मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अप्रिल १३ मा ड्यालसमा सिस्नुपानीले हान्ने

अप्रिल १३ मा ड्यालसमा सिस्नुपानीले हान्ने


ड्यालस (टेक्सस) – नेपाली नयाँ वर्ष २०७६ को अवसरमा नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघले संयुक्त रुपमा विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् ।
 
आउँदो अप्रिल १३ तारिक शनिबार दुबै संस्थाहरुको संयुक्त आयोजनामा हस्र्ट बैंकट हलमा नेपालदेखि अमेरिकासम्मका ख्यातीप्राप्त नेपाली कलाकारहरुको प्रस्तुती रहनेगरि कार्यक्रम हुन लागेको हो । सोही विषयमा जानकारी दिन आइतबार नेपाली समाज टेक्ससले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुमन थापाले कार्यक्रमका विविध पक्षका बारेमा जानकारी दिएका थिए । 
 
नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष गौरीराज जोशी, समाजसेवी पासाङ लामा लगायतको उपस्थितीमा भएको कार्यक्रममा महासचिव भक्त भण्डारीले गायक भगवान भण्डारी, निमा रुम्बा, शीला आले, अनिश ओक्ले, प्यारोडी गायक रतन सुवेदी लगायत ड्यालसका दुई प्रख्यात व्याण्डको समेत प्रस्तुति रहने जानकारी दिए । 
 
कार्यक्रमलाई रोचक बनाउन यसपटक हाँस्यव्यङ्ग्यमा विशिष्ट स्थान बनाएको सिस्नुपानी नेपालको टीम समेत नेपालबाट आउदैछन् । टीममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्ष अर्जुन पराजुली र महासचिव टंक आचार्य समेत रहेका छन् । गाइजात्रा, तिहारमा व्यङ्ग्यात्मक देउसीभैलो खेलेर हाँस्यव्यङ्ग्य क्षेत्रमा सिस्नुपानी नेपालले विशिष्ट पहिचान बनाएको छ । 
 
सोही अवसरमा एकैठाउँमा लोकदेखि पप गीत समेत लाइभ रुपमा घन्किनेछन् । ‘यसपटक युवादेखि लिएर वृद्ध बा–आमाले समेत रमाइलो मान्नेगरि कार्यक्रम तय गरिएको छ,’ इभेन्ट को–आर्डिनेटर दीक्षा भट्टले भनिन् । उनका अनुसार स्थानीय चर्चित व्याण्ड सहयोगी र अनरिटनले समेत भव्य प्रस्तुती दिनेछन् ।
 
झण्डै ८ सय जनाको क्षमता भएको हलमा कार्यक्रम हुन लागेको हो । ‘हामीसँग यसपटक कार्यक्रममा अतिनै धेरै प्रस्तुतिहरु रहने भएकोले तोकिएको समयमै सुरु गर्नेछौँ,’ अध्यक्ष थापाले भने ।
कार्यक्रमको टिकटदर १५ डलर राखिएको छ । ड्यालस फोर्टवर्थ एरियाका प्राय सबै नेपाली रेस्टुराहरु तथा नेपाली समाज टेक्ससका पदाधिकारीहरुसँग टिकट खरिद गर्न सकिनेछ । त्यस्तै अनलाइनबाट खरिद गर्न सकिनेछ । प्रिसेल अनलाइनबाट खरिद गर्दा भने १० डलर मात्र तिरे हुन्छ । 
 
पत्रकार सम्मेलनमा नेपाली समाजका सचिव परशुराम दाहाल, कोषाध्यक्ष अमित शर्मा, कार्यसमिति सदस्य प्रयास बास्तोलाले समेत पत्रकारद्वारा राखिएका जिज्ञासाको उत्तर दिएका थिए । नेपाली समाज टेक्सस र इन्द्रेणीले कार्यक्रमहरु मिलेर गर्ने सहमति गरे अनुसार नयाँवर्षको कार्यक्रम नेपाली समाजले गर्न लागेको हो । आउँदा दिनहरुमा यस्ता कार्यक्रमहरु डिएफडब्लु एरियामा सकृय सबै सामाजीक संस्थाहरुसँग मिलेर गर्ने विषयमा छलफल अघि बढाउने सहमति भएको छ ।