साहित्य / विविध / फिचर

“न्यास्रो जन्मभूमिको” कवितासङ्ग्रह – एक समालोचना

324 पटक पढिएको

– श्रीहरि फुयाँल

हिमालयखबर | 6th Apr 2019, Saturday | २०७५ चैत्र २३, शनिबार १०:००
नेपाली कविता-काव्यका क्षेत्रमा धेरै स्रस्टाहरुले कलम चलाउँदै आएका छन् । आजसम्म नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा धेरै लेखिएको साहित्यिक विधा पनि कवितानै हो | संख्यात्मक रुपमा जति धेरै कविताहरु लेखिएका छन्, गुणात्मक रुपमा भने त्यति धेरै कविताहरु लेखिएको पाइँदैन । त्यसैकारण गुणात्मक रुपमा कविता लेख्ने कविहरुको तुलनामा अन्य कविहरु त्यति धेरै चर्चामा आउन सकेका छैनन् ।
 
कविता लेख्ने रहर गर्दैमा कविता लेखिँदैन । कविता लेखौं भनेर लेखिने कुरा पनि हैन । कविता लेख्नका लागि प्रतिभा, व्युत्पति र अभ्यासको आवश्यकता पर्दछ । त्यसमा पनि प्रतिभा भनेको सवैभन्दा महत्वपूर्णकुरा हो । प्रतिभा विना कविता लेख्नै सकिँदैन । व्युत्पति र अभ्यास भनेका प्रतिभालाई उजिल्याउने सहायक तत्वहरु मात्र हुन् । त्यसकारण जो व्यक्तिसँग प्रतिभा छ उसैले नै कविता लेख्न सक्दछ । यस दृष्टिले हेर्दा मैले कवि बैकुण्ठराज आचार्यभित्र विशाल प्रतिभा लुकेको पाएँ । यस कुराको सबुद प्रमाण उनले लेखेको “न्यास्रो जन्मभूमिको” नामक कवितासङ्ग्रह नै हो ।
 
जसका कविता-काव्यहरु काव्यात्मकताले टमाटम भरिएका पाइन्छन । तिनका कविताहरुले सजिलैसित पाठकहरुका हृदयस्पर्श गर्न पुगेका हुन्छन् । त्यस्ता कविताहरु भने पढ्न शुरु गरेपछि पुरै पढिनसकी छोडन मन लाग्दैनन् । कवि बैकुण्ठराज आचार्यको “न्यास्रो जन्मभूमिको” नामक कवितासङ्ग्रह पढ्दा मलाई त्यस्तै अनुभूति भयो र मैले यही कवितासङ्ग्रहको बिषयमा यो समालोचना गर्ने जमर्को गरेको हुँ ।
 
आजभन्दा धेरै पहिले छद्म नामबाट गोरखापत्र र अन्य पत्रपत्रिकामा कविता प्रकाशित गरिसकेका बैकुण्ठराज आचार्यले निरन्तर रूपमा कविता लेख्ने अभ्यास गरिदिएको भए नेपाली साहित्य भण्डारले उनीबाट अझ धेरै कविता-काव्यहरु प्राप्त गर्ने थियो । जे होस् धेरैबर्ष सुस्ताए पनि अहिले आएर उनले काव्यसाधना गर्न थालेको पाइनुले पनि सबै नेपाली साहित्यकार तथा साहित्यानुरागीहरुलाई खुशी लाग्नु स्वभाविकै हो भन्ने मलाई लागेको छ । कवि बैकुण्ठराज आचार्यको “न्यास्रो जन्मभूमिको” नामक कवितासङ्ग्रहमा विविध विषयवस्तुका जम्माजम्मी ४१ वटा कविताहरु सङ्कलन गरिएका छन् । यहाँ यिनै कविताहरुमाथि संक्षिप्त रुपमा चर्चा-परिचर्चा र विश्लेषण गर्ने जमर्को गरिएको छ ।
विषयवस्तुका दृष्टिले हेर्दा यो कवितासङ्ग्रहमा आठ प्रकारको विषय-वस्तुहरु समेटिएका पाईन्छन् । ती विषयवस्तुहरुलाई यस प्रकार विभाजन गर्न सकिन्छ । जस्तो कि –
१) जन्मभूमिको माया, सद्भाव र बेजोड राष्ट्रियता झल्कने कविताहरु 
२) विगतको सम्झनामा कल्पिएर लेखिएका कविताहरु 
३) पीडानुभूति गरिएका कविताहरु 
४) नेपाली चाडपर्व, संस्कृति र संस्कारको मोहमा परेर रचिएका कविताहरु 
५) नेपाली समाजमा विध्यमान रहेका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरिएर लेखिएका कविताहरु
६) चटक देखाएर मानिसहरुलाई ठग्ने चटकेको खिलापमा लेखिएको कविता र स्यालको सिङ किनेर ठगिएको कविता ।
७) नागमणि खोजेर धनी बन्न चाहने तिर्सनामा रुमल्लिएर लेखेको कविता ।
८) स्थानको रुपान्तरणमा भौतारिएर लेखिएको कविता ।
 
