प्रदेश

यात्रुबाहक बस दुर्घटनामा चारको मृत्यु

104 पटक पढिएको

8th Apr 2019, Monday | २०७५ चैत्र २५, सोमबार ०८:५५
धरान । धरान–१३ जिरोप्वाइन्ट  नजिकमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ । 
 
ब्रेकफेल भएर पाँच सय मिटर अगाडिदेखि अनियन्त्रित हुँदै आएको ना६ख २७१३ नंको यात्रुबाहक बस जिरोप्वाइन्ट नजिकैको विजुली पोलमा ठोक्किएर दुर्घटना हुँदा चालक छत्रबहादुर गुरुङको च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । 
 
धरान उपमहानगरपालिका ८ का चालक गुरुङ लामो समयदेखि पहाडी रुटमा बस चलाउदै आएको थियो । गुरुङले बसको ब्रेक फेल भएको थाहा पाएपछि क्षति कम गराउन खोजेको प्रहरीको भनाइ छ ।
 
यसैगरी दुर्घटनामा धनकुटा चौबिसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र उनको ८ वर्षीया छोरी डेनी मगरको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । 
 
‘ड्राइभरले सकेसम्म क्षति कम गराउन खोजेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले भने ‘चालकको घटनास्थलमा नै मृत्यु भयो ।’ 
 
जिरो प्वाइन्टबाट दक्षिणतर्फ बाक्लो बस्ती छ । गाडी बजार प्रवेश गरेको भए अझ बढी क्षति हुने सम्भावना थियो । दुर्घटनामा घाइते हुनेको सङ्ख्या ३९ पुगेको छ । उनीहरुकोे उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । रासस