विचार / ब्लग

पुरा भिदा कोष्टारिका

328 पटक पढिएको

- विकासराज न्यौपाने

फोटो फिचर | 10th Mar 2019, Sunday | २०७५ फाल्गुन २६, आईतवार ०८:३६
"पुरा भिदा" अर्थात् सबै ठिक छ  । मध्य अमेरिकी देश कोष्टारिकाबाट अमेरिका फर्किदा हामीले यही पुरा भिदा शब्द धेरै पटक भन्याैँ । करिब एक साता कोष्टारिकामा हामी स्वछन्द भएर बरालियौ। तातोपानीको धारा वा कुवा होइन, घुँडासम्म डुब्ने पानी भएको बग्ने खोलामा डुबुल्की मारेको सम्झना अझै ताजा छ I बाटोमा गाडी रोकेर पिएको नरिवल-पानी र वासनादार भूइँकटहर स्वाद अझै पनि जिब्रोमा झुण्डीरहेको छ । पर्यटकहरूले खचाखच भरिएको समुन्द्री तट देखि सुनसान समुन्द्रको बिचमा डुबुल्की मार्नुको मज्जा सायदै चाहेर पनि जिन्दगीभर भुल्न सकिँदैन I
 
आउनुहोस् यात्रा कोष्टारिका सुरु गरौँ !
 
टेक्ससको ह्यूस्टन विमानस्थलबाट उडेपछि गल्फ अफ मेक्सिको, मेक्सिको, बिल्ज, निकारागुवा र हण्डुरसको आकाश नाघेपछि तीन घण्टा पनि नहुदैं कोष्टारिकाको आकाशमा छिरिन्छ । राजधानी सानहोजेको एयरपोर्ट सानो छ । इमिग्रेशन पुग्दा निकै भिडभाड थियो । धेरैजसो अमेरिकी पर्यटक थिए । त्यही लाग्यो यो देशलाई पर्यटकले रुचाएका रहेछन् । इमिग्रेशनमा लामो लाइन छिचल्दा दुइ घण्टा भन्दा पनि बढी लाग्यो । यसरी लाइनमा समय बिताएको विरलै अनुभव थियो । इमिग्रेशन अधिकारीले यसो पासपोर्ट हेरे । ९० दिन बस्न पाउने छाप लगाइदिए । बल्ल यहाँको भीडबाट मुक्ति पाइयो ।
 
हामी कोष्टारिकामा पहिलो दिन नेपाली दाइ डा खगेन्द्र चापागाईँको घरमा पाहुना भएका थियौँ । राजधानी सानहोजेको उत्तरतिर रहेको अति कति उचाइमा डा खगेन्द्रको निवास थियो । त्यहाँ न जाडो थियो न गर्मी । पुगेको पहिलो विहाननै हामीलाई सबेरै चराहरूले उठाएका थिए ।  
सानहोजे कोष्टारिका
भतिज राजेश चापागाईँले हामीलाई घर माथिकै डाँडामा घुमाउन लिएर गए । त्यहाँ कञ्चन खोला बगिरहेको थियो । म यो खोलाको आवाज सुन्दै योगा गर्छ, भतिजले अंग्रजीमा भने । राजेश डा खगेन्द्रजीका जेठा छोरा हुन । आमा कोष्टारिकन, उनी कोष्टारिकामा जन्मे त्यहीँ हुर्के । तर, राजेशले गत वर्ष ६ महिना नेपाल बिताएका रहेछन् । बुबाको घर झापा देखि पूर्वको ताप्लेजुङ, पश्चिमको महेन्द्रनगरसम्म पुगेछन् । अन्नपूर्ण सर्किट, देखि चितवनको सौराहासम्म घुमेको अनुभव उनले हामीलाई अघिल्लो दिनै सुनाईसकेका थिए । त्यसैले हामी उनीसँगै प्रभावित भएका थियौँ । नेपालमा कहाँ बस्यौँ भन्ने प्रश्नमा राजेशले भनेका थिए काठमाडौँमा फुपूको घरमा, झापामा हजुरबासँग । उनलाई नेपाली बोल्न आउँदैन तर, अङ्ग्रेजी भने बोल्छन्  । संस्कार नेपालीजस्तो छ । त्यसैले उनले योगा र खोलाको कञ्चन ध्वनिलाई जोड्दा पनि हामीलाई आश्चर्य लागेन ।
 
