जीवन एक - मोड अनेक

प्रेमिका पछ्याउदै कोस्टारिका पुगेका डाक्टर

3931 पटक पढिएको

हिमालयखबर | 6th Mar 2019, Wednesday | २०७५ फाल्गुन २२, बुधवार १८:५५
(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो  स्तम्भ प्रारम्भ गरेका हौ  - सम्पादक )
 
मध्यअमेरिकी देश कोष्टारिका, त्यस्को राजधानी सान होजे अनि त्यहाँबाट २५ किलोमिटर उत्तरपूर्वमा अग्लो थुम्कोमा बसेको सुन्दर बस्ती शान्ता बार्बरा । छेउमै सयौं हेक्टरमा उन्मत्त जवानीको सुवास छर्दै फैलिएको कफी बगान ! 
 
आँप, अम्बा, केरा र सुन्तलाका बगैंचा - त्यो आकर्षक प्रकॢतिसंग मितेरी लगाउँदै वर्षौंदेखि ठडिएको एकतले घर । हिमालयखबरको टीम सान होजे एयरपोर्टबाट सोझै त्यहाँ पुग्दा अपरान्ह चार बजिसकेको थियो । भाई भुवन चापागाँईको गफमा रमाउदै त्यो सुन्दर डाँडाको घर आंगनमा गाडीबाट उत्रदा लाग्यो -  इलाम, कर्फोकको कुनै पूर्वेली घर पुगिएछ । 
 
घरभित्र पस्यौं हामी । घर जति सुन्दर लाग्थ्यो, भित्रको व्यवस्थापन भने अस्तव्यस्त । कोठाहरूमा असरल्ल ओछ्यान, लुगाहरु छरपष्ट, भान्छाघरमा जुठा भाँडा अनि बाथरुमहरु त्यस्तै, हेरचाह नपुगेजस्ता । मलाई यस्तो देखेपछि चाँडो बोलिहाल्नुपर्छ -किन यस्तो बिजोग ? 
 
भुवनले तत्काल जवाफ फर्कायो - दाजु, अब आइमाई बिनाको घर कस्तो हुन्छ त ! 
 
त्यो घर एउटा सामान्य व्यक्तिको थिएन, कोष्टारिकामा नाम कमाएका नेपाली डाक्टर खगेन्द्र राज चापागाँईको थियो । विगत पच्चीस वर्षदेखि त्यहींको जीवनशैलीमा घुलमील भएका खगेन्द्रकै जीवन यात्रालाई पर्घेल्न हामी उनको घरमै पुगेका थियौं । 
 
नेपालदेखि हजारौं माइल टाढा मध्यअमेरिकी देशमा कसरी आइपुगे ? एउटा आप्रवाशीले आफ्नो पेशामा यस्तो सम्मानित स्थान कसरी पाए । नेपालको सुदूर पूर्वी गाउँको एउटा ठिटो, उनले  यहाँसम्मको यात्रामा केकस्ता भोगाईहरु अनुभव गरे ? तिनै सेरोफेरोमा बगेर यो आलेख तयार भएकोछ । 
 
डाक्टर बन्ने हुटहुटी 
वि.स. २०१९ कार्तिक २० गते भोजपुरको दिङ्ग्ला तुमगेछामा जन्मिएका खगेन्द्र हुनेखाने परिवारकै थिए । जिजु हजुरबुवा लक्ष्मी प्रसाद चापागाँई शिक्षाप्रेमी थिए । उनैले स्थापना गरेको लक्ष्मी प्राथमिक विध्यालयबाट खगेन्द्रले प्राथमिक शिक्षा पुरा गरे । स्कुल छुट्टीमा गाइवस्तु चराउन जाँदा उनलाई रमाइलो लाग्थ्यो । घरमा टन्न दुध दिने गाइभैंसी थिए । दुध , दही ,घिउ र मही प्रशस्तै हुन्थ्यो । बुबा होमनाथ र आमा चुडादेवि चापागाँईका  जेठो छोरो, खान लाउन पुगिसरी थियो । तर गाउँमा हाइस्कुल थिएन, अगाडि पढ्न घर छोडेर उनी संखुवासभाको मादी पुगे । त्यहींबाट उनले एसएलसी जाँच दिए । 
 
