मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसले वैशाखदेखि जागरण अभियान चलाउने

काँग्रेसले वैशाखदेखि जागरण अभियान चलाउने


पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकबद्ध र अन्तर्घातमुक्त बनाउन आफू दृढ संकल्पित रहेको बताएका छन् । काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको दुईदिने तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई बलियो बनाउनका लागि आउँदो वैशाखदेखि मुलुकमा जागरण अभियान सुरु गरिने उल्लेख गरे ।
 
पार्टीका जिल्लास्थित कोषाध्यक्षहरुबाट कोष खडा गर्ने कार्य सान्दर्भिक भएको भनी प्रशंसा गर्दै उनले यसको माध्यमबाट पार्टी आर्थिक रुपमा सबल हुने विश्वास व्यक्त गरे । सरकारले प्रेस स्वतन्त्रता नियन्त्रण र मुलुकलाई पार्टीकरण गर्न खोजेको आरोप पनि उनले लगाए । 
 
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकबद्ध बनाउनका लागि पार्टीको केन्द्रीय कार्यालयको व्यवस्थापन मिलाउनुपर्ने र कहाँ–कहाँ अन्याय भएको छ, त्यस विषयलाई समाधान गर्नुपर्नेमा जोड दिए ।
 
उनले संवैधानिक निकायको नियुक्तिमा सबैलाई मान्य हुने खालको निर्विवाद व्यक्तिको चयन हुनुपर्ने उल्लेख गर्दै सरकारले आयोगको नियुक्तिमा एकलौटी गरेको आरोप लगाए । काँग्रेसका महामन्त्री शशांक कोइरालाले अन्तर्घातको कारण काँग्रेस निर्वाचनमा पराजय भएको बताउँदै पार्टी एकजुट नभएमा भविष्य नरहनेतर्फ सचेत गराए । 
 
काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीले आफ्नो आर्थिक गतिविधि पारदर्शी बनाउनुपर्ने उल्लेख गर्दैसम्मेलनबाट कोषलाई आर्थिक संकलन र खर्चको प्रक्रियाको विषयमा ठोस सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे । 
 
काँग्रेसको नेतृत्वमा संविधान निर्माण भएको र तीनवटै निकायमा निर्वाचन गराउन सफल भए पनि जनता किन असन्तुष्ट भएको भन्ने सम्बन्धमा पार्टीमा गम्भीर रुपमा छलफल गर्नुपर्ने देखिएको उनले बताए ।
 
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रत्येक जिल्लामा खाता सञ्चालन गरी ठोस रुपमा अर्थ सङ्कलन गर्ने विश्वास व्यक्त गरे । उनले पार्टीलाई नयाँ शक्ति, उर्जा र जागरणका साथ अगाडि बढाउनुपर्ने विषयमा जोड दिए । 
 
काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय समितिका अध्यक्ष गोविन्द पुडासैनीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायर, बहादुरसिंह लामा, सुरेन्द्रराज पाण्डे, अर्जुनप्रसाद जोशी र पार्टीका लेखा समिति संयोजक श्याम घिमिरेले पार्टीमा एकता हुनुपर्ने तथा गुटउपगुटको अन्त्य हुनुपर्ने विषयमा आआफ्ना धारणा प्रकट गरे । 
 
सोही अवसरमा क्यानडास्थित नेपाल जनसम्पर्क समितिले द्वन्द्वपीडितका लागि पठाएको रु ५० हजारको चेक सभापति देउवालाई हस्तान्तरण गरिएको थियो भने नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशद्वारा प्रकाशित नयाँ वर्षको पात्रो सार्वजनिक गरिएको थियो ।  
 
सोही अवसरमा आज बिहान सडक दुर्घटनामा निःधन भएका काँग्रेसका गुल्मीका पूर्वसभापति एवं पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीप्रति श्रद्धाञ्जली प्रकट गरिएको थियो ।