कवि बैकुण्ठराज आचार्यले यसरी विविध विषय र परिवेशमा आफ्ना भावनाहरु कविता मार्फत पोखेका छन् । कवि बैकुण्ठले यहाँ कतै मातृभूमिको माया, कतै समाज सुधारको चाहना, कतै ठगहरुबाट जोगिनुपर्ने सन्देश, कतै अतीतको सम्झना, कतै आफूभित्रको पीडानुभूति, कतै नेपाली चाडपर्वको मोह र कतै विकृति र  विसङ्गतिप्रति व्यङ्ग्य गरेर काव्यात्मक भावना प्रकट गरेको पाइन्छ । त्यसैगरी यहाँ ठगिन जोगिनुपर्ने सन्देश र कतै आफ्ना पाठकहरुलाई गलत बाटोमा हिंडेर धन कमाउन सकिन्न भन्ने सल्लाह पनि दिएका छन् । ती आठ प्रकारका कविताहरुलाई यसरी मूल्याङ्कन तथा व्याख्या  र विश्लेषण गरेर हेर्न सकिन्छ :
१) जन्मभूमिको माया, सदभाव, र बेजोड राष्ट्रियता झल्कने कविताहरुमा –अनन्त यात्री, अब त्यस्तो नहोस, आफ्नो देश, आफ्नो धरती, न्यास्रो जन्मभूमिको, फर्किदा स्वदेशमा, भीरको फूल, हाम्रो समृद्दिचक्र, जस्ता कविताहरु पर्दछन । यी कविताहरुमा आफ्नो जन्मभूमिप्रति अगाध माया र ममता दर्शाईएको छ ।
 
आफू जहाँ पुगे पनि, आफू जहाँ गए पनि आफ्नै वनपाखा, त्रिशूलीको बगर, वरपीपलको छहारी र आफ्ना देशका नदीनालाहरुको सम्झनाले कविलाई हरबखत सताइरहन्छ । राइन, सिन, कोलोराडो, मिसिसिपीको ओरिपरि घुमे पनि उनी आफ्नै देशका नदीनालाहरु सम्झन्छन् । विदेशका म्यापल, चेरी, स्याउ र गुलमोहरको छहारीभन्दा उनलाई आफ्नै देशको वरपीपल, च्युरी, आँप र गुराँसको छहारीमा सुस्ताउन आनन्द लाग्छ । त्यसैले उनी देश-विदेशतिर घुमघामको क्रममा आफ्नो काव्यात्मक भावना यसरी पोख्दछन् :
 
कति विसौनीमा / कति छहारीमा 
सुस्तायो जिन्दगी 
सके पनि, नसके पनि 
चाहे पनि, नचाहे पनि 
कति उकालो, ओरालो, बगरमा
हिँडिरह्यो जिन्दगी |
(न्या.ज.पृ. १८)
 
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात आमा र मातृभूमि स्वर्ग भन्दा गरिमामय हुन्छन भने जस्तै जहाँ पुगे पनि जता पुगे पनि आफ्नो देशको सम्झना आइरहनु स्वभाविकै हो । त्यसमा पनि एउटा कोमल हृदयी कविलाई मातृभूमिको मायाले त्योभन्दा बढी सताउँछ । कविको मन भित्र त्यसभन्दा बढी वैचारिक तर्कना चलिरहन्छ | विदेशमा बसेर दिनभर घोटिदा पनि रातभर निद्रा लाग्दैन । त्यसैले कवि बैकुण्ठराज लेख्दछन्-
 
