विचार / ब्लग

ड्यालसको नेपाली मन्दिर र निर्माण अभियान

294 पटक पढिएको

– धनञ्जय ढकाल

16th Mar 2019, Saturday | २०७५ चैत्र २, शनिबार १०:०१
ड्यालस क्षेत्रमा नेपालीहरुको बसाई सन १९९० देखी शुरु भएको हो । अहिले आएर यो नेपालीहरुको स्थायी बसोबासको निम्ति अतिनै आकर्षण स्थल बन्दै गैरहेको छ । किनकी यहाँ नेपालकै जस्तो हावापानी, साधारण जीवनशैली, सजिलै रोजगारी अनि ब्यबसाय गर्न पाइने, सस्तो जीवनस्तर र अन्तराष्ट्रिय बिमानस्थल, फराकिला बाटाघाटा, स्कुल कलेज आदी सुबिधाले गर्दा नेपालीको जनसंख्या दिन प्रतिदिन वृद्धि भइरहेको छ । 
 
ड्यालसको अर्भिङ्गमा रहेको श्री पशुपतिनाथ तथा बुद्धको मन्दिर अमेरिकाकै पहिलो नेपाली मन्दिर हो । यही नेपाली मन्दिर अनि यहाँको नेपाली समाजले गर्दा नेपालीहरुको जनसंख्या झनै बढ्दै गैरहेको छ । यो बढ्ने क्रम रोकिएको छैन, जारी छ । तसर्थ यस नेपाली समाजको आवश्यकता अनुसारको ब्यबस्थापन गरिएन भने यो अरु समाजसँग विलय हुने खतरा पनि त्यति नै बढी छ । यसको लागि हामी सबैले समयमै विचार पुरयाउनु अति जरुरी छ र यो हाम्रो दायित्व पनि हो । किनकी हाम्रा अग्रजहरुले छोडेको संस्कार हामी पछिका पुस्तामा पनि कायम राख्नु पर्दछ । अन्यथा हाम्रो नेपाली समाज नै डगमगाउन सक्छ । 
 
चाहे जन्मभूमिमा होस् या कर्मभूमि हामी जहाँ रहेपनि हामीलाई हामीले जन्मसँगै अँगालेर अाएको संस्कार मन पर्छ । हाम्रा कति चाडबाडहरु अरु हिन्दुसँग मिल्दैन र यो एक्लै मनाउन पनि सकिदैन । त्यसको लागि पनि हामीलाई आफ्नै समाज र मन्दिर चाहिन्छ । मन्दिर भनेकै हामी नेपालीको मूल 'जरो' हो र 'किलो' भनेको यस्को सङ्ग्रक्षण गर्नु हो त्यसैले हामी जाँहा जसरी रहे पनि आफ्नो 'जरो र किलो' कहिल्यै भुल्नु हुदैन ।
 
यदि कुनै बच्चालाई खेलौना (आइप्याड़/आइफोन) नदिने हो भने केही समय मात्र रुन्छ, तर संस्कार पाएन भने उ जिन्दगी भर रुन्छ । मन्दिर बनाउनु भनेको पनि हाम्रो संस्कार कायम राख्नु हो । हाम्रो भाषा, कला, संस्कार र संस्कृतीको जगेर्ना गर्नु हो । मन्दिर हाम्रो संस्कार सिक्ने पाठशाला र हाम्रो सामाजिक घर पनि हो जसले हाम्रा ती चौतारा पाटी पौवा, मठ मन्दिर गाउँघर आदि सबैको याद बिर्साउँछ । जहाँ हामी पुजा पाठ गर्छैा, ज्ञान गुनका कुरा गर्छौ, सुखदुख साट्न सक्छाै अनि मर्दा पर्दा एक्लो हुन्नौ ।  तर यो अर्काको देशमा हाम्रो मन्दिर कस्ले बनाई दिने ? हामी आफैले बनाउनु पर्छ । हाम्रो पुस्ताले नै बनाउनु पर्छ नत्र हामी पछिका पुस्ताले मन्दिर बनाउनेवाला छैनन् ।
 
