मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनमा धमाधम उम्मेदवारी

एनआरएनमा धमाधम उम्मेदवारी


हिमालयखबर संबाददादा 
ड्यालस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनावी कार्यक्रम सार्वजनिक हुन बाँकी भएपनि धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । यसैक्रममा एनआरएन अमेरिकाका वर्तमान बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बञ्जाडेले आइतबार अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे ।
 
टेक्ससको युलेसस्थित फिस्टेल रेस्टुँरामा ड्यालसका स्थानीय गिनेचुनेका नेपालीहरुबीच डा. बञ्जाडेले सन् २०१९-२१ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । स्थानीय सामाजीक अभियन्ता, जनसम्पर्क समिति अमेरिकाका नेताहरु, शुभचिन्तकहरु तथा सञ्चारकर्मीहरुको उपस्थिती बीच डा. बञ्जाडेले आप्mनो योजना तथा कार्यक्रम सहित उम्मेदवारी घोषणा गरेका हुन् ।
 
एनआरएन अमेरिकाको अध्यक्ष पदमा टेक्ससबाटै इन्जिनियर सुनिल शाह र न्यूयोर्कबाट अर्का इन्जिनियर सञ्जय थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । न्यूयोर्कबाट सूर्य लम्सालले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
 
बञ्जाडेले आफुले जितेको खण्डमा एनआरएन अमेरिकालाई कुन रुपमा अघि बढाउने भन्ने बारेमा खाका समेत प्रस्तुत गरेका थिए । उनले संस्थाको ट्रान्सपरेन्सी (पारदर्शीता), इन्टिग्रिटी (स्वाभीमान), प्रोसेस इम्प्रुभमेन्ट (प्रकृयागत सुधार) र सर्भिङ (सेवा) लाई मिलाएर पिआइपिएसको अवधारणालाई लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 
 
‘म दोहोरो नागरिकता होइन नेपाली नागरिकताको निरन्तरताको पक्षमा छु । यो विषय कुनै एक कार्यकालमा सम्पन्न गर्ने सकिने विषय होइन । नेपाल सरकारसँग समन्वय गरी सम्पूर्ण बिदेशिएका नेपालीहरूलाई राजनीतिक अधिकार सहितको नेपाली नागरिकताको निरन्तरताका लागि अभियानमा लाग्नेछु,‘ उनले भने । 
 
विद्यार्थी राजदूत कार्यक्रम, अमेरिकी राजनीतिको मुलधारमा सहभागिता बढाउने, यहाँ अध्ययन गरेका नेपालीहरुलाई मातृभूमिमा गएर इन्टर्नशीप गराउने, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सहयोग बढाउने, कुनै पनि घटनामा पीडित भएकालाई राहत तथा क्षतिपूर्ति, काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन हेल्पडेक्सको व्यबस्था जस्ता विषयलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । उनले नेपालघरको अवधारणालाई समेत अघि बढाउने बताए ।
 
सन् १९९८ मा उच्च शिक्षा अध्ययनको क्रममा अमेरिका आएका बञ्जाडे नेपाली जनसम्पर्क समिति अमेरिकाको सचिव लगायत बिभिन्न संस्थाहरुमा रहेर काम गरिसकेका छन् । नेपालको अर्घाखाँचीमा जन्मिएका बञ्जाडेका काका यज्ञमूर्ति बञ्जाडे चर्चित अधिवक्ताका साथै पूर्ब महान्यायाधिवक्ता पनि हुन् ।
 
पारिवारिक रुपमा नेपाली कांग्रेसमा आवद्ध बञ्जाडेले कुनै पनि राजनीतिक दल र भातृसंस्थाले एनआएएन जस्तो संस्थामा आफ्नो उम्मेदवार भन्दै उठाउने र इण्डोर्स गर्ने कार्य गलत भएको बताए । उनले एनआरएन अमेरिकाको वेवसाइटका कारण इच्छुक सबैजना सदस्य हुन नसकेकोमा क्षमायाचना सहित कार्यक्रममा आफ्नो धारणा राख्न सुरु गरेका थिए । 
 
झण्डै दुई घण्टासम्म चलेको कार्यक्रममा डा. बञ्जाडेले एनआरएन अमेरिकालाई कुनै पनि कानुनी लफडामा नपार्ने समेत बताए । 
 
‘एनआरएनए एनसीसी अफ युएसए विरुद्ध अदालतमा मुद्दा हुनु राम्रो देखिँदैन । मैले यस्ता मुद्दाहरूलाई सकेसम्म अदालत बाहिर टुंगो लगाउन ६ महिना भित्र एक सहजकर्ता नियुक्ति गर्ने छु । यदि अमेरिकामा एनआरएनए एनसीसीबाट गल्ती भएको रहेछ भने संस्थाको तर्फबाट माफी माग्ने छु । कुनै पनि समस्या समाधान गर्न लचिला बनेर प्रस्तुत हुनेछ,‘ उनले भने । 
 
कार्यक्रममा स्थानीय नेपाली अगुवाहरु विनय अर्याल, सुमन थापा, उमा कार्की थापा, ज्ञानेन्द्रबहादुर कार्की, थलराज पन्त, रामकुमार सुवेदी, कपिल अधिकारी, डा. युवराज भट्टराई, सन्तोष विष्ट, विजयराज भट्टराई, शैलेशराज आचार्य लगायतले धारणा व्यक्त गरेका थिए । कतिपय वक्ताहरुले टेक्ससबाटै धेरै उम्मेदवार हुनेभन्दा पनि मिलेर अघि बढ्न सुझाव दिएका थिए । 
 
कार्यक्रमको अन्त्यमा उपस्थित सहभागीहरुलाई बञ्जाडेकी धर्मपत्नी अञ्जु खरेलले धन्यवाद ज्ञापन गरेकी थिइन् । 
 
बाला घिमिरेले गरे उपाध्यक्षमा घोषणाः
आइतबारनै अमेरिकाको उत्तर सिकागो शहरबाट चर्चित सामाजीक अभियन्ता तथा व्यबसायी बाला घिमिरेले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
 
घिमिरेले  उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । लामो समयसम्म बिभिन्न सामाजीक संस्थाहरुको नेतृत्व गरिसकेको घिमिरेले बिभिन्न राज्यमा रहेका आफ्ना शूभचिन्तकहरुलाई समेत सिकागोमा भेला गरेर उम्मेदवारी घोषणा गरेका थिए । 
 
उनको उम्मेदवारी घोषणा कार्यक्रममा सिकागोमा रहेका थुपै्र नेपालीहरुको सहभागिता थियो ।