विचार / ब्लग

सिल्भियाको समर्पण

786 पटक पढिएको

- रामचन्द्र भट्ट

कथा | 12th Apr 2019, Friday | २०७५ चैत्र २९, शुक्रबार १७:३९
‘आज पनि गाडी पार्किङ फूल भैसकेछ,’ संयमले गाडीलाई विस्तारै चलाउँदै भन्यो–‘आइतबार मन्दिरमा नत मान्छेको पाइला राख्ने ठाउँ हुन्छ नत गाडी पार्किङ्ग गर्ने ठाउँनै । पछाडी लैजानुपर्ने भयो ।’ 
म र संयम डालसको अर्भिङ्गमा रहेको नेपाली मन्दिरमा पुगेका छौं । म १० वर्ष पछि डालस आएको छु । एक दशक अघि युनिभर्सिटी अफ टेक्सस आर्लिङ्गटनबाट मेकानिकल इन्जिनियरिङको दुई वर्ष अण्डरग्राजुएट गरेपछि डालस छाडेको थिएँ मैले । 
 
मन्दिरलाई बाहिरबाटै सर्सती हेरेँ मैले । नेपालमा जस्तो पगोडा शैली थिएन । तरपनि गजुरले गर्दा मन्दिर निकै आकर्षक देखिएको थियो ।  
जुत्ता फुकालेर मन्दिर भित्र पस्नासाथ शंखध्वनी सहित पशुपतिनाथको आरतीगान कानमा गुञ्जियो । नेपालमा छँदा हरेक बिहान ६ बजे रेडियो नेपालबाट बज्ने यही धुनसँगै ब्युँझन्थेँ म ।
म र संयम सरासर पूजाहलमा पस्यैाँ । म भन्दा उमेरले दुई वर्ष कान्छो छ संयम । एउटै गाउँका र एउटै स्कुलबाट एसएलसी गरेका हाै हामीले । म भन्दा दुई वर्ष पछि अमेरिका आएको । तर डालसमा पहिलो पटक भेट भएको हिजोमात्रै हो । 
 
पूजाहल खचाखच छ । हातमा आरतीगान लेखिएको पाना बोकेर भक्तजनहरु स्पिकरमा बजेको आवाजसँग स्वर मिलाएर गाइरहेका छन् । हातमा पाना नहुनेहरु पनि स्वर मिलाएर गाइरहेका छन्–‘ओम हरहर हर महादेव । गिरी कैलाश निवास गर्छन.....’ 
म र संयम भीडमा घुसेर अलि बीचतिर घुस्यौँ । हामीले पनि त्यहाँ भएका अरुले जस्तैगरि दुई हात जोडेर आरतीगानमा स्वर मिलायौँ । 
 
मेरो कान आरतीगानमा भएपनि आँखा चाँही जिज्ञासु रुपमा मन्दिरका चारै कुनातिर दौडिएका छन् । ‘ओहो नाम सुनेजति, जाने जति सबै देवी देउताका मूर्तिहरु पनि रहेछन् । डालस त धेरै चेन्ज भएछ । आम्मामा.. मान्छेहरु पनि के विधि बढेछन् । सबै यहीँ डालसका त होलान् नि ?’ मेरो मनमा जिज्ञासा जाग्छ । 
 
एकपटक होइन तीनपटक मैले आफ्नो शीर घुमाएर चारैतिर रहेका मूर्तिहरु र त्यसमाथि लेखिएका भगवानका नाम पढेँ । सरस्वतीदेखि सिरडी साइबाबासम्म, महालक्ष्मीदेखि स्वस्थानीमातासम्म, बुद्धदेखि ब्रह्मासम्मका सबैका मूर्तिहरु छन् । मेरो मन यसैयसै प्रफुल्ल भयो ।  
 
चारैतिर हेर्ने क्रममा एउटी युवतीसँग मेरा आँखा जुधे । उनी मुस्कुराइन् । उनी मलाई देखेर मुस्कुराएकी हुन् या म भन्दा अघिल्तिर रहेका युवकलाई देखेर मैले निधो गर्न सकिन । लाग्यो–अघिल्तिरको युवकलाई हेरेर होला । मैले कुनै प्रतिकृया जनाइन । 
 
त्यहाँ रहेकाहरु मध्य प्रायः सबैको हातमा पशुपतिनाथको आरतीगान लेखिएको लेमिनेटेड कागज छ । कागज नहुनेका हातमा फुलका गुच्छाहरु, पत्रहरु छन् । युवतीको हातमा पनि पुष्पपत्र थियो । 
युवती सर्दै मेरो नजिक आइपुगिन् । त्यतिखेर स्वस्तीवाचन सहितको अभिशेक हुँदैथियो । मलाई लाग्यो–युवती पनि अभिशेकको जल शरिरमा परोस् भनेर नजिकै सरेकी हुन् । 
आरती सकियो । सबैजना जयजयकार गर्दै मन्दिर बाहिर निस्किए । म र संयम पनि बाहिर हलमा निस्कियौँ । 
‘आज यहीँ प्रसाद खाएर जाउँ,’ संयमले भन्यो । मलाई लाग्यो– प्रसाद खाएर पनि पेट अघाउला र ? 
 
हामी दुबै प्रसादका निम्ति लाइन बस्यौ । लाइन बस्दै गर्दा कोही चिनेको मानिस भेटिन्छन् कि भनेर म चारैतिर हेर्न थाले । प्रसादका निम्ति लाइन लागेका कोही चिनेका छन् कि भनेर पनि हेरेँ । एकाध बाहेक चिनेका कमै देखिए । बरु त्यसै क्रममा अघि पूजाहलमा मुस्कुराउने युवतीसँग आँखा जुध्यो । उनी फेरि मुस्कुराईन । यसपटक भने मैले पनि मुस्कान दिएँ । 
 
युवतीको साथमा अन्दाजी ९/१० वर्षको बच्चा छ । रातो कुर्ता सुरुवाल पहिरिएकी र हरियो सल टाउकोमा ओढेकी छिन उनले । लाग्छ यी दुई आमा छोरा हुन् । उनीहरु हामीभन्दा १५ जना जति पछि छन् लाइनमा । 
 