खगेन्द्रको जीवनयात्राले अर्को मोड समात्यो, २०३४ सालमा उनको परिवार झापाको चन्द्रगडी बसांइ सर्यो । उनले एसएलसीको रिजल्ट चन्द्रगडी आएपछि थाहा पाए । पढाइमा उनी अब्बल नै थिए । उनका बुवाआमाको  चाहना र आफ्नो पनि डाक्टर बन्ने सपना बोकेका खगेन्द्रमा उच्च शिक्षाको हुटहुटी जाग्नु स्वभाविक थियो । 
 
भर्खरै धरानमा प्राविधिक क्याम्पस खुलेको थियो । त्यहाँ आधारभुत बिज्ञान र स्वास्थ्य शिक्षा पढ्न खगेन्द्रसंगै अरु ६० जना विध्यार्थी भर्ना भए । एकवर्ष पुग्दै थियो पढाइको, क्याम्पस चलेन । उनीहरुलाई महाराजगन्ज मेडिसिन क्याम्पस सरुवा गरियो । ३६ सालको आन्दोलनले गर्दा  हेल्थ एशिस्टेन्टको अढाइ वर्षे कोर्स पुरा गर्न चार वर्ष लाग्यो । ढीलै भापनि डाक्टर बन्ने एउटा खुड्किलो पार गरेर खगेन्द्र खुशी थिए । Khardep Project को तीन सेमेस्टर स्कलरसिप पाएर उनी भोजपुरको साङपाङ पुगे । त्यहाँ हेल्थपोस्ट स्थापना गरे अनि त्यसैको प्रमुख भएर दुई वर्ष त्यहाँ सेवा गरे । 
 
खगेन्द्रको यात्रा त्यतिमै कहाँ थामिन्थ्यो र ! उच्च शिक्षाको भोक उग्र थियो, रुसमा मेडिसिन पढ्न उनले प्रयास थालिसकेका थिए । भाग्यले साथ दियो, उनले छात्रवॢति पाए । सन् १९८४ मा रुसको रोस्तोभमा एक वर्ष रुसी भाषा सिके । त्यसपछि युक्रेनको ओडेसा मेडिकल इन्स्टिच्युटमा उनको डाक्टर बन्ने सपनाको विपना यात्रा शुरु भयो । सन् १९९२ मा उनले एमडी(Master of Medicine )  गरे । अब खगेन्द्र डाक्टर खगेन्द्रराज चापागाँई, एम .डी मा रुपान्तरण भैसकेका थिए । 
 
एमडी सकेर नेपाल फर्केपछि झापाको मेची अंचल अस्पतालमा छ महिना स्वयंसेवी भएर काम गरे । झापामा रहेका भुटानी शरणार्थी क्याम्पमा स्वास्थ्य सेवा प्रदान गरे । 
 
प्रेमिका पछ्याउदै कोष्टारिका
युक्रेनमा मेडिसिन पढ्दै गर्दा कोष्टारिकन सुन्दरीसंग खगेन्द्रको माया बस्यो । आना पत्रिसिया निक्कै राम्री र खगेन्द्र जस्तै पढ्नमा तेज, उनीहरु दुबैको प्रेम सम्बन्ध गहिरो थियो, छुट्टिन कठिन । पढाइ सकेर दुबै आआफ्ना देश फर्किए । आना कोष्टारिका पुगेर तड्पिन थालिन् यता खगेन्द्र नेपालमा व्याकुल ! प्रेममा हुरुक्क भएका खगेन्द्रले उपाय निकाले, एउटा कार्यक्रममा भाग लिन अमेरिका जाने भिषा आवेदन दिए । उनको आवेदन स्विकॢत भयो । सन् १९९३ मा अमेरिका हुंदै डा. खगेन्द्र प्रेमिकाको देश कोष्टारिका आइपुगे । आफ्नी प्रेयसी आनाको साथ पाएपछि उनलाई धेरै सजिलो थियो, Univresity of Costa Rica, School of Medicine मा Internship apply गरे। 
 
उनले एक बर्षमा Medicine, Surgery, Pediatric, Gynocology र Community Health सम्बन्धी पाँचवटा कोर्स पुरा गरे । १६ लिखित र पाँच मौखिक परीक्षा उत्तिर्ण गरे । यी कोर्स पुरा गर्न अरुलाई कम्तिमा चार वर्ष लाग्ने रैछ, खगेन्द्रको तेज दिमाग र सुन्दरी प्रेमिकाको साथले उनले एकै वर्षमा बाजी मारिदिए । 
 
