मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

परिवेशले उब्जाएको मेरो सपना

परिवेशले उब्जाएको मेरो सपना


मानिसको आफ्नै जीबनशैली हुन्छ । जीबनयापनका लागि हामीहरु बिभिन्न पेशामा आबद्ध हुनैपर्ने हुन्छ । तर कतिपय पेशाहरु यस्ता हुन्छन्, जो प्रत्यक्ष रुपमा मानब संबेदनासँग जोडिएका हुन्छन् ।
 
लामो समयदेखी नर्सिङ्ग पेशामा आबद्ध मेरा पाइलाहरु अलिकति पेशासँग सम्बन्धित समाज सेवामा तातेताते गरिरहेका छन् । म भरखर अमेरिकामा काम गर्न सुरु गर्दा यस्तो लाग्थ्यो “मैंले बर्षौं लगाएर नर्सिङ्ग कलेजमा पाएको भन्दा अझै धेरै ज्ञान यहाँका सर्बसाधारण ब्यक्तीहरुमा छ।” अझैपनि हरेक स्वास्थ्य सेवा दिने ब्यक्ति र संस्थाहरुले स्वास्थ्य शिक्षालाइ बिशेष प्राथमिकता दिएका छन् ।
 
जहिले देखि नेपाली समाजहरुले यदाकदा चलाउने गरेका स्वास्थ्य शिवीरहरूमा मेरो संलग्नता रहन थाल्यो, अनि मैंले हजारौं पीडाहरु नजिकैबाट नियाल्ने मौका पाएँ । यहाँ धेरै जसो कामकाजी नेपालीहरुको स्वास्थ्य बीमा नभएको पनि हैन, तर समय अभाब, महँगो को–पे र भाषाको समस्याले गर्दा सेवा तर्फ थोरैको मात्र पहुँच पुगेको देखियो । मैले यहाँ अंग्रेज़ी भाषाको कुरा गरेकी हैन, मेडिकल भाषा र टर्मिनोलोजीको समस्या हो । नेपालमै हुर्केको हाम्रो पुस्ताले यो भाषा बुझेको छैन,  झन हामीलाइ भेट्न र घुम्न आउने अभिभाबकहरुको कुरै छोडौं ।
 
आजकाल अमेरिकामा अति नैं धेरै संस्थाहरु जन्मेका छन । जसले आ आफ्नै काम गरेका होलान नैं । तर हाम्रो आफ्नै समुदायको हकमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु अझैपनि प्राथमिक बनेका छैनन् ।
 
हिजोअाज अमेरिकामा एनआरएनको चुनावी माहोलले धपक्कै बलेको छ । जुन माहोलबाट म पनि अछुतो रहिन । बिगतका दिनहरुमा आफ्नो पहलमा नेपालमा समेत सुबिधा सम्पन्न अस्पतालहरु खोलेर सेवा दिने लक्ष राखेको यस संस्थाले नेपालमा के गर्यो म जान्दिन । तर आफ्नै वरपरका समस्याहरु कसैको पनि आगामी चुनावी ऐजेन्डामा समेत नपर्नु अति नै दुखदायी छ ।
 
के ठूलो दुर्घटना या गम्बीर बिरामी परेकाहरुलाइ गो फन्ड खोलेर केहि हजार डलर फाल्दैमा संस्थाको दायीत्व पुरा हुन्छ ? पक्कैपनि हुँदैन । जनस्वास्थ्य सरोकारका बिषयहरुलाइ दिगो रुपमा लैजाने योजना आउन जरुरी छ । यसमा फिजीकल हेल्थको मात्र कुरा गरिएको हैन मानसीक र सामाजिक हेल्थ अझै जटील बन्दै गएको छ हाम्रो समुदायमा ।
 
मेरा लागि यस्तैयस्तै आफ्नो बिबेकले देखेका गुनासाहरु पोख्ने चौतारी बनेको थियो । आगामी एनआरएन अमेरिकाको चुनाबका लागि अध्यक्षको उमेद्वारी घोषणा गर्ने सुनील शाहज्यू को कार्यक्रम। कुनैपनि संस्थामा नरहेरपनि दुइ शब्द बोल्ने मौका पाउनु पनि मेरा लागि ठूलै अबसर थियो ।
 
मैंले समग्रमा राख्न खोजेको कुरा “सुनील शाहज्यू तपाइले चुनाब जितेपछी एनआरएन अमेरिकाको छत्रछायाँमा नेपाली समाज टेक्सस (NST) लाइ आधार बनाएर एउटा सानो स्वास्थ्य क्लिनिक खोलिदिनुहोस् । हामी सेवा दिन चाहान्छौं । यो हजारौं डालसवासी नेपालीहरुको आबश्यकता हो । अनि म जस्ता हजारौं सहयोगी मनहरुको चाहना पनि हो । मेरो अनुरोध यस सभामा उपस्थित सम्पुर्ण बिभिन्न संस्थामा आबद्ध तथा होनाहार समाजसेवी दाजुभाइ तथा दिदीबहिनीहरू समेत हो । तपाइहरु क्लिनिक खोलिदिनुहोस म मेरो सानो कमाइको ५ प्रतिशत क्लिनिकलाइ दान गर्ने छु। 
 
कार्यक्रम सकियो । पुनः आआफ्ना ससाना समूहहरुमा बिचार बिमर्श सुरु भए । मैले निस्कँदै गर्दा आदरणीय महानुभाबहरुबाट निकै राम्रा प्रतिक्रियाहरु पाएँ । हार्दिक आभार ब्यक्त गर्दछु ।
 
तर जाँदै गर्दा एक जना सज्जनको मुखबाट सुनियो–“हामीले ६/७ वटा क्लिनिक दर्ता गरेर संचालनमा ल्याएका छौं । जहाँ सबै सेवा नि:शुल्क हुन्छ ।” मलाइ हिनताबोध भयो मैंले कतै गल्ती त बोलिन ? डालस वरिपरी नै यति धेरै क्लिनिक पाइने सेवाबारे बेखबर रहनु मेरो मात्र कि सम्पुर्ण समाजको कमजोरी ?
 
अर्का सज्जनको  शब्दहरु फेरि मेरा कानमा ठोकिन्छन् –“यस्ता घोषणापत्रले न चुनाब जितिन्छ न काम नैं हुन्छ । चुनाब जित्ने आफ्नैं क़ब्ज़ाका भोटहरुले हो ।” 
 
यस्ता कुरा मैले बुझ्ने कोशिससम्म पनि गरिन । मनमा एउटै तर्क खेलि रह्यो–“कहिलेसम्म घोषणा पत्रलाइ बिश्वास नगर्ने ? लेखेको कुरालाइ आधार नै न मान्ने भए कसरी असल मान्छेहरु छान्ने ? कुन कसिले असल मान्छे र ख़राब मान्छे छुट्याउला हाम्रो समाजमा ? ल मलाइ त आपत पो पर्ने भो मेरो एउटा भोट दिनु छ, कसरी राम्रो मान्छे छान्ने ?
 
फेरि अर्को आवाज “यस्ता क्लिनिक खोल्न त करोडौ डलरको लगानी चाहिन्छ ।“ विचरा मेरो कमाइको ५ प्रतिशत ? म चाहान्छु लाखौंको ५ प्रतिशतले करोड बनोस् । के पैसा धेरै नहुनेले समाज सेवाको सपना देख्न नैं पाइँदैन र ? मेरा आदरणीय पाठकहरु बाट नैं उत्तरको प्रतिक्षा गरी रहने छु ।