विचार / ब्लग

यी नेता जो अमेरिकाकाण्डबाट अस्ताए

2401 पटक पढिएको

– रामचन्द्र भट्ट

9th Mar 2019, Saturday | २०७५ फाल्गुन २५, शनिबार ०९:१३
गणेश पण्डितका बारेमा मैले चर्चा गर्नुपर्दा तीन दशक पछाडी पुग्नुपर्ने हुन्छ । २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनाव हुँदैथियो । बैशाख पूर्णिमामा मेरो गाउँसँगैको देबीघाटमा ठूलो मेला (जात्रा) लाग्थ्यो । त्यही जात्रामा पहिलो पटक गणेश पण्डितलाई देखेको थिएँ ।
 
त्यसभन्दा अघि नत कम्युनिष्ट भनेर कसैलाई चिनेको थिएँ, नत देखेकै थिएँ । जात्रामा बरफ चुस्दै थिएँ म । एउटा ठूलो हुल ‘छाप के मा ? मादलमा’, ‘गणेश पण्डित–जिन्दाबाद, जिन्दाबाद’ भन्दै अगाडी आइपुग्यो । मैले चिनेका, जानेका धेरै शिक्षकहरू, विद्यार्थीहरू, गाउँका दाइहरू त्यो हुलमा थिए ।
 
मेरो तल्लोघरमा सीताराम काकाले मलाई तान्दै हुलभित्र पुर्याएँ । अबीरले रंगीएको एकजना मानिस दुई हात जोड्दै हिँडिरहेका थिएँ । शीरमा ढाका टोपी थियो । काकाले उनलाई नमस्कार गरे । मैले पनि ती मानिसलाई नमस्कार गरेँ । उनले मेरो गालामा मुसारे अनि सोधे–‘कति क्लासमा पढ्छौ ?’ मैले भने–‘८ कक्षामा ।’
 
‘राम्रोसँग पढ् है । अनि मादलमा भोट हाल्न बा–आमालाई भन है’ उनले भने ।
 
मैलै ‘हवस’ भन्न नपाउँदै उनी भीडमै हराए ।
 
त्यही दिन थियो पहिलोपल्ट वामपन्थी नेता भेटेको । २०४२ सालको बमकाण्डको अभियोगमा मैले पढ्ने च्वाडी हाइस्कुलका तीनजना शिक्षकहरु गिरफ्तार हुनुभएको थियो । शिवकुमार मिश्र, चन्द्रप्रसाद उप्रेती र भरत थापा गिरफतार हुनुभएको थियो । तीनैजनालाई नौ महिनासम्म काठमाडौँ लगेर जेलमा राखिएको थियो । उप्रेती सर नेपाली कांग्रेसमा आस्था राख्नुहुन्थ्यो भने मिश्र सर र भरत सर भने वामपन्थी ।
 
त्यतिखेर नुवाकोटबाट धेरै शिक्षकहरु गिरफ्तार हुनुभएको थियो । जसमा गणेश पण्डित पनि हुनुहुन्थ्यो । छुटेर आइसकेपछि गणेश सर पूर्णकालिन राजनीतिमा लाग्नुभयो । उहाँ राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवारका रुपमा खडा हुनुभएको थियो । जसरी काठमाडौंमा पद्मरत्न तुलाधर, चितवनमा जागृतप्रसाद भेटवाल, मकवानपुरमा रुपचन्द्र विष्ट, झापा द्रोणाचार्य क्षेत्री लगायत थिए ।
 