हुँदा 
आफ्नो देशबाट टाढाटाढा 
सधैँ
निद्रा कहाँ आउँछ र !
मन शान्त कहाँ राख्न सकिन्छ र !
(न्या.ज. पृ. १९)
 
यसै प्रसङ्गमा भन्नुपर्दा स्वदेशमा बसेर सुतीसुती खाने तथा काम भनेको कुरा कुनै पनि सानो हुँदैन भन्ने कुरालाई भुल्ने र देशको अस्मिता लुट्ने कालाबजारी एवम् तस्कर, लुच्चा, फटाहा र भ्रस्टाचारीले पाएको आदर सत्कार देखेर कविमन  छियाछिया हुन्छ र उनी भन्छन –
 
उता स्वदेशमा 
सुतीसुती खानेहरुलाई 
भ्रस्टाचारी, लुच्चा, फटाहालाई
समाजले अझै सम्मान गर्न छोडेन 
काम गरेर खानेको इज्जत गर्न जानेन
(न्या.ज. पृ. २३)
 
यस कवितासङ्ग्रहको सबैभन्दा उत्तम र रास्ट्रिय भावनाले ओतप्रोत भएको कविता हो “न्यास्रो जन्मभूमिको” नामक कविता । यो कविताले यस कवितासङ्ग्रहमा सङ्कलित सम्पूर्ण कविताहरुको प्रतिनिधित्व गरेको छ | यही कविताको शीर्षकले यो कवितासङ्ग्रहको नामकरण हुँने शुभ अवसर पनि प्राप्त गरेको देखिन्छ ।
 
 
कवि बैकुण्ठराज आचार्य आफ्नो जन्मभूमि नेपालको अति नै माया गर्ने प्रतिभा हुन् । यो कुरालाई यहि विवेच्च कवितासङ्ग्रहले प्रमाणित गरिदिएको देखिन्छ । अत: उनी जहाँ पुगे पनि आफ्नो मन र मस्तिष्क भरि मातृभूमीको माया बोकेर हिँडछन् । आफ्नो देशबाट धेरै टाढा अमेरिकाजस्तो सुबिधासम्पन्न देशको बसाइमा पनि उनले आफ्नो देशलाई भुलेका छैनन् । उनको छातीभरि मातृभूमि नेपालको माया सल्बलाईरहेको देखिन्छ । त्यसैकारण नेपालबाट गएको कुनै पनि मानिस उनको नजिकै पुग्यो भने त्यसबखत उनी एउटा सानो नेपाल नै आफू नजिक आइपुगेको ठान्दछन । उनी आफ्नै माटोको सुवास आएको अनुभूति गर्दछन् | उनलाई त्यहाँ गोदावरीको र लालीगुराँसको फूल, देशका नदीनाला र देवमन्दिरहरु, श्रीखण्डको बास्ना र तीर्थस्थलमा लाग्ने मेलापर्वहरु, गीत र सङ्गीत को धुन, चाडपर्व, नेपालका जीवजन्तुहरु  तथा हिमाल, पहाड र तराईनै उनको नजिक आएझैं लाग्दछ । जसले गर्दा उनको वैराग्य भाग्दछ । उनमा नयाँ उत्साह र उमङ्ग थपिन्छ | उनी प्रसन्न बन्दछन । यसै प्रसङ्गमा उनी आफ्नो कवितात्मक भावना यसरी पोख्तछन् :
 
तिमी आयौ लाग्यो 
गोदावरीको फूलवारीबाट 
फूलैफूलको बास्ना लिएर आयौ 
दामनबाट 
लालीगुराँसको झुप्पै लिएर आयौ 
 
(न्या.ज. पृ. ६८ )
   
तिमी आयौ 
यहाँ हिमाल आयो 
यहाँ पहाड आयो 
यहाँ तराई आयो 
यहाँ एउटा सानो नेपाल आयो ।
(न्या.ज. पृ. ७०)
 
