विचार / ब्लग

ललिता निवासको जग्गा अपचलनका विषयमा

368 पटक पढिएको

हरि अधिकारी

हिमालय खबर | 11th Apr 2019, Thursday | २०७५ चैत्र २८, बिहीवार ०८:१५
नेपालको प्रजातान्त्रिक आन्दोलनका अप्रतिम नेता तथा दानवीरताका लागि विख्यात सुवर्ण शमशेर जबराले नेपाल सरकारलाई प्रदान गरेको काठमाडौ, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको मामिला सतहमा आएको छ । प्रधानमन्त्री, प्रधान न्यायाधीश र केही वर्ष पहिलेसम्म राजसभा (परिषद) को अध्यक्षको समेत सरकारी निवास रहेको ठूलो क्षेत्रफल ओगटेको सो जग्गामध्ये करीब १२४ रोपनी भूमाफिया गिरोहको षड्यन्त्र र सरकारी पदाधिकारीहरूको मिलेमतोमा विभिन्न व्यक्तिको नाममा ल्याई खरीद बिक्री गरिएको सबुत प्रमाण भेटिएको छ । सरकारी जग्गा अपचलनको यो घृणित खेलमा जग्गादाता उदारहृदय जनरल सुवर्ण शमशेर जबराका छोरा रुक्म शमशेर राणा स्वयम्को समेत सक्रिय सहभागिता देखिनु चाहिँ यस घृणित खेलको सबैभन्दा दुखद पक्ष रहेको छ । सुकीर्तिवान् पिता जनरल सुवर्णका प्रतापले रुक्म शमशेरले राज्यका ठूल्ठूला ओहोदा समेत प्राप्त गरेको प्रसङ्गमा हेर्दा बाबुले दिएको दानमाथि उनले राखेको कुदृष्टि धेरै नै खेदजनक बन्दछ ।
 
अहिले सार्वजनिक भएका सरकारी दस्तावेजहरूले खुलासा गरे अनुसार सो सरकारी जग्गा हडप्ने कुत्सापूर्ण योजना मुख्यत: भाटभटेनी सुपर मार्केट चेनका मालिक मीनबहादुर गुरुङ, र घरजग्गा कारोबारी रामकुमार सुवेदी तथा शोभाकान्त ढकालले बनाएको र त्यसलाई आफ्नो समयका शक्तिशाली नोकरशाह + मन्त्रीद्वय छविराज पन्त र माधवप्रसाद घिमिरेले आफ्नो अख्तियारको दुरुपयोग गरी टुङ्गोमा पुर्‍याएका थिए भन्ने देखिन्छ । आफ्नो समयका ती निकै चल्तापुर्जा नोकरशाहहरूले गरेको अख्तियारको दुरुपयोगलाई रोक्नुपर्ने जिम्मेवारी बोकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपबहादुर बस्नेतले त्यसलाई रोक्नुको सट्टा दुरुत्साहन गरि सो लूटबाट आफ्नो हिस्सा लिएको रोचक प्रसङ्ग पनि हालै उदाङ्ग भएको छ । गुरुङहरूले गरेको लूटबाट हिस्सा हत्याउने काममा दीप बस्नेतलाई धेरैले साथ दिएको देखिन्छ जसमध्ये अलि बढी चर्चा पाएका छन् सत्ताशीन दलका महासचिव, पदाशीन सांसद एवम् पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले । लुम्बिनी अञ्चलका प्रभावशाली वामपन्थी नेता पौडेलले पनि सरकारी जग्गा ब्रह्मलूटमा सामेल भई काठमाडौको उच्चमहत्वको इलाका बालुवाटारको ८ आना बहुमूल्य जग्गामा हातसाफ गरेका रहेछन् । 
 
