विचार / ब्लग

उनीहरुले टेकेको माटो

233 पटक पढिएको

– कमला अधिकारी लोहनी

8th Mar 2019, Friday | २०७५ फाल्गुन २४, शुक्रबार १०:२९
फागुनको अन्तिम तिर हुनुपर्छ । जिल्ला अस्पतालको चौरमा घाम तापी रहेको थिएँ । बिहानको नौ बजे ओपीडीमा कर्मचारी बाहेक कोहि थिएनन् । कार्यालय सहयोगी भाई गोरखापत्र लिएर छिटै आएको देखेर मलाई अनौठो लग्यो । उसले हतारहतार पत्रिका मेरै हातमा थमाए । उनले भने–"सिस्टर यसमा अस्ति तपाई जानुभएको कार्यक्रमको बारेमा लेखेको छ, पढ्नु त ।‘
समाचार थियो "तनहुँको छिम्केश्वरी गाउँमा अन्तराष्ट्रिय महिला दिवसको अबसरमा बिपन्न महिलाहरुको लागि स्वास्थ्य जागरण तालिम सम्पन्न ।"
रातो माटो, उकालो बाटो जहाँ ढुंगाले छपक्क छोपेर सिँढी । बाटो छ, हरेक दिन हजारौ पैतालाहरु उही ढुंगे बाटो पार गर्दै शहरतिर लाग्छन । २/४ महिनामा केहि नयाँ अनुहारहरु उकालोको टुप्पोमा रहेको सानो बस्तितिर पनि झुल्किन्छन् ।  म पनि जिल्ला स्वास्थ्य कार्यालयको तर्फबाट महिलाहरुको लागि स्वास्थ्य जन चेतना मुलक कोसेली बोकेर त्यो बाटो लागेको थिएँ ।
मसँग एक जना सहयोगी दाइ हुनुहुन्थो I साँझ पर्न लागेकोले दाइले अलि छिटो छिटो पाइला सार्न अनुरोध गर्दै हुनुहुन्थो I 'सिस्टर अलि छिटो हिंड्नु पर्छ, बास बस्ने ठाउँमा पुग्नै पर्छ I म भने त्यो सानो सुन्दर बस्तीको रहस्य खोज्ने कोशिष गर्दै थिएँ I 
मैले सोधे–"दाइ यता नै बसे हुँदै न र ? "
दाइले त पहाडै खसे झैँ अचम्म मानेर भन्नुभयो –"म सानो मान्छे के भनौ हजुर ? यता त बस्न हुँदै न । यो दलित बस्ती हो । हामी यता बास बसेको थाहा भयो भने भोली हाम्रो कार्यक्रममा कोहि पनि आउँदैनन ।"
म झोलाबाट मेरो भ्रमण आदेश को चिठी निकालेर हेर्छु । मैले जानु पर्ने ठाउँ मध्यको एक ठाउँ त्यही बस्ती रहेछ I म फेरी सम्झाउन खोज्छु "दाइ हामी यता नै बस्दा राम्रो हुन्छ । यताका महिलाहरुलाई पनि भेट्ने मौका मिल्छ ।" 
तर मेरो जिद्दीको कुनै अर्थ रहेन I बल्लबल्ल दाइले एक जना दिदीसँग भेटाइ दिनुभयो I 
"दिदि नमस्कार" दिदीलाइ अभिवादन गर्छु म । उनले मलिन अनुहार लगाएर पुलुक्क म तिर हेरिन् । फेरि अप्ठेरो माने झैँ गरि भुइँ तिर हेरिरहिन् । मैले सोधे–“दिदि तपाईको नाम के हो ?” 
उनले भुइतिरै हेरेर जवाफ दिइन्–"मंगली।" मेरा सहयोगी दाइका अनुसार मंगली त्यो गाउँकी महिला स्वयंसेविका हुन् । जुन जिल्ला स्वास्थ्य कार्यालयको दस्ताबेजमा छ । सायद उनैलाइ पनि थाहा छैन । 
"दिदी, भोली पल्लो गाउँमा आउनुस् है । अरु दिदी बहिनीहरूलाइ पनि लिएर अाउनुस् है,‘ मैले अाग्रह गरेँ । उनले दुबै हात जोडेर भनिन्–‘हवस् ।‘
हामी हतारहतार पल्लो गाउँमा पुगेर गाउँका गण्यमाण्यको घरमा बास बस्यैाँ । हाम्रो खानपिन र सत्कारमा खटिने ठुलो घर कि बुहारी धनकुमारी I धनी केटासँग बिवाहा भएपछि उनका ससुराले नै राखी दिएको नाम रहेछ धनकुमारी । 