आफूलाई जन्मदिने आमा र मातृभूमिजस्तो ठूलो यो संसारमा अरु कुनै पनि कुरा हुन् सक्दैनन् । आमा र मातृभूमिलाई माया नगर्ने मानिस सुपुत्र सक्दैन । यो कुरा सोह्रै आना सत्य हो । कवि बैकुण्ठराज आचार्यले राष्ट्रिय भावना झल्कने सम्पूर्ण कविताहरु मार्फत यही कुरालाई प्रमाणित गरिदिएका छन् ।
 
२ कवि बैकुण्ठराज आचार्यले विगतको सम्झना गर्दै कल्पिएर लेखेका कविताहरुमा – “अनिँदो रातसँगै, आवरण, उन्मुक्त मन र बन्धन, कता कता हराउँदा, झेलम तिमी कस्ती छौ ?” टङ् टङ्, पुरानो गाउँ जाँदा, बेला भो, फेरि बनाउनु छ, वैरागी ठाँटी, साक्षी एउटा कालखण्डको, सिमसिमे पानी सँगै, म हिंडिरहें, मन त्यसै रमायो र लाहुरे भए पछि कविता फुर्छ जस्ता कविताहरु यसै कित्तामा पर्न आउँछन् । 
 
यी कविताहरुमा कवि आचार्यले विगतको सम्झना गरेका छन् । मानिसको आफ्नो विगत जतिसुकै कस्टपूर्ण भएता पनि आफ्नो मन र मस्तिष्कमा सल्बलाई रहन्छ । विगतका ती सम्झनाहरु नै मानिसका जीवनको सवैभन्दा महत्वपूर्ण पाठ पनि हुन्छन । विगतबाट नै मानिसले धेरै कुरा सिकेको हुन्छ । यहाँ कवि आचार्यलाई पनि त्यस्तै भएको छ ।
 
उनको “अनिँदो रातसँगै” नामक कविताले पनि त्यही कुराको भावबोध गराउँछ । यसमा सुनेका, देखेका, अनुभूत गरेका र भोगेका कुराहरु आउछन् । आफ्नो देशबाट टाढा हुँदाको नमीठो अनुभव, विगतको हाँसो र खुसी, आशा र निराशा, हार र जित, उकालो र ओरालो हिँडेको जिन्दगी, थकित जिन्दगी र चकित जिन्दगी, कसैको माया र कसैको घृणा, कसैले दिएको आडभरोसा र कसैले छिर्की लगाएका सम्झनाहरु आउँछन् । देशको मायामा छताछुल्ल भएर सम्झनाको भाव पोखिन्छ । उकुस-मुकुस र पीडाहरु छचल्किन्छन् । यिनै कुराहरुलाई कविले कलात्मक भावनाले सजाएर सरल, सरस र सुबोध शैलीमा कवितात्मक रुपले सिँगारेका छन् । अनिदो रात भन्नु नै भावनात्मक द्वन्द हो । प्रसन्नता हो, कुण्ठा हो र छटपटी हो भन्ने कुरालाई यो कविताले प्रस्ट पारेको छ । त्यसैकारण यहाँ कवि भन्छन् – 
 
द्वन्द चलिरहन्छ
इच्छा, आकाङ्क्षा, कर्तव्यका 
एउटा रणमैदान बन्छ 
मेरो मन र मस्तिष्क 
अनिँदो रात सँगै 
(न्या.ज. पृ. २१)
 
