमन्त्रीले समृद्धिका लागि सबैले सकारात्मक भएर सोच्ने बेला आएको बताए । 
 
मुलुकमा आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी ५५ प्रतिशत बढी हुनुपर्ने बताउँदै उनले सरकार सहजकर्ता र सहयोगी हुने भएकाले निर्धक्क भएर लगानी गर्न उनले आग्रह गरे । 
 
सरकारले लगानीमैत्री वातावरण बनाउन ऐन, नियम तथा कानूनको समयानुकूल परिवर्तन गरेको जानकारी दिँदै उनले भने, “अझै कहीँकतै समस्या छन् भने सरकारलाई भन्नुस, सरकार सुधारका लागि तयार छ ।” 
 
लगानीमैत्री वातावरण बन्न नसकेको भए सरकारले सच्याउने जनाउँदै प्रधानमन्त्रीले अब पनि भएन, सकिएन भनेर बस्ने अवस्था नभएको र त्यस्तो दुविधा पालेर बस्नुपर्ने अवस्थासमेत नरहेको बताए । 
मुलुक संघीय प्रणालीमा भर्खर प्रवेश गरेका कारण संघ, प्रदेश र स्थानीय तहमा केही समस्या र करका विषयमा केही गुनासा रहन सक्नेछ भन्दै उनले विस्तारै सबै मिल्दै जाने र प्रक्रियामा प्रवेश गर्ने स्पष्ट पारे । 
 
“हामीले अन्य देशमा भएका र गरिएका अनुभवका आधारमा नयाँ प्रणाली लागू गरेका हौँ । जान्ने सुन्ने हाम्रोमा कोही थिएन, नयाँ प्रणालीमा प्रवेश गर्दा केही समस्या र जटिलता उत्पन्न हुनु स्वाभाविक हो । त्यस्तो अवस्था अब रहँदैन”, प्रधानमन्त्रीले भने । 
 
कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले सरकारको सारथि बन्न निजी क्षेत्र तयार मात्रै नभई प्रतिबद्ध रहेको बताए । उनले भनिन्, “निजी क्षेत्रलाई सदैव विश्वासमा लिएर काम गर्ने मान्यता राख्ने प्रधानमन्त्रीको आर्थिक समृद्धि र आर्थिक विकासको अभियानमा निजी क्षेत्र सारथी बन्न तयार छौँ, सहयोग गर्न तयार छौँ ।”