मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भ्रष्टाचार अन्त्य गर्न राजनीतिक दल नै लाग्नुपर्छ : नेता सिंह

भ्रष्टाचार अन्त्य गर्न राजनीतिक दल नै लाग्नुपर्छ : नेता सिंह


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचारविरुद्धको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने बताएका छन् । 
 
प्रजातन्त्र पुनःस्थापना दिवसको अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘भ्रष्टाचारविरुद्धको अभियान : लोकतन्त्रका पर्याय गणेशमान’ विषयक विचार गोष्ठीमा उनले भ्रष्टाचार अन्त्यको लागि राजनीतिक दल नै लाग्नुपर्ने बताएका हुन् । 
 
नेता सिंहले विसं २०४६ को जनआन्दोलनलाई सफल बनाउन स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “विसं २०४६ मा आएको परिवर्तनलाई संस्थागत गर्न नसक्दा विसं २०६२/६३ को आन्दोलन गर्नुपर्ने अवस्था आयो, यो राजनीतिक दलको कमजोरी हो”, उनले भने, “गणेशमान सिंह भ्रष्टाचारविरोधी नेता हुनुहुन्थ्यो ।”
 
 कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले प्रजातान्त्रिक प्रक्रियालाई टिकाएर राख्न गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । “गणेशमान सिंह लोकतन्त्रका लागि बढी चिन्तन गर्ने र त्यसको संरक्षणमा लागि पर्ने व्यक्ति हुनुहुन्थ्यो”, उनले भने । 
 
पूर्वसभामुख दमननाथ ढुङ्गानाले लौहपुरुष गणेशमान सिंह भ्रष्टाचारविरोधी नेता भएको बताए । “भ्रष्टाचार घटाउन व्यक्तिभित्र निष्ठाको खाँचो आवश्यक छ”, उनले भने । 
 
पूर्वसभामुख ढुङ्गानाले भ्रष्टाचार राजनीतिक दलबाट बढिरहेको बताउँदै भ्रष्टाचार घटाउन राजनीतिक दल र जनप्रतिनिधि नै लाग्नुपर्ने उल्लेख गरे । 
 
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले मुलुकमा देखिने र नदेखिने भ्रष्टाचार बढ्दै गएको बताउँदै यसले लोकतन्त्रलाई खतरामा पार्न खोजेको बताए । 
 
आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्लेले गणेशमान सिंहको बारेमा नयाँ पुस्तालाई चिनाउनु जरुरी रहेको उल्लेख गरे । उनले थपे, “नेपालमा भ्रष्टाचारलाई कारबाही गरिने कानून फितलो हुँदा भ्रष्टाचार बढ्दै गएको छ ।”
पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले मुलुकमा निर्वाचन प्रणाली महङ्गो हुँदै गएको बताए । “निर्वाचन प्रणाली खर्चिलो हुँदै जाँदा भ्रष्टाचार पनि बढ्दै गयो”, उनले भने । 
 
डा दधी अधिकारीले मुलुकको आर्थिक विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु जरुरी रहेको बताए । विसं १९७२ कात्तिक २४ मा जन्मिएका नेता सिंहको आह्वानमा विसं २०४६ को जनआन्दोलन सफल भई चैत २६ गते मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको थियो ।