प्रसाद भनेको मिठाइ मात्र होला भन्ठानेको त पुरै खाना नै पो रहेछ । आजको छाक मन्दिरकै प्रसादले टर्ने भयो । सादा, ताजा र शाकाहारी प्रसाद छ । प्लेटमा प्रसाद र हातमा पानीको बोतल लिएर संयम र म अलिकति पर भुईमा बिछ्याएको गलैंचामा बस्यौ । 
 
‘ओहो, मैले छाडेको १० वर्षमा डालसको नेपाली समाज त यति धेरै परिवर्तन पो भैसकेछ,’ मैले भनेँ । मेरो कुरा सुनेर संयम हाँस्यो । उसले भन्यो–‘हेर विवेक, अहिले त जहाँ गएपनि नेपाली नभेटेको, नेपालीको घर नभएको टोल नै छैन डिएफडब्लु एरियामा । डाक्टरदेखि क्लर्कसम्म, ग्याँस स्टेशनमा काम गर्नेदेखि लिएर बैंकका भाइस प्रेसिडेन्टसम्म नेपालीहरु भैसके त यहाँ ।’
 
म डालसमा छँदा मन्दिर बनाउने कुरासम्म समाचारमा सुनेको थिएँ । हुनतः त्यतिखेर म पूर्णकालिन विद्यार्थी भएकोले नेपाली समाजसँग त्यतिविधि नजिक त हुन सकेको थिइन । कहिले बिहानै त कहिले दिउँसो युनिभर्सिटी जानुपथ्र्यो । फुर्सदको समयमा गारल्याण्डको एउटा ग्याँस स्टेशनमा काम गर्न पुग्थेँ म । अहिले यति ठूलो मन्दिर तयार भैसकेछ । डालसमा छाडेकोमा गल्ती गरेछु कि जस्तो महसुस पनि भयो ।
 
‘सुन् त विवेक, तेरा लागि नयाँ कुरा पनि छ । यो मन्दिरलाई तैले भव्य ठानिस् होला । तर अबको चार वर्ष पछि यहाँ आउँदा त झनै भव्य मन्दिर देख्नेछस् । युलेसमा ५० लाख डलरमा भव्य मन्दिर बन्दैछ । बरु तँ पनि अलिकति चन्दा हालेर जा । डलर थुपारेरमात्र के गर्छस् ? कस्का लागि थुपार्छस् अब ? जति भएपनि मृत्यु हुँदा लैजाने त केही होइन । बरु दान गरिस् भने तेरो नामपनि उ त्यहाँ भित्ताको ताम्रपत्रमा जस्तैगरि लेखिनेछ । यसो यस्तो काममा सहयोग गरे न सबैले चिन्ने हुन्,’ संयमले भन्यो । भित्ताको ताम्रपत्रमा मन्दिर बनाउन सहयोग गर्नेहरुको नाम थियो । जहाँ मन्दिर निर्माणमा सहयोग गरेका, तर निधन भैसकेकाको नाम समेत थियो । 
 
संयमले भित्ताको टिभी स्क्रिनमा आइरहेको नयाँ मन्दिरको डिजाइन देखायो । आहा.. मनै हररर हुने । नयाँ मन्दिरको डिजाइन देख्दा मेरा आँखा खुशीले रसाए । मलाई मन्दिरका पदाधिकारीसँग भेटेर खुशी साट्न मन लाग्यो । नयाँ मन्दिरलाई सहयोग गरेर एउटा इँट्टा भएपनि थप्न मन लाग्यो । 
 
मनमा कुराहरु खेलाउँदै गर्दा अघि देखिएकी युवती र उनीसँगको बालक पनि हातमा प्रसादको प्लेट र पानी लिएर हामी भए नजिकै आए । उनले फेरि मसँग आँखा जुधाइन् । उनी फेरि मुसक्क हाँसिन् । मैले हल्का मुस्कुराहट दिएँ ।  
उनले नजिकैको अर्को गलैँचातिर संकेत गर्दै मसँग सोधिन्–‘एनीबडी इज इन राइट दियर ?’
 
मैले मुन्टो हल्लाएर नभएको संकेत दिएँ । उनले छोरातिर हेर्दै भनिन्–‘बेबी सिट अन राइट हियर ।’ दुबै आमा–छोरा हामी नजिकै बसे । 
 
‘मलाई पनि फेरि डालस फर्किउँ जस्तो पो लाग्यो यार यो माहौल देखेर । इण्डियाना पोलिसमा त यस्तो कहाँ हुनु ? चार नेपाली परिवार जम्मा हुन पनि मुस्किल पो छ त त्यहाँ,’ मैले भने । संयमले पनि डालसमा बस्दा नेपालको भूगोलको सम्झना आएपनि चाडपर्व, बाक्लो भेटघाट, सहयोगको आदान प्रदानले गर्दा नेपालको यादै नआउने बतायो । 
 
मैले काम पाएर इण्डियाना पोलिस गएको एक वर्षमात्र भएको छ । जिन्दगीमा धेरै हण्डरहरु खेपियो । युनिभर्सिटीबाट ग्राजुएट भएपछि जागिरका लागि अमेरिकाका सातवटा राज्य चाहारिएछ । अब बाँकी जीवन डालसमा बिताउनुपर्ला भन्ने सोच पैदा भयो ।  
 
प्रसाद लिइसकेपछि कहाँ जाने भन्ने विषयमा हामीबीच छलफल हुन्छ । ‘आज एटीएण्डटी स्टेडियममा काउब्वाईको गेम छ । जाने त ?’ संयमले प्रस्ताव राख्यो । मलाई पनि एटीएण्डटी स्टेडियममा फेरि पस्ने रहर जाग्यो । ‘हुन्छ, जाउँ । धेरैपछि काउब्वाइको गेम रंगशालामै बसेर हेर्न पाउनु पनि मेरा लागि खुशीकै कुरा हो,’ मैले भने ।
 
युवती पनि प्रसाद खाइरहेकी छिन् । उनी बेलाबेलामा छोरालाई पनि चम्चाले ख्वाइदिन्छन् । तर छोरो आफैँ खान अग्रसर देखिन्छ । उनीहरुबीच कुराकानी भएको छैन । हाम्रो कुरामा उनको ध्यान गएको हो कि जस्तो मलाई लाग्छ । 
म र संयम केही बेर मौन भयौ । त्यतिनै खेर मेरो आँखा ती युवतीसँग फेरि जुध्न पुगे । उ फेरि मुस्कुराउँछे । म पनि मुस्कुराएँ । उनले त्यतिनै खेर मलाई सोधिन्– ‘यु आर विवेक राइट ?’
 