आफुले आफ्नै मातृभूमिमा हाँसे, खेलेका र टेकेका स्थानहरुको सम्झना आइरहनु नै मानव स्वभाव हो । एउटा साधारण जनमानसमा त ती कुराहरुको सम्झना हुन्छ भने झन् कवि मनमा त नहुने कुरै भएन । यस्तै स्वभावबाट कवि बैकुण्ठराज आचार्य पनि पृथक् रहन सकेका छैनन् । उनलाई बारबार अतीतको सम्झनाले सताइरहन्छ । उनी आफ्नो देशको नदी नाला, पहाड-पठार, पाखा-पखेरा, भीर-पहरा र वन-जङ्गलको महिमा गान गरेर कहिल्यै अघाउँदैनन् । उनका धेरैजसो कवितामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले देशको महिमा गान गरिरहेको पाइन्छ । आफ्नै देशका जीवजन्तुहरु र चराचुरुङ्गीहरु पनि उनका सम्झनामा आइरहन्छन् । यही कुरा नै जन्मभूमिको माया हो, ममता हो  र देशको प्रशस्ति गान हो । यस कुरालाई कवि आचार्यले कत्ति पनि ढिम्किन  दिएका छैनन् । त्यसैले त उनलाई आफ्नै गाउँघरको सम्झना, नेपालको सुदूरपश्चिममा हिँड्ने घोडा, भेडा र मानिसहरुका लर्कोको याद आइरहन्छ र उनी टङ्टङ् नामक कवितामा आफ्नो भावना यसरी पोख्छन् –
 
कुनै  प्रतिध्वनिसँगै 
म पुग्छु 
सेतीको किनारमा 
पल्टेको हुन्छु बगरमा 
देख्छु पारिडाँडामा 
टङ्टङ् गर्दै 
भारी बोक्दै 
हिँडेका भेडाहरु |
(न्या.ज. पृ. ५२)
 
हाम्रो गाउँसमाजमा पैसा कमाउनका लागि आफ्नो घर छोडेर अन्यत्र हिँड्ने मानिसलाई लाहुरे भन्ने चलन रहेको छ । जब मानिस आफ्नो गाउँघर तथा समाज र देशलाई छोडेर विदेश जान्छ, तव उसलाई आफ्नो गाउँघर समाज र देशको सम्झना आउँछ । त्यो कुरा आफ्नो देश छोडेर विदेश जाने प्रत्येक मानिसलाई हुने साझा अनुभूति हो । अझ भनौं आफ्नो देश छोडेर धेरैवर्ष विदेशमा बिताएपछि आफ्नो जन्मभूमिको मायाले अत्यधिक सताउन थाल्दछ; अर्थात न्यास्रो लाग्न थाल्दछ र ऊ भावुक बन्न थाल्छ । यो ध्रुवसत्य कुरा हो । यदि उसित प्रतिभा छ भने उ भावुक बन्छ र उसलाई कविता फुर्छ फुर्छ अनि ऊ कविता लेख्न थाल्छ । यो असम्भव कुरा होइन । यहाँ कवि बैकुण्ठराज आचार्यलाई पनि त्यस्तै भएको छ । यसै प्रसङ्गमा यहाँ उनले यसरी कविता लेखेका छन् –
 
सम्झना र संवेदनासँगै 
भावनै भावनासँगै 
म विहान उठ्छु 
भावनै भावना बोकेर 
म दिनभरि काम गर्छु 
अनि भावनै भावना ओढेर 
म राती सुत्छु ।
 
यस्तै चलिरहेछ 
जिन्दगी यहाँ मेरो 
सायद लाहुरे भएपछि यस्तै हो 
मजस्तै सबैलाई उस्तै हुँदो हो 
अनि कविता फुर्दो हो 
कथा लेखिँदो हो 
(न्या.ज. पृ. १२५)
विगतको सम्झनामा कल्पिएर भावनाको तरेलीमा तरङ्गिएर लेखिएका २ नं. अन्तर्गत उल्लेखित विविध विषयका कविताहरु यसै कित्तामा पर्न आउछन् ।
 
३ कवि बैकुण्ठराज आचार्यको “न्यास्रो जन्मभूमिको”  नामक कवितासङ्ग्रहमा पीडानुभूति गरिएका कविताहरु पनि समावेश गरिएका छन् । ती कविताहरुमा आँधी आउँदा, आधुनिक देउराली, किस्ताबन्दी, के छ हालखवर ? ढलेका छैनौं, पारिजात र काठमाडौँ, रुन्छ साथी, जस्ता कविताहरु पर्न आएका छन् ।
 
