विचार / ब्लग

भोलीका लागि आजको काम

456 पटक पढिएको

यसकारण जरूरी भैसक्यो ड्यालसमा नयाँ मन्दिर

– रामचन्द्र भट्ट | 2nd Apr 2019, Tuesday | २०७५ चैत्र १९, मंगलवार ०९:१३
करिब तीन वर्ष अघिको सन्दर्भ हो । म त्यतिखेर टेक्ससकै छिमेकी राज्य ओक्लाहोमा बस्थेँ । नेपाल छाडेर आएकोले कहिलेकाँही मठ–मन्दिरको खुबै यादले खुबै सताउने । विशेषगरि सप्ताहन्त (विकेण्ड) मा मन्दिर तिर जान मन लाग्थ्यो । एकपटक एउटै अपार्टमेन्ट कम्प्लेक्समा बस्ने साथी नरहरि पाण्डेले भने–‘दाई, अलिकति पर इण्डियनहरुको मन्दिर छ । जाउँ न त ।’
 
‘हुन्छ’ भनेर भोलीपल्ट बिहानै एउटा गाडीमा हाम्रो परिवार र अर्को गाडीमा उनको परिवार मन्दिर गयौँ । मन्दिर निकै भव्य थियो । निकै खर्च गरेर बनाइएको जस्तो देखिन्थ्यो । मुर्तीहरु पनि निकै राम्रा र आकर्षक थिए । अनेकन हिन्दु देवी–देउताका मुर्तीहरु थिए । मन्दिरमा खाना खाने, पूजारीका लागि अलग्गै भवन थियो ।
 
मन्दिरमा विशेष पूजा–अर्चना हुने दिन रहेछ । भारतीयहरुको ओइरो लागेको थियो । ‘भैया यसा करो, ए हेल्प करो’ भन्दै केही मानिसले हामीसँग सहयोग मागे । हामीले पनि झण्डै दुईघण्टासम्म मन्दिरको सरसफाई, पूजा सामाग्रीको सफाई, तरकारी काट्ने काममा सहयोग गर्यौँ । शायद उनीहरुले हामीलाई पनि भारतीयनै सम्झिएका थिए । हामीले पनि नेपाली भनेर परिचय दिइरहन आवश्यक ठानेनौँ । उनीहरुले हामीप्रति खासै चासो दिएजस्तो पनि लागेन । झण्डै तीन घण्टा जति हामी त्यहाँ बसेर फर्कियौँ । 
 
त्यसको अर्को ३/४ महिनापछि हामी ओक्लाहोमाकै बुद्ध स्तुपामा गयौँ । भियतनामीहरुले बनाएका थिए त्यो बुद्ध स्तुपा । निकै भव्य र आकर्षक थियो । हामी पुग्दा ध्यान हुँदैथियो । हामी पनि एउटा कुनामा कुसनमा बसेर ध्यानमा सहभागी भयौँ ।
 
म र नरहरि दुबैले नेपाली ढाका टोपी लगाएका थियौँ । ढाका टोपीमा देखेपछि त्यो स्तुपाका सबैभन्दा पाको जस्तो देखिने भिक्षु हामी छेउ आए । उनले सोधे–‘यु फ्रम नेपाल ?’
 
हामीले सहमति सूचकका रुपमा टाउको हल्लायौँ । उनले हामीलाई विशेष रुपमा त्यहाँ उपस्थित धेरैलाई चिनाए । उनी पनि केही समय लुम्बिनीमा बसेर अाएका रहेछन् । भियतनामी भाषामा भनेकाले केही बुझिएन । तर उनले बुद्धको जन्मस्थल भएको देशबाट आएको हो भनेर चिनाएको उनीहरुको संकेतले बुझिन्थ्यो । उनीहरु सबैले हामीसँग हात मिलाए । उनीहरुले त्यहाँ आइरहन पनि आग्रह गरेका थिए ।
 
मन्दिर त मन्दिरै हो । भगवान पनि एकै हुन् । तर किन हो किन ? मलाई ओक्लाहोमाको भारतीय मन्दिरमा पुग्दा त्यति आत्मियता भएन, जति बौद्ध स्तुपा छिर्दा भयो । बौद्ध स्तुपा पुग्दा आफ्नै लुम्बिनीमा छु जस्तो महसुस भयो । स्वयम्भुमै पुगे जस्तो भयो । काठमाडौं उपत्यकाका डाँडाका काखमा छरिएर रहेका गुम्बाभित्र छिरे जस्तै लाग्यो ।
 
