मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चुनावी माहोलमा होमिएकी आइशा

चुनावी माहोलमा होमिएकी आइशा


हिमालयखबर संवाददाता-
ड्यालस (टेक्सस)।  उनी थकीत देखिन्छिन् । रहरै रहरले थालेको चुनावी अभियानमा सबैतिरबाट उनले पाएको चासो र समर्थनले उनका ती सबै थकानहरु मेटिन्छन् । दिनभरि मानिसहरूलाई भेट्दा, हिँड्दा थकाइले चुर हुन्छु, तर साँझ दिनभरिलाई मूल्याङ्कन देखिने समर्थनले उनको त्यो सबै थकानलाई मेटिदिन्छ । 
 
उनी अर्थात् आइसा ओझा, जो टेक्ससको हर्स्ट–युलेस–बेडफोर्ड स्कुल डिस्ट्रिक्टमा उम्मेदवार भएकी छिन् । चुनावी प्रचार प्रसारका लागि उनी प्रायः विकेण्डमा घरदैलो कार्यक्रमहरू गरिरहेकी छिन् । 
 
ड्यालसको नेपाली युवाहरुमा आइकन छिन् उनी । उनलाई रोलमोडल मान्ने बालकदेखि युवाहरू थुप्रै छन् । 
 
सबैभन्दा पहिले हिमालय खबरले उनीसँग जिज्ञासा राख्यो–‘मास्टर्स डिग्री गरेपछि धेरैको चाहना हुन्छ सिक्स डिजिटको तलब सुविधा भएको जागिर खाने । तपाईँ चाहिँ किन राजनीतिमा ?
 
यो प्रश्नको जवाफ दिनका निम्ति उनलाई सोच्नुनै परेन । उनले फ्याट्टै भनिन्–‘बुझ्न नसकेकै कारण मैले जस्तै गरी नेपाली समुदायका अरू भाइ बहिनीहरुले अवसर गुमाउन नपरोस् भन्ने मेरो चाहनाले मलाई यतातिर डोहोर्याएको हो।’
 
स्थानीय नेपाली समुदायमा परिचित कमल ओझा र चन्द्रा चुडालकी छोरी हुन् आइ शा । बाबु–आमानै सामाजिक गतिविधिमा सक्रिय छन् । उनले आफूलाई कमल ओझाकी छोरीको रूपमा मात्र नहेरिदिन विनम्र अनुरोध गरेकी छिन् । ‘मैले नेपालको राजनीतिका बारेमा नत जानेकै छु, नत बुझ्छु नै । म त यहीँको राजनीतिमा संलग्न हुन चाहन्छु,‘ उनले भनिन् । उनले आफू कमल ओझाकी छोरीका रूपमा भन्दा पनि कमल ओझालाई आइशाको पिताका रूपमा चिनाउन चाहन्छिन् । 
 
गत वर्षमात्र युनिभर्सिटी अफ टेक्सस आर्लिङ्गनबाट सोसलस्टडीमा उनले मास्टर्स सकेकी हुन् । तर उनी सामाजिक कृयाकलापमै रमाएकी छिन् । नेपाली समाज टेक्ससमा उनी कृयाशील छिन् । उनी नेपाली समाजको महिला संयोजक छिन् । बच्चाहरुसँग निकट छिन् ।
 
‘बच्चाहरुले मलाई पनि साह्रै मन पराउँछन्, त्यही भएर मैले पनि उनीहरुभन्दा पर जाने सोच बनाउनै सकिन,‘ उनले भनिन् । बच्चाहरूलाई अतिरिक्त कृयाकलापमा संलग्न गराउन उनले मण्डला नाम गरेको नृत्य प्रशिक्षण इन्स्टिच्युट पनि सञ्चालनमा ल्याएकी छिन् । 
 
उनी ७ कक्षादेखि अमेरिकामा पढ्न सुरु गरेकी हुन् । सुरुमा स्कुलमा हुने धेरै गतिविधि, अवसरहरुका बारेमा जानकारी नहुँदा धेरैनै कुराहरू गुमाएको महसुस यतिखेर गरेकी छिन् । ‘किनकि त्यतिखेर सिनियर नेपाली दाजुदिदीहरुनै भेटिदैनथ्यो स्कुलमा । अमेरिकन र यहीँका विद्यार्थीहरुसँग, शिक्षकसँग कुरा गर्न अप्ठेरो लाग्थ्यो । त्यही कारणले मैले धेरै कुराहरू गुमाएँ । स्कलरशीप, एक्स्ट्रा क्लास लगायत धेरै कुराहरू हुने रहेछन् । मैले त्यतिखेर थाहा पाइन । म स्कुल बोर्डमा जान खोज्नुको एउटा कारण यो हो कि–नेपाली भाइ बहिनीहरुले मैले जसरी अवसर गुमाउनु नपरोस्,‘ उनले भनिन् ।
 