हामीले बनायौ भने मात्र उनीहरुले यस्लाइ निरन्तरता दिने छन् हैन भने हाम्रो भाषा, कला संस्कृति धर्म सबै पछि लोप भएर जाने छ । साँचैनै यदि हाम्रो सन्तानलाई हामी नेपालीनै बनाउन चाहने हो भने हामीले जसरी पनि आफ्नो मन्दिर आफै बनाउनु पर्छ।  होइन भने हाम्रा सन्तान हाम्रा हुने छैनन्, अर्थात उनीहरु नेपाली हुने छैनन । सम्पति त हामीले कमाउँला । तर हाम्रै सन्तती हाम्रा भएनन् भने हामी के गर्ने ? यो हामी सबै पहिलो पुस्ताको चुनौति हो । व्यक्ति जति धनी भए पनि केही मतलब हुदैन, तर समाज ठुलो र धनी हुनु पर्छ ।
 
ड्यालसमा अहिले नेपालीहरूको जनसंख्याको बृधिले गर्दा हालको पुरानो मन्दीर सबै कुराले साँघुरो महसुस भएको छ। त्यही अर्को ठुलो मन्दिर बनाउन आबस्यकता परेको हो तसर्थ यूलेसको ६.५ एकड जग्गामा ४.५ मिलियन डलरको लागतमा करिब तीन बर्षको परियोजना लिएर एउटा अत्याधुनिक वास्तुकला सहितको पशुपतिनाथ र बुद्ध मन्दिर बनाउने तयारीमा डालसको नेपाली समाज जुटेको छ ।
 
अहिले बन्न लागेको यो एउटा मन्दिरमात्र होइन, नेपाली समुदायका लागी जन्मेदेखि मृत्युसम्म आवश्यक पर्ने सबै प्रकारका कर्मकाण्ड देखि नेपाली पाठशाला, सभाहल सहितको सामुदायिक भवन पछिल्लो पुस्तालाई समेत पुग्ने गरि एउटा ठुलो र भब्य मन्दिर बनाउन लागिएको छ । यो कुनै एकदुई जनाले गरेर हुने सम्भव कार्य होइन हाम्रो नेपाली समाज संघसंस्था लगायत देशविदेशका सम्पुर्ण नेपाली मिलेर यस अभियानमा होस्टेमा हैँसे गर्नु पर्छ । किनकी यो हामी सबैको गर्वको बिषय हो । 
 
नेपाल सरकार लगायत संसारभरिकै नेपालीहरुले यो अभियानमा डालसबासी नेपाली लाई सघाउनु पर्छ । अझ झन डालसमा बस्ने नेपालीहरुले त विभिन्न भोजभतेर र अरु फजुल खर्च घटाएर पनि केहि पैसा बचत गरेर पनि मन्दिर बनाउनै पर्छ । अनि मात्र हामीलाई गर्व हुन्छ की हामी नेपाली हौ भनेर ।
 
अहिले हामीले अरु सामाजिक कार्य छोडेर पनि तन मन धन ले सबै जना एक जुट भएर यस अभियानमा सरिक बन्नु पर्छ । त्यसको लागि आफ्नो क्षमता अनुसारको सदस्यता हक समयमै सुरक्षित गरेर यो मन्दिर निर्माण अभियानमा सहभागी बनौ । अब "पार्टी खर्च घटाऊ आफ्नो मन्दिर आफै बनाउँ" यदि यस अभियानमा हामी कोहि छुट्यौ भने पछि पछुताउनु बाहेक अरु केहि हुदैन । त्यसैले अब सबै मिलेर डालस फोर्टवर्थ क्षेत्रको यूलेसमा बन्न लागेको नेपाली मन्दिर निर्माण अभियानलाई सफल पारेर नेपालीको एकता र शानलाइ संसार भरि नै नमूनाका रूपमा प्रस्तुत गरैाँ । 
                                
(लेखक जरोकिलो अमेरिकाका संयोजक तथा मन्दिरका बोर्ड अफ ट्रस्टी पनि हुन्)