मनमनै सोचे–मुर्तिले मात्र अपनत्व गराउने होइन रहेछ । मुर्तिले मात्र आस्था जगाउने पनि होइन रहेछ । अपनत्व गराउने र आस्था जगाउने त त्यहाँ भित्रका मानिसका व्यबहारले पो रहेछ ।
 
म नेपाली समुदायलाइ खोज्दै ड्यालस झरेँ अोक्लाहोमाबाट ।
 
यो चाँही केही दिन अघिको मात्र सन्दर्भ हो । ड्यालसमा बन्ने योजनामा रहेको ठूलो मन्दिरका विषयमा एकजना सहकर्मी र पाका दाइले प्वाक्क मुख फोरेर भने–‘हाम्लाई जुन मन्दिर भएपनि के मतलव ? पूजाका लागि नेपाली मन्दिरमै जानुपर्छ भन्ने के छ ? नेपाली मन्दिर नभए भारतीयले बनाएका मन्दिर छँदैछन् नि । जहाँ गएपनि देउता एउटै हुन् क्यार ।’
 
अर्थात उनमा मन्दिरलाई सहयोग नगर्ने बहानाबाजी भेटियो । उनले बुझेर पनि बुझ पचाए । कतिसम्म भन्न भ्याए भने–‘यत्रा पैसावालहरु छन् । उनीहरुले सहयोग गरिहाल्छन् नि । सरकारले पनि सहयोग गर्ला ।’ उनको तर्कले मलाई मनमनै हाँसो उठ्यो ।
 
यो धारणा तुच्छ लालचले उत्पन्न गराएको बहाना मात्र हो । यस्तो छुद्र बहानाबाट हामी सबै मुक्त हुनैपर्छ । किनकी मन्दिर भनेको कोही एकजना व्यक्तिको प्राइभेट एलएलसी होइन ।
 
उनको भनाईलाई मैले तत्कालै प्रतिवाद पनि गरेँ । कन्भिन्स गर्ने प्रयास पनि गरेँ । तर मनभित्र यस्ता भ्रम बोकेर बसेका नेपालीहरु डिएफडब्लु एरियामा अझै केही देखिएका छन् । जसलाई चिर्नका लागि यो आलेख जरुरी ठानेको छु मैले ।
 
म र मेरो परिवार अनुकुल मिल्दा हरेक आइतबार बिहान ड्यालसको अर्भिङमा रहेको नेपाली मन्दिर (पशुपतिनाथ तथा बुद्ध) मा पुग्छौँ । यो क्षेत्रका धेरै नेपालीहरुका आइतबारको दिनचर्यानै मन्दिर र आफ्ना बालबालिकाका निम्ति बित्ने गरेको छ ।
 
मन्दिर पुग्दा मेरा लागि तीन फाइदा छन् । पहिलो, यो क्षेत्रका धेरै नेपालीहरुसँग एकै ठाउँमा भेटघाट हुन्छ । दोस्रो, भजन आरतीका कारण मनमा शान्ति मिलेको महसुस हुन्छ । तेस्रो कारण पनि छ–मन्दिरमा नियमित रुपमा सञ्चालन हुने नेपाली पाठशालाले पनि अभिभावकलाई व्यस्त गराएको छ ।
 
अर्भिङको मन्दिर मूर्तिको गोदाममात्र हुँदै होइन । मूर्तिमात्र भएको ठाउँ मन्दिर हुने भए पाटनका हरेक मूर्ति बनाउने पसललाई मन्दिर मान्नुपर्ने हुन्छ । स–साना मूर्ति बेच्ने ठमेलका हरेक पसलहरुलाई पूजा गर्ने भक्तजनको भीड लाग्नेथियो ।
 
तर होइन । मन्दिर भनेको मूर्ति मात्र होइनन् । मानिसहरुको एकता र भावनासँग यो जोडिएको थलो पनि हो । मन्दिर भनेको रातो अक्षता निधारमा लगाउने थलोमात्र हुँदै होइन । यो त मनभरि हिन्दुत्व र भातृत्व अनि प्रवासमा छँदा पनि एकतामा जोड्ने एउटा धागो पनि हो । यो एउटा हामी सबैको आस्थाको सामुदायिक केन्द्र पनि हो । हाम्रो पूर्बीय धर्मसंस्कृतिको एउटा धरोहर पनि हो । जहाँ हिन्दु धर्मले गर्नुपर्ने भनेर औंल्याएका जीवनका हरेक संस्कारका लागि ठाउँहरु छन् ।
 