म उनको अनुहारमा पुलुक्क हेर्छु । चिनेजस्तो त लाग्दैन । शायद पहिले यतै बस्दा कहिँकतै भेटेको थिएँ कि । म अन्यौलमा पर्छु । मैले सम्हालिँदै जवाफ दिएँ–‘हजुर । मेरो नाम विवेकनै हो ।’ 
 
युवतीले कसरी चिनिन् भन्नेमा म फेरि द्विविधामा पर्छु ‘डालस छाडेको पनि दशक भैसक्यो । यसबीचमा धेरै फेरिइ सकेको छ । मन्दिरमा भएका यत्रा चार पाँचसय नेपालीमा मुस्किलले चारजनालाई मात्र चिनेँ । यी केटी को होली ?’ म मनमनै सोच्छु । चिन्ने प्रयास गर्छु । तर मेरो स्मृतिले पहिल्याउनै सकेन ।
‘तपाई चाँही ? मैले चिन्न सकिन तपाईलाई’ मैले उनीतिर हेरेर प्रश्न गरेँ । 
युवती मुस्कुराई मात्र । जवाफमा उसले भनी–‘आइ कान्ट स्पिक नेपाली ।’
 
म अर्को आश्चर्यमा परेँ । नेपाली बोल्न जान्दिन पो भन्छे त । अघिसम्म चिन्न नसकेर मुस्किल परेको थियो । अब त नेपाली नबोल्ने युवती नेपाली मन्दिरमा देखेर मेरो आश्चर्यले सीमा नाघ्यो । 
 
मैले सामान्य भावमा फर्किने प्रयास गर्दै सोधेँ–‘ओ आइएम सो सरी । यु स्पिक इङ्ग्लीस अर स्पेनिस ?’ 
 
मैले स्पेनिसको कुरा सोध्नुमा कारण थियो । युवती यसो हेर्दा स्पेनिस वर्णकी थिइ । उसको शरिरको बनोट, कपाल सबै हेर्दा यात नेपाली जस्ती थिइ । तर नेपाली बोल्न नजान्ने भएपछि स्पेनिस हुनुपर्छ भन्ने मेरो अनुमान रह्यो । 
‘बोथ । बट आइ थिङ्क यु कान्ट स्पिक स्पेनिस,’ युवतीले मुस्कुराउँदै भनी–‘यु क्यान स्पिक वन्ली इङ्ग्लीस राइट ?’ 
 
मैले सहमति सूचकका रुपमा टाउको हल्लाएँ । 
‘आइएम सिल्भिया । डु यु रिमेम्बर मि ?’ उसले अझ प्रष्टाउँछे–‘अलमोस्ट टुवेल्भ इएर्स बिफोर यु वेर स्टुडेन्ट अफ युटी अार्लिङ्गटन ।’
 
सिल्भियाको नाम सुनेपछि मेरो शरिरमा एकैपटक २२० भोल्टको करेन्टको झड्का लाग्छ । मेरा आँखा चम्किला हुन्छन् । उनको अनुहारमा पनि एकाएक चमक आउँछन् । उनको जवाफसँगै अनुहारमा चमक देखियो । 
 
म अचम्ममा पर्छु । उनलाई हग गर्दै चिच्याउन पुग्छु–‘ओ माई गड, सिल्भिया आर यू ?’ मेरो चिच्याहट सुनेर मन्दिरमा प्रसाद लिन बसेका वरिपरिका सबै मै तिर हेर्छन । उनीहरुले डिस्टर्ब भएको महसुस गर्छन त्यहाँ । 
 
प्रसादको प्लेट ट्रासक्यानमा फालेर हातमा पानीको बोतल बोकेर हामी हलको कुनामा जान्छौँ । सिल्भियाले छोरालाई पनि डोहोर्याउँदै त्यही ल्याउँछिन् । हामी चारैजना पलेँटी कसेर बस्छौँ त्यहाँ । सिल्भियाले झोलाबाट आइप्याड निकालेर छोरालाई दिन्छिन् । उ आइप्याडमा गेम खेल्न थाल्छ । 
 
‘सिल्भिया, तिमी यहाँ कसरी ?’ म भित्रको आश्चर्यलाई चिर्न खोज्दै मैले उनलाई सोधेँ । सिल्भिया केही बेर चुप लागी । उसले आफ्नो ध्यानलाई छोरातिर केन्द्रित गरेर केही सोचे जस्तो गरि । लामो श्वास लिइ उसले । अनि भनि–‘विवेक, लामो कहानी छ । यो १२ वर्षमा मैले जीवन र जगतलाई, सुख र दुःखलाई नजिकबाट अनुभव गर्ने मौका पाएँ ।’ 
 
त्यति भनेर उ फेरि चुप लागी । 
आधा मिनेटसम्म मौन भएपछि उसले फेरि भनि–‘मैले त डालस छाड्न सकिन । मेरा लागि यो (छोरा तिर देखाउँदै) बन्धन जस्तो भइदियो । बरु तिमी कहाँ थियौ यतिका वर्ष ? मैले कम्ति खोजिन तिम्लाई ? तिम्ले फोन नम्बर पनि फेरेछौ विवेक ।’
मैले पनि आफ्नो कुरा उसलाई भने–‘हो । म पनि धेरै ठाउँमा चाहारे सिल्भिया । एक वर्षदेखि इण्डियानामा छु । डालस पछिका १० वर्ष कहिले क्यालिफोर्निया त कहिले कनेक्टिकट, कहिले सियाटल, कहिले फ्लोरिडा गर्दैमा बित्यो । मिचिगनबाट ग्राजुएट भएपछि त्यही काम गरेर पनि बसेँ एक वर्ष । अहिले इण्डियाना पोलिसमा छु । डालसमा यो भाईलाई भेट्न भनेर आएको हुँ अहिले ।’ 
 
