मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्

कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्


वीरगञ्ज (रासस) । इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने संकेतले उनको जीउ सिरिङ्ग हुन्छ र मनभित्र भय, त्रासका कारण शंकाउपशंका उब्जन थाल्छ । 
 
‘आइतबार साँझ सुरूमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलीला देखाएर श्रीमती, बुहारी र दुई नातिको ज्यान लिएर गएपछि फेरि मौसममा परिवर्तन देख्दा आइतबारको कहालीलाग्दो रातले भयभित छु’, ६५ वर्षीय पीडित इजहार मियाँले रासससँग आफ्नो पीडा पोखे ।
 
 ‘ठूलो आवाज र गर्जनसहित आएको सो दुईवटा चक्रवात आफ्नो घर अगाडि एकआपसमा जुधे । त्यसको अगाडि जेप¥यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात’, फेटा गाउँपालिका–६ पूरैनियाका लैस मियाँ आइतबार साँझको विनाशलीला सम्झँदै भन्छन्, ‘त्यो चक्रवातमा आगोजस्तो देखिने उल्काजस्तो थियो ।’ तीन सय मिटरजति चौडाइको चक्रवात घुम्ने क्रममा भलुही, भरवलीयामा दोहोरिएर आएपछि यसले ठूलो विनाश गरेर गयो । 
 
यो भयंकर चक्रवातले पर्सा, बारा जिल्लाको खुटवा, जब्दी, भलुही, पूरैनिया, धर्मनगर, फुलवरिया, हर्दिया, तेलगाई, परशुरामपुर, धर्मपुरलगायतका ठाउँमा व्यापकरुपमा धनजनको क्षति गरेको छ । अहिले कालो बादल लागेकाले आइतबार आएका अनिष्टजस्तै फेरि त्यो अनिष्ट दोहोरिन्छ कि भने डरले सताइरहेको छ पीडित फैजुलहक भन्छन्, ‘मैले आफ्नो श्रीमती मुस्तकीमा खातुनसहित बुहारी बिबिया खातुनलाई समेत गुमाएकाले मौसममा एकाएक खराबी आएपछि डरत्रास लागेको छ ।’ 
 
हुनत संघीय सरकारले हावाहुरीबाट घरबारविहीनलाई ओत लाग्न पूरैनिया र भरवलीयामा नेपाली सेनामार्फत् रात गुजार्नका लागि त्रिपाल बनाइदिएको छ, फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले राससलाई भने, ‘बादल लागेको छ, मेघ गर्जिदैछन् यदि पानी प¥यो भने गाउँनै डुबानमा परी पीडित थप पीडामा पर्ने देखिन्छन् ।’ उनले एकपटक पानीमात्र प¥यो भने महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित हुने बताए । उनले भने, ‘आइतबार साँझ दुई÷तीन मिनेटका लागि आएको अलच्छिने बतासले व्यापक धनजनको क्षति गरेको अवस्थामा फेरि यस्तो विपद् आयो भने पीडितलाई पीडामात्र थपिने छ ।’ 
 
बनाएको घरले त वर्षा र हावाहुरीबाट जोगिन सकेन भने पीडितका लागि सेनाले बनाइदिएको अस्थायी टहरा त्रिपालले फेरि आउने हावाहुरी र वर्षालाई कसरी रोकन सकिन्छ, आफ्नै घरको पिलरले किचिएर ज्यान गुमाएको बुबा हरिनारायणको किरियामा बसेका फेटा गाउँपालिका–१ भलुहीका राजेन्द्र दासको पीडा छ । घर आएका आफन्त त्रिपालमुनि आश्रय लिएका छन् तर मौसम बिग्रिदै गएकाले फेरि हावाहुरी आउँदा अनिष्ट हुने चिन्ताले उनीहरुलाई सताइरहेको छ । 
 
बिहीबार बसेको संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले बारा पर्साको हावाहुरीबाट प्रभावितको घर सेनामार्फत बनाउने निर्णय गरेकाले वर्षायाम सुरू हुनुअघि नै पीडितका लागि घर बनाउनुपर्ने माग जनप्रतिनिधिहरुको छ । 
 
गरिबहरुका पनि आ–आफ्नै मीठो सपना हुन्छन् । यही सपना सङ्गालेर आफ्नै आङ्गनमा वैशाखतिर छोरीको विवाह गर्ने सपना लिएर बसेका कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका वीरबहादुर साह कानुको त्यो सपना आइतबार साँझ आएका हावाहुरीले उडाएर लगेको छ । निर्धन उत्थान लघुवित्त संस्था कलैयाबाट रु दुई लाख ऋण लिएर छोरीको विवाहका लागि भनेर डेढ तोला सुनको टीका, नाकको फुली, नथिया राखेको थियो तर हावाहुरीसँगै घर भत्किँदा उनको सपना त्यही भग्नावशेषमा पुरिन गयो ।
 
घर भत्किएपछि को भग्नावशेषमा वीरबहादुरले माटो हटाएर खोजी रहेको खुशी अझसम्म भेटिएका छैनन् । हावाहुरीले भत्किएको घरको भग्नावशेषभित्र गरगहना खोजी रहेको अवस्थामा त्यहाँ पुगेका राससकर्मीसँग वीरबहादुरले भने, ‘खुला आकाशमुनि त्रिपालमा रात बिताइरहेका छौँ तर आकाशतिर हेर्दा कालो बादल छाएको छ । अलिअलि हावाहुरी पनि चलेको छ यदि बेगले हावाहुरी आयो र पानी प¥र्यो भने खोजीरहेको खुशी भने भेटदिन होला ।’ 
 
त्यो विनाशकारी हावाहुरीबाट बारा पर्सा गरी २७ जनाको मृत्यु भएको, ६७६ जना घाइते भएको र एक हजार ८९५ घरमा क्षति पुगेको स्थानीय प्रसाशनले जनाएको छ । हावाहुरीबाट ज्यान गुमाएका तथा  घरबारविहीन परिवारलाई चाँडै स्थायी बसोवासको व्यवस्था गर्नुपर्ने पीडितहरुको माग छ । 
 
जसरी पहाडमा आएको विनाशकारी भूकम्पले पु¥याएको क्षति र पीडामा तराईले मलम लगाएका थिए, त्यसैगरी विपद्मा डुबेको बेला हावाहुरीबाट पीडितलाई ब्यापक राहत दिएर पहाडले मधेसमा मलम लगाउने काम गरिरहेको छ । 
 
पर प्रसौनी चौकको एउटा पसलमा रेडियोमा गीत घन्किरहेको थियो—
 
     पहाडमा जाडो बढे—तराईले सेक्नुपर्छ
     आँधी आए तराईमा पहाडले छेक्नुपर्छ
     हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र
     माटोलाई चोट लाग्दा—मुटु दुख्नुपर्छ…..