कुनै कवितामा नेपालको चिन्ता, कुनै कवितामा नेपालीको चिन्ता, कुनै कवितामा पाश्चात्य सभ्यता, संस्कृति, र संस्कारले पेल्दै ल्याएर नेपाल र नेपालीको अस्तित्व मेटिन्छ कि भन्ने चिन्ताजस्ता पीडानुभूतिले कवि बैकुण्ठराज आचार्यलाई सताईरहेको देखिन्छ । नेपाल आमाको सुपुत्र तथा नेपाली हुनुको नाताले नेपाल आमा र नेपालीप्रति उनको अगाध मायाममता पाइन्छ । अत: नेपाल र नेपालीको पीडा नै उनको पनि पीडा हो । कवि बैकुण्ठका यस बिषयमा लेखिएका कविताहरु पढेपछि सो कुराको जानकारी पाइन्छ ।
 
पश्चिमी सभ्यता र भेशभुषाले पारेका प्रभाव प्रति चिन्ता व्यक्त गर्दै “आधुनिक देउराली” नामक कवितामा उनी भन्छन –
 
हरियो फाँट कङ्क्रिटको जङ्गल बनेको छ 
गुन्यूचोलो कुर्तासुरुवाल बनेको छ 
दौरासुरुवाल  सर्टप्यान्ट बनेको छ 
बाआमा ड्याड-मम बनेको छ 
 (न्या.ज. पृ. २७)
 
कवि बैकुण्ठलाई नियतिले विदेश भासिन बाध्य  पारे पनि उनलाई स्वदेशकै चिन्ताले पेट पोलिरहेको छ । नेताहरुको ज्यादतिले पीडानुभूति भइरहेको छ । नेताहरुको मनपरीतन्त्रको चिन्ताले डसीरहेको छ । नेपाल र नेपालीको अन्धकार भविष्यका चिन्ताले पोलीरहेको छ ।    त्यसैले “के छ हालखवर ?” नामक कविता मार्फत प्रश्न गर्दै उनी भन्छन –
 
भर्खर स्वदेशबाट आउनु भो 
के छ हालखवर त्यताको 
के गर्दैछन हाम्रा अगुवाहरु 
देश चलाउने नेताहरु 
 
अझै,
ठूलाठूला गफै मात्र गर्दैछन् कि 
गरिरहेछन काम पनि 
कि अझै,
खाने मात्र काम छ मिलिजुली 
देश र समाजलाई छली 
(न्या.ज. पृ. ४४)
 
३ नं मा उल्लिखित कविताका शीर्षकहरुनै कुनै न कुनै विषयमा पीडानुभूति प्रकट गरिएका कविताहरु यही सन्दर्भमा पर्दछन ।
 
४) नेपाली चाडपर्व, संस्कृति र संस्कारको मोहमा परेर रचिएका कविताहरुमा “सम्झना माघेसङ्क्रान्तिको” र “भावनाको देश” जस्ता कविताहरु पर्दछन् । यी कविताहरुमा आफ्नो चाडवाड र रीतिरिवाजहरुको सुन्दर झाँकी देख्न पाइन्छ । विविध कारणले आफ्नो देश छोडेर विदेशमा बस्नुपर्दा माघेसङ्क्रान्तिमा रमाउँदै खाएका तरुल, चाकु र तिलौरीका साथै झोलुङ्गे पुल तथा अन्य ठाउँको सम्झना गर्दै लोकदोहोरी एवम् स्थानीय तिनाऊ नदीको सम्झनाले कवि बैकुण्ठराज आचार्यलाई भावुक बनाउँछ र उनी मार्मिक रुपले कवितात्मक शैलीमा आफ्ना भावनाहरु पोख्दछन् । नियतिले उनलाई सात समुन्द्रपारि बस्न बाध्य बनाए पनि कवि आचार्य आफ्नै गाउँघरको करेसा बारीमा फुलेका मखमली, गोदावरी र सयपत्री फूल फुलेको सम्झना तथा भैली र देउसीको सम्झना गर्दछन । आफ्नो मातृभूमिलाई भावनाको देशका रुपमा सम्झन पुग्छन् । बेला बेलामा उनलाई नेपाल र नेपालीको प्रगाढ मायाले भावुक बनाउँछ र उनी हृदयस्पर्शी कविता रचना गर्छन् । यसरी –
 