उ थोरै बोल्थी । तर धेरैबेर सोच्दैछे । मलाई लाग्यो–उ भित्र धेरै कुराहरु छन् । जो सितिमिति फुकाउन चाहन्न । मैले पनि खुलेर सोध्न सक्ने अवस्था रहेन । किनकी अमेरिकामा प्राइभेसीको ठूलो महत्व हुन्छ । कसैले पनि कसैलाई उसका व्यक्तिगत कुराहरु सोध्न पनि मिल्दैन । बताउँदिन भन्न पाइन्छ । 
 
मैले सोधे–‘यो बच्चा तिम्रै हो कि कोही आफन्तको ?’
‘मेरै हो,’ उसले जवाफ दिइ । 
‘यसको अनुहार हेर त कस्को जस्तो छ ?’ उसले प्रश्न पो गरि । 
मैले कसरी अनुहार हेरेर बच्चाको बाउ पत्ता लगाउनु ? मैले अनुमान गर्न सकिन । 
‘यो श्रवणको रगत हो । उसैको नासो हो यो,’ सिल्भियाले भनी । 
 
उसको जवाफ सुनेर म छाँगाबाट झरेजस्तो भएँ । म एकै पटक १२ वर्ष अघि युनिभर्सिटी अफ टेक्सस, (युटी) आर्लिङ्गटनमा पढ्दाको समयमा पुगेँ । जतिखेर म मेकानिकल इन्जिनियरिङको विद्यार्थी थिएँ भने श्रवण र सिल्भिया कम्प्युटर साइन्सको । हामीहरुको विषय फरक भएपनि अण्डरग्राजुएट लेबलमा हुँदा हामीहरुको क्लास कतिपय मिल्थ्यो । हामीहरु अमेरिकाभन्दा बाहिरको देशबाट हाइस्कुल ग्राजुएट भएर आएको हुँदा अंग्रेजी भाषाको कक्षा लिनैपर्थ्यो । त्यही क्रममा सिल्भिया र मेरो चिनजान भएको थियो । श्रवणसँग पनि त्यही बेला परिचय भएको थियो । उ पोखराको र म सुर्खेतको । सिल्भिया भने दक्षिण अमेरिकी मुलुक बोलिभियाकी थिइ । श्रवण र मेरो अपार्टमेन्ट पनि नजिकै थियो । त्यस्तै हिँडेर ५ मिनेटकै दुरीमा थियो आर्लिङ्गटनमा । 
 
श्रवणको नासो भनेर सिल्भियाले भनेको सुन्दा मेरो आश्चर्यको सिमानै रहेन । म टेक्ससबाट स्कलरशीप पाएर मिचिगन गएको दुई वर्ष पछि श्रवण कार एक्सिडेन्टमा परेर बितेको खबर पाएको थिएँ मैले । त्यतिखेर उसको शव नेपाल पठाउनका लागि भनेर खोलिएको गोफण्डमा मैले पनि श्रद्धाञ्जली सहित दुइसय डलर हालिदिएको थिएँ । 
‘श्रवणको त ८ वर्ष अघिनै निधन भएको होइन र ? के भन्दैछौ तिमी सिल्भिया ?’
‘हो विवेक । उसको ८ वर्ष अघि कार एक्सिडेन्टमा निधन हुँदा यो मेरो गर्भमा थियो । उ बितेको तेस्रो महिनामा मैले यसलाई बेलर हस्पिटलमा जन्म दिएँ । यो उसैको विर्य हो विवेक, साइन्सले पनि पुष्टी गरिसकेको छ,’ सिल्भियाले भनी ।
 
हामी बसेछेउ अरु बच्चाहरु पनि सल्बलाउन थाले । हल्ला हुन थाल्यो । ४०/५० जना बच्चाहरु कोही किताब बोक्दै त कोही हातमा पेन्सिल बोक्दै त्यहाँ जम्मा भए । सिल्भियाको छोराले पनि खेलिरहेको आइप्याड ल्याएर उसलाई दियो । 
‘बेबी, गो योर क्लास । आइविल व्याक फोर ओ क्लक,’ सिल्भियाले छोरातिर हेरेर भनि । उ ‘बाई.. गर्दै एउटा कोठाभित्र पस्यो । 
 
सिल्भियाले सोधी–‘तिमीसँग कति समय छ ? फुर्सद छ भने स्टारबक्समा गएर कफी पिउँदै कुरा गरौँ ।’
मैले अस्विकार गर्ने कुरै थिएन । सिल्भियालाई त्यहाँ त्यो पनि बच्चा सहित देख्दा आश्चर्यमा परेको मैले उसका भोगाईका बारेमा जान्ने उसै उत्सुकता रह्यो । त्यसमाथि मसँग ‘हार्ड एण्ड फास्ट’ गर्नुपर्ने कुनै काम थिएन । एकातिर आइतबार थियो भने अर्कातिर भ्याकेसन मनाउन आएको ।
 
-०-
 
हामी अर्भिङको हाइवे १८३ उत्तरको स्टारबक्समा आइपुग्यौँ । अक्टोबर महिना भएकोले डालसको मौसम न गर्मी, नत जाडो नै । हामी तीनजना बाहिरनै छाता भएको एउटा टेबलमा बस्ने निधो गर्यौ । 
‘के पिउँछ्यौ तिमी ?’ मैले उनलाई सोधे । 
‘सिनामन सर्टब्रेड लाटे । यसमा चियाको स्वाद आउँछ,’ उनले भनिन् । 
हामी दुईले भने क्याफे अमेरिकानो अर्डर गर्यौं । 
 
झण्डै १० वर्षपछि सिल्भियासँग मेरो भेट भएको छ । पहिलेभन्दा उनको शरिरको अायतन बढेछ । त्यतिखेरको चञ्चलेपन हराएर अहिले अलिकति गंभीरपना छ । हाँस्दा गालामा देखिने डिम्पल भने उस्तैनै छ ।
‘मलाई त यो डालसले छाड्नै दिएन त । कति प्रयास गरेँ, तर हार खाएँ । अहिले त यो भन्दा अन्त जानै मन लाग्दैन,’ उनले कुराको सुरुवात गरिन । 
यो १० वर्षमा के के भयो होला उनको जीवनमा ? मलाई असाध्यै कौतुहलता जागिरहेको थियो । म यहाँबाट स्कलरशीप पाएर मिचिगन युनिभर्सिटी गएपछि ४/५ पटक श्रवणसँग कुराकानी भएको थियो । तर पछि हामीबीच सम्बन्ध निकै पातलो हुन थालेको थियो । सिल्भियासँग त यहाँ हुँदा जति निकटता भयो, उता गएपछि त्यो पुरै टुटेको थियो । 
‘सिल्भिया ल भन के भन्न यहाँ ल्याएकी ?’ मैले भने ।
 