ललिता निवासको सो सरकारी जग्गा हिनामिनाको यो ममिलाको अहिले सम्वन्धित सरकारी निकायहरूले छानबीन गरिरहेका छन् । सरकारले हालै क्याबिनेट स्तरको निर्णय गरेर सरकारको नाममा भएको ललिता निवासको सम्पूर्ण जग्गा जसले जे-जस्तो हथकण्डा अपनाएर व्यक्तिको नाममा ल्याएको भए पनि त्यस्ता सबै कारोबारलाई अवैध मान्दै सो जग्गा आफ्नै भोगचलनमा ल्याउने निर्णय गरेको छ । भ्रष्टाचारप्रति शून्य सहनशीलताको नारा दिँदै भित्रभित्रै एनसेल, नेवानि वाइड्बडी, टेलिकम फोरजी आदिमा अर्बौँ रूपैयाँ झ्वाम् पार्नेहरूप्रति हदैसम्मको सहिष्णु रहेको खड्गप्रसाद ओली सरकारले यस मामिलाका सन्दर्भमा लिएको सही निर्णयको भने सबैले तारिफ गरेका छन् । 
 
ललिता निवासको जग्गा षड्यन्त्रपूर्वक दाबेको यो प्रकरण सार्वजनिक भएपछि भूमाफियाहरूको लूटका मतियार बनेका नेकपा महासचिव विष्णुप्रसाद पौडेलले आफूले बालुवाटारको सो जग्गा अमुक व्यक्तिबाट निश्चित मूल्य तिरी खरिद गरेकाले आफू निर्दोष भएको दावी गर्दै विज्ञप्ति निकालेका छन् । तर यथार्थमा निम्न तथ्यहरूले पौडेलको दावीलाई असत्य र पानीमाथि ओभानो हुने असफल प्रयास साबित गर्दछन्: 
 
१. ललिता निवास परिसरभित्र पर्ने सरकारी जग्गा विवादरहित हुन, वैधानिक रूपले अमुक व्यक्तिको स्वामित्वमा आउन र त्यसको किनबेच हुन सक्दैन भन्ने कुरो राजनीतिका चतुर खेलाडी र देशको केन्द्रीय सत्तामा रहेका व्यक्ति पौडेलले थाहा पाएका थिएनन् भन्ने कुरामा विश्वास गर्न सकिँदैन । 
 
२. विष्णु पौडेलले अफ्ना छोरा नवीन पौडेलका नाममा सो जग्गा प्रतिआना ७ लाखमा किनेको भन्ने कुरो बाहिर आएको छ । बालुवाटारको त्यस इलाकामा कम्तीमा पनि प्रतिआना ५० लाखमा जग्गाको किनबेच भइरहेको त्यसबेलामा ७ लाख आनामा ८ आना जग्गा किन्न पाउँदा नेकपा महासचिवले कुनै गडबडीको आभास पाएका थिएनन् होला भन्ने कुरा पत्याउँन सकिन्न । 
 
३. वास्तवमा नेकपा महासचिवलाई त्यो षड्यन्त्रको बारेमा पूरापूर जानकारी थियो र सम्भवत: त्यस अपचलनको एक सहजकर्ता भएकाले नै यिनले मात्र ५६ लाखमा करीब ४ करोड पर्ने जग्गा हातलागी गरेका थिए भन्ने अनुमान गर्न सकिन्छ । यस सिलसिलामा ललिता निवासको सरकारी जमिन भूमाफियाको पोल्टामा हालिदिन अहम् भूमिका खेलेका  आफ्नै भेगका पूर्व मुख्य सचिव र मन्त्री माधवप्रसाद घिमिरेसँग पौडेल महोदयको कुनै प्रकारको कार्यगत सम्बन्ध रहेको पनि हुन सक्दछ भनियो भने त्यसलाई निराधार भन्न मिल्दैन ।  
 
यही कुरो दीपबहादुर बस्नेत र छविराज पन्तका हकमा पनि लागू हुन्छ । नेपालको निजामती सेवामा काम गरेका व्यक्तिहरूमध्ये जागिरकै स्रोतबाट निकै धनाढ्य बन्न पुगेका मानिने बस्नेत र पन्त दुबैले पनि यस मामिलालाई लिएर आफ्नो कुरो नेपाली जनताका सामु राख्लान् नै । तर उनीहरूसँग पनि पानीमाथि ओभानो र साखुल्ले बन्न विष्णु पौडेलको जस्तै लङ्गडो तर्क पेस गर्नु  बाहेक उपाय केही हुने छैन भन्ने अनुमान ढुक्कैसँग गर्न सकिन्छ । 
 