देश सिमाभित्र मात्रै हुन्न 
देश बाहिर पनि देश हुन्छ 
राख्नेले आफ्नो देशलाई 
मुटु भित्र राखेको हुन्छ 
(न्या.ज. पृ. ८८)
 
५ ) कवि बैकुण्ठराज आचार्यद्वारा लिखित व्याङ्ग्यत्मक कविताहरुमा “एक्लै नहिँड” “ढेदुले लखेट्दा” र “नजर” जस्ता कविताहरु पर्दछन । ‘बुरे नजर’ प्रति सर्वसाधारण मानिसलाई सावधान बनाउने उद्देश्यले लेखिएको उत्तम व्यङ्ग्य कविता हो । यो कवितामा ‘बुरे नजर’ लगाउनेलाई व्यङ्ग्य गरिएको छ । उनी आफ्नो मेहनतले हराभरा बनाएको बारीलाई ‘बुरे नजर’ बाट जोगाउन ठूला-ठूला जुत्ता झुण्ड्याउने पारम्पारिक संस्कारलाई मनोबैज्ञानिक दृस्टीकोण बाट सम्बोधन गर्दछन ।
 
कवि आचार्यको “एक्लै नहिँड” नामक कवितामा आजका कतिपय मानिसहरु राँकेभूत, ‘किचकन्नीभूत’ र ‘भकुन्डेभूत’ जस्ता भइसकेका छन्, तिनको विस्वास गर्नुहुँदैन, तिनले सिधासाधा मानिसहरुलाई कुनै पनि बेला आक्रमण गर्न सक्छन् । हिजोको सुन्दर समाज आज निकै खराव र प्रदुषित बनिसकेको छ । त्यसकारण एक्लै एक्लै नहिँड भनि कविले आजका खराव मानिसहरु प्रति तीखो व्यङ्ग्य प्रहार गर्दै सिधासाधा मानिसहरुलाई सतर्क हुन आह्वान गरेका छन् ।
 
“ढेडुले लखेट्दा” नामक कविता पनि आजको विग्रदै जान थालेको नेपाली समाजका खराव मानिसहरुलाई नै व्यङ्ग्य गरेर लेखिएको कविता हो । यहाँ बाँदरले झैं लुटतन्त्र मच्चाउने मानिसहरुप्रति चोटिलो व्यङ्ग्य प्रहार गरिएको छ । आजको ढेडुरुपी दुष्ट मानिसहरुले कुन क्षेत्रमा पो लुटतन्त्र मच्चाउन बाँकी राखेका छन् र ? भन्ने प्रसङ्गमा कवि बैकुण्ठ काव्यात्मक शैलीमा यसरी व्यङ्ग्य प्रहार गर्दछन् –
हो त नि,
जताततै छन् ढेडुहरु 
परिवारमा, समाजमा 
कार्यालयमा, विभागमा, मन्त्रालयमा 
देशमा, छिमेकमा, विश्वमा 
म कतै लडिरहेको छु 
कतै सम्झौता गरिरहेछु 
कतै भागिरहेछु 
अनि,
एउटा जीवन बाँचिरहेछु 
 
(न्या.ज. पृ. ५९, ६०)
 
६) कवि बैकुण्ठ आचार्यले आफ्ना प्रिय पाठकहरुलाई र सर्वसाधारणलाई ठगीबाट जोगाउने उद्देश्यले लेखिएका कविताहरु हुन् – “चटकेहरु” र “स्यालको सिङ” नामक कविता ।
 
“चटकेहरु” कवितामा चटकेहरुले गोमनलाई बीन बजाएर झुलाउँदै र बाँदरलाई बिभिन्न क्रियाकलाप गर्न लगाई रत्नपार्क र भूगोलपार्कमा बसेर मानिसहरुका आँखामा छारो हाल्दै ठगिरहेको प्रसङ्गलाई लिएर लेखिएको कविता हो । यो कवितामा अप्रत्यक्ष रुपले मानिसहरुलाई ठगिनबाट जोगाउने उद्देश्य राखेको  देखिन्छ । यो कवितामा अत्यन्त मार्मिक र चित्ताकर्षक ढङ्गले आफ्ना कवितात्मक भावनाहरु पोखिएका छन् । यसरी यो कविता दर्शकहरुको आँखामा छारो हाल्दै चटक देखाएर रुपियाँ-पैसा ठग्ने चटकीको खिलापमा लेखिएको कविता हो भने “स्यालको सिङ” नामक कविता हुनै नसक्ने स्यालको सिङ किनेर अथाह सम्पति कमाउने लालचले कुनै मूर्ख मानिस ठगिएको कविता हो । यो कवितामा पनि प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गले ठगिन बाट जोगिनुपर्छ भन्ने सन्देश कवि आचार्यले दिएका छन् । यो कविता पनि निकै नै चित्ताकर्षक र मार्मिक कविता हो ।
 