सिनामन लाटेको चुस्की तानी उसले । केहीबेर मौन बसी उ । टाउको घुमाएर दायाँबायाँ हेरी उसले ।
‘विवेक, मैले भनेँ नि जिन्दगीमा निकै लामो अनुभव मैले सँगाल्ने मौका पाएँ । कम्प्युटर साइन्स पढ्न भनेर बोलिभियाबाट आएकी म । मेरा बाबा–ममीले ठूलो आशा र भरोसा गरेर पठाउनु भएको मलाई । मेरा बाबा त्यहाँको मन्त्रालयमा उच्चस्तरकै कर्मचारी हुनुहुन्थ्यो । ममी शिक्षिका हुनुहुन्थ्यो । अहिले त ती सबै कुरा सम्झिँदा पनि अत्याश लागेर आउँछ,’ उ भन्दैगइ । म र संयम उसका कुरा सुन्दै छौँ । 
 
‘तिमी यहाँबाट मुभ हुनुभन्दा अघिसम्म श्रवणसँग मेरो सम्बन्ध सामान्यनै थियो । जब अण्डरग्राजुएट सकियो र हामी मुल विषय कम्प्युटर साइन्स पढ्न थाल्यौँ । त्यसपछि श्रवणसँग मेरो सम्बन्ध अलि निकट हुनपुग्यो । म ग्राण्डपेरी बस्थेँ । श्रवणलेनै मलाई अर्लिङगटन सर्न भन्यो । हामी रुममेट भयौं । त्यो सिङ्गल बेडरुमको अपार्टमेन्टमा श्रवण र म मात्र भयौँ । एक हिसाबले हामी लिभिङ टुगेदरमा बदलियौँ । 
उ पनि अविवाहित र म पनि । सँगै बसेपछि स्वभाविक रुपमा हामीबीच संबन्धहरु हुन थाले । जस्तो लोग्ने–स्वास्नीबीच हुन्छ,’ उसले भनि ।
 
मलाई उनीहरु लिभिङ टुगेदर बसेको जानकारीनै थिएन । मिचिगनबाट बेलाबखतमा श्रवणसँग फोनमा कुराकानी हुँदा पनि उसले यसबारे नत मलाई भन्यो, नत मैले सोधेकै थिएँ । 
 
‘लिभिङ टुगेदर भएर बसेको नत मेरो परिवारलाईनै जानकारी थियो, नत श्रवणको परिवारलाई । हामी पढाईमै व्यस्त थियौं । म काम गर्दैनथेँ । तर श्रवण भने पकेट मनी हुन्छ भन्दै हप्तामा ५० घण्टाजति एउटा ग्याँस स्टेशनमा काम गथ्र्यो । उसले नेपालबाट पैसा कमै मगाउँथ्यो । आफ्नो खुट्टामा आफैं उभिनुपर्छ, बाबा–ममीलाई कति दुःख दिनु भन्थ्यो उ । हरेक बिहान उठेर पहिले आमालाई फोन गथ्र्यो उ । ढोग गरेँ भन्थ्यो । बाबालाई पनि फोन गरेर दर्शन गथ्र्यो । दुःख नगर्नुहोला । पसलमा काम गर्ने मान्छे राख्नुस्, आफैँ दुःख नगर्नुस् भन्थ्यो । 
 
बिहान सबैभन्दा पहिले उही ब्युँझिन्थ्यो र दुध हालेको चिया बनाउँथ्यो । उसैले मलाई चियामा पल्काएको हो । मलाई उसको बानी, व्यहोरा साह्रै मन पर्थ्यो मलाई । उसैले हो मलाई पहिलो पल्ट नेपाली ममको स्वाद चखाएको । त्यसदिन यता म जतिपनि नेपाली रेष्टुरेन्ट जान्छु, मेरो पहिलो रोजाईनै मम हुन्छ ।
 
म कतिसम्म भएँ भने श्रवण बेगर मेरो जीवननै सोच्न छाडेँ । मैले बोलिभिया भुलेँ । म आउनुभन्दा अघि बोलिभियामै एउटा युवकसँग प्रेम थियो । तर श्रवणसँग नजिक हुन थालेपछि मैले उसलाई सरी भनेर बिदा भएँ । अब मेरा लागि श्रवणभन्दा अर्को सोच्नै छाडेँ । उसले पनि मलाई अतिनै मायाँ गर्थ्यो । 
 
थाहा छ तिमीलाई विवेक ? एकपटक म शपिङमा जाँदा बिफ ल्याएको थिएँ । मलाई त्यतिन्जेलसम्म हिन्दुले बिफ खाँदैनन् भन्ने थाहा थिएन । तरपनि उसले कुनै घृणाा गरेन । बरु तिमी पकाएर खाउँ, म तरकारीसँगै खाना खाउँला भन्यो । एउटै किचनमा बिफ पकाएर खाएकोमा उसले कुनै नत गुनासो गर्यो, नत आपत्तिनै जनायो । उसका यी र यस्तै बानीले म निकै आकर्षित भएँ । हुनत उसको शरिर पनि साह्रै सुन्दर थियो । हामी दुबैजना अपार्टमेन्टबाट हिँडेर युनिभर्सिटीसम्म पुग्दा धेरै युवतीहरुले आँखा लगाएर हेरेको मैले धेरै पटक महसुस गरेको छु,’ उ विगतको कहानी भन्दैथिइ । 
म चाँही उसको कुरा सुन्दै बीचबीचमा ‘अँ.., त्यसपछि...’ भन्दै जोड्दै थिएँ ।
‘जब ग्राजुएट हुने दिन नजिकिँदै थियो । मेरो गर्भमा बच्चा बसेको पत्तो भयो । मैले उसलाई यो कुरा सुनाएँ । उसले खुशी व्यक्त गर्दै मलाई म्वाई खायो । बोक्यो । उ अति खुशी भयो । तर म भने अन्यौलमा । 
 
