मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सनातन हिन्दु धर्म र वर्तमान नेपाल

सनातन हिन्दु धर्म र वर्तमान नेपाल


सनातन काल देखि चल्दै आएको धर्म संस्कृति हो हिन्दु धर्म | धेरै पुरातन सभ्यताहरू  विश्वका अन्य ठाउँबाट बिलय भइसक्दा पनि जीवन्त रूपमा रहेको एक मात्र सभ्यता हो हिन्दु धर्म सभ्यता | त्यही सभ्यताको, त्यही संस्कृतिको केन्द्र भूमि दक्षिण एसिया हो र त्यसमा पनि हिमालयको काखमा अवस्थित र तपश्वीहरुको प्रिय भूमि भएको नाताले नेपाल ज्ञान विज्ञान को भण्डार को रूपमा रहिआएको छ | हजारौँ हजार वर्ष बित्दा पनि ती ज्ञान र विज्ञान हरुमा कुनै खिया लागेको छैन बरु हरेक कालखण्डमा जन्मेका महामानव हरू द्वारा थप परिष्कृत पारिँदै थप चम्किलो बन्दै गएको छ | हिमालयबाट बग्ने प्रत्येक नदीले आफू सँगै शिव लिएर बग्छन् | अनवरत बग्दा पनि कहिल्यै रिक्त नहुने हिमालयका शिवको आशिर्बादले हुर्केको संस्कृति हो सनातन संस्कृति | 
 
कैलाश देखि श्रीलङ्का सम्म आइपुग्दा प्रकृतिका हरेक जीव-अजिब रङ्गहरूमा चमक भर्ने संस्कृति हो सनातन संस्कृति | विश्व शान्ति र पृथ्वी देखि लिएर अन्तरिक्ष र ग्रह-उपग्रह सम्मका ज्ञान राख्ने अनमोल रत्नको  रूपमा रहेको सनातन/हिन्दु संस्कृति माथि अहिले चौतर्फी आक्रमण भइरहेको देखिन्छ | यसमा आन्तरिक आक्रमण र बाह्य आक्रमण प्रमुख छन् | पूर्वीय संस्कृति कम्जोर देखिएको यो कालमा बाह्य आक्रमण नौलो कुरा भएन | सबैभन्दा घातक चाइ आन्तरिक आक्रमण साबित भएको छ | 
 
बाहिरी शक्तिले कस्तो खेल खेल्यो भनेर त्यही बहसमा रुमल्लिनु अगाडी हामी भित्र भएका कस्ता कमी कमजोरीले हाम्रो सभ्यता  र धर्म संस्कृति लाइ प्रतिरक्षात्मक बनाएको छ भन्ने कुरामा बहस-बिचार गर्नु उत्तम हुन आउँछ | कतिपयले मान्दैनन् या मान्न खोज्दैनन् या मान्न चाहँदैनन् तर कसैले माने पनि नमाने पनि सत्य कहिल्यै असत्य हुँदैन | हिन्दु धर्मको साख गिराउन त कसैले सक्दैन तर यसलाई केही कदम पछाडि पारिनुमा सबैभन्दा बढी दोष यदि कसैको छ भने विगत ६-८ सय वर्ष देखि हाम्रो समाज र संस्कृतिमा भित्रिएको र हुर्केको जातीयता र सामाजिक विभेद कै छ |
 
हिन्दु धर्म कुनै एक जातिको धर्म हैन, न त यो धर्म केवल मानव समुदाय को हो | यो त प्रकृतिका प्रत्येक रचनाको साझा धर्म हो | निराकार शिवको जात वर्ण समयले समेत व्याख्या गर्न सक्दैन, शिव आफै समय हुन | 
हिमालयमा अनादि कालदेखि ध्यान माग्न भएका शिव को स्वरूप जसले जसरी सोच्यो त्यस्तै छ | शिवको नाक थेप्चो सम्झे थेप्चो छ , चुच्चो सम्झे चुच्चो नै छ | शिव समुन्द्र मन्थन बाट निस्केको विष निलेर जगत् जोगाउने महादेव हुन् | शिव लाइ जात रूप मा कुनै मोह छैन | 
 