हर्स्ट–युलेस–बेडफोर्ड स्कुल डिस्ट्रिक्टको प्लेस–७ को लागि उनी उम्मेदवार भएकी हुन् । अहिले यो पदमा बर्षौदेखि एउटै व्यक्ति छन् । यसअघि कहिल्यै चुनाव भएको छैन । हर्स्ट–युलेस र बेडफोर्ड (आर्लिङ्गटनको भेरिडियन पनि यो क्षेत्रमा पर्छ) का स्थानीय नेपाली समुदायसँग उनले आफ्नो अभियानमा साथ दिन आग्रह गरेकी छिन् । 
 
‘यो मेरो अभियानमात्र होइन, यहाँको नेपाली समुदाय अनि छोराछोरी स्कुल जाने सबै अभिभावकहरुको पनि अभियान हो । मैले जितेँ भने कमसेकम उहाँहरू सबैले स्कुलमा के भइरहेको छ, के हुँदैछ भन्ने बारेमा जानकारी पाउनुहुनेछ,‘ आइशाले भनिन् । 
 
स्कुल बोर्डले के गरिरहेको छ ? के काम हुन्छ ? नेपाली समुदायले के कस्ता फाइदाहरू लिन सक्छन् भन्ने बारेमा हामीबीच जानकारी नहुँदा पनि विद्यार्थीहरूले पाउनुपर्ने अवसरहरू गुमाइरहेको उनको ठहर छ । ‘हिन्दी, उर्दु यहाँ पढाई हुन्छ । तर खै नेपाली भाषाको पढाई ? हाम्रो प्रतिनिधित्व त्यहाँ हुन नसक्दा यस्ता अवसरहरू गुमेका छन्,‘ उनी भन्छिन् । नेपाली भाषालाई राख्न सकियो भने नेपालबाटै पढेर आएकाहरुले निकै राम्रो अवसर हासिल गर्न सक्छन् ।
 
हरेक घरबाट मासिक १ डलर २६ सेन्ट स्कुलका लागि गएको हुन्छ । यो रकम सदुपयोग भएको छ कि छैन ? बच्चाहरुको पढाई स्कुलमा कसरी चलिरहेको छ ? शिक्षकहरुका समस्याहरू के छन् भन्ने बारेमा नेपाली अभिभावकले चासो दिएर कुरा गरेको उनले कहिल्यै सुनिनन् । यी र यस्तै कारणले पनि उनलाई स्कुल डिस्ट्रिक्टमा गएर बच्चाहरुका निम्ति केही गर्ने जाँगर पलाएको हो । 
 
अमेरिका किन आएको भन्दा धेरै अभिभावकरुको भनाई उनले सुन्ने गरेकी छिन्–‘बच्चाहरुको राम्रो पढाईका लागि ।’
 
तर उनले आफ्ना छोराछोरीको पढाईका बारेमा चासो राख्ने अभिभावक ५ प्रतिशत पनि भेटेकी छैनन् । बिहान झिसमिसेदेखि मध्यरातसम्म काम गर्ने अभिभावकहरु बच्चाको पढाईको लागि होइन, आफ्नै लागि अमेरिका आएका हुन् । बच्चाहरुको पढाई, स्कुल, अभिभावक बैठकमा सहभागी नहुने हो भने बच्चाहरुको पढाई पनि राम्रो र व्यबस्थित हुन नसक्ने उनको ठहर छ । 
 
‘आम नेपाली जस्तै हाम्रो परिवार पनि केही सुटकेश, त्यसभित्र ममीले मसलाहरु, भाँडाकुडाहरु लिएर अमेरिका झरेका हौँ,’ उनले भनिन् । ‘यो ठाउँमा अवसरै अवसरहरू त छन्, तर तिनलाई देखाइदिने, बाटो हिँड्न सिकाइदिने मानिसको जरुरी छ । स्कुल बोर्डमा मेरो विजयले अभिभावकहरुदेखि लिएर हाम्रा भाईबहिनीहरुलाई सम्भावित अवसरका बारेमा कुनै अभाव भोग्नु पर्नेछैन,‘ उनी भन्छिन् ।
 