बाबा–ममीलाई यो कुरा कसरी सुनाउने ? भन्नेमा म अन्यौलमा थिएँ । हाम्रो कल्चरमा यस्ता कुरा सामान्यनै हुन् । तरपनि बाबा–ममीले म बोलिभियानै फर्किएर देशका लागि केही गर्छे भन्ने आशा लिनुभएको थियो । मैले उहाँहरुलाई पनि यो कुरा सुनाइन । 
 
ग्राजुएट हुने बेलामा उसका बाबा–ममी आउन नसक्नु भएको हो या त्यस्तै केही परेको थियो । भिसा नपाएको हो कि जस्तो पनि लागेको छ मलाई । मैले चाँही मेरो गर्भ देखेर बाबा–ममीले के भन्नुहोला भन्ने डरले बोलाइन ।
 
हाम्रो ग्राजुएसन भव्य रुपमा भयो । ग्राजुएसन भन्दा अघिनै हामी दुबैले अोपिटीमा अलग अलग कम्पनीमा काम गर्न सुरु गरिसकेका थियौँ । हामी त्यसपछि अर्भिङको लसकोलिनासमा सर्यौँ । उसका नेपाली साथीहरु ज्यादै कम थिए । मेरो जानकारीमा सँगै युनिभर्सिटी पढ्ने ३/४ जना नेपालीहरुसँग थोरै आवत आवत थियो उसको । तर ग्राजुएट भएपछि उनीहरु पनि काम पाएर अरुनै स्टेट मुभ भए । नेपाली समुदायका केही अग्रजहरुसँग उसको चिनजान थियो ।
 
 तर निकै पातलो । उ नेपाली नयाँवर्ष, दशैँको बेलामा हुने कार्यक्रममा जान्थ्यो । मलाई पनि लिएर जान्थ्यो । मलाई सबैभन्दा मन पर्ने चाँही होली । पुरै रंगीविरंगी भएर रंग दल्दा त कसैले कसैलाई पनि नचिन्ने । 
 
मेरो पेटमा बच्चा पसेको छैठौं महिना थियो । उ कामकै सिलसिलामा फोर्टवर्थ गएको थियो । फर्कदा हाइवे १२१ मा उसले चलाएको गाडी दुर्घटना पर्यो । गाडीले छेउको डिभाइडरमा ठोकिएपछि उछिट्टिएर अर्को साइडमा पुगेछ । स्पटडेथ भयो उसको,’ उसका आँखामा आँशु टिल्पिलाए । उ केहीबेर मौन भई । 
 
‘त्यसपछि मेरा लागि अब यहाँ आफ्नो भन्ने कोही भएनन् विवेक । त्यतिखेरनै हो मैले तिमीलाई धेरै सम्झिएको । फोन गरेँ, फोन नम्बर प्रयोगमा छैन भन्ने मेसेज आयो । सँगै ग्राजुएट भएका साथीहरुलाई फोन गरेँ । उनीहरुले पनि सहानुभूति र समवेदना भन्दा केही भन्न सकेनन् । मेरा लागि सबै अन्धकारमा परिणत भयो ।
 
यहीको नेपाली समुदायकै सकृयतामा उसको शव नेपाल पठाइयो । म उसकी पत्नी हुँ भन्ने कुनै वैधानिक आधार थिएन । मैले नेपाली समुदायका केही सिनियरहरुलाई यो कुरा गरेँ । उनीहरुले नेपालमा भएका श्रवणका बा–आमालाई भनेछन् । उहाँहरु थप मर्माहत हुनुभयो भन्ने खबर पो पाएँ मैले । नेपाली समुदायका अगुवाहरुले पछि सहयोग गर्छौ त भन्नुभयो । त्यो पछि म आफैंले त्यतातिर खासै लागिन ।
 
मैले बच्चालाई जन्म दिने दिन नजिक आयो । बोलिभियाबाट ममीलाई बोलाउने निधो गरेँ । त्यतिखेरसम्म ममी पनि रिटायर भैसक्नुभएको थियो टिचरबाट । 
 
बेलर हस्पिटलमा छोरा जन्मिदा मलाई खुशी र आँशु दुबै प्राप्त भएको थियो । ममीले एक वर्षसम्म यही बसेर छोरालाई हुर्काउन निकै ठूलो मद्धत गर्नुभयो । 
 
सँगै ग्राजुएट भएको श्रवणको साथी लसभेगासमा काम गर्थ्यो । उसले एकपटक फोन गरेर नयाँ खबर सुनायो । श्रवणकी बहिनी पनि डिभी परेर अमेरिका आएकी छिन् । नर्थ क्यारोलाइनामा बस्छिन् भनेर उसले नम्बर पनि दियो । 
मैले बहिनीलाई एउटा सप्ताहन्त मिलाएर फोन गरेँ । उनलाई श्रवणसँग लिभिङ टुगेदर बस्दा देखि बच्चा पैदा हुँदासम्मका सबै कुरा बताएँ । उनी अचम्ममा परिन् । हुनतः उनले श्रवणको निधन हुँदा यहाँबाट नेपाली समुदायका अगुवाहरुले खबर गर्दानै यो हल्का जानकारी पाएकी रहिछन् । तर झण्डै झण्डै भुलेकी रहिछन् । मैले उनलाई डालस आउन आग्रह गरेँ । तर उनी मानिनन् । केही महिना पछि बाबुलाई च्यापेर नर्थक्यारोलाइना पुगेँ ।
 
काटीकुटी उनकै दाजुकै अनुहारको बच्चा थियो । बहिनीकै आग्रहमा डिएनए टेस्ट भयो । उनीहरुको परिवारसँग बच्चाको डिएनए मिल्यो । उनी ढुक्क भइन् आफ्नै दाजुको रगत हो भन्नेमा । उनले बाबा–ममीसँग फोनमा कुराकानी पनि गरिन् । तर उताबाट के जात, कुन देशकी, भाषा पनि नमिल्नेलाई हामी कसरी बुहारी भन्नु ? छोरा नभएपछि अब कस्को, कस्को रगतलाई हामी नाती भनेर सम्हाल्न सक्दैनौँ भन्ने जवाफ आयो । बहिनीले पनि बा अामालाइ सम्झाउन सकिनन् । 
 
