मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सिआइबीको टोलीद्वारा प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन सुरु

सिआइबीको टोलीद्वारा प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन सुरु


लहान । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको विषयमा आजदेखि छानबिन सुरु गरेको छ । 
 
प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्कामा सिआइबीको अनुसन्धान टोलीले आइटी विशेषज्ञको सहयोग लिएर सप्तरीलाई केन्द्रबिन्दु बनाई छानबिन सुरु गरेको हो ।
 
प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सप्तरीबाट काम सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । सिआइबीको अनुसन्धानबाट घटनाको सत्यतथ्य खुल्ने विश्वास गरिएको छ ।
 
विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा आजदेखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।
 
यता आज जिल्ला परीक्षा समन्वय समिति सप्तरीले पत्रकार सम्मेलन गरी एसईईको कुनै पनि प्रश्नपत्र सप्तरीबाट नबाहिरिएको दाबी गरेको छ ।
 
परीक्षाअघि नै सप्तरीबाट प्रश्नपत्र बाहिरिएको हल्ला सुनेपछि प्रहरीले आफ्ना सबै युनिटमा प्रश्नपत्र जाँच गरेको र सबै पोका दुरुस्त फेला परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।