जात्रामा गणेश पण्डितलाई भेटेपछि मलाई उहाँप्रतिको छाप अलग्गै पर्यो । त्यतिखेर चुनावमा मेरा पिता जीतसिंह खड्काको प्रचारप्रसारमै हुनुहुन्थ्यो । त्यतिखेर राष्ट्रिय पञ्चायतमा नुवाकोटबाट दुई सिट थियो । चुनावमा डा. प्रकाशचन्द्र लोहनी, अर्जुन नरसिंह केसी, शेरबहादुर घले (तत्कालिन अाइजिपी डिबी लामाका भाइ) समेत उम्मेदवार थिए । अरू पनि थुप्रै थिए उम्मेदवार । अर्जुन नरसिंह केसी नाताले गणेश सरका साख्खै भाञ्जा थिए । मामा–भान्जानै चुनावमा प्रतिस्पर्धा गर्दैथिए । तर फरक विचारधारा र अास्था बोकेका थिए दुबैले ।
 
मैले बासँग त गणेश पण्डितका लागि भोट माग्न त सकिन, तर आमालाई भनेँ । भोट दिएर आएपछि आमाले भन्नुभएको थियो–‘लल दिएँ एक भोट चाँही मादललाई ।’
 
चुनावमा डा. लोहनी, जीतसिंह खड्का विजयी भए । शायद चाैथो नम्बरमा हुनुभएर गणेश सर पराजित हुनुभयो । तर उहाँ जनताको मनमा बस्न सफल हुनुभयो ।
 
गणेश पण्डितलाई अहिले पनि धेरैले ‘सर’ का रुपमा संबोधन गर्छन । किनकी उहाँले नुवाकोटको पूर्बी भेगका धेरै विद्यालयहरुमा पढाउनुभयो, धेरै विद्यालयहरुमा प्रधानअध्यापकको रुपमा काम गर्नुभयो । खरानीटारको अमरज्योति हाइस्कुल स्थापनामा निकै ठूलो भूमिका निर्वाहमात्र गर्नुभएको थिएन, लामो समय त्यही हेडसर पनि हुनुभयो ।
 
गणेश सरको राजनीतिक यात्रा २०४६ सालपछि निकै माथि पुग्यो । २०४८ सालमा उहाँ नुवाकोटको तत्कालिन क्षेत्र नं. २ बाट एमालेको तर्फबाट सांसद पनि विजयी हुनुभयो । राष्ट्रिय पञ्चायतमा उहाँलाई हराउने जीतसिंह खड्कालाईनै यसपटक उहाँले हराउनुभएको थियो ।
 
त्यतिखेर नुवाकोटको तीन क्षेत्रमध्य १ नं.बाट डा. प्रकाशचन्द्र लोहनी, २ नं. बाट गणेश पण्डित र ३ नं. बाट अर्जुन नरसिंह केसी विजयी भएका थिए ।
 
२०४८ सालको प्रतिनिधि सभामा २०५ सिट थियो । त्यसमध्य एमालेले ६८ सिट जितेको थियो । अहिले जस्तो सांसदहरुको भाउ नभएको अवस्था थिएन त्यतिखेर । लामो समय जेलनेल भोगेर, खारिएर आएका राजनेताहरुले भरिएको थियो संसद ।
 
बाउ–बाजेले चर्को व्याजमा गरिबलाई दिएको ऋणलाई पण्डितले मिनाहा गरेर ती गरिबका लालपूर्जा फिर्ता गरिदिएको चर्चा अहिलेसम्म नुवाकोटमा हुनेगरेको छ । त्यतिखेरको सम्पन्न परिवारमा जन्मिएर, काठमाडौंमा गएर हाइस्कुल, क्याम्पस पढेर पनि गाउँमा शिक्षक भएर उहाँले पुर्याउनुभएको योगदान निकै उच्च छ ।
 