नर्सिङ पढ्न सुरु गरेकी आइशालाई त्यो विषयले तान्नै सकेन । फलतः उनी सोसलस्टडी तिर लागिन् । अब उनलाई कानुन पढ्न मन छ । भविष्यको लक्ष्य चाहिँ उनले तय गरिसकेकी छिन्–राजनीति । ‘राष्ट्रपति त बन्न कानुनले रोकेको छ, त्यहाँ भन्दा तलसम्मको लागि म मानसिक रूपमा तयार छु,‘उनी भन्छिन् ।
 
उनले तीनवटा कुराबाट आफुलाई सहयोग चाहिएको खुलाइन् । पहिलो, अमेरिकी नागरिकता लिएका जतिपनि नेपाली समुदायका सदस्यहरू हुनुहुन्छ सबैसँग उनले भोट मागेकी छिन् । चुनाव आउँदो ४ तारिकमा भए पनि अप्रिल २२ देखि ३० सम्म पहिलेनै गएर भोट हाल्ने सुविधा छ । आफ्नो नजिकको लाइब्रेरी लगायतका स्थानमा गएर भोट हालिदिन उनको विनम्र अनुरोध छ ।
 
दोस्रो, प्रचार प्रसारको क्रममा सँगै हिँडिदिएर भोट मागिदिन पनि उनले आग्रह गरिन् । जतिसक्दो धेरै सहभागिता यसमा जुटाउन सकियो भने धेरैले विश्वास गर्ने भएकोले समुदायसँग यो अभियानमा साथ दिन उनको आग्रह छ । 
 
तेस्रो, चन्दा मार्फत पनि सहयोग गर्न उनले अपिल गरेकी छिन् । अमेरिकाको चुनावमा जीतको मापदण्ड चन्दालाई समेत बनाइन्छ । प्रचार प्रसारको लागि आवश्यक पर्ने पर्चा, यार्डमा राख्ने साइनका लागि निकै खर्च आवश्यक पर्ने भएकोले सहयोगका लागि उनले नेपाली समुदायसँग आग्रह गरेकी छिन् ।
 
२२ वर्षकै उमेरमा उनको सकृयता देखेर डेमोक्रेटिक पार्टीले निकै राम्रो रेस्पोन्स गरेको छ । स्कुल डिस्ट्रिक्टको चुनावमा राजनीतिक प्रतिस्पर्धा नहुने भए पनि डेमोक्रेटिक पार्टीका नेताहरूले उनलाई समर्थन र हौसला दिएका छन् ।
 
उनलाइ नेपाली समुदायका अतिरिक्त अमेरिकी, बंगलादेशी, पाकिस्तानी, अफ्रिकन समुदायले पनि सहयोगको वचन दिएका छन् । उनी स्कुल बोर्डमा गएर स्कुलको घट्दो ग्रेडलाइ बढाउन, नेपाली समुदायलाइ अवसरका बारेमा जानकारी गराउन चाहन्छिन् । बजेटको उचित सदुपयोग उनको अर्को एजेन्डा हो । 
 
‘बच्चाहरूको राम्रो भविष्य चाहनुहुन्छ भने अरूसँग उनीहरूलाइ तुलना गरेर गाली गर्ने, दबाब दिने काम अभिभावकहरूले गर्दै नगरिदिनुहोला । यसले बच्चाहरूमा सुधार भन्दा बिग्रने सम्भावना रहन्छ,‘ उनको सल्लाह छ । 
 
चुनावी माहोलमा हुँदाहुँदै उनलाइ समरक्लासका बारेमा पनि त्यत्तिकै चिन्ता छ । बच्चाहरूसँग काम गर्न, उनीहरूलाइ अतिरिक्त कृयाकलापमा संलग्न गराउन उनलाइ निकै मन पर्छ ।
 
जाँदाजाँदै उनले फेरि आग्रह गरेकी छिन्–‘आफ्ना बालबच्चाहरूको शिक्षालाइ हेरेर मलाइ भोट दिनुहोला, एउटी चेली सम्झिएर भोट दिइदिनुहोला । म त्यहाँ पुग्न सकेँ भने सबैभन्दा बढी उपलव्धी नेपाली समुदायकै लागि हुनेछ,‘ । थपमा उनले चुनावी प्रचार प्रसारका लागि पनि सहयोगको अपेक्षा समुदायसँग राखेकी छिन् ।