अङ्क कफी बगान भित्रै पनि पस्न सकिन्छ, मैले कफी बगानको फोटो खिच्न लाग्दा राजेशले छेऊकै कफी बगान देखाउँदै भने । अर्कोको खेती जमिन भित्र जान्न दिन्छ । राजेश हाँस्दै भने कुनै समस्या छैन, म बाइक लिएर सधैँ जाने ठाउँ हो । हामी कफी बगान पस्यौँ । मज्जाले हात भरी राता कफीका दाना टिप्यौँ । यहाँ को मान्छे को हो, प्राय सबैले सबैलाई चिन्छन् त्यसैले बगानमा जान पाइँदैन भन्ने छैन । त्यही बेला बाटो बिराएको एउटा जिप आई पुग्यो । राजेशले झर्को नमानी उनीहरूलाई गन्तव्य तिर सोझ्याई दिए ।
 
साथी पवन सँग लेक आर्नललाई एक चक्कर लगाए पश्चात् त्यहाँको ज्वालामुखीले वनेको पहाड र ताल वरिपरिको प्रकृति सुन्दरताको ठुलो फ्यान भइयो । प्रातिकृत सुन्दरताले भरिपूर्ण लेक आर्नल ले जो कोही लाई पनि मोहनी लगाउन सक्छ, जति हेर्‍यो हेरिरहु जस्तो । कोष्टारिकाको हावा पानी रहन सहन पनि त्यस्तै स्वतन्त्र थियो ।
 
सोडा अर्थात् कोस्टारिकन किनारा पसलमा गाडी रोक्यो अनि स्थानीय खाना खानुको मज्जा बेग्लै । हामी स्पेनिस नबुझ्ने होटेलकी साहुनी बहिनी अङ्ग्रेजी नजान्ने । तर, खाना भने मिठो उनी जस्तै, इसारामा भए पनि साहुनीलाई राम्री रहिछौं भनियो । कम्मरमा हात राखेर फोटो खिच्दा उनी मुस्काईरहेकी थिइन । फोटो खिचेपछि हामीले भन्यौ "पुरा भिदा" । उनी मस्किएर गइन । तर हामी एकछिनका ग्राहक न थियौँ जानु नै थियो । "पुरा भिदा" भन्दै बाटो लाग्यौँ ।
 
लेक आर्नलको किनारै किनार बिस्तारै गाडीमा गुडिरहँदा एक दिन बित्यो । यस क्रममा साँझ तिर बाटोमै एउटा लंगुर आईपुग्यो । रोकेर उ सँग जस्कियौं । 
लेक आर्नल
हाँको बिच तिर लाग्दा हाइवे ३४ मा एउटा नदी भेटियो । नदीको पुलमा बसेर पर्यटक फोटो खिचिरहेका थिए । हामी पनि ती पर्यटक भए तिर लाग्यौँ तर, हेर्दा नदीमा गोहीका बथान नै थिए । सभा बसिरहेको जस्तो गरेर गोही घाममा पाहर लिईरहेका थिए । समुन्द्र हेर्न अर्को ठाउँमा गाडी रोक्दा क्यालिफोर्निया बदाम अर्थात् नट्सको हरियो रुखमा एक जोडी रंगिन सुगा प्रेमलाप गरिरहेका थिए ।
 
प्रकृत्तिसँग स्वछन्द भएर घुम्न मन छ भने कोष्टारिका ठिक ठाउँ हो । साना साना डाँडा छन्, समुन्द्र बिच, जङ्गल, लटरम्म फलिरहेका आँप, सुन्तला, वनस्पति तेल दिने पामको जङ्गल, कफी, उखुबारी, देखि नदी नाला भेटिन्छन् । 
 
