मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर महानगरको मेयर-उपमेयरबीचको विवाद सतहमा

भरतपुर महानगरको मेयर-उपमेयरबीचको विवाद सतहमा


भरतपुर । भरतपुर महानगरमा प्रमुख र उपप्रमुखबीचको विवाद अझै साम्य भएको छैन । उनीहरुबीचको झगडाले उग्र रुप लिए पनि समाधानका लागि स्वयम् उनीहरु नै तत्पर देखिएका छैनन् । एक अर्कोसँग नझुक्ने अवस्थाले झनै समस्या देखिएको छ । 
 
यसअघि उपमेयरले पटकपटक असहमति जनाउँदा आफूले सहमतिमा ल्याई काम अघि बढाएकी मेयर रेनु दाहाल यसपटक भने कत्ति पनि लचकता देखाउन सकेकी छैनन् । 
 
त्यसो त उपमेयर पार्वती शाह पनि टसमस भएकी छैनन् । विवादले महानगरको विकासमा बाधा पु¥याउने बुझ्दाबुझ्दै पनि उनीहरुबीचको अहम्ले समस्या उत्पन्न भएको हो ।
 
झगडा सुरू भएको दुई हप्ता कटिसक्दा समाधानको लागि कतैबाट पनि पहल भएको छैन । महानगरकै जनप्रतिनिधिले समाधान गर्नुपर्ने उनीहरु सम्वद्ध पार्टीको भनाइ छ । मेयर भएको हिसाबले दाहालले नै वार्ताको पहल गर्नुपर्ने केहीको धारणा छ । 
 
मेयरसँग पटकपटक असन्तुष्टि राख्दै विभिन्न बैठक र कार्यक्रम नै बहिष्कार गर्दै आएकी उपमेयर पार्वती शाहले यसपटक भने आफ्नो असन्तुष्टिलाई सार्वजनिक गरेकी छन् । दुई प्रमुख शासकहरुको झगडालाई वडाअध्यक्ष र सदस्यहरुले भने गलत भएको टिप्पणी गरेका छन् । महानगरका दुई जिम्मेवार नारी शक्तिहरुले एक अर्कोलाई तल्लो तहको आरोपसम्म लगाएका थिए । 
 
जसलाई महानगरवासीले विडम्बनाका रुपमा लिएका छन् । ‘दुई महिला मिलेर भरतपुर महानगर राम्रो हुनेछ भन्ने सोचेका थियौँ, तर त्यस्तो भएन,’ भरतपुर ११ का प्रकाश सुवेदीले भने । 
 
पार्टीमा छलफल भएन
 
महानगरका मेयर र उपमेयरबीच भएको विवादका विषयमा नेकपा र नेपाली कांग्रेस केन्द्रसम्म पनि कुरा पुगिसकेको छ । दुवै समर्थक पार्टी नेताले दुवै जनासँग सोधपुछ गरेको छ । 
 
अन्तरपार्टी छलफल भएको छैन । तर, पार्टी तहबाट विवाद समाधानका लागि ठोस पहल भने भएको छैन । ‘मेयर उपमेयरको विवादका विषयमा नेकपासँग औपचारिक कुरा भएको छैन, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने,‘सकेसम्म प्रतिनिधिहरु नै बसेर समाधान गर्ने हो, हामीले मिलाउन नपरोस भन्ने चाहन्छु ।’ 
 
महानगरमा एकले अर्कोलाई निषेध गर्ने परिपार्टीको अन्त्य हुनुपर्ने सभापति श्रेष्ठले बताए । कोही कसैले शक्तिको आडमा पेलेर जान नहुने भन्दै उनले दुवै प्रतिनिधिले फरक फरक पत्रकार सम्मेलन गरेर तीतो पोख्नु नै गलत काम भएको औँल्याए । 
 
नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्काले पार्टी तहमा विवादका विषयमा कुरा नभएको बताए । ‘उहाँहरु नै मिल्दा भविष्यका लागि पनि राम्रो हुने भएकाले हामीले मिल्नका लागि दबाब दिएका छाँ’, उनले भने ।