एमालेको राजनीतिमा सिँढी चढ्दै गरेका गणेश सरलाई ‘अमेरिकाकाण्ड’ ले कहिल्यै उठ्न नसक्ने गरि थला पारिदियो । एमालेको त्यतिखेरको संस्थापन पक्षका निम्ति त्यो उहाँलाई सदाका लागि फसाउने एउटा षडयन्त्र पनि थियो भन्ने पुष्टी पनि भैसकेको छ । शायद अहिले हप्तैपिच्छे नेपालबाट मन्त्री, सांसदहरुको लर्को लाग्छ अमेरिकामा । यहाँ रहेका एमाले, कांग्रेसका शूभेच्छुक र कार्यकर्तालाई नेताका निम्ति स्वागत गर्न भ्याई–नभ्याई छ । तर त्यतिखेर अमेरिका आएकै भरमा एउटा इमान्दार राजनीतिज्ञको चरित्रहत्या मात्र भएन सदाका लागि पन्छाउने काम पनि भयो । गणेश सरमात्र होइनन्, त्यतिखेर एमालेबाट निर्वाचित पर्वतका सांसद कृष्णप्रसाद भट्टराईलाई पनि त्यही बाटोमा धकेलिएको थियो । भट्टराई पनि राजनीतिबाट हराए ।
 
एमालेका नेताहरूका मण्डी अोढेर घिउ खाने चरित्रले गर्दा इमान्दार व्यक्ति राजनीतिबाट अस्ताउनु परेको थियो ।
 
त्यतिखेर सभामुख थिए दमननाथ ढुंगाना । अमेरिकी सरकारले भरखरै नेपालमा हुर्कदै गरेको प्रजातन्त्रलाई मजवुत बनाउन सहयोगको सुरुवात गरेको थियो । त्यसक्रममा नेपालका सांसदहरुलाई अमेरिकामा ल्याएर यहाँको सिस्टम, विकासका बारेमा देखाउने गरेको थियो ।
 
त्यसैक्रममा सभामुख ढुंगानाले एउटा समुहमा सांसद पण्डित, भट्टराई लगायत थुप्रै सांसदहरुलाई छनौट गरेर अमेरिका पठाए । यो २०४९/५० तिरको घटना हो । तत्कालिन अवस्थामा एमालेमा हर्ताकर्ता थिए– महासचिव माधबकुमार नेपाल, प्रदीप नेपाल लगायत । एमालेमा उहाँहरुको स्विकृती बेगर सभामुखले छनौट गरेर अमेरिका पठाएकोमा नेताहरुको आपत्ति रह्यो । एमाले केन्द्रिय कमिटीले स्विकृती नदिई अमेरिका गएको भन्दै दुबै सांसदलाई साधारण सदस्य समेत नरहनेगरि निलम्बन गर्ने निर्णय गर्यो । त्यो निर्णय दुराग्रहको हद थियो । उहाँहरुको सांसद पद भने निलम्बन गरिएको थिएन ।
 
त्यो घटनाले गणेश सरमा चोट पुगेको महसुस धेरैले गरेका थिए । त्यसलाई एमाले नेतृत्वले ठूलो इस्यु बनाउन जरुरीनै थिएन । उहाँलाई राजनीतिबाट पछाडी धकेल्न थालियो ।
 
त्यसपछि २०५१ को मध्यावधि चुनावमा उहाँलाई टिकट समेत दिइएन । उहाँको क्षेत्रमा जनार्दन भण्डारीलाई दिइयो । त्यही क्षेत्रमा नेपाली कांग्रेसले डा. रामशरण महतलाई उम्मेदवार बनायो । राजनीतिक रूपमा इमान्दार र भद्र भएपनि भण्डारी डा. महतको तुलनामा कमजोर थिए । जसका कारण डा. महत सजिलै विजयी भए ।
 
अमेरिका भ्रमणको काण्ड नभएको भए यतिखेर पण्डित नेतृत्वको माथिल्लो तहमै पुग्ने क्षमता बोकेका नेता थिए । सिपी मैनालीसँगको निकटता पनि पण्डितका लागि राजनीतिमा पछाडी खेदिने एउटा कारक थियो । २०५४ मा एमाले विभाजन पछि गणेश सर माले तिर सकृय हुनुभएको थियो ।
 
मैनालीकै पछी लाग्दा उहाँ २०५८ मा एमाले र मालेबीच एकीकरण हुँदा समेत उहाँ जोडिनुभएको थिएन ।
 
