राजनीति / समाज

लुटेरा समूहलाई चन्दा नदिनुहोस् : प्रधानमन्त्री

38 पटक पढिएको

13th Mar 2019, Wednesday | २०७५ फाल्गुन २९, बुधवार ०७:४५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् । 
 
नेपाल नगरपालिका सङ्घद्वारा २६औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, “लुटेराले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस् । लुटेरा प्रवृत्तिले देशको विकास हुँदैन । यस्ता प्रवृत्तिलाई नेपाली समाजले स्वीकार्दैन ।” 
 
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमूलक संस्थामाथिको विश्वास पनि डगमगाउने बताए । 
 
“जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ”, उनले भने, “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।” 
 
प्रधानमन्त्री ओलीले मुलुकबाट पृथकतावादी आन्दोलन समाप्त भएको बताउँदै भने, “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिँड्नेले अहिले यसको विरोध गरेका छन् ।” 
 
प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाए । “अवसर सक्षम र गरीबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन”, उनले भने, “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।” 
 
प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिसँग छलफल गर्ने बताए । 
कार्यक्रममा उनले नगरपालिकाका ‘असल अभ्यास’ नामको पुस्तक विमोचनगरेका थिए । रासस