मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालको आँधी पीडितको स्मृतिमा टेक्ससमा दीप प्रज्वलन

नेपालको आँधी पीडितको स्मृतिमा टेक्ससमा दीप प्रज्वलन


ड्यालस (टेक्सस) – गत साता बारा र पर्सामा गएको विनाशकारी टोर्नाडो (आँधीहुरी) बाट निधन भएका तथा पीडितहरुको स्मृतिमा नेपाली समाज टेक्ससले अर्भिङ्गमा र जनसम्पर्क समिति वेस्ट टेक्सस च्याप्टरले स्टेफनभीलमा शनिबार छुट्टाछुट्टै स्मृति कार्यक्रमको आयोजना गरेका छन् ।
 
शनिबार साँझ अर्भिङको नेपाली समाजको सभा हलमा आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवाहरुले पीडितहरुलाई राहत पु¥याउन र भविष्यमा यस्ता घटनाहरु हुँदा अपनाउनुपर्ने सचेतनाका बारेमा चर्चा गरे ।
 
मन्दिरका पुरोहितबाट स्वस्तीवाचन सहित एक मिनेटको मौन धारणबाट सुरु भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह, एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर अर्जुन बन्जाडे, टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल, जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका अध्यक्ष ज्ञानेन्द्र कार्की, नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारी, टेक्सोमा नेपाली सोसाइटीका राजेन्द्र वाग्ले, मधेशी एसोसिएसन अफ अमेरिकाका प्रतिनिधि लगाएतले प्राकृतिक प्रकोपमा संसारभरि जहाँ रहेपनि नेपालीहरुले मन खोलेर सहयोग गर्दै आएको स्मरण गरेका थिए ।
 
कार्यक्रममा उक्त प्राकृतिक प्रकोपमा परेर जीवन गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन समेत गरिएको थियो । कार्यक्रममा टेक्ससको ड्यालस फोर्टवर्थमा रहेका प्रायः सबै संघसंस्थाहरुको सहभागिता थियो । 
 
गत साता नेपालको दुई नम्बर प्रदेश अन्तरगतको बारा र पर्सामा विनाशकारी टोर्नाडो घर वस्ती उडाउँदा ३१ जनाको निधन भएको थियो । त्यसबाट पाँचसय परिवार पुरै घरबार विहिन भएका छन् । 
 
अमेरिकाका रहेका नेपाली संघसंस्थाहरुले पनि पीडितको सहयोगार्थ सहयोग संकलन गरिरहेका छन् । केही संस्थाहरुले उठेको सहयोग रकमबाट पीडितलाई राहत वितरण गरिसकेको जनाएका छन् । 
 
स्टेफनभीलमा पनि स्मृतिसभाः
प्राकृतिक प्रकोप पीडितहरुको स्मृतिमा जनसम्पर्क समिति वेस्ट टेक्ससले स्टेफनभीलमा आयोजना गरेको कार्यक्रममा सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागिता थियो । 
 
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले मातृभूमिलाई दुःख पर्दा अमेरिकामा रहेका नेपालीलाई समेत दुःखेको उल्लेख गर्दै तन, मन र धनले पीडामा साथ दिन आग्रह गरे ।