मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

जानियाको नेपाल साइनो

जानियाको नेपाल साइनो


जानिया लोपेज उनको नाम । मिलेको जिउ, सुन्दर आँखा  सिर्लिक्क परेको केश । बोलीमा उस्तै मिठास । पुर्खाको थातथलो मेक्सिको । तर ऊ अमेरिकामै जन्मी । यतै हुर्कि पनि । युर्निभसिटीबाट भर्खर ग्रयाज्युएट सकेकी हो । हामीसंगै काम गर्थ्याै टेक्सस ड्यालसको चेज बैकको एउटा फाइनेनसियल सेन्टरमा ।
 
उसले प्राय मलाई ‘अमिगो’ भनेर बोलाउथिन । स्पेनिस भाषामा आमिगोको अर्थ साथी । हामीसंगै काम गर्न थालेको पनि दुई वर्ष व्यतित भइसकेछ । यो अवधिमा हामी धेरै नै ‘क्लोज फ्रेण्ड’ पनि बनिसकेका थियौ । उनको र मेरो प्राय सबै कुरा शेयरिङ हुन्थयो । ब्रेक टाइममा हामीसँगै क्यान्टिनमा गफिदै कफि पिउँथ्यैाँ, खाजा खान्थ्यौ । हाँसो ठट्टा गर्थ्यो ।
 
उ जिस्किन औधी मन पराउथी । म पनि उसलाई जिस्काउन पाउँदा मख्खिन्थे । जिस्काउथे मज्जैले पनि । हत्तपत्त ऊ रिसाउथिन । फिस्सफिस्स हाँसीरहने  स्वभाव थियो उसको । मैले नेपालतिरको कुरा गरे भने  निकै उत्सुक हुदै चासो दिन्थि । टक लगाएर सुन्थि । उसलाई सगरमाथा, बुद्ध , काठमान्डौ बारेमा सबै जानकार रहेछ । यसरी उसले नेपाल बारे चासो दिइरहदा यस्तो लाग्थ्यो उसको नेपालसँग कुनै न कुनै साइनो जोडिएको छ ।
 
मैले उसलाई नेपाल बारे यति धेरै कसरी थाहा पाएको भनेर सोधे । उसले सहजै जवाफ दिदै भनि– ‘गुगल र युट्युबबाट ।’
 
ऊ लस कोलिनासतिर बस्थी ।  मेरो बसाई अर्भिङतिर थियो । खै आज त दुई दिन भयो ऊ अफिस नआएको पनि ।  नआउने दिन त ऊ संधै मलाई भोली आउदिन भनेर जानकारी गराउन छुटाउथिन् । यसपाली केही भनेकी होइन । 
 
ठाने उसलाई केही इर्मजेन्सी पर्यो होला । अर्को दिन त ऊ टुपलुक्क आईपुगी ।  तर उसको अनुहार पहिला जस्तो खुलेको देखिन ।  ‘आर यु ओके’  भनेर हालचाल बुझन् खोजे । ‘आइएम ओके अमिगो भन्दै’ सिधा जवाफ फकाई ।
 
उसको आँखाले केही कुरा लुकाए जस्तो पनि लाग्दैथ्यो मलाई । ब्रेक टाइममा पनि आज उसँग धेरै कुराकानी हुन पाएन । उ पनि कमै बोली । उसले मलाई कुन रुपमा हेर्थि थाहा थिएन । सुन्दर फुलेको फूलमा जसको पनि आँखा जान्छ । ऊ पनि त्यही फक्रिएको सुन्दर फूल जस्तै देखिन्थि । एउटा पुरुष होस या महिला विपरीत लिंगी प्रतिको आकर्षण हुनु स्वभाविक पनि थियो । यो प्राकृतिक कुरा पनि हो । उसको रुप रंग र स्वभावले मलाई कायल बनाएको थियो । जुन एंगलबाट उसलाई हेर्दा पनि ऊ पुर्ण थिइ । सुन्दर थिइ । लोभलाग्दी थिइ ।
 
उसमा केहीको कमी थिएन । व्यवहारमा पनि ऊ परिपक्व थिइ ।  मलाई लाग्थ्यो उसलाई ‘प्रपोज’ गरेर हेरौ । तर हिम्मत आउदैनथ्यो । कतै उसले ‘इग्नोर’ पो गर्ने हो कि भन्ने भयले  मन ग्रसित हुन्थ्यो । खै मेरो मनमा किन ऊ प्रति कसरी यस्तो आशक्तीपन आयो पत्तै पाइन । तर हामी एउटै अफिसमा संगै काम गर्ने मिल्ने साथी अवश्य थियौ । ऊ मलाई राम्रै साथीको रुपमा लिन्थि । सबै कुरा शेयर पनि गर्थि । उसको ब्वाई फ्रेण्ड पो छ कि ।  कतै मैले यस्तो सोचेर गलत त गरिन भन्ने पनि लाग्दै थियो । आज गुड फ्राइडेको दिन । काम गर्न पनि निकै जा“गर चल्दै थियो मलाई । शनिवार र आईतबारको विकेन्डको हयाङ आउट आउदै गरेकोले पनि होला सायद । 
  