ललिता निवास जग्गा काण्डको सन्दर्भ पारेर अवैध अकूत सम्पत्ति आर्जन गरेका भ्रष्टहरू, सरकारी जग्गा हडप्ने माफिया समूह र  कालो धन सेतो बनाउने उद्यममा लागेका डनहरूमाथि अनुसन्धान गरी  तिनलाई कानूनी करबाहीको दायरामा ल्याउन सक्ने हो भने नेपाली समाजको सुद्धीकरणको प्रक्रिया केही अगाडि बढ्ने थियो जस्तो लाग्छ । यस्ता बहादुरहरू को को हुन् र तिनले के कस्ता कारनामा गरेका छन् भन्ने कुरा पत्ता लगाउने जिम्मेवारी भने सरकारी निकायको हो । 
 
प्रसङ्गबश: भाटभटेनीवाला मीनबहादुर गुरुङको कुरा गर्न सकिन्छ । भनिन्छ यी गुरुङले डिपार्टमेण्ट स्टोरको कन्सेप्ट नेपालमा भित्र्याएका हुन् र त्यसैबाट यिनी  स्वनिर्मित अर्बपति बनेका छन् । सायद यो कुरो सही हो ।  तर विगत अढाइ तीन दशकभित्र भाटभटेनी सपिङ मल चेनको तीव्र गतिमा भएको विस्तार, यिनले गरेको लगानीको अंक र  यिनको स्वामित्वमा आएको रियल एस्टेटको वृहत् आकारलाई हेर्ने हो भने त्यो सब  स्वाभाविक र वैध आर्जनबाट सम्भव छ भनेर कसैको पनि सहज विवेकले स्वीकार गर्न  सक्दैन । एउटा पसलेले सामान बेचे बापत वैध रूपमा पाउने १० देखि २० प्रतिशत कमिसनबाट १०/१२ वर्षमा डेढ दर्जन भन्दा बढी वृहदाकारका   सपिङ मल कुनै पनि हालतमा बनाउँन सक्दैन । भाटभटेनी गुरुङले सपिङ मल बाहेकका अरू धेरैवटा भवन, जग्गा, ब्याङ्क र चन्द्रागिरी केबल कार जस्ता परियोजनामा गरी अर्बौँ रुपैयाँ लगानी गरेका छन् भनिन्छ । 
 
गुरुङ जस्तै विगत दुई तीन दशकमा पत्याउँनै नसकिने परिमाणमा धन सम्पत्ति जोड्ने केही दर्जन मानिसहरू छाएका छन् आजको नेपालको सार्वजनिक जीवनमा । अजेयराज सुमार्गीलाई पनि त्यस्तै एक नवकुबेर भन्न सकिन्छ । त्यस्तै महाधनी  एक कालु मनाङे छन् र अर्का छन् भुजुङ गुरुङ । कुनै खुमा अर्याल भन्ने छन् र छन् कुनै इच्छाराज तामाङ पनि । यो लिस्ट लामो छ र सबैको नाम थाहा छैन । नाम  लिएर साध्य पनि हुँदैन सायद । यी चतुरेहरूले कस्तो अक्किल लगाएर देशको सम्पत्ति ख्वाप्पै आफ्नो पोल्टामा पारे होलान् त भन्ने कुरामा भने यसो घोत्लिन सकिन्छ । मेरो विचारमा अहिले उद्योगपति व्यापारी बाहेकका भुइँफुट्टा अर्बपतिहरूको धन-सम्पत्तिका मुख्य स्रोतहरू तल दिएअनुसार हुन सक्छन्:
 
१. माओवादीहरूले कथित जनयुद्धका नाममा लुटेको सम्पत्तिको गतिलो अंकमा कमिसन लिई व्यवस्थापन गरेर । 
 
२. जल विद्युत,  सडक र सञ्चार जस्ता ठूल्ठूला परियोजनाहरू आफूलाई पैसा ख्वाउनेहरूका हातमा पार्ने गरी सरकारबाट नीतिगत निर्णय गराएर । 
 
