मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

स्थानीयवासीलाई गाँजाखेती गराउँदै भारतीय तस्कर

स्थानीयवासीलाई गाँजाखेती गराउँदै भारतीय तस्कर


चितवन । जिल्लाको पहाडी क्षेत्रमा रहेका बासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिका वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीय तस्करले स्थानीयवासीलाई गाँजाखेती गर्न लगाउने गरेको पाइएको हो । 
 
राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार भारतीय तस्करले गाँजा रोप्न, काटेर सुकाउन र बोकेर उनीहरुसम्म पु¥याउन छुट्टाछुट्टै व्यक्तिलाई पैसा दिने गरेका छन् । 
 
स्थानीयवासीलाई उद्धृत गर्दै बरालले भन्नुभयो,“गाउँगाउँमा कहिलेकाहीँ तस्कर– तस्करबीचमा गोली हानाहान हुने गरेको सुनेको छु ।” भारतीय तस्करहरुले क्षेत्र विभाजन गरेर स्थानीयवासीलाई परिचालन गर्ने गरेको बरालले बताए । 
 
चेपाङ समुदायको बाहुल्य रहेको यहाँ ठूलो क्षेत्रफलमा गाँजा खेती हुने गरेको छ । बरालका अनुसार गाँजा खेतीबाट पैसा पाउने भएपछि सर्वसाधारणले स्थानीय सरकारको भन्दा तस्करका कुरा बढी सुन्ने गरेको पाइएको छ । 
 
उनीहरुलाई गाँजाखेती गर्न छुटाउनका लागि गरीबी निवारण मन्त्रालय र जिल्ला सहकारी सङ्घसँग नगरपालिकाले मिलेर तरकारी, बाख्रा, मौरी र कुखुरापालन गर्न सहयोग गरेको छ । सोही ठाउँमा तरकारी सङ्कलन केन्द्र समेत सञ्चालन गर्न लागिएको उनले बताए । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले समय समयमा प्रहरी पठाएर गाँजा नष्ट गर्ने गरेको बताए । हालैमात्र प्रहरीले लोथरमा करीब १८ क्विन्टल गाँजा नष्ट गरेको उनले बताए । 
 
गाँजाखेती गर्नेहरुले कुन्यू लगाएर राखेको अवस्थामा नष्ट गरिएको उनले बताउनुभयो । राठौरले चितवन, मकवानपुर र धादिङका पहाडी क्षेत्रमा भारतीय तस्करले स्थानीय परिचालन गरी गाँजाखेती गर्दै आएको बताए । 
 
भारतीय तस्करले सोझासाझा चेपाङलाई परिचालन गर्ने गरेको राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्य चेपाङ्ले बताए । सम्बन्धित बारी धनी चेपाङलाई गाँजा लगाउने, गोडमेल गर्ने र थन्क्याउनेसम्मको एकमुष्ट वा छुट्टाछुट्टै जिम्मा दिएर रकम दिने गरेको उनले बताए । 
 
गाँजा तयार भएपछि चेपाङलाई नै भरिया बनाएर मनहरि, लोथर बजार झार्ने गरेको पाइएको छ । उक्त गाँजा कतिपय नेपाली बजार र केही भारतीय बजारमा पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।