जानियाले शनिवार विकेन्डको मौका पारेर डाउनटाउन ड्यालसको एउटा रेष्टुरामा लन्चका लागी निम्तो दिइ । उसको निम्तोले फुरुङ भए । सोचे यो नै उसलाई प्रोपोज गर्ने ठुलो मौका पनि हो । मुटु दह्रो बनाएर उसलाई भेटमा भन्छु– भन्छु भन्ने लाग्यो । आफुभित्रै योजना बनाए ।
 
भोलीपल्ट १८३ हाइवे लिएर ड्यालस डाउन टाउन हुइकिए । फुल म्युजिक घन्काउदै ड्राइभिङमा तल्लिन भए ।  टेक्ससबाट संचालित इन्डियन एफ.एम. फनेसिया ट्युन बटारे । रोमान्टिक गीत सकिएर यस्तो भावुक गीत जो बजीरहेको थियो–‘काश किसी से प्यार ना हो, ये प्यार बहुत दर्द देती है…. ।’
 
उसले दिएको ठेगानाकै मेक्सिकन रेष्टुरामा छिरे । उ पहिलेनै आएर बसीसकेकी थिइ । उसले मलाई ‘हग’ गदै स्वागत गरि । मेक्सिकन खानेकुरा अर्डर गरि । आज भने उसको अनुहार बिहानीको घाम झै खुलेको पाए । गफिदौ गर्दा वेटरले टेबलम जुस ल्याएर छाड्यो । उसले जुसको सुर्कि लाउदै भनि– ‘ए साच्चै अस्ति दुई दिन म अफिस किन नआएको तिमीलाई भन्न भुसुक्कै भुलेको रहेछु ।’ मेरो छोरा बिरामी परेर इर्मजेन्सी अस्पताल लानु परो, अफिसमा इर्मजेन्सी कल गरे ।’
 
उसको कुराले म एकछिन निशब्द भए । सपना जस्तै लाग्यो । मैले कहिल्यै सोचीन ऊ विवाहित होली भनेर । नत कहिल्यै सोधे उसको  व्यक्तिगत जीवन । तर मैले उसलाई एकोहोरो प्रेम गर्न थालेको थिए ।  उसलाई मन पराउन थालेको थिए । उसलाई हेर्दा उ कुनै कोणबाट पनि विवाहित जस्तो लाग्दैन थिइ । विवाह गर्न लायककी केटी जस्तो देखिन्थि । दुई वर्षको उसको छोरो पनि रहेछ । उसको कुरा सुनेपछि मैले ऊ प्रति बनाएको धारणा हठात् परिवर्तन गरे । ऊ त छोराकी आमा पो रहिछे । प्रेमिकाको रुपमा उसलाई हटाईदिए । एउटा साथीकै रुपमा उसलाई नियाले अब । मन कता कता बत्तियो ।  के सोचे के भयो भन्ने पनि लाग्यो ।
 
उसको पारिवारिक जीवनको बारेमा जान्न इच्छुक भए । लोग्नेका बारेमा उसलाई सोधे । उसले भनिन– ‘आइएम सिंगल मम ।’ त्यसपछि उसले आफनो वैवाहिक जीवनको फेहरिस्थत सुनाउन थाली ।  
 
चार वर्ष अघि जब उ टेक्सस युनिभर्सिटी पढ्थी । त्यतिनै बेला आफुसँगै पढ्ने एउटा गोरो बाटुलो अनुहार केटा उसको जीवनमा आइपुग्यो । आर्यन लुक्सको केटासँग उ प्रेममा परिछ । दुवैले एक अर्कालाई नङ र मासुको जस्तै  सम्बन्ध बनाउन थाले ।
 
केटाको नाम बिनय रहेछ । नामले नै मलाई अनुमान लगाउन मुस्किल भएन उ नेपाली हो भनेर । आफनो मोबाइलको फोल्डरमा सेभ गरेर राखेको उसको तस्विर पनि मलाई देखाइ । भुरभुर अनुहारमा हल्का दाह्ी र अनुहार मिलेको थियो केटाको । हेयर स्टाईल पनि कोरियन स्टाइलको थियो ।
 