ड्यालसको नेपाली समुदायलाई अमेरिकाका अन्य राज्यबाट हेर्दा निकै भव्य र सभ्यका रुपमा किन पनि लिइन्छ भने यहाँको समुदायले आँट गरेको काम पुरा गरेको इतिहास छ । अमेरिकाको नेपाली समुदायलाई यहीँका व्यक्तित्वहरुले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । ड्यालसबाट अमेरिकाकाका हरेक कुनामा पुग्नुस्, सबैले भन्छन्–‘ड्यालसमा त नेपालीहरु धेरै छन् है ? सबै मिलेर बसेका छन् । ठूलो मन्दिर छ है ? कार्यक्रमहरु पनि धेरै हुन्छन् । नेपाललाई मिस नै गरिदैन रे’ आदी इत्यादी ।
 
यो किन भएको छ भने यही मन्दिरका कारणले भएको छ । यदी मन्दिर नहुँदो हो त यो ठाउँको शान अहिले जस्तो कदापी हुने थिएन । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र मातहतमा मन्दिर छ । यसले बालबालिकाका लागि भाषा, नैतिक शिक्षा, पूर्बीय दर्शनका बारेमा कक्षाहरु नियमित रुपमा सञ्चालन गरिरहेको छ । जसले गर्दा नेपालमा जन्मिएर यहाँ आएका हुन् या यही जन्मेका बच्चाहरुका लागि निकैनै सहयोग पुगिराखेको छ ।
 
नेपाली समुदायको बढ्दो उपस्थितीसँगै अहिलेको मन्दिर निकै साँघुरो भएको महसुस त्यहाँ पुग्ने सबैले गरेकै हुन् । गाडी पार्किङको समस्या त्यत्तिकै छ । बुद्ध र पशुपतिको मूर्ति एकै ठाउँमा छ । बालबालिकाको कक्षा हुँदा मन्दिरको माइकिङले अवरोध गरेकै छ । त्यसो हुँदा अब नयाँ मन्दिर बनाउनका लागि यो नै सबैभन्दा उपयुक्त समय हो । जसका लागि मन्दिरको कार्यसमिति, नेपाली समाज टेक्ससले मात्र तातेर झण्डै ४५ लाख डलर संकलन हुन सक्दैन । यसका लागि यहाँ बस्ने तपाइ हामी सबैले दिनको दुइ कप कफीको रकम छुट्याएमा प्रोजेक्ट समयमै सम्पन्न हुनेछ ।
 
मैले माथिनै उल्लेख गरिसकेँ कि–मन्दिर मात्र हुँदै होइन । मन्दिरमात्र बन्ने हुँदै होइन । मूर्तिमात्र ठड्याउने कोठा बनाउनका लागि यहाँका समाजसेवीहरू रातदिन केही नभनि लागिरहेका हुँदै होइनन् । यो त नेपाल बाहिर रहेको नेपाली समुदायले गर्व गर्न लायक आध्यात्मिक र पुर्वीय दर्शनको केन्द्र बनाउन सबैजना लागेका हुन् । हाम्रा अहिलेका कलिला सन्ततीलाइ सिकाउन, भविष्यमा पैदा हुने सन्ततीलाइ देखाउन र जीवन्त बनाउनका लागि सबैजना लागिरहेका छन् ।
 
सरकारले दिन्छ त ?
 
अमेरिकामा नेपाली मन्दिर बनाउन नत अमेरिकी सरकारलेनै सहयोग गर्नसक्छ, नत नेपाल सरकारलेनै । जो जस्ले मन्दिर बनाउन सरकारी सहयोग प्राप्त भैहाल्छ नि भनेर पिठ्यु फर्काउँछन् तिनका आफ्नै सन्ततीले केही वर्षपछि तिनलाइ धिक्कार्नेछन् ।
 
सरकारले दिने होइन । यो मन्दिर तपाइ हामी सबैले आफ्नो गक्ष्य अनुसार सहयोग गरेर खडा हुने थलो हो । कसैले ठूलो रकम देलान् त कसैले सके अनुसार सानो । अघिल्लो महिना आयोजित कार्यक्रममा देखिएको उत्साहले के प्रमाणित गरेको छ भने घण्टाको १० डलर पाउने गरि परिश्रम गर्नेले पनि संस्थापक सदस्य हुनेगरि मन्दिरलाइ कम्तिमा तीनहजार डलर तिर्ने सहमतिपत्रमा सही धस्काएका छन् ।
 
यो मन्दिर बनाउने नत अरू समुदायसँग सहयोगको हात थापेर हो, नत अमेरिकी र नेपाल सरकारसँग मागेरै हो । यो हाम्रा लागि, हाम्रा भावी सन्ततीका लागि हो । अरूसँग अाश गरेर काम पनि छैन ।  
 