कोष्टारिकामा खगेन्द्रको पेशागत र पारिवारिक यात्रा निक्कै रफ्तारमा आघि बढ्यो । एक्कै वर्षमा पाँच कोर्स पुरा गरेर उनले लाइसेन्स पाए । त्यहाँको नियम अनुसार एक वर्ष ग्रामीण क्षेत्रमा काम गर्नु पर्नेरैछ, उनी रिवकाराल पोलि क्लिनिकमा पुगे । त्यसपछि डा. खगेन्द्र सर्टिफाइड भए, सान होजेको Cartago Hospital मा Medical assistant भएर तीन वर्ष काम गरे । त्यहाँ उनले रक्सीको लतमा लागेका बिरामीहरुको उपचार गर्ने गहन जिम्मेवारी पाए । अहिले उनी Alojuelitz PolyClinic  मा वरिष्ठ चिकित्सकको हैसियतमा कार्यरत छन् । 
 
उनको हैसियत त्यतिमै सीमित छैन, डा. चापागाँई कोष्टारिका सरकारको National Commission of Social security का सक्रिय सदस्य हुन् । त्यो आयोगले विरामीको हेरचाह, उपचार सम्बन्धी संहिता  र समग्र स्वास्थ्य क्षेत्रमा कार्यरत सदस्यहरुले पालन गर्नुपर्ने आचारसंहिता निर्माण गर्छ । 
 
उनले कोष्टारिकामा Master in International Relation and Diplomacy र Master in Health Administration पुरा गरे । 
 
राजनीतिप्रतिको आकर्षण 
काठमाण्डुको महाराजगन्ज क्यापसमा पढ्दैदेखि खगेन्द्रमा राजनीतिको चाख बढ्न थालेको थियो । नेपाली काँग्रेस निकट नेपाल विध्यार्थी संघमा उनको सक्रियताले उनलाई जनकपुरमा भएको काँग्रेस महाधिवेसनमा प्रतिनिधि भएर भाग लिने अवसर मिल्यो । 
 
खगेन्द्रको राजनीतिप्रतिको लगाव रुस पुगेर पनि थामिएन । त्यहाँ उनी नेपाली विध्यार्थीहरुको संगठन Nepalese Student Union मा सक्रिय भएर लागे । 
 
उनको योग्यतामा थपिएका Master in International Relation and Diplomacy र Master in Health Administration ले डा. चापागाँईलाई कोस्टारिकाको राजनीतिक क्षेत्रमा समेत सक्रिय हुने बाटो दिएकोछ । 
 
यी दुई योग्यता देखेपछि डा. चापागाँईलाई त्यहाँको प्रमुख प्रतिपक्षी दल Liberation Party ले उनलाई सदस्य बनायो । उनी सन् २०१६ देखि उक्त पार्टीमा सक्रिय छन् । सन् २०१७ मा खगेन्द्र Liberation Party को तर्फबाट उम्मेद्वार भई देशभरिका श्रमिकहरुको हकहितमा काम गर्ने Workers Movement को महासचिव निर्वाचित भए । 
 
अहिले कोष्टारिकाको संसदमा उनको पार्टी बहुमतमा छ भने राष्ट्रपति अर्कै पार्टीका छन् । 
 
पेशामा अब्बल पारिवारिक सम्बन्धमा दुखी 
डा. खगेन्द्र राज चापागाँई आफ्नो पेशामा जति कुशल र सन्तुष्ट छन् आफ्नो व्यक्तिगत समस्याबाट उत्तिकै मर्माहत छन् । खगेन्द्रले असाध्य माया गरेको र उसकै भरमा कोष्टारिका हाम्फालेको, उनकी पत्नी आना अहिले अलग्गै छिन् । तर आनाबाट जन्मिएको छोरो  राजेश भने संगै नबसे पनि सानिध्यमा छन् । बाबु छोराको सम्बन्ध प्रगाढ देखिन्छ । 
 
पहिलो श्रीमतिसंगको सम्बन्ध विच्छेद पछि खगेन्द्रले त्यहिँकी अर्की सुन्दरी बिबाह गरे । दुई बच्चाबच्ची पछि त्यो सम्बन्ध पनि मक्किन थाल्यो । अन्तत: दुबैले अलग हुने निर्णय गरे । छोरीलाई खगेन्द्रले डाक्टर बनाए, स्यानो छोरो बस्न त आमासंगै बस्छ तर बाबुसंगको आत्मियता र मायाले प्राय उसलाई खगेन्द्रबाट टाढा हुन दिएको छैन । 
 