विवेक, म असाध्यै मर्माहत भएँ । बहिनीले नआत्तिन आग्रह त गरिन् । तर मेरो मनले मानेन । त्यतिखेरबाटै हो मैले हिन्दु धर्म, संस्कृति, तिमीहरुको संस्कारका बारेमा खोजेर पढ्न थालेको । किनकी मलाई जान्नु थियो, बुझ्नु थियो तिमीहरुको कल्चर,’ उनले भनिन् । 
 
‘तिमीहरुको कल्चरमा छोरा हुर्किएपछि बाउ–आमालाई पालन पोषण गर्ने, तिर्थयात्रा गराउने, गुरुलाई सम्मान गर्ने, देवीदेउताका मन्दिर जाने भन्ने कुरा रहेछ । मैले धेरै पढेँ । ममी फर्किएपछि मैले बाबुलाई डे–केयरमा राखेर काम गरेँ । फुर्सदको समयमा हिन्दु धर्मग्रन्थका धेरै कुराहरु पढेँ मैले । मेरो मनमा ठूलो ठेस लाग्यो श्रवणका बाबा–ममीका कुराले । म चर्च छाडेर डिएफडब्लु हिन्दू मन्दिर धाउन थालेँ ।
 
दुई वर्ष अघि नर्थक्यारोलाइनाबाट बहिनीले फोन गरिन् । उनले नराम्रो खबर सुनाइन् । नेपालमा भएको श्रवणको एउटै भाई पनि बेगनास तालमा डुबेर बितेको कुरा उनले सुनाइन् । श्रवणका भाईको बिहेको कुरा लगभग छिनिसकेको रहेछ । दुइवटा छोराहरू मध्य एउटा अमेरिकामा गाडी दुर्घटनामा र अर्को घर नजिकैको तालमा डुबेर बितेपछि बाबा–आमा दुबै अर्धपागल जस्तै हुनुभएको कुरा उनले भनिन् । उनी नेपाल जाने तयारीमा रहिछन् । 
 
मलाई पनि त्यो कुराले नमिठो अनुभव गरायो । हुनतः श्रवणको भाईसँग नत मेरो भेटघाटै भएको थियो, नत कुराकानीनै । तरपनि किन किन आफ्नै मानिस बितेको महसुस भयो । मसँगै अफिसमा काम गर्ने एकजना नेपाली दिदी हुनुहुन्छ । उहाँलाई सोधेँ मृत्यु संस्कारमा परिवारले गर्ने कामहरुका बारेमा । उनैले खानेकुरामा नुन नराख्ने चलन रहेको बताइन् । मैले त्यही दिन हो पहिलो पटक हिन्दु संस्कार अनुसार नुन बारेको । तीन दिनसम्म मैले सादा खाना खाएँ नुन नहाली । 
 
बहिनी नेपालबाट आएपछि हाम्रो कुराकानी बाक्लो हुन थालेको छ । बाबा–ममी अमेरिका आउने विचारमा हुनुभएको खबर उनैले सुनाइन् । आफ्नो नाती हो भन्ने कुरामा बहिनीले कन्भिन्स गरेपछि उनीहरु अलि सकारात्मक छन् भन्ने कुरा पनि उनीबाट अहिले जानकारी पाएको छु ।
 
बहिनीलेनै एकपटक कन्फरेन्स कलमा नेपालमा बाबा–ममीसँग जोडेकी थिइन् । तर नत मैले, नत बाबुले नेपाली बोल्न र बुझन् सक्ने भएकोले आफ्नो कुरा राख्नै सकेनौ हामी दुबैले ।
 
विवेक मलाई अर्को केटासँग बिहे गर्ने अब खासै रहर छैन । श्रवणको यो नासोलाई हुर्काउने मेरो दायित्व छ । तिमीहरुको संस्कार साह्रै धनी रहेछ । बुढेशकालमा बाबा–आमालाई सिनियर होममा लगेर राखिदिने परिपाटी मलाई फिटिक्कै मन पर्दैन । त्यही भएर मलाई बुढेशकालमा छोराले हेरोस्, आफ्नो हजुरबा–हजुरआमासँग उहाँहरुकै भाषामा कुराकानी गर्न सकोस् भनेर अर्भिङको नेपाली मन्दिर तयार भएदेखिनै निरन्तर म मन्दिरमा गइरहेको छु । यो मन्दिर बन्नु अघि इण्डियनहरुको मन्दिर पनि जाने गरेको थिएँ । मैले चर्च जान छाडेको त धेरै नै भइसक्यो । 
 
मन्दिर जानुको मेरो उद्वेश्य श्रवण यो संसारमा नभएपनि उसको अंशले हिन्दु संस्कार सिकोस्, नैतिक शिक्षा बुझोस् र नेपालीमा आफ्ना हजुरबा–हजुरआमासँग कुराकानी गरेर उहाँहरुको छोराको न्यास्रो मेटिदेओस् भन्ने मात्र छ विवेक । हुनतः श्रवणले यो संसार छाडेको पनि ८ वर्ष भैसक्यो । तरपनि मलाई मन्दिरमा पुग्दा कताकता यही सेरोफेरोमा उसको आत्मा छ र मलाई छोरा सहित त्यहाँ पुगेकोमा धन्यवाद भनिरहेको जस्तो महसुस हुन्छ । त्यसैले हरेक हप्ता म मन्दिरमा पुग्छु । त्यहाँको पूजा आरतीमा सहभागी हुन्छु । नेपाली थोरै त बुझ्छु । मेरा लागि भावना ठूलो कुरा हो, भाषा ठूलो समस्या रहेन । 
 
मन्दिरको स्कुलमा जान थालेपछि बाबुले पनि नेपाली बोल्न थालेको छ । नेपालमा कुराकानी हुँदा अलिअलि कुराकानी गर्नसक्छ । तर मै सक्दिन । यो उमेरमा आएर नेपाली सिक्न पनि गाह्रै हुने रहेछ । 
 