पैसाको तृष्णा र भोकको मात्रा असिमित हुन्छ । जति भएपनि, जति खाएपनि पैसाको भोक मेटिदैन । जति भएपनि कमै हुन्छ र जति थोरै भएपनि पुग्छ नै । ड्यालस फोर्टवर्थ क्षेत्रमा अहिले व्यबसाय गर्नेहरूसँग कम्तिमा दुइ तीनवटा स्टोर या ग्याँस स्टेशन, सैलुनहरू छन् । काम गर्नेहरूमध्य पनि अधिकांशले प्रतिघण्टा कम्तिमा १३ डलर पाइरहेका छन् । दिनको ५ डलरमात्र मन्दिरका लागि छुट्याउने हो भने आउँदो अढाइ वर्षमा अमेरिकामा रहेका नेपालीहरूका लागि एउटा ठूलो धामका रूपमा ड्यालस चिनिने निश्चित छ ।
 
के के रहनेछन् मन्दिरमा ?
 
प्रस्तावित मन्दिरमा पशुपतिनाथ मन्दिर, बुद्ध स्तुपा अलग हुनेछन् । स्तुपासँगै ध्यान केन्द्र पनि हुनेछ । जहाँ शान्तिपुर्ण वातावरणमा ध्यान, योगा शिवीर समेत चलाउन सकिनेगरि डिजाइन भएको जनाइएको छ । अहिले पशुपतिनाथ तथा बुद्धको मुर्ति सँगै छन् ।
 
यसका अतिरिक्त नयाँ प्रस्तावित मन्दिरमा दुईवटा हवन कोठा, भजनका लागि छुट्टै हल, अन्य देवीदेवताका मूर्तिहरु सहितको मुख्य मन्दिर, ६ वटा कक्षाकोठा, पण्डित तथा व्यबस्थापकको निम्ति दुईवटा आवासगृह, चारसय जनाले एकैपटक खाना खानसक्ने क्षमताको क्याफटेरिया, भलिबल तथा बास्केटबल कोर्ट समेत हुनेछन् । बालबालिकाहरुका लागि खेल्ने ठाउँ पनि नयाँ मन्दिरमा रहनेछन् ।
 
यो मन्दिरमा एकैपटकमा पाँचवटा बिहे, ब्रतबन्ध जस्ता सामाजीक कार्यहरु समेत गर्न सकिन्छ । अहिले एकै पटकका दुईवटा बिहे वा ब्रतबन्ध गर्न समेत बडो मुस्किल पर्ने गरेको अनुभव मन्दिर व्यबस्थापनको छ ।
 
हामीले बनाएको, हाम्रो समुदायले खडा गरेको मन्दिरमा हाम्रै अपनत्व हुनेछ । जुन भारतीयले बनाएको मन्दिरमा प्राप्त हुनेछैन । एकछिन पुगेर मूर्तिलाइ प्रणाम गर्न त सकिएला । तर त्यहाँ दिनभरि बसेर बुढेशकालमा गफहरू गर्ने अवसर शायद मिल्नेछैन । जुन हामी अाफैँले बनाएको मन्दिरमा निश्चित रूपमा प्राप्त हुनेछ ।
 
अर्काको घर राम्रो र नमूनायोग्य बन्यो भने प्रशंसा त गर्न सकिएला । तर त्यहाँ गएर बस्न पनि मिल्दैन र हक पनि हुँदैन ।
 
तसर्थ, तपाइ हामी सबैले यो मन्दिर अर्थात सामुदायिक भवन बनाउने अभियानमा सहयोग गरैाँ । सबैले होस्टेमा हैँसे गरैाँ । सक्नेले बोर्ड अफ ट्रस्टी बनैाँ । ट्रस्टीमा रहन असमर्थले संस्थापक सदस्य भएर सहयोग गरैाँ । एकै पटक पनि तिर्नु पर्दैन, ५ किस्तामा अढाइ वर्षभित्र तिर्ने गरि भएपनि सहयोग गरैाँ । युलेसमा मन्दिर खडा हुनु भनेको ड्यालसबासी नेपालीको प्रतिष्ठाको सवाल हो । अरू समुदायको ठूलो मन्दिर हुँदैमा हाम्रो शीर ठाडो हुँदैन । शीर ठाडो हुन नेपालीले अाफ्नै बलबुतामा भव्य मन्दिर सहितको सामुदायिक भवन खडा गर्न ढिला भैसक्यो ।