आँप रुखमा झेण्डिरहेका थिए । आँप टिपेर खान मन छ भनेपनि टिपे हुन्छ हामीलाई साथ दिईरहेका भुवन चापागाईँले भने । भुवन कोष्टारिकामा काठ व्यवसायमा संलग्न छन् । कोष्टारिकाको कुना कुनामा गएर टिकको जङ्गल किन्यो काट्यो भारत पठायो यो उनको पेसा हो । हामी सानहोजेवाट उनले काठ पठाउन बन्दरगाहा भएको स्थान पुन्तारेस पुग्न करिब २ घण्टा लाग्यो । उनको बसाईपनि त्यही ठाउँमा हो । उनको कार्यथलो फार्म हाउस जस्तै थियो ।  त्यस साँझ गाउँमा पालेको लोकल कुखुराका परिकारको स्वाद लिदां चितवनकै खेतमा बसेजस्तो भान भयो । अलिउता भेडा बाख्रा चरिरहेका थिए । टिनले छाएका एक तले घर, बाहिरै राखेर बंगुर पालेका देख्दा नेपालकै झल्को आउँछ । गर्मी, सितनमा लोकल कुखुराको मासु सँगै हुनुभएका दाइहरू (तारा बराल, विजय घिमिरे ) असिन पसिन भईसक्नुभएको थियो ।
 
हाको बिचको क्यासिनो निकै रोमान्टिक छ । अगाडी समुन्द्र र स्वछन्द रूपमा मस्किन आउने सुन्दरी । साँझ तिर त्यहाँ पुग्दा समय नै टक्क रोकियोस् जस्तो भयो ।  सबै आफ्नो धुनमा मस्त । अगाडी समुन्द्र, अर्को तर्फ हरियो सदावहार जङ्गल अनि चराहरू । सगरमाथा र हिमालको देश वाट आएको भएर होला हामी समुन्द्रका भोका हौँ । समुन्द्रले हामीलाई जहाँ तही तानिरह्यो ।
हाको बिच
कोष्टारिकाको आफ्नै सेना छैन । प्रहरी पनि कमै देखिन्छन् । अपराध हुँदैन, पुलिस नै देखिदैंन । भुवनले यो प्रश्नमा अचम्म मान्दै भने, यहाँ यस्तो अपराध नै हुँदैन । सानहोजे डाउन टाउनमा केही होला तर, त्यसबाहेक अरुठाउंमा खासै केही समस्या छैन । यहाँ सबै हाँसी खुसी र मोजमस्तीमा जीवन बिताउनु पर्छ भन्ने ठान्छन् के को अपराध हुने । ६ दिनमा त्यो हामीले पनि अनुभव गर्‍यौँ । कतिपय अवस्थामा त कहीँ सडक दुर्धटना भयो भने पुलिसभन्दा पहिले एम्बुलेन्स आएर अस्पताल लैजाँदो रहेछ ।
 
कोष्टारिकामा बस्ने १२ जना नेपाली । यसमा तीन जना विद्यार्थी । अव नेपाल फर्किन ९९ दिन बाँकी छ । त्यहाँ पढाई सक्न लागेकी विद्यार्थी आस्थाले भनिन् । हामी त्यहाँ रहँदा नेपाली बोल्ने १२ जनामध्ये केहीलाई पछ्याईरहौं । 
 
यहाँ काठकै काममा भुवनलाई सघाई रहेका पदम पराजुलीले तल्लोबाटोवाट अमेरिका छिर्न खोज्ने नेपालीका बारेमा थुप्रै अनुभवहरू सुनाए । कोही नेपाली त्यहीँबाट फर्किएका, कोही अमेरिका छिरेका नेपालीको बारेमा बताए । अहिले भने त्यत्ति धेरै नेपाली आएजस्तो लाग्दैन, पदमले भने । प्रविधिले विश्व सानो भएको छ । तर, भुवन र पदमको कार्यथलोमा पुग्दा कहाँ कहाँ अनकन्टार स्थानमा पुगेजस्तो भने लाग्छ । फलफुल उही हुन्, मानिस पनि हामीजस्तै देखिन्छन् तर, बसाई अनकन्टारमा । सायद परदेश भएर होला । अव केही कमाउने हो र नेपालनै जाने पवन र भुवनको यही योजना छ ।
 
कोष्टारिका उन्मुक्त घुम्ने हो भने एक सातापनि पर्याप्त रहेनछ । नांगो बिचमा मस्ती, निकुञ्जमा जङ्गल वाक, तातोपानी बग्ने खोलामा मनभरी डुबुल्की लगाउने इच्छा अरू थुप्रै एड्भान्चर गर्न बाँकी नै रह्यो । अब राम्रोसँग थाहा भयो अर्को पटक फेरी आउँला "पुरा भिदा" यही भन्दै हामीले फर्किने जहाज चढ्यौ । "पुरा भिदा" ।