मैले पत्रकारका रुपमा उहाँसँग धेरैपटक भेटेको छु । कुराकानी गरेको छु । उहाँ भाषणमा होस् या व्यबहारमा कहिल्यै पनि आक्रामक भएको मैले भेटिन । पत्रकारिताको क्रममा कहिलेकाँही उहाँको मार्ग प्रति, जिल्लाका उहाँका चेलाहरुले गरेका गतिविधिप्रति तिखोसँग कलम चलाउँदा पनि उहाँ कहिल्यै आक्रामक रुपमा प्रस्तुत हुनुभएन । हरेक कुरालाई इतिहास र पुराणका सन्दर्भहरु जोडेर व्याख्या गर्ने निकै राम्रो शैली थियो उहाँमा ।
 
झण्डै ५ वर्ष अघि छोरा किशोरको परिवारलाई भेट्न अमेरिका आउनुभएको थियो । मसँग त्यतिखेर किशोरको परिचय थिएन । सानफ्रान्सिस्कोमा बस्दै आउनुभएका उहाँका सहोदर भान्जा धनञ्जय नरसिंह केसीले एक दिन फोनमा भन्नुभयो–‘रामचन्द्र भाई, गणेश मामा पनि आउनुभएको छ अमेरिका । कुरा गर न एक पटक ।’ धनञ्जय दाईलेनै किशोरको फोन नम्बर दिनुभएपछि हाम्रो कुराकानी भएको थियो ।
 
‘साँचो समाजवादी मुलुक त अमेरिका पो रहेछ,’ त्यतिखेर उहाँले मसँग भन्नुभएको थियो । यहाँको सरकारले शिक्षा, स्वास्थ, सुरक्षा, विकासमा गरेको लगानीलाई हेरेर उहाँले भन्नुभएको थियो ।
 
अस्ति आइतबारमात्र किशोरसँग मेरै अपार्टमेन्टमा भेटघाट र कुराकानी भएको थियो । टेक्ससकै ग्रीन्सभिलमा व्यबसाय गरेर बस्दै आएका किशोर भन्दैथिए–‘रामचन्द्र दाई, मैले पनि युलेसतिरै सर्ने विचार गरेँ । सँगैसँगै बस्नुपर्छ है ।’ त्यतिखेर पनि गणेश सरको राजनीति, जापानमा बस्दै आएका राजकुमार दाई (गणेश सरका जेठा छोरा) को अवस्थाका बारेमा निकै कुराकानी भए हामीबीच । प्रसंङगवशः राजकुमार पनि राजनीतिमा सकृय थिए । २०५४ को स्थानीय निर्वाचनमा शिखरबेसी गाविसका अध्यक्ष निर्वाचित भएका थिए । तर २०५९ मा अध्यक्षको पदावधि सकिएपछि कुनै राजनीतिक अवसर नदेखेर उनी जापानतिर छन् ।
 
तीन महिना अघि ‘गणेश पण्डितको निधन’ भन्ने समाचारले झुक्किएको मेरो दिमाग आज एकाबिहानै सामाजीक सञ्जाल उहाँकै फोटोले रंगीएको र समवेदनाका लहरहरु देखेपछि विश्वास गर्न करै लाग्यो ।
 
मानिसको जीवन के नै छ र ? मुख्य कुरा नाम नै हो । बाउबाजेले व्याज खान लगानी गरेको रकमको तमसुक नच्यातेको भए र धितोमा राखिएका लालपूर्जा फिर्ता नगरिदिएको भए गणेश पण्डित एकजना सामन्तका रुपमा मात्र नुवाकोटको पूर्बी भेगमा चिनिन्थे होला । तर त्यही तमसुक च्यातेका कारण आज संसारभर रहेका नुवाकोटेहरुले सम्झिएका छन्, श्रद्दा गरिरहेका छन् ।
 
गणेश सर, हार्दिक श्रद्धाञ्जली ।