केटो पनि हेर्दा हेन्डसम नै थियो । जब उनिहरु प्रेममा परे, त्यतिबेला देखिनै सँगै बस्न थालेका रहेछन्  लिभिङ टुगेदरमा। बाबुआमासँग बस्दै आएकी एक्ली छोरी थिइ उ । विनयसँग नजिकिएपछि घर परिवार छाडी र उसँगै बस्न थाली । पढाइमा मिहिनेती र नरम व्यवहारले ऊ विनयसंग प्रभावित भएकी  थिइ  रे । विनयलाई मन पराएकी थिई ।
 
मैले बुझ्दै थिए अफिसमा कहिले काँही मैले नेपालको बारेमा कुरा गर्दा उसले चासो दिनुको कारण उसको यस्तो साईनो रहेछ र पो । बिनयसँग बिवाह गरेर हाम्रै नेपाली चेली भएकी रहिछ भन्ने ठाने । मैले उसलाई आफनो कर्म घर नेपाल रोजेकोमा बधाई दिए ।
 
न उसले मैले दिएको बधाई स्वीकारी नत ओठबाट हल्का मुस्कान नै फुत्काई । सोचे केही गडबढ पक्कै छ । डिनर लिदै उसले कुराकानीलाई अघि बढाउदै गइ । उसले मलाई आफनो कथा सुनाउन पनि डाके जस्तो लाग्दै थियो ।
 
विनयलाई पनि सँगै ल्याको भए भेट्न हुन्थ्यो, चिनजान गर्न हुन्थ्यो भन्ने सोचे । ‘विनय कहाँ“ छन् त, ?  मैले उसलाई सोधे । मेरो प्रश्नले उ भावुक भई । केही क्षण मौन बसी । बोली निस्किएन । केही समालिए जस्तो गरेर बोली । ‘खै तीन वर्ष भइसक्यो उसको अनुहार नदेखेको पनि,‘ उ बोल्दै गई । जब पेटमा उसको गर्भ बस्यो, त्यसको केही समयपछि ऊ घरपरिवार भेटन भन्दै नेपाल गएको थियो रे । छिट्टै फर्कन्छु भन्दै गएको ऊ यतिका वर्ष बित्दा पनि फर्किएन  । पेटमा उसले छाडेको नासो हुर्कदै गयो । नासो जन्मेर पनि अहिले दुई वर्षको भइसकेको छ ।
 
केही अघि सम्म त ऊ फर्केला भन्ने आशा गरेकी थिए । बाटो हेर्द पनि बसे । ‘अब त ऊ प्रतिको आशा पनि मरेको छ, उसले भनि । विना बाउको छोरो हुर्काएर बसेकी छु । फेरी ड्याडी ममीसँगै बस्न थालेकी छु । सुरुमा त सामाजिक संजाल फेसबुक मार्फत विनयसँग केही कुराकानी पनि हुन्थयो रे । अहिले त उसको फेसबुक, ट्युटर लगायतका संजालहरु सबै डिएक्टिभ रहेछ । मेरो माया नभए पनि कमसेकम उसैले छाडेको यो नासो छोराको मायाले त फर्कनु पर्ने हो, तर ऊ फर्किएन, फर्किदैन अब । एकोहोरो सम्झिएर कति बस्नु, अव त मैले पनि भुल्ने कोसिस गरेकी छु । उसैले चिनोको रुपमा छाडेको यही छोरोलाई हुर्काउने , बढाउने र पढाउने जिम्मेवारी लिदै एक्ली आमाकै रुपमा बाकी जीवन बिताउनेछु । ऊ नेपालबाट फर्केपछि विवाह गर्ने सोच बनाएकी थिइ । तर सबै कथा बनिदियो उसको जीवनमा । ऊ बोल्दै गइ । मैले सुनीरहे ।
 
उसको कथाले मलाई पनि भावुक बनायो । विनयले किन उसलाई अलपत्र पारेर हिड्यो । किन उ फेरी नेपालबाट अमेरिका फर्किएन । किन ऊ कठोर भएछ यसरी । यति धेरै मनमा पीडा लुकाएर पनि बाहिर जानिया सँधै हाँसीखुशी हिडेको देखिन्थि । अफिसमा पनि सधै फ्रेस हुन्थि । लन्च खाएर कुराकानी सकिएपछि ऊ र म रेष्टुराबाट छुट्टीयौ । फेरी सोमबार अफिसमै भेट्ने भन्दै  हामी एक अर्कोबाट विदा भयौ ।
००००
ओहो मैले कस्तो सपना पो देखेछु । ड्याडी ड्याडी छिटो उठनु न, स्कुल जान ढिला भयो, सात वर्षिया छोरीले एकाबिहानै मलाई घचघचाई । छोरीको घचघचाईले झस्केर उठे । फिल्म जस्तो कथाको सपनाले मन न्यास्रो भयो । ढिला भइसकेछ छोरीलाई स्कुल पुर्याउन । फ्रेस भएर हतार– हतार कार स्टार्ट गरेर छोरीलाई स्कुल पुर्याउन  हिडेँ ।