आएदेखि दुई वर्ष अघि एकपटक बोलिभिया पुगेँ बाबुलाई समेत लिएर । अब मेरो बाँकी जीवन यतै बित्ला जस्तो छ विवेक । बरु तिम्रो के छ सुनाउ न ?’ सिल्भियाको भनाईले म झल्याँस्स हुन पुगेँ । 
 
ओहा निकै ठूलो कहानी पो भैसकेछ । कताकता फिल्मको कथाजस्तै लाग्यो । सिल्भियाको कुरा सुन्दा फिल्म हेरेजस्तो पो भयो मलाई । 
 
कफी सेलाइसकेछ । सेलाएको भएपनि कफीको चुस्की लिएँ । ‘निकै ठूलो पीडा भोगिछौ सिल्भिया । बडो दुःख लाग्यो । तिम्रो भावना र त्याग सुन्दा अनि मन्दिरमा नियमित जाने कुराले तिमीप्रति मेरो सम्मान निकै बढेको छ सिल्भिया,’ मैले भने–‘अब के गर्छ्यैा त ? फेरि बिहे गर्ने हो त ?’
‘यी कुरा छाडिदेउ विवेक । बिहे भन्ने कुरा मेरो जीवनमा लेखेजस्तो लाग्दैन । बिहेनै नगरि सन्तान पैदा गरियो, सबै कुरा भोगियो । अब के का लागि बिहे गर्नु र ?’ उनले बडो सटीक जवाफ दिइन् ।
मलाई भने उनीजस्तै सहयात्रीको आवश्यकता थियो । भगवानले जुराइदिन लागेका छन् कि जस्तो लाग्न थाल्यो । म सोच्न थालेँ । 
‘अनि तिमीले बिहे गरेका छैनौ त ? किन एक्लै आएको ?’ उनको प्रश्नले म सोचाईको सागरबाट बाहिरिएँ ।
 
‘सिल्भिया, मैले पनि भोगाईको ठूलो महासागर पार गरिसकेको छु । मात्र तिमीसँग यतिखेर बच्चा छ, मसँग छैन । फरक त्यति हो,’ मैले भनेँ ।
उनले चियाको एक सुर्की तानिन् । म प्रति निकै जिज्ञासुभावमा उनले हेरिन् । 
 
मैले मिचिगनमा पढाई सकेर ग्राजुएट भएर क्यालिफोर्निया गएको देखि लिएर त्यहाँ परिवारसँग बस्दै आएकी नेपाली युवतीसँग बिहे भएर पनि अहिले सम्बन्ध विच्छेद भएको कुरा उनलाई सुनाएँ । 
‘हामीबीच सम्बन्ध विच्छेदको कारण मै नै थिएँ सिल्भिया । उनको गल्ती थिएन । उमेर पुगेपछि उनले बच्चाको रहर गरिन् । ६ वर्षसम्म उनी पर्खिएकै हुन् । हामीले लागे संभव प्रयास पनि गरेकै हौँ । तर जब डाक्टरले मसँग सन्तान उत्पादनको क्षमता छैन भनेर भनिदिए पछि हामी सहमतिमै अलग भएका हौँ,’ मेरो भनाईले उनी आश्चर्यमा परिन् । 
‘तिमीमा सन्तान उत्पादन क्षमता छैन रे ?’ उनले सोधिन् ।
 
‘हो, सिल्भिया । डाक्टरलेनै मेरो सन्तान उत्पादन क्षमता छैन भनेर प्रमाणित गरिदिएका छन् । अलीगस्मरमिया नाम गरेको समस्या छ रे मलाई । यो भनेको थोरै शुक्रकिटमात्र उत्पादन हुन्छन् । त्यो पनि सकृय नहुने खालको रहेछ,’ मैले भने ।
 
‘टेस्टट्युब बेबी पनि त जन्माउन मिल्थ्यो । तिमीले पत्नीलाई भनेनौ यो कुरा ?’ उनले जिज्ञासा राखिन् ।
तर उनी मेरै विर्यलाई आफ्नो गर्भमा नौ महिनासम्म राखेर बच्चा पैदा गर्न चाहन्थिन् । त्यो चाहना पुरा नभएपछि दुई साता अघिमात्र हामीले औपचारिक रुपमा सम्बन्ध बिच्छेद गर्यौँ । त्यही पीडा भुल्नका लागि म यहाँ घुम्न आएको कुरा उनलाई बताए । 
 
सिल्भिया पनि मेरो अवस्था देखेर दुःखीत भइन् । 
हामी स्टारबक्समा बसेको पनि झण्डै तीनघण्टा हुन लागिसकेछ । उनले हातमा लगाएको एप्पलवाचमा आँखा पुर्याएपछि समय भैसकेको मैले पत्तो पाएँ । 
‘ल जाउँ फेरि मन्दिर । मेरो बाबुको स्कुल छुट्ने समय भयो,’ उनले भनिन् । हामी उठेर निस्कियौँ त्यहाँबाट ।
मन्दिरमा आइपुग्दा उनको छोरा कुरिरहेको रहेछ । 
 
‘ममी आउनुभयो, ममी आउनुभयो..’ सिल्भियाको छोरा अँगालो हाल्न आइपुग्यो । सिल्भियाको छोराले आज पनि थुप्रै नेपाली शव्दहरु सिकेछ । जे सिकेको थियो त्यही शव्द भन्दै थियो ।
‘विवेक, हाम्रा उस्तै पीडा छन् । तिम्रो बच्चा नहुने, मलाई थप बच्चा नचाहिने । हेर्दै जाउँ पृथ्वी गोलो छ, संभावना हरेक कोण बाँकीनै छ । बरु भोली बिहान तिमी म कहाँ ब्रेकफास्ट गर्न आउ है,’ गाडी स्टार्ट गर्दै सिल्भियाले भनि । 
‘तिम्रो एड्रेस ?’ मैले सोधेँ ।
 
‘तिम्रो मेसेन्जरमा आइसक्यो’ यति भन्दा नभन्दै उसको गाडी मन्दिरको हाताबाट निस्केर स्टप साइनतिर पुगिसकेको छ । ‘तिम्रो बच्चा नहुने, मलाई थप बच्चा नचाहिने’ उसको शव्दले म भित्र सिल्भिया प्रति नजानिदो आशा जगाएको छ ।