मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिन्दूराष्ट्र पुनःस्थापनाको माग राख्दै राप्रपाको देशभर धर्ना

हिन्दूराष्ट्र पुनःस्थापनाको माग राख्दै राप्रपाको देशभर धर्ना


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रको पुनःस्थापना, सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसङ्ग्रहलगायत माग गर्दै देशभर आज धर्ना दिएको छ ।  
 
काठमाडौँमा सिंहदरबार, प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दियो । सो क्रममा पार्टी अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र उपाध्यक्ष टङ्क ढकालले सूर्यविनायक नगरपालिकामा धर्ना दिएका थिए ।
 
यस्तै उपाध्यक्ष प्रेमबहादुर भण्डारीले कोहलपुर नगरपालिका, उपाध्यक्ष भीमप्रसाद गौचनले बेनी नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका, महामन्त्री डा धवलशम्शेर राणाले नेपालगञ्ज उपमहानगरपालिका र  महामन्त्री भास्कर भद्राले महालक्ष्मी नगरपालिकामा धर्नाको नेतृत्व गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
 
मागका पक्षमा जनमत बनाउन तथा स्थानीय तहमा भ्रष्टाचार बढेको र भ्रष्टाचार विकेन्द्रित हुँदै गएको भनी आज देशैभरका स्थानीय तहमा धर्ना कार्यक्रम घोषणा गरिएको पार्टीले जनाएको छ । 
 
पार्टीले तीन हप्ताअघिदेखि हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको छ । पार्टीले आगामी वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम, वैशाख ६ गते हिन्दूराष्ट्रका पक्षमा गतिविधि सञ्चालन र वैशाख ८ गते राजमार्ग र चोकमा शान्तिपूर्ण सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।  
 
यसैबीच, राप्रपा ९संयुक्त० ले आगामी वैशाखभित्र प्रदेशस्तरीय प्रशिक्षण र कार्यकर्ता भेला गर्ने कार्यक्रम राखेको नेता सुन्दर पाण्डेले जानकारी दिए । उक्त पार्टीले पनि हिन्दूराष्ट्र पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रणलगायत माग गर्दै आएको छ ।