तर वर्तमान समयका मानाब जातिले एउटा रूप दिएर आफ्नो बनाउन सकिन्छ भन्ने भ्रम पालेका छन् | एउटा जातिले आफ्नो मात्रै हो भन्ने अहमले अर्को जातिलाई त्यसो भए मेरो हैन भन्न उक्साएको त छैन ? अलि प्रस्ट भन्नुपर्दा भारत वर्षमा पछिल्लो १ हजार वर्षमा हुर्किएको सामाजिक छुवाछुत समाज विकासको लागि मात्रै घातक भएन आन्तरिक विवाद र विभेदको चुरो बन्न गयो | त्यसैको परिणाम स्वरूप विराट हिन्दु राज्य हरू ढल्न पुगे | सामन्तवाद थप मौलाउँदै गयो र समाज छुद्र हरू को कब्जा मा पर्न गयो | समाज कब्जा गरिसकेपछि धर्म संस्कृति लाइ बाँकी राखेनन् अधर्मी हरूले | 
 
आफूलाई पायक पर्ने नियमहरू बनाइए, ज्ञान र विज्ञानका न्यूनतम नियमहरू समेत पालना गरिएन | एउटा उदाहरणको लागि सूर्य र चन्द्र ग्रहण लाग्दा दलित जातिले घाम-जुन छेकेका हुन् त्यसैले तिनीहरूलाई त्यो दिन गाली गर्न पाउनुपर्छ भन्ने जस्ता उरनठ्यौला नियम समाजमा लादियो | शासन गर्ने यस्ता अनगिन्ती चोर बाटा हरू अपनाइए | सिङ्गो राष्ट्र हुँदै सिङ्गो धर्म संस्कृति लाइ यसले केवल नोक्सान मात्रै पुर्‍याउनै लग्यो | वर्तमान समय सम्म आइपुग्दा यस्ता विकृति थप बलियो हुँदै गए र ब्राम्हणबाद को रूप धारण गर्न पुग्यो, यद्यपि हाम्रा कुनै वेद हरुमा ब्राह्मण कसैले जन्मिँदै पाउने पुरस्कार हैन भन्ने प्रस्ट भनिएको छ | पछाडि फर्केर हेर्दा प्रत्येक कुरा नराम्रा भए भन्ने होइन, हाम्रै सभ्यताले विश्वमा शान्तिको ज्योति छर्ने गौतम बुद्ध जन्माएको थियो, स्वामी बिबेकानंद जस्ता ज्ञानी सनातन संस्कृति कै रत्न हुन् तर धेरै राम्रा कामहरूलाई शासन सत्ता चलाउने केही भ्रष्टहरूको शक्तिको दुरुपयोगले सनातनीहरुको आँगन सम्म पुग्न दिएन | 
 
प्रकृतिले रूप फेर्ला, ग्रह उपग्रहले आफ्नो स्थान परिवर्तन गर्लान् तर सनातन धर्म ब्रह्माण्डमा अटल रहन्छ | यो समय जस्तै आफैमा पूर्ण छ | सानातिना कुरामा नअल्झी अन्तिम मुक्ति तर्फ ध्यान दिने हो भने धेरै समस्याको हल त्यही निस्कन्छ | सनातन धर्म सबैको हो | नेपालीहरूले के बुझ्नु पर्छ भने सनातन हिन्दु धर्म सन्यासी को पनि हो, बैशालु युवा को पनि हो, मतवालीको पनि हो, हिमालको हो, पहाडको हो, तराइको हो, सबैको हो |
 
इतिहास पल्टाएर हेर्दा जति जति बेला शासक हरू भ्रष्ट, सत्ता लुप्त र डरपोक भएका थिए, ठिक त्यही बेला हिन्दु धर्म प्रतिरक्षात्मक बन्न पुगेको थियो | अहिले नेपालमा देखिएको परिस्थिति ठिक त्यस्तै छ | मै खाऊ मै लाऊ भन्ने प्रवृत्ति मात्रै त्याग्ने हो भने र राष्ट्र चलाउने नेताहरूले सनातन धर्मको वास्तविक चरित्र बुझे मात्रै भने पनि नेपाली समाज सनातन संस्कृतिको उन्नत उचाइमा पुग्न धेरै समय लाग्ने छैन | सबैले मनन गरे सम्पूर्णको भलो हुनेछ |