३. उपत्यकाका धार्मिक, राज र सामाजिक गुठी तथा सरकारी स्वामित्वका जग्गा षड्यन्त्र र भ्रष्टाचारका बलमा हत्याएर । 
 
४. यिनीहरूले नेपालका निजी क्षेत्रका अधिकांश वाणिज्य ब्याङ्कहरू र फिनान्स् कम्पनीहरूसँग दुरभिसन्धि कायम गरेका छन् । त्यस्ता मित्रवत् ब्याङ्किङ संस्थाहरूबाट  यिनीहरू आफूले धेरै गुना लागत बढाएर तयार गरेका  परियोजनाका निम्ति ठूलो राशीको कर्जा लिन्छन् र  सो रकम अन्यत्र लगानी गर्दछन् । 
 
५. नेपालको निजामती, सेना र प्रहरी सेवामा काम गरिरहेका र अवकासप्राप्त कर्मचारीहरूले भ्रष्टाचार गरेर कमाएको कालो धनलाई कमिसनमा सेतो बनाएर । यी नवकुबेरहरूले त्यसै प्रयोजनका लागि आफ्नो र विश्वासी कामदारहरूका नाम्मा समेत देश विदेशमा अनेक प्रकारका कम्पनी र व्यावसायिक फर्महरू खोलेका छन् । 
 
६. आफूले बेच्ने सामान र सेवाको मोल जहिले पनि उचित भन्दा बढी राखेर र वर्षौँदेखि सरकारी कर छलेर । 
 
७. ती मध्ये केहीले तस्करीका राष्ट्रिय/अन्तर्राष्ट्रिय र्‍याकेटहरूमाथि मिटर ब्याजमा लगानी पनि गर्दछन् । 
 
८. करमुक्त आर्थिक कारोबार गर्ने मुलुकहरूमार्फत नेपालमा जम्मा भएको कालो धन सेतो बनाउँने धन्दा चलाएर । 
 
हाम्रो देशमा काम-धाम, उद्योग-धन्दा, बन्द-व्यापार केही पनि नगर्ने, खाली मुख मात्र चलाउने, के गर्नु हुन्छ ? भनेर कसैले सोध्यो भने फलानो पार्टीमा छु, राजनीति गर्छु भन्ने एउटा ठूलै जमात पनि छ जुन सरदर पढेलेखेको नेपालीको तुलनामा कैयौँ गुना धनी छ, जसले राजधानीमा भव्य घर बनाएको छ, जो कम्तीमा पनि महिन्द्रा कम्पनीको स्कोर्पियो जीप चढ्छ,  जसका स्त्रीहरू पाँचतारे बुटिकमा गएर फेसियल गराउँछन् । त्यस्ता राजनीतिबाजहरूका कुलदीपकहरू अस्ट्रेलिया, बेलायत वा अमेरिकाका  विश्वविद्यालयहरूमा पढ्छन् । 
 
हाम्रो समाजका त्यस्ता समतावादी/समाजवादी राजनीतिक अगुवाहरूको आमदानीको स्रोत के होला ? भनेर म कहिलेकाहीँ यसो घोरिन्छु तर छेउ टुप्पो फेला नपरेर हैरान हुन्छु । अब यस कुराको अनुमान लगाउँने जिम्मा तपाइँहरूलाई दिन चाहन्छु । हाम्रो देशका बहालवाला र साबिक मन्त्री- प्रधानमन्त्रीहरूका महाऎश्वर्यशाली पत्नीहरूको शान शौकत  देखेर पनि म प्राय: छक्क पर्छु । ज्ञान र सीपका हिसाबले कोर्काली र अधिकांश बेसोमत स्वभाव भएका यी ठस्सादार आइमाईहरू कसरी यति चाँडै यस्ता धनी भएका होलान् भन्ने कुराको पनि मैले भेउ पाउन सकेको छैन । तपाइँलाई पो थाहा छ कि? छ भने कुनै धन्दा नगरी करोडौँ कमाउने मन्त्र मलाई पनि सुनाउनु होला । म मेरी पत्नीलाई सिकाउँछु । 
 
(लेखक हरि अधिकारीको फेसबुक बाट साभार )