मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मेरिल्याण्ड जनरल एसेम्बलीमा चार नेपाली सम्मानित

मेरिल्याण्ड जनरल एसेम्बलीमा चार नेपाली सम्मानित


एनापोलिस, (मेरिल्याण्ड) – मेरिल्याण्ड राज्यको जनरल एसेम्बलीका साँसद तथा सिनेटरहरुले आयोजना गरेको डाइभर्सिटी साँझमा चार नेपाली सामाजिक अभियन्ताहरु सम्मानित भएका छन् । 
 
एएपिआई एक्सिलेन्सी अवार्डको रुपमा प्रदान गरिएको अभिनन्दन पत्र पाउनेहरुमा डा. श्याम कार्की, अधिवक्ता खगेन्द्र जिसी, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र ध्रुब वन्त रहेका छन् । अमेरिकी नेपाली समुदायमा योगदानको कदर गर्दे सम्मान प्रदान गरिएको राज्य विधायक ह्यारी भण्डारीले जनाएका छन् । 
 
सो अवसरमा नेपाली कलाकारहरुले समेत आफनो कला प्रस्तुत गरेका थिए । मेरिल्याण्ड जनरल एसेम्वलीको भवन रहेको स्थानमा एएपिआई ककस समूहले आयोजना गरेको कार्यक्रममा सिनेटका स्पिकर माईक मिलर, मेरिल्याण्डकी प्रथम महिला युमी होगान, ककस समूहकी अध्यक्ष सिनटेर सुशान ली, डेलिगेट लगायत विभिन्न देशका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुको सहभागीता थियो । 
 
नेपाली समुदाय को तर्फवाट नेपाली अमेरिकन क्लवका पदाधिकारीहरु लगायत नेपालीहरुको सहभागिता रहेको थियो । नेपाली मूलका साथै भारतीय, कोरियन, कम्बोडिया, चिनियाँ लगायतका विभिन्न मूलका अमेरिकीहरु सहभागी भएको कार्यक्रममा नेपाली मूलकाको पहिलो सहभागिता हो ।
 
एएपिआई मेरिल्याण्ड जनरल एसेम्वेलीमा एएपिआईको तर्फबाट १० जना सिनेटर तथा साँसदहरु रहेका छन् । मेरिल्याण्ड जनरल एसेम्वलीका सदस्यहरुले प्रदान गरेको उक्त अवार्ड पहिलो पटक नेपाली मूलका अमेरिकीहरुले प्राप्त गर्न सफल भएका छन् ।
 
एएपिआई ककस समूहका कोषाध्यक्ष तथा सांसद हयारी भण्डारीले यो कार्यक्रम नेपालीहरुलाई अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउने अभियानको लागि अर्को फडको भएको बताए । कार्यक्रममा अन्य विभिन्न नौ देशका आप्रवासी अमेरिकनहरुलाई पनि सम्मान तथा अवार्ड वितरण गरिएको थियो ।
 
सम्मान प्राप्त गरेपछि प्रतिक्रिया दिनुहुँदै डा कार्कीले भने– मलाई समेत चयन गरेर यस्तो महत्वपूर्ण सम्मान प्रदान गरेकोमा एएपिआईलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । यसले मलाई अझ सामाजिक दायित्व थपिएको अनुभूति भएको छ । कार्कीको भनाई थियो-" जनमतवाट निर्वाचित जनप्रतिनिधीहरुले समेत यसरी सम्मानित गरेर हौसला प्रदान गर्नुभएको मा म निकै खुशी छु । 
 
यसै गरी अर्का सम्मानित व्यक्तित्व खगेन्द्र जिसीले मेरिल्याण्डको जनरल एसेम्वलीले प्रदान गरेको सम्मानले आफूलाई सामाजिक क्षेत्रमा क्रियाशील हुन थप हौसला मिलेको प्रतिकृया व्यक्त गरे । 
 
सम्मानित व्यक्तित्व एनआरएन् अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले नेपालीहरुले अमेरिकाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल भएको र त्यसको कदर स्वरुप ककस समूहले आफूलाई समेत सम्मान गरेकोमा खुशी व्यक्त गरे । सम्मानित व्यक्तित्व ध्रुब वन्तले भने -' निस्वार्थ भावले सामाजिक क्षेत्रमा क्रियाशील भएको कारण मलाई सम्मान प्रदान गरिएकोमा म आभारी छु ।" यसको लागि छनौट समित र सम्मानको लागि सिफारिश गर्ने सवैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । 
 
नेपाली मूलका तर्फवाट सहभानगी हुनुहुनेहरुमा नेपाली अमेरिकन क्लवका रिजनल डाईरेक्टर अर्जुन हमाल, संयोजकहरु तरुण पौडेल, मंगल महर्जन, मधुकर अधिकारी, शिवराज पौडेल, डा.उत्तम गौली, कुमार कार्की रहेका थिए । 
 
यसैगरी एनआरएन्का अध्यक्ष दुर्गा श्रेष्ठ, वानाका अध्यक्ष अनु वन्त, कार्यक्रममा ईण्डियाना हेडका उपमेयर रन सिटौला, विजय श्रेष्ठ, एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठ महावाणिज्य दूतहरु प्रेमराजा महत र ऋषि ढकाल, कृष्णजीवि पन्त, चित्रा कार्की, लोक तिवारी, ईन्दिरा कार्की, संगीता भण्डारी, अमरबहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो ।
 
नेपाली सिनेजगतकी नायिका सारङ्गा श्रष्ठको कोरियोग्राफीमा नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । 
 
नेपाली अमेरिकन क्लवले उक्त सम्मानको लागि निश्चित मापदण्ड तय गरेर चार चरणको प्रक्रिया पूरा गरी छनौट गरिएको सानो सूचीवाट सिफारिश गरी सम्मानित व्यक्तितत्वहरु अन्तिम सूची एएपिआईवाट अनुमोदन गरिएको थियो ।
 
सम्मानको लागि सिफारिश गर्ने चरणमा समाजमा योगदान, अमेरिकामा वसाई, सामाजिक छवि लगायतको मापदण्ड तय गरिएको थियो ।