धनकुमारी पनि उस्तै मलिन र उदास देखिन्थिन । अति नै कमजोर देखिन्थिन् । शायद गर्भवती पनि थिइन् ।  मंगली र धनकुमारीको मात्र टेकेको माटो फरक, अनुहारको भाबमा कुनै अन्तर थिएन I  दिनभरिको थकाइले निदाएको पत्तो हुँदैन  ।
बिहानै निन्द्राले छोड्यो । धनकुमारीको सासुको कचकच सुरु भयो I म धनकुमारीको पछिपछि लाग्छु पँधेरा तिर I म उनको बारेमा धेरै जान्न खोज्छु । उनी भन्न खोज्दिनन् । लुकाउन खोज्छन् ।  मलाई कर गर्न अप्ठेरो लाग्यो I तरपनि आँट गरेर भने– "दिदि हजुरको सासुले धेरै दुःख दिनुहुन्छ जस्तो छ नि ?‘
उनी फिस्स रून्चे हाँसो हाँस्छन् I  मैले उनको माइतीका बारेमा जिज्ञासा राखेँ । बा–अामाका बारेमा सोधेँ । 
उनले भनिन्–"माइती टाढा छ । सबै हुनुहुन्छ I‘ मैले बा–अामाले सासुअामालाइ सम्झाउनु हुन्न भनेर पनि सोधेँ । 
केहि बेरको मौनता पछि एकै सासमा गाँठो फुकाइन् । "मलाई सासुसँग मात्र गुनासो छैन । अर्काको घर जाने जात भन्दै बालाइ उक्साएर मलाइ स्कुल नपठाउने मेरी आमा, दाइजो नल्याको निहुमा रातदिन कचकच गर्ने मेरी सासु मेरा लागि उस्तै हुन् ।‘
उनले फेरी थपिन्–‘गल्ती त मैले टेकेको माटोको हो, जुन माटोको बाटो टलक्क टल्किने ढुंगाले पुरिएको छ  । जसरी मेरा भावनाहरु मेरा आफ्नै जन्म र कर्म घरमा पुरिएका छन् I "
उनका शब्दहरुमा हजारौँ नारीहरुक पीडा छरपष्ट छरिएका थिए । भोलीपल्ट हामी कार्यक्रम तिर लाग्यौ I मलाई मेरो कार्यक्रमले भन्दा पनि धनकुमारीका शब्दहरु ले स्तब्ध बनायो I जहाँ अलि टाठाबाठा मानिने २/४ जना महिलाहरुको उपस्थिति थियो I न मंगली न त धनकुमारीहरूनै थिए । 
 म भारी मन बोकेर उही बाटो फर्कन्छु मंगली को गाउँ हुँदै I फेरि उनलाई भेट्न मन लाग्छ । 
म उनको घर बाहिर पुगेर बोलाउँछु–"मंगली दिदि ।"
भित्रबाट अावाज अाउँछ– "को हँ ?‘
 म क्या हिजो भेटेको होइन । म केहि बेर मौन बस्छु । भित्रबाट कुनै संकेत अाएन ।  पछि फेरि बहाना बनाउछु– "मंगली दिदी पानि दिनुस न । कस्तो तिर्खा लग्यो ।‘
अब उनले धरै पाइनन । तर खाली हात पो बाहिर निस्किन । मलाई लिएर सरासर पानीको धारा तर्फ लागिन । धारा देखाउँदै भनिन "हामी दलित हौ । तपाइले हामीले छोएको र दिएको पानी पिउनु हुँदैन ।"
उनको बुझाइ, वाध्यता देखेर मलाइ रून मन लाग्यो । अति भएपछि मैले मुख खोलेँ–‘दिदी, समय परिबर्तन भइसक्यो । अब मान्छेको जात फरक हुँदैन, महिला र पुरूषमात्र हुन्छन् ।‘ 
मैले धेरै बुझाउन प्रयास गरेँ । धेरै प्रयास पछि उनले मुख खोलिन्–‘सिस्टर हजुरले भनेको कुरा त सहरबजार, विदेश तिर मात्र हुन्छ रे । यता हुँदैन । सायद हाम्रा पाइलाहरु गलत माटोमा परेका छन् ।"
 
धनकुमारी र मंगलीले भने जस्तै हाम्रा चेलीहरु गलत माटोमा जन्मेका हुन् त ? के उही माटोमा छोराहरु कर्मबीर हुँदै गर्दा छोरीहरु कर्महारा किन हुँदै छन् ? अझै पनि हाम्रो समाजमा मंगली र धनकुमारीहरु अनगिन्ति  छन् । परिबर्तन घरबाटै सुरु हुन पर्छ । 
महिला दिवसको शुभकामना I