७) कवि आचार्यद्वारा लिखित “नागमणि खोज्दा” नामक कविता समृद्दीको प्रतीक नागमणि खोज्दाखोज्दै कतै पनि नागमणि नभेटिएको, कतै पनि नागनागिनी नागमणि छोड्न लठारिएको पनि नदेखिएको र पाताल (अमेरिका)मा पुगे नागमणि पाईने र पैसा त्यसै फल्ने भन्ने कुरा पनि फजुल रहेछ भन्ने जानकारी भएको अत्यन्तै रोमान्चक कविता हो । नागमणि खोज्दाखोज्दै गुज्रिएको जिन्दगी पाताल भासिएको र त्यहाँ पनि  नागमणि पाइने र रुखमा रुपियाँ फल्ने होइन भन्ने जानकारी दिंदै  काल्पनिक दुनियाँमा नरमाइ आफ्नो धरातल चिनेर जहाँ पनि  मिहिनेत गरेर पसिना बगाएपछि समृद्दी प्राप्त हुनेछ भन्ने कविता हो- “नागमणि खोज्दा” ।
 
८ ) स्थानको रुपान्तरण गरेर अहिले आफू अर्कै महादेशमा बस्नु परे पनि र अर्कै महादेशमा रहेको आफ्नो जन्मभूमिको माया गर्दै झझल्कोमा अल्झिएर लेखिएको कविता हो “रुपान्तरण” । प्रवासमा रहेर पनि कविलाई त्यहाँको नीलो आकाश, त्यहाँको हरियो चउर, त्यहाँका फूल र तरुलताहरु पनि आफ्नै देशका जस्ता लाग्छन | ती यावत कुराहरुमा आफ्नो देशको न्यास्रो मेट्ने उपाय खोज्छन् कवि । उनलाई त्यहाँको गाउँ आफ्नो गाउँ होइन, त्यहाँ कालिगण्डकी पनि बग्दैन, त्यहाँ धान रोपेको खेत पनि छैन भन्ने हेक्का छ । कवि केवल भावनात्मक सम्बन्धले आफ्नो देशसँग नजिक बन्न खोज्छन् । जसले जे भने पनि आफ्नो देशलाई मुटुभरि राखेर बाँच्न चाहन्छन कवि आचार्य । प्रवासमा पनि उनी आफ्नै देशका माटोको सुवास खोज्छन् र आफ्नो देशको माया दर्शाउँछन् ।
 
आफ्नो देशमाभन्दा विदेशमा बस्ता आफ्नो देशको माया बढी हुन्छ । यस कुरालाई कवि बैकुण्ठराज आचार्यले राम्रोसित बुझेका छन् । त्यसकारण उनले आफ्नो  कवितासङ्ग्रहको नाम “न्यास्रो जन्मभूमिको” भनेर राखेको देखिन्छ । 
उनको यो “न्यास्रो जन्मभूमिको” नामक कवितासङ्ग्रहमा सङ्कलित प्रत्येक कवितामा कुनै न् कुनै रुपले आफ्नो  देशको माया प्रकट भएको पाइन्छ । उनी आफ्नो देशको मायाप्रति सचेत छन् । त्यसैकारणले यस पुस्तकको शीर्षक सार्थक रहेको देखिन्छ । भावी भविष्यमा पनि कवि बैकुण्ठराज आचार्यबाट नेपाली साहित्य भण्डारले अझै यो कृतिभन्दा राम्रा र गहकिला कृतिहरु प्राप्त गरिरहोस् । 
कवि आचार्यलाई साधुवाद ।