मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आतंक मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री

आतंक मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य पनि नभएको स्पष्ट पारे । 
 
“कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् ”, उनले भने, “जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानूनबमोजिम नियन्त्रणमा लिइन्छ ।” 
 
विप्लव नेतृत्वको नेकपाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा आतंकित पार्ने काम गरिरहेको उल्लेख गदै भने, “कम्युनिष्टले त युवालाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो, यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।” 
 
यही फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङका घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न उक्त टोली आएको थियो । उनले अध्यक्ष गुरुङका घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गदै सो घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए । रासस