कोष्टारिकामा उनले भोगेको Family disintegration ले उनलाई हरदम पिरोल्छ । डा. खगेन्द्र मात्र हैन त्यहाँ पारिवारिक विखन्डनले धेरैलाई पिरोलेको देखिन्छ । त्यो सन्दर्भमा उनी दुखी होलान् तर उनको पेशागत साख भने धर्मराएको देखिएन । खगेन्द्र सामान्यतया गफगाफमा वेपरबाह देखिन्छन्, त्यसैले उनको मनभित्र पाकिरहेको पीडा ठम्याउन सजिलो छैन । गफ गर्दा छोटो बोल्छन्, तर कुनै विषयमा बोल्नु पर्दा धाराप्रवाह बोल्न सक्छन् । यो पंक्तिकारसंगको कुराकानीमा उनले  लुकाउन खोजेका केही अन्तरंग कुरा थाहा नपाई बताइदिन्थे, पछि त्यसलाई उल्लेख नगर्न अनुरोध पनि गर्थे । 
 
फेब्रुवरी २०१७ मा आमाको निधन हुँदा खगेन्द्र नेपाल जान सकेनन् । किन त ? मेरो प्रश्नमा उनको पीडा मिश्रित जवाफ थियो - त्यतिबेला मेरो  दाम्पत्य जीवनमा उथलपुथल हुंदैथियो, कोस्टारिका छोडेर बाहिर जाने अवस्था थिएन । 
 
आमाको निधनपछि  बुबा एक्लिएको थाहा छ उनलाई तर पनि बुबालाई साथ र ढाढस दिन चाहेको बेला नेपाल पुग्न सक्दैनन् । माइलो भाई र दुई बहिनी उतै छन्, कान्छो भाई भुवन कोस्टारिकामा काठ व्यवसायमा गर्छन् । उनी  अर्को ठाउँ कार्डेला बस्छन् । बेला बेलामा दाजुभाई भेट गर्छन् । नेपालको पारिवारिक नियाश्रो मेट्छन् । 
 
डा. खगेन्द्र र उनका भाई भुवन कोष्टारिकामा अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न सधैं अगुवाइ गर्छन् । त्यहाँ जम्मा १२ जना नेपाली छन् । दलालले चोरबाटो हुंदै कोष्टारिकाबाट अमेरिका छिराउन ल्याएका दर्जनौं नेपालीहरु त्यहाँ पक्राउ परेर अलपत्र हुंदा उनीहरुले उध्द्वार गरेका छन् । 
 
कतिपय व्यक्तिगत विषय उल्लेख नगरिदिए हुन्थ्यो भन्ने खगेन्द्रको जीकिर हुन्थ्यो । उनीभित्रको रोमान्टिजमले  बेलाबेला असहज पार्छ, त्यसले दिने परिणामाप्रति भने उनी वेखबर झैं देखिन्छन् । शायद खगेन्द्रको यही कमजोरीले पारिवारिक सन्दर्भमा अप्ठ्यारो ल्याउने होला । 
 
फर्कन्छन् त नेपाल ? 
डा. खगेन्द्रको रिटायरमेंटलाई अझै आठ वर्ष बाँकी रहेछ, उनी भन्छन् - त्यसपछि भने नेपालै फर्केर सेवा गर्ने सोच बनाएको छु । कान्छो छोरो स्यानै छ, उसको भरण पोषण आफ्नै दायित्वमा छ । त्यसैले पनि छोरो १८ वर्ष नपुगी कोष्टारिका छोडेर हिड्न मिल्दैन । 
 
उता बुबा भने नेपालमाा जेठो छोरोको आशमा आँखा उघारेर बसेकाछन् । आइदिए हुन्थ्यो, केही समय आफूसंग बसिदिए हुन्थ्यो भन्ने हरेक बुबाको चाहना स्वाभाविक हो । 
 
खगेन्द्र भन्छन् - आउँदो मे महिनामा जान्छु बुबा भेट्न । 
मैले सोधें - पक्का हो । 
हो दाई- उनले गम्भीर हुंदै जवाफ फर्काए । 
मैले मनमनै सोचें - कोष्टारिकाको शानशौकत र रंगीन जीवन छोडेर डा. खगेन्द्र सांच्चिकै नेपाल फर्कलान् ? 
नफर्कलान् !  तर आफ्नो बुबा, आफन्त र आफू जन्मेको देशको मायाले तानेपछि बेलाबेला नेपाल कसो नपुग्लान् । 
उनले भने -अन्तिम लक्ष्य त आफ्नै माटो हो दाई।