मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारविरुद्ध आन्दोलन गछौँ : सभापति देउवा

सरकारविरुद्ध आन्दोलन गछौँ : सभापति देउवा


म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएका छन् । 
 
नेपाली कांग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र सुशासन तथा सुरक्षा कायम गर्न सरकार असफल बन्दै गएको उनको आरोप थियो । 
 
“राणा, पञ्चायत र राजा फाल्न जस्तै कम्युनिष्टका विरुद्ध पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो”, सभापति देउवाले भने । दुई तिहाई बहुमत भए पनि सरकारले खासै काम गर्न नसकेको उनको टिप्पणी थियो । 
 
बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा स्नान गरेपछि सभापति देउवाले सडक सुविधा र व्यवस्थापनमा ध्यान दिन सकेमा तातोपानी कुण्डको स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास हुने बताए । 
 
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गरे । सम्झौतामा उल्लेखित जनमत भन्ने शब्दका कारण शङ्का पैदा गरेको नेता पौडेलले बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विकास र शासन गर्ने क्षमता नभएको बताए । 
 
उनले वाइड बडी, सुनकाण्डजस्ता अर्बौँ रुपैयाँको भ्रष्टाचारको तथ्य बाहिरिँदासमेत सरकारले बेवास्ता गरेर भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्न खोजेको बताए । सभापति देउवाप्रति लक्षित गर्दै पौडेलले कम्युनिष्टको असफलतामा कांग्रेसको भविष्य नदेख्न अनुरोध गरे । पार्टीभित्रको विवादलाई पारदर्शी ढङ्गले हल गरेर आन्तरिक एकतालाई बलियो बनाउन चाहेको उनको भनाइ थियो । 
 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक वर्षमै सरकारले जनविश्वास गुमाइसकेकाले कांग्रेसले आन्तरिक एकतालाई बलियो बनाएर देशको राजनीतिको नेतृत्व गर्नुपर्ने बताए । बेनीको सङ्गमचोकमा निर्माण गरिएको दुईतले भवनको सभापति देउवा र वरिष्ठ नेता पौडेलले संयुक्तरुपमा उद्घाटन गरेका थिए । 
 
रु ५१ लाख ३७ हजारमा खरीद गरिएको जग्गामा रु २९ लाख ५९ हजारको लागतमा सो भवन निर्माण गरिएको कांग्रेस म्याग्दीका कोषाध्यक्ष